अलेक्ज्यान्ड्रा मिखाइलोभ्ना दामोन्तोभिचको जन्म रुसी साम्राज्यको राजधानी सेन्टपिटसबर्गमा भयो । उनका बाबु मिखाइल अलेक्सिभिच सैनिक जर्नेल थिए भने आमा मासालिना किसान परिवारकी । दामोन्तोभिचसँग दोस्रो बिहे थियो । आमासँग अलेक्ज्यान्ड्रोको सम्बन्ध सुरुदेखि नै राम्रो थिएन ।
त्यसैले उनी सधैँ बाबुसँग हुन्थिन् । बाल्यकालको नाउँ ‘सुरा’ भएकी उनले बाबुबाटै इतिहास र राजनीति सिकिन् । अलेक्ज्यान्ड्रा सानैदेखि पढाइमा तेज थिइन् । उनी आमा र दिदीसँग फ्रेन्च, बज्यै (आमातर्फको)सँग अंग्रेजी, किसानसँग फिनिस र अर्की बज्यै (बाबुतर्फकी)सँग डच भाषा बोल्थिन् । जम्माजम्मी ११ वटा भाषा सिकेकी उनी उच्चशिक्षा पढ्न चाहन्थिन् तर आमाचाहिँ उनलाई घरेलु काम गर्न दबाब दिन्थिन् । १८९१ मा १९ वर्षको उमेरमा उनको भ्लादिमिर कोलोन्ताईसँग भेट भयो । सैनिक एकेडेमीमा अध्ययनरत कोलोन्ताईसितको उठबस मासालिनाले मन पराइनन् । र, अलेक्ज्यान्ड्रालाई पश्चिम युरोपको भ्रमणमा पठाइदिइन् । यसका बाबजुद दुवै छुट्टिएनन् । दुई वर्षपछि सन् १८९३ मा उनीहरूको बिहे भयो । अलेक्ज्यान्ड्राले छोरा (मिखाइल) लाई जन्माइन् । यसबीच उनी माक्र्सवादी विचारधाराबाट प्रभावित भइसकेकी थिइन् । पति उनको राजनीतिक क्रियाकलापबाट रुष्ट भएका कारण ६ वर्षपछि नै उनीहरू छुट्टिए ।
कोलोन्ताई मजदुर र किसानहरूको भेलामा जान थालिन् । दिदी झेनियाले उनलाई पुस्तकालय लगिन् । त्यहाँ माक्र्सवादी पुस्तक पढ्ने क्रममै सेन्टपिटसबर्गमा सक्रिय कार्यकर्ता इलेना स्तासोभा (जसले पछि कम्युनिस्टहरूको इन्टरनेसनल (कोमिन्टर्न) मा काम गरिन् र सन् १९२७ देखि १९३८ सम्म कम्युनिस्टद्वारा गठित छुट्टै रेडक्रस ‘इन्टरनेसनल रेड एड’को अध्यक्ष बनिन्)सँग भेट भयो । उनले कोलोन्ताईलाई कोड शब्द सिकाइन् र त्यसबेला अवैध मानिएका दस्ताबेज र पर्चा गोप्य रूपमा सम्बन्धित व्यक्तिसम्म पु¥याउने काममा लगाइन् । सन् १८९८ मा नाबालक छोरालाई आमाबाबुकोमा छाडेर अर्थशास्त्र पढ्न स्विट्जरल्यान्ड गइन् । तर, तुरुन्तै इंग्ल्यान्ड गएर ब्रिटिस लेबोर पार्टीका नेतालाई भेटिन् । सन् १८९९ मा स्वदेश फर्किइन् र भ्लादिमिर इलिच लेनिनसँग उनको भेट भयो । २७ वर्षको उमेरमा उनले रुसी सामाजिक जनवादी लेबोर पार्टीको सदस्यता लिइन् । सन् १९०५ मा भएको क्रान्तिमा भाग लिइन् । त्यसबेला सेन्टपिटसबर्गमा भेला भएका निःशस्त्र जनतामाथि सेनाले गोली चलाउँदा (खुनी आइतबारको नाउँले विख्यात सो घटनामा ९३ जनाको मृत्यु र ३ सय ३३ जना घाइते भएका थिए) उनी त्यहीँ थिइन् । यो घटनापछि उनी सामाजिक जनवादी लेबोर पार्टी विभाजित भई बनेको मेन्सेभिक (जुलियस मार्तोभको नेतृत्वमा रहेको अल्पमत समूह)मा लागिन् । उनलाई लेनिनको नेतृत्वमा रहेको बोल्सेभिक (बहुमत समूहको पार्टी)ले लिएको संसद् ‘ड्युमा’को बहिष्कार गर्ने नीति चित्त बुझेको थिएन । हुन त लेनिन आफैँले पार्टीको उक्त नीति ‘त्रुटिपूर्ण’ भएको व्याख्या गरेका छन् । सन् १९०८ मा जर्मनीमा निर्वासनमा गइन् । ‘फिनल्यान्ड र समाजवाद’ लेख प्रकाशित भएपछि उनी देश छाड्न बाध्य भएकी थिइन् ।
उनले लेखमा रुसी साम्राज्यविरुद्ध विद्रोह गर्न फिनिस जनतालाई आह्वान गरेकी थिइन् । उनले जर्मनीमा जर्मनी कम्युनिस्ट पार्टी र स्पार्टाकस लिगका संस्थापकद्वय रोजा लक्जम्बर्ग र कार्ल लिब्नेख्तसँग भेटिन् । सन् १९१४ मा विश्वयुद्ध चर्कियो । जर्मनीका सामाजिक जनवादीले युद्धको समर्थन गरेपछि उनी त्यहाँ बसिनन् । र, यो युद्धलाई क्रान्तिकारीलाई दबाउन बुर्जुवाहरूले सुरु गरेको प्रपञ्च मान्थिन् । उनी डेनमार्क गइन् । तर, त्यहाँका समाजवादी पनि युद्धकै पक्षमा लागेपछि स्विडेन पुगिन् । युद्धविरोधी भाषण गर्दै, पर्चा बाँड्दै हिँड्ने, पत्रपत्रिकामा समाजवादसम्बन्धी लेख–रचना प्रकाशित गर्ने र युद्धसम्बन्धी लेनिनको सिद्धान्तको अनुवाद गर्दै हिँड्ने गरेका कारण पक्राउ परिन् । रिहा भएपछि नर्वे गइन् र समाजवादी समाज गठन गरिन् । विश्वयुद्धमा रुस पनि होमियो । बोल्सेभिकले युद्धविरुद्ध ठूलो आवाज उठायो तर मेन्सेभिक न विरोध न समर्थनको दोधारे नीति लिएर बस्यो । युद्धको कट्टर विरोधी उनलाई मेन्सेभिकको सो नीति मन परेन । सन् १९१५ मा बोल्सेभिक बनिन् । युद्ध र सैनिकीकरणविरुद्ध लाग्ने क्रममै अमेरिका पुगिन् । लेनिनसित सम्पर्क राख्दै गरेकी उनले साढे चार महिनाको बसाइमा एक सय २३ वटा भेला गरिन् । उनी दिनभरि रेलयात्रा गर्थिन् र भेलामा सरिक भई फर्कन्थिन् । श्रमिक जनताका नायक तथा क्रान्तिकारी युनियनका सक्रिय कार्यकर्ता जोय हिलको अन्त्येष्टिमा भाग लिइन् । जोयलाई नेभादाको सरकारले हत्याको आरोप लगाएर मृत्युदण्ड दिएको थियो ।
उनले अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८)सम्बन्धी पाँचवटा लेख समाजवादी पत्रिकाको कार्यालयमा राखेर अमेरिका छाडिन् । र, दुई वर्षपछि स्वदेश फर्किइन् । रुसमा त्यसबेला फेबु्रअरी क्रान्ति सुरु हुनै लागेको थियो । मजदुरले सेन्टपिटसबर्गको पुटिलोभ हातहतियार कारखानामा तालाबन्दी गर्दा सडकमा निकालिएको महिलाहरूको ठूलो जुलुसमा उनी पनि थिइन् । सो क्रान्तिले जारको शासन ढालेर अन्तरिम सरकार गठन गर्दा पनि क्रान्तिकारीले चित्त बुझाएका थिएनन् । क्रान्तिकारीको नेतृत्वमा सडकमा मजदुरले ‘शान्ति, रोटी र स्वतन्त्रता’को आवाज बुलन्द गर्दा उनी अग्रपंक्तिमा थिइन् । बोल्सेभिकले पेत्रोग्राद (सेन्टपिटसबर्ग) मा गठन गरेको पेत्रोग्राद सोभियतको कार्यकारिणी सदस्य भइन् । बोल्सेभिकको प्रथम महाधिवेशनमा भाग लिइन् र अन्तरिम सरकारविरुद्ध लाग्दै सक्रिय भइन् । उनले सैनिक र जहाज मजदुरलाई सम्बोधन गर्दै गइन् । पाभेल डेबेन्को (बहादुरी कमाएका नाविक) सँग उनको भेट भयो । गरिब परिवारका पाभेल पनि सानैदेखि बोल्सेभिकमा लागेका थिए । दुवैको प्रेम बस्यो र वैवाहिक गाँठो कसियो । यसबीच कोलोन्ताई पक्राउ परिन् । अन्तरिम सरकारले दुई महिना एकान्तबासको सजाय दियो । त्यहाँ बस्दा पनि उच्च रक्तचाप र मन डराउने रोगबाट पीडित बनिन् । खुट्टा र अनुहार सुन्नियो । साहित्यकार म्याक्सिम गोर्कीको अग्रसरतामा मजदुरले दिएको चन्दा धरौटी राखेपछि बल्ल रिहा भइन् । लगत्तै अक्टोबर १० मा बसेको बोल्सेभिक पार्टीको केन्द्रीय कमिटी बैठकमा भाग लिइन् । बैठकले सशस्त्र संघर्ष गर्ने प्रस्ताव पारित गरेपछि पेट्रोग्रादको विद्रोहलाई संयोजन गर्न लागिपरिन् ।
विद्रोह (अक्टोबर क्रान्ति) सफल भएपछि बनेको सरकारमा पार्टीले उनलाई पनि सहभागी गरायो । यसरी समाजकल्याणमन्त्री (कमिसार) का रूपमा उनी विश्वकै प्रथम महिला मन्त्री बन्न सफल भइन् । उनी महिलाको जीवनस्तर, शिक्षा, वैवाहिक जीवन उकास्नमा लागिपरिन् । बुर्जुवा महिलावादको विरोध गरिन् । पार्टीभित्रै महिला विभाग ‘झेनोट्डेल’ बनाइन् र पार्टी संगठनमा बराबरी हकको वकालत गरिन् । पार्टीभित्र द्वन्द्व बढ्दै गएपछि अलेक्ज्यान्डर स्ल्यापनिकोभसँग मिलेर ‘श्रमिकहरूको विपक्षी’ गुट खडा गरिन् । सत्तारूढ पार्टीभित्र गठित यो इकाइका कारण गृहयुद्धमा फस्दै गइरहेको मुलुकलाई नराम्रो असर पुगेपछि विवाद मिलाउन लेनिन अग्रसर भए । उनले कोलोन्ताईलाई सम्झाए । कोलोन्ताई यसपछि सो इकाइमा निष्क्रिय बनिन् । र, नर्वेका लागि राजदूतमा नियुक्त भइन् । यसरी उनी आधुनिक विश्वको प्रथम राजदूत बन्न सफल भइन् । उनले पछि सन् १९२६ देखि १९२७ सम्म मेक्सिको र १९३० देखि १९४५ सम्म स्विडेनको राजदूतको पदभार सम्हालिन् । उनी स्विडेनको राजदूत रहँदै रुस र फिनल्यान्डबीच झडप भयो । यो घटनामा स्विडेनलाई तटस्थ राख्न सफल भइन् । उनले पछि लिग अफ नेसन्समा पनि भाग लिइन् । राजदूतबाट निवृत्त भएपछि उनलाई रुसी विदेश विभागको सल्लाहकारमा नियुक्त गरियो ।
उनले पछिल्लो समयमा ‘फ्री लभ’को वकालत गर्न थालिन् । समाजवादभित्र पनि विवाहपछि महिला पुरुष बराबरीको अधिकार पाउन वञ्चित हुनुपरेकामा बुलन्द आवाज उठाइन् । उनको भनाइ थियो, ‘बिहेअघि स्वतन्त्र भए पनि बिहेपछि महिला घरको रेखदेख र बच्चा हुर्काउने काममा सीमित हुन बाध्य छन् । समाजवादले पनि महिलालाई पुरुषसमान स्वतन्त्रता र अधिकार दिन नसक्नु व्यवस्थाको कमजोरी हो ।’ उनका अनुसार यौनसन्तुष्टि प्राप्त गर्ने कुरा पनि भेदभावपूर्ण छ । उनी भन्छिन्, ‘पुरुषले प्राप्त गर्ने सन्तुष्टि महिलालाई आवश्यक हुन्न ? यौनको भोक र प्यास के लिंगअनुरूप फरक हुन्छ ? स्त्रीले पाउनु नपर्ने पति÷पत्नीबीचको शारीरिक मिलन के बलात्कारको अर्को रूप होइन ? यौनसन्तुष्टिबिनाको दाम्पत्य जीवन महिलाको निम्ति बन्धन मात्र हो । बुर्जुवा समाज दमन, सम्पत्तिमाथिको अधिकार र अहंमा टिकेको हुन्छ, तर समाजवाद र साम्यवाद पुरुष–नारी सँगसँगै काम गर्ने, समाज र परिवारका लागि एक–अर्काको सहयोगी बन्ने व्यवस्था हो । त्यसैले सबै क्षेत्रमा महिलाको अधिकार स्थापित हुनुपर्छ, शारीरिक मिलनमा पनि । केटाकेटीलाई शिक्षा दिलाउने, हुर्काउने मामिलामा पनि दुवैको सक्रियता आवश्यक छ ।’ महिलालाई अधिकारसम्पन्न गराउने र महिला अधिकारको कुरा उठाउने गरेकै कारण कम्युनिस्ट भईकन पनि बेलायत र अमेरिकामा समेत उनको ख्याति छ । उनको जीवनीसम्बन्धी पुस्तक, टेलिसिरियल र सिनेमा बनेका छन् । स्विडिस अभिनेत्री ग्रेटा गार्बोद्वारा अभिनीत ‘निनोत्च्का’ उनकै जीवनीमा आधारित चलचित्र हो ।
अर्डर अफ लेनिन, रेड ब्यानर अफ लेबोर, नाइट्स ग्रान्ड क्रस अफ रोयल नर्वेजियन अर्डर, अर्डर अफ एज्टेक इगलजस्ता उच्चकोटिको अवार्डबाट सम्मानित उनको सन् १९५२ को मार्च ९ मा ८० वर्षको उमेरमा निधन भएको थियो । उनीद्वारा लिखित १८ वटा पुस्तक प्रकाशित छन्, जसमा ‘रेड लभ’, ‘अ ग्रेट लभ’, ‘लभ अफ वर्कर्स बिज’ उपन्यास हुन् भने अन्य समाजवाद, परिवार, यौन, महिलाअधिकार विषयक हुन् ।
– राजेन्द्र स्थापित
No comments:
Post a Comment