साह आलम (द्वितीय) आलमगिर (द्वितीय) का छोरा हुन् । सन् १७५९ नोभेम्बर २९ मा आलमगिरको हत्या भयो । युवराज अलि गौहरले आफू अठारौँ मुगल सम्राट बनेको भन्दै साह आलम -द्वितीय) को नाउँबाट राज्य चलाउने घोषणा गरे । त्यसबेला उनी बिहार प्रान्तको अजिमावाद जिल्लास्थित कथौली नगरमा थिए । यसबीच आलमगिरका हत्याराहरु मन्त्री उल मुलक, इमदाद उल मुलक र घाजी उद्दीन खानले साह जहाँ (तृतीय) लाई दिल्लीको शासक घोषित गरिदिए । लगत्तै मराठा सरदार सदाशिव रावले दिल्लीमा आक्रमण गरी साह आलमका छोरा मिर्जा जवाँ बख्तलाई सिंहासनमा बसाले । पछि अहमदसाह अब्दालीले पानीपतको लडाइँमा मराठाहरुलाई पराजित गरी सन् १७६१ मा दिल्लीमाथि कब्जा जमाए । लुट्नुसम्म लुटे र ३३ वषर्ीय साहआलमलाई गद्दीमा बसाले । जवाँबख्त युवराज घोषित भए ।
साहआलम अब्दालीको षड्यन्त्रबाट दिक्क मानेर इलाहावादतर्फ रवाना भए । त्यहाँ वाषिर्क २६ लाख भारु लिने गरी बंगाल, बिहार र उडिसाको जिम्मा बेलायतको इष्ट इन्डिया कम्पनीलाई सुम्पे । उनी आफूलाई अंग्रेजको बन्दी ठान्दथे । सन् १७७२ मा मराठाका अर्का सरदार माधवराज सिन्धियाको सहयोग लिई दिल्ली फर्के । लालकिल्लामाथि नियन्त्रण जमाए । शासनको प्रवन्ध सम्हाल्न सिन्धियासित आग्रह गरे । आगरामा दुई जनाको भेट भयो । सिन्धिया दिल्ली पुगे । साहले सम्पूर्ण अधिकार प्रदान गरेर सिन्धियालाई प्रधानमन्त्री र प्रधानसेनापति बनाए । सिन्धियाले बदलामा साहको खर्चका लागि मासिक एक लाख दिन मन्जुर गरे । यसअघि यो अधिकार रघुनाथ रावले पाएका थिए तर पानीपतको लडाइँमा पराजित भएपछि रावको प्रभुत्व समाप्त भयो । पछि मराठा सरदारले पञ्जाबमा सिखहरुसिद्ध गठबन्धन गरेर विद्रोही शासकहरुलाई पराजित गरे र सम्पूर्ण उत्तरी भारतमाथि कब्जा जमाए ।
साहआलमले सेनाको सुदृढीकरण मिर्जा नजिफ खाँको नेतृत्वमा गरेका थिए । नजिफले मराठा सरदारसँग मिलेर जबिता खाँ र सिखहरुलाई पराजित गरी सम्राटको मन जितिसकेका थिए । युद्धमा पाँच हजार विद्रोही मारिए भने राज्यको ढुकुटीबाट गायब भएको २० लाख बराबरको धनमाल बरामद गर्न नजिफ सफल भए । नजिफको निधनपछि युद्धमा पटक-पटक बहादुरी प्रदर्शन गरिसकेका मिर्जा साफीलाई सेनापति नियुक्त नगरेर सम्राटले ठूलो गल्ती गरे । सन् १७८५ मा नजिफका छोरा जबस्ता खाँको निधन भयो । जबस्ताको छोरा गुलाम कादिर रोहिला मराठाहरुका शत्रु थिए । धेरै मराठा सेना दिल्ली बाहिर रहेको मौका छोपेर कादिरले पहिला बागपत र पछि साहदराको बाटोबाट छिरी लालकिल्लामाथि आक्रमण गरे । स्वर्गीय मुगल सम्राट मोहम्मद साहका दुईवटी विधवा रानीले साहआलमलाई गद्दीच्युत गर्न गुलामलाई १० लाख भारु दिएका थिए । उनीहरु नाति बेदारबख्तलाई सम्राट बनाउन चाहन्थे । बख्तका बाबुको भागेर अंग्रेजहरुसित मिली मराठाहरुविरुद्ध षड्यन्त्र रच्दै गर्दा कोलकातामा निधन भएको थियो । गुलाम कादिरले लालकिल्लामाथि कब्जा जमाएपछि साहआलमलाई सानो मस्जिदभित्र कैद गरे ।
दिल्लीलाई कहिले इरानी, कहिले अफगानी, मराठा, जाट र रोहिलाहरुले लुट्नु लुटिसकेका थिए । खासगरी गरिब र मध्यमवर्गका जनता निकै मर्कामा थिए । राजपरिवारसमेत ऋणमा डुबिसकेको थियो । राज्यको ढुकुटी रित्तिएको थियो । अहमदसाह अब्दालीले करोडौँ रुपैयाँ र बहुमूल्य गहना दम्पच पारिसकेका थिए । सम्राट साहआलम यतिविघ्न कमजोर बनिसकेका थिए कि आˆनी एउटी छोरी जोहराको बिहे आक्रमणकारीका छोरासँग गर्न विवश थिए । गुलाम कादिरले साहआलमलाई कैद गरिसकेपछि बेदार बख्तलाई सम्राट घोषित गरिदिए । त्यसपछि शाही ढुकुटी लुट्न थाले । सन् १७८८ को जुलाई २९ देखि अगस्त १० सम्म सम्पत्ति खोज्ने नाउँमा दरबारभित्र र वरिपरि कोदालो चलाउन लगाए । शहरमा पनि लुटपाट मच्चाए ।
गुलाम कादिरले धनको लागि साहआलममाथि दबाव दिन सुरु गरे तर साह कंगाल बनिसकेका थिए । अंग्रेज सरकारले दिने पेन्सन बन्द गरिसकेको थियो । गुलाम क्षुद्र, सन्काहा त थिए नै लालची पनि थिए । कैयौँ कोसिसका बाबजुद मनग्य धन लुट्न नपाएपछि पागल बने । अफगानी सैनिकहरुलाई लिएर साह आलमकोमा पुगे । तथानाम गाली गरे र भएभरको सम्पत्ति सुम्पने चेतावनी दिएर फर्के । गुलामको धम्कीपछि जेठी रानी नबाब ताजमहल बेगम साहिबालगायत चारैजना रानी, राजमाता नबाब जिनत महल साहिबा तथा साहका ५० जनाभन्दा बढी छोराछोरीको रुवाबासी चल्यो । सोही दिन दिउँसो सुनचाँदीका भाँडाकुँडा, रत्नजडित तरबार, अन्य सामान, बहुमूल्य वस्त्र र हिरा-जवाहरातले भरिएको दर्जनौँ बयलगाडा दरबारबाट बाहिर लगियो । यसपछि साहआलम र परिवारका सबै सदस्य मोतीमहलमा कैद गरिए । भोलिपल्ट सेनालाई लिएर दरबारको जनाना कोठामा पसे, जहाँ बेदरबख्तकी आमा जमानिया र स्व. मोहम्मद साहका रानीहरु थिए । दरबारको कुनाकुनामा लुकाइराखेको धन निकाले । रानीहरुका गहना पनि लिए । बेदरबख्तले आˆनो तर्फबाट भनी हिरा-जवाहरतले भरिएको एउटा बक्सा ल्याएर दिए । अगस्त १० को दिन, गुलाम कादिरले अन्तिम पटक साहआलमसँग धन मागे ।
नदिएमा मार्ने धम्की दिए । साहले दिन अस्वीकार गरेपछि मदिराले लठि्ठएका गुलामले उचालेर भूइँमा पछारिदिए । अनि छातीमा चढेर मुक्का बर्साए । साहले भने- 'तिमीलाई मैले धन लुकाएको जस्तो लागेको छ भने मेरो आँखै निकालिदिनु ।' साहले कुरानलाई साक्षी राखेर वाचा गरे, अनुनय-विनय गरे तर गुलाम मान्न तयार भएनन् । उनको आदेशमा दुई जना सैनिकले साहको खुट्टा र हात समाते । साह सहन नसकी रोए । साहको विवशता देखेर सबै सुँकसुँकाए । गुलामले कम्मरमा बाँधेर राखेको चक्कु निकाले र साहको आँखामा घुसारिदिए । साह रगताम्य भए । यसको बाबजुद गुलामले छाडेनन् र अन्धाधुन्द घुस्सा हाने, दाह्री उखेलिदिए । साहको खुट्टा र हात कँधारी खाँ र पुरदिल खाँले समातेर राखेका थिए । यसपछि गुलामले साहको दोस्रो आँखा निकाल्न कँधारी खाँलाई आदेश दिए । अनि एकजना अफगानी चित्रकारलाई बोलाएर विभत्य दृष्यको चित्र कोर्न भने । साहका छोराहरु अकबर सुलेमान र अहसान बख्त विवश भएर क्वाँ-क्वाँ रोइरहेका थिए । गुलामले बल्ल साहलाई छाडे र उठे । अनि साहको गद्दीमा गएर बसे । दुवै आँखा गुमाइसकेका अन्धा सम्राट साह यसबीच पनि भूइँमा छट्पटाइरहेका थिए । रक्ताम्य सम्राटलाई उठाउन आएका तीन जना र पानी ल्याउने दुई जना नोकरको टाउको नै छिनालिदिए । विभत्स दृष्य देखेर रोइराखेका स-साना बालकलाई भोकै-प्यासै मर्न दिए ।
सोही साँझ गुलामले दरबारको बैठक कोठामा रानी, राजकुमारीलगायत सबै महिलालाई भेला गराए । सबैलाई हिरा-जवाहरातलगायत गरगहना बुझाउन आदेश दिए । रानी र राजकुमारीहरुसँग लगाइराखेको लुगाबाहेक केही बाँकी थिएन । क्रोधित गुलामले साहकी बहिनी खैरुनिस्सा बेगमलाई घिसारेर ल्याउन अफगानी सैनिकलाई आदेश दिए । खैरुनिस्सालाई निर्वस्त्र पारी लुगामा हिरा खोज्न थाले । केही फेला नपरेपछि झन् पागल बने र बाँकी सबै राजकुमारीलाई पनि निर्वस्त्र पार्न लगाए । राजकुमारीहरुको शीलभंग गर्न अफगानी सैनिकहरुलाई आदेश दिए । गुलाम स्वयं सुरुदेखि नै नपुंसक थिए । बाबु जबस्ता खाँ दिल्लीबाट भागेको बेला उनी दिल्लीमै छुटेका थिए । त्यसबेला साह आलमका सेनाले उनी र परिवारका सदस्यप्रति त्यस्तै प्रकारको अत्याचार गरेका थिए ।
अगस्तको अन्तिम समयसम्म गुलाम कादिर लालकिल्लामै बसिरहे । लालकिल्लामाथि आक्रमण गरेको समय साथ दिएका इस्माइल बेगले साथ दिन छाडिसकेका थिए । जनरल राना खाँ दिल्ली पसिसकेको समाचार सुनेर भयभित भए र सेप्टेम्बर १ मा लालकिल्ला खाली गरी मेरठतर्फ भागे । राना खाँले गुलामलाई घेराबन्दी गरी पक्रन प|mान्सिसी सैन्य अधिकृत लेस्टिनको नेतृत्वमा सेना पठाए । गुलाम लालकिल्लामा लुटेको सम्पत्ति बोकेर मेरठको किल्लाभित्र छिरे । केही दिन त्यहीँ लुकी बसे तर ज्यान बचाउन नसकिने देखेपछि मौका छोपी घोडा चढेर राति नै सहारनपुर भागे । घोडालाई दरबारबाट लुटेर ल्याइएको सम्पत्ति बोकाइएको थियो । रातको अन्धकारमा घोडाले बाटो बिरायो । गुलामको अत्याचार थाहा नपाउने कोही थिएनन् । त्यहाँ एकजना ब्राहृमणको घरमा शरण लिन पुगे तर ब्राहृमणले छिमेकीहरुको सहयोगमा पक्राउ गरी सेनालाई सुम्पिए । सैन्य अधिकृत लेस्टिनले लुटेर लगेको धनसहित उनलाई हत्कडी र नेलले बाँधेर राना खाँसमक्ष उपस्थित गराए । रानाले मेरठमा रहेका माधवराज सिन्धियासमक्ष पेस गरे । गुलामलाई देखेपछि सिन्धियालाई पुरानो घटना सम्झना भयो । पानीपतको युद्धमा घाइते भएपछि अफगानीहरुले बेइज्जत गरी यातना दिएका थिए । सिन्धियाले पनि गुलामलाई यातना दिएर मार्न आदेश दिए । आदेशानुसार सर्वप्रथम कान काटियो र काटिएको कान घाँटीमा झुण्ड्याउन लगाइयो । दोस्रो दिन नाक र माथिल्लो ओठ काटियो । अनुहारमा कालोमोसो दलेर घुमाइयो । तेस्रो दिन चक्कुले आँखा निकाल्न लगाइयो । पछि शरीरको अन्य अंग पनि एक-एक गरी काटियो र अन्त्यमा लासलाई रुखमा झुण्ड्याइयो । सिन्धियाको आदेशमा गुलाम कादिरका सहयोगीहरुलाई पनि नेत्रहीन पारी फाँसी दिइयो । काटिएको आँखा र कान पुनः गद्दीमा बसिसकेका अन्धा सम्राट साहआलमकोमा पठाइयो । साहले सिन्धियाले पठाएको उपहार ताली बजाएर ग्रहण गरे ।
गुलाम कादिरद्वारा अन्धा बनाइएका सम्राट साहआलम फर्जाना जेब उनिस्सा, इस्माइल बेग, मिर्जा सफी, असफ उद दोलाहा र माधवराजको सहयोगमा पुनः गद्दीसीन हुन सफल भएका थिए । पुनः अधिकार हातमा आएपछि खासगरी फर्जानालाई लालकिल्लामा रातो कार्पेट बिछ्याएर स्वागत गरे । उनको सम्मानमा आयोजित कार्यक्रममा फर्जाना साहकी 'प्यारी छोरी' घोषित भइन् । माधवराज सिन्धियालाई बकसस्वरुप मथुरा र वृन्दावन दिए । आगराको किल्ला पनि उनैलाई दिए । मुगल -मुस्लिम) भए पनि सिन्धियाकै सल्लाहमा मुगल साम्राज्यभित्र गाई काट्न नपाउने आदेश जारी गरे । राजधानीलाई पालममा सारे । गुलाम कादिर खाँको उक्साहटमा गद्दीमा बसेका नाति बेदार बख्तलाई फाँसी दिए । आˆतावको नाउँले कविता लेख्ने गरेका साह आलमको निधन सन् १८०६ मा भयो । दिवंगत हुनु तीन वर्षअघि नै अंग्रेज सेना दिल्ली पुग्यो । मुगल साम्राज्य इष्ट इन्डिया कम्पनीको अधिनमा गयो । अंग्रेजहरुले साहका माहिला छोरा मिर्जा अकबरलाई गद्दीको उत्तराधिकारी घोषित गरिदिए । साहको निधनपछि उनै अकबरले अकबर साह (द्वितीय) को नाउँबाट ३१ वर्ष शासन गरे । उनी मुगल साम्राज्यका दोस्रो अन्तिम शासक हुन् ।
- राजेन्द्र स्थापित
No comments:
Post a Comment