काठमाडौ । बैदेशिक रोजगार विभागमा हुने अनियमितता र संस्थागत घुसखोरी नियन्त्रण गर्ने सवालमा अहोरात्र लागे पनि आंशिक सफलता मात्र पाएका महानिर्देशक पूर्णचन्द्र भट्टराई अब सरुवा हुने भएका छन्। घरखेत बन्दकी राखेर साहुँसँग चर्को ब्याजमा ऋण लिएर विदेशमा गई पैसा कमाउने उद्देश्यले गाउँ गाउँबाट ओइरिएका युवाहरूलाई म्यानपावर व्यवसायी र दलालहरूबाट ठगिनबाट जोगाउनुपर्ने बैदेशिक रोजगार विभागमा मौलाएको घुसखोरी महानिर्देशक भट्टराईले नियन्त्रण गर्न लाख प्रयास गरेपनि मातहतका कर्मचारीको असहयोगले उनले सोचेजस्तो सफलता पाउन केनन्। यो भन्दा अघि विभागमा कार्यालय सहयोगीदेखि महानिर्देशकसम्म सेटिङ्ग मिलाएर हुने संस्थागत घुसखोरी भने भट्टराईको कार्यकालमा रोकियो। स्राेतका अनुसार, विगतमा महानिर्देशकसहितको मिलेमतोमा हुने गरेको संस्थागत घुसखोरीबाट भट्टराई अछुतै रहेका छन्। तर घुसकाण्डमा संलग्न रहेका मातहतका कर्मचारीलाई उनले कारबाही गर्न त सकेनन् नै दृश्य/अदृश्य शक्तिको दवावका कारण शाखा समेत परिवर्तन गर्न सकेनन्। सुरु सुरुमा उनले कडीकडाउ गरेर सुधार्न खोजे पनि टे्रड युनियनका नेताहरूको दबाबले गर्दा घुसकाण्डमा संलग्नहरूलाई कारबाही गर्नका लागि डीजीलाई पर्नसम्म समस्यामा पारिएको छ। यसले गर्दा महानिर्देशक एक्लो बृहस्पति बनेका छन्। घुस नखाने महानिर्देशकको छवि त उनले बनाए, तर घुुसखोरलाई तह लगाउन ठ्याम्मै रोक्न भने उनी असफल नै रहेको व्यवसायीहरूको गुनासो छ। बरु विभागमा महानिर्देशकले कडा गरेको छ भन्दै कर्मचारीले घुसको दर नै बढाएको व्यवसायीहरूले गुनासो पोख्दै आएका छन्।
भट्टराई विभागमा आउनुअघि सबै शाखामा सेटिङ मिलाएर अनियमित काम हुने गरेको थियो भने दलालले बागबजार र गोंगबुमा तयार गरिएका नक्कली डिमान्ड लेटरको आधारमा श्रम स्वीकृृतिका लागि फाइल पेश गर्थे भने भट्टराईले यसमा कडाई गरे। भट्टराईले अन्धाधुन्द व्यक्तिगत श्रम स्वीकृति लिने कुरा रोकेर म्यानपावरहरूको पर्दापछाडिको ठगीलाई पनि लगाम लगाए। केही गलत नियत भएका म्यानपावरहरूले व्यक्तिगत श्रम स्वीकृति लिएर कामदार पठाउने क्रम भट्टराई विभागमा आउनुअघि मौलाएको थियो। व्यक्तिगत श्रम स्वीकृति लिएर कामदार पठाएपछि विदेशमा अलपत्र परे क्षतिपूर्ति दिनुपर्ने झन्झटबाट मुक्ति पाइने भएकाले केही म्यानपावरको गोरखधन्दा नै बनेको थियो ब्यक्तिगत श्रम स्वीकृति लिने काम। म्यानपावर दर्ता गर्ने तर व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउने कार्यमा रोक लगाउनासाथ भठ्ठराईको बदनाम गर्ने काम पनि भइरहेको छ। १८ महिना विभागको महानिर्देशक भएका भट्टराईले आफ्नो अनुभव सुनाउँदै भने–’विभागमा हुने अनियमिततामा आंशिक सुधार भएको छ। कर्मचारीहरू सबै भ्रष्ट हुन् भन्ने आम मान्यता थियो। तर सबै कर्मचारी भ्रष्ट छैनन्, इमान्दारहरू पनि छन्। सुधारको अभियान जहाँबाट पनि सुुरु गर्नुपर्छ, स्राेत साधन आउला र सुधार गर्छु भनेर हुँदैन।
अन्तिम स्वीकृतिमा रैथानेकै रजाई
बैदेशिक रोजगार विभागका रौंचिरा थाहा पाएका अनुभवी शाखा अधिकृत विष्णुहरि उपाध्याय सबैको शाखा परिवर्तन हुँदा पनि अन्तिम स्वीकृति शाखामै थमौती भएका छन्। एक ब्यवसायीले भने–उपाध्याय घुस उठाउने क्षमता भएकाले नै सबैको शाखा परिवर्तन हुँदा पनि उनी अन्तिम स्वीकृतिमा थमौती भए। उपाध्यायले निर्देशक रमेश मैनालीलाई समेत घुसको लेनदेनमा चुर्लुम्म डुबाएको बताइन्छ। समाचार स्रोत भन्छ―उपाध्यायले नमिलेका कागजातका आधारमा अन्तिम श्रम स्वीकृति दिइरहेका छन्। पत्रिकाहरूले बारम्बार कागजात नमिले पनि श्रम स्वीकृति दिइरहेको सम्बन्धमा ध्यानाकर्षण गराउँदै आएपनि छानबिन गर्ने र दोषीमाथि कारबाही गर्ने काम हुन सकेको छैन। उपाध्यायमाथि व्यवसायीलाई फोनसम्पर्क गर्ने, म्यानपावर कार्यालयमै गएर घुस लेनदेनमा लिप्त हुँदैआएको आरोप छ।
एयरपोर्टमा पनि सेटिङ
घुस खुवाएर नमिलेका कागजातका आधारमा विदेश जानेहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको खण्डमा पोल खुल्ने भयले शाखा अधिकृत उपाध्यायले एयरपोर्टको श्रम कक्षमा पनि सेटिङ मिलाएको बताइन्छ। एयरपोर्टको श्रमकक्षका नन्द ज्ञवाली, लव जोशी, भीम बस्नेतलाई उपाध्यायले भागबण्डा दिएर अध्यागमनका कर्मचारीलाई समेत मिलाएर कागजात नमिलेका कामदार उडाउने गरेको कुरा एयरपोर्टस्थित समाचार सूत्र बताउछ। यो क्रम एयरपोर्टमा लामो समयदेखि जारी रहेको छ, सूत्र भन्छ।
नेताहरू घुस खान एक ठाउँ
कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैं व्यक्तिगत श्रम स्वीकृतिको रिइन्ट्रीमा सबै पार्टी निकट टे्रड युनियनका खन्चुवा नेताहरूको हालीमुहाली रहेको विभागको एक सूत्रले बतायो। सूत्रका अनुसार, रिइन्ट्रीमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका श्रम मन्त्रालय विभागीय अध्यक्ष पेशल पोखरेल, एमाओवादी निकट राष्ट्रिय निजामती कर्मचारी संगठनका श्रम मन्त्रालयका अध्यक्ष हरि भूजेल र नेपाली कांग्रेस निकट निजामती कर्मचारी कर्मचारी युनियनका विभागीय अध्यक्ष देवराज भट्टराई छन्। ट्रेड युनियनको नेता भएर रिइन्ट्रीमा बसी असुल्ने काम विभागमा भइरहेको छ। सबै टे्रड युनियनका अध्यक्षहरू रिइन्ट्रीमा राखी विभागले घुस असुल्न छुट दिएको एक व्यवसायीले बताए। टे्रड युनियनको नेता हुने र मालदार कार्यालयमा सरुवा हुने अनि घुस असुलेर करोडको घरघडेरी जोड्ने कुरामा विभागका अरु शाखाका कर्मचारी जस्तै नेताहरू पनि थपिएका छन्। टे्रड युनियनका नेताहरूको जमघट रहेको यो शाखा पनि घुस असुलीमा अति बद्नाम छ। तर महानिर्देशकले उनीहरूलाई केही कारबाही त के, शाखा परिवर्तन गरी एक अर्का शाखामा पनि खटाउन नसकेर निरीह बनेका छन्।
पूर्वस्वीकृतिमा पनि उस्तै
विभागको पूर्वस्वीकृति शाखाका कर्मचारीहरू ऋद्धि सिटौला र दीपकमणि पोखरेलले घुस हात नलागेसम्म फाइल नै नहेर्ने गरेको गुनासो पीडित व्यवसायीहरूको छ। सूत्रका अनुसार, हात्ती, गैंडादेखेपछि मात्र उनीहरू फाइलमा आँखा लगाउने गर्दछन्। महानिर्देशकले कडाइ गरेको छ भन्दै हरेक शाखाका कर्मचारीहरूले घुसको दररेट बढाएको पीडित व्यवसायीको गुनासो छ भने महानिर्देशकले भने, विभागमा कागजात नमिलेका कामहरू पूर्णतया बन्द भएको दाबी गर्दैआएका छन्। यसमा सिटौला र जोशीलाई निर्देशक इन्द्र बस्यालले पनि साथ दिएको बताइन्छ। व्यवसायीहरू विगतमा एक हजार रुपैयाँ घुस दिएर हुने काम अहिले बीस हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको गुनासो गर्दछन्। व्यवसायीका अनुसार, ठगी गर्ने उद्देश्य भएका म्यानपावरले विगतमा जस्तो नक्कली डिमान्डलेटरको आधारमा श्रम स्वीकृति लिने काम अहिले पनि भइरहेको छ। तर विगतमा थोरै घुस खुवाएर गर्थे भने अहिले ठूलो रकम घुस खुवाएर काम फत्ते गर्ने क्रम यथावत रहेको कुरा कर्मचारी सूत्र बताउछ।
श्रम सहचारी पनि उही ड्याङका मूला
नेपाली कामदारको संख्या बढी भएका मुलुकहरूमा श्रम सहचारीको व्यवस्था गरिएपछि कामदारहरू ठगिनबाट जोगिने अपेक्षा गरिए पनि त्यो कुरा सही सावित हुन नसकेको श्रम मन्त्रालय सूत्रले बतायो। साउदीअरब, कतार, यूएई, दक्ष्ािणकोरिया जस्ता मुलुकमा पठाएका श्रम सहचारीहरूले कामदारको हितमा भन्दा बढी आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने गरेको गुनासो व्यवसायीहरूको छ। नेपाली श्रम सहचारीको व्यवहारले विदेशी कूटनीतिक बृत्तमा देशको बेइज्जतमात्र गरेको छ। श्रम सहचारीलाई प्रिपेड घुसको ब्यवस्था नगरी ती देशमा कामदार मागको फाइल नै अघि नबढ्ने गरेको व्यवसायीको गुनासो छ। मन्त्री र राजनीतिक दलहरूलाई घुस खुवाएर श्रम सहचारी भएकाहरूले फाइलैपिच्छे निश्चित दरमा घुस असुल्ने गरेको गुनासो पीडितहरूको छ। अवैध रुपमा कुवेतको बाटो हुँदै इराक पठाइएका कामदारका सवालमा पनि राजदूत र सहचारीहरूले बेवास्ता गर्दैआएका छन्। कतारका सहचारी इन्द्रदेव पाण्डेले कतारबाटै फोन गरी व्यवसायीहरूसँग पैसा माग्ने गरेको व्यवसायीबीच छरपष्ट भइसकेको छ। बैदेशिक रोजगार विभागमा लामो समय कार्य गरी घुसबाट अजीर्ण भएपछि साउदी अरबको सहचारी भएका कृष्णप्रसाद दवाडीले पनि व्यवसायीहरूसँग लेनदेनका कुरामा मात्र चासो दिएको गुनासो छ। विदेशमा अलपत्र भएका नेपाली कामदारहरूको उद्धार गर्ने काममा पनि उनीहरूले मानवतालाई नै बिर्सेर पैसामुखी बनेको आरोप छ।
No comments:
Post a Comment