आरामिन्ता रोसका आमाबाबु दुवै दास थिए । पुख्र्यौली घर अफ्रिकी देश घाना थियो । बज्यैलाई अन्य अफ्रिकी दासहरु सरह पानीजहाजबाट अमेरिका ल्याइएको थियो । पछि उनकी एउटी छोरी भइन्– ह्यारियट रिट ग्रिन । रिटको बिहे बेन रोससँग भयो, जो पेशाले सिकर्मी थिए । उनीहरुका कुल नौ सन्तान भए । रिट ब्रोडेस परिवारमा भान्छेको काम गर्थिन् । रोस जन्मिनुअघि नै ब्रोडेसले उनीहरुका तीन सन्तानलाई बेचेर पढाइसकेका थिए । केही समय नबित्दै कान्छो भाइ मोसेसलाई खरिद गर्न जर्जियाको व्यापारी आएको थाहा पाएपछि आफू पनि बेचिने डरले रोस घरबाट भागिन् ।
मोसेसको बिक्री नगर्न रिटले ब्रोडेससँग अनुनय–विनय गरिन् । ब्रोडेस र व्यापारी मोसेसलाई लिन दासहरु बन्दी बनाइएको क्वार्टरमा पुगे । रिट पनि त्यहाँ पुगिन् र खबरदारी गरिन्, ‘मोसेस मेरो छोरा हो, उसलाई छुनेको गर्धन उडाइदिन्छु ।’ रिटको धम्कीपछि दुवै खाली हात फर्के । रोस एक महिनापछि घर फर्किइन् । त्यसबेला ६ वर्षकी थिइन् । यसैबीच ब्रोडेसले उनलाई एकजना नर्सको घरमा काम गर्न पठाइदिए । उनको काम नर्स सुसानको बच्चालाई सुताउनु थियो । बच्चा जतिपटक उठेर रुन्थ्यो, त्यति नै पटक उनले कोर्रा खानु पथ्र्यो । एकदिन बिहानभरि मात्र सुसानले उनको शरीरमा पाँचपटक कोर्रा हानिन् । पिटाइ सहन नसकेपछि घरबाट भागिन् । पछि जेम्स कुक नाउँ गरेको किसानकोमा काम गर्न थालिन् । दादुराले ग्रस्त भएपछि घर फर्किइन् । रिटले ठूलो हेरचाह गरी छोरीलाई स्वस्थ बनाइदिइन् तर जब स्वस्थ भइन् ब्रोडेसले उनलाई फेरि अर्को एकजनाको घरमा काम गर्न पठाइदिए । खेतमा काम गर्ने, जंगलबाट दाउरा ल्याउने, दाउरा चिर्ने काममा व्यस्त भइन् ।
किशोरावस्थामा टेकिसकेकी उनलाई एकदिन पसलमा सामान लिन पठाइयो । त्यहाँ उनको भेट अर्को दाससँग भयो । १२÷१३ वर्ष उमेरका ती दास मालिकको अनुमतिबिना घरबाट निस्केका रहेछन् । पछि त्यहीँ मालिकसित जम्काभेट भयो । रोसले दास केटोलाई मालिकको जिम्मा लगाउन अस्विकार गरिन् । रिसाएका ती व्यक्तिले दुई केजी तौलको एउटा वस्तुले टाउको फुट्ने गरी हिर्काइदिए । उनी त्यहीँ बेहोस भइन् । जसोतसो घर पुगिन् तर मालिकले धेरै पैसा लाग्छ भन्दै उपचार गरेनन् । त्यसपछि ब्रोडेसको घर फर्किइन् । ब्रोडेसले उल्टै बेचेर पढाउने कोसिस गरे । टाउकोमा लागेको घाउको कारण जीवनको अन्त्यसम्म पनि अचानक मुर्छा पर्ने रोगले छाडेन । सन् १८४० मा रोसका बाबु बेन दासत्वबाट मुक्त भए । त्यसबेला उनको उमेर ५५ पुगिसकेको थियो । लगत्तै ट्युबमेनले एकजना गोरा वकिल भेटे ।
पाँच डलर दिएर आफ्नी आमाको कानुनी स्थिति बुझ्न लगाए । वकिलले रिट ४५ वर्षको उमेर भएपछि स्वतः मुक्त हुने र उनका छोराछोरी पनि मुक्त हुने सुनाए तर ब्रोडेसले यो कानुनी प्रावधान मानेनन् । यसबीच २४ वर्षको उमेरमा सन् १८८४ मा रोसको बिहे अश्वेत युवक जोहन ट्युबमेनसँग भयो । बाबु–आमा र पति दासत्वबाट मुक्त भइसकेको भए तापनि रोस कानुनी रुपमा दास नै थिइन् । त्यसैले यसबाट उम्कन बिहेपछि उनले आफ्नो नाउँ फेरिन्– ह्यारियट ट्युबमेन । पाँच वर्षपछि उनी निकै बिरामी भइन् । बिमारीका कारण दासत्वको मूल्य घट्यो । एडवर्ड ब्रोडेसले मौकाको फाइदा उठाएर बेच्ने कोसिस गरे तर किन्ने मान्छे पाएनन् । रिसाएका उनले ट्युबमेनलाई नातेदारकोमा लगेर राखे । ट्युबमेनले त्यसो नगर्न आफ्ना मालिकसँग निकैपटक आग्रह गरिन् तर मानेनन् । यसबीच एक हप्ता नबित्दै ब्रोडेसको निधन भयो । उनले उम्कन चाहिन् तर विधवा मालिक्नी इलजाले फेरि बेचेर पठाउने निधो गरिन् । ट्युबमेनले आफ्नो भाग्यको निर्धारण अरुले गर्न नसक्ने भन्दै विरोध गरिन् । नबेचिने बरु उन्मुक्ति वा मुत्युमध्ये एउटा रोज्ने निधो गरिन् ।
सन् १८४९ को सेप्टेम्बर १७ मा आफ्ना दुई भाइ बेन र हेनरीको साथमा ट्युबमेन घरबाट भागिन् र डा. एन्थोनी थम्पसनकोमा काम गर्न थालिन् । उता इलिजाले भागेको सूचना सार्वजनिक गरिन् र फर्केमा प्रत्येकलाई एक सय डलर इनाम दिने घोषणा गरिन् । पैसाको लोभमा बेन र हेनरीले आफ्ना दिदीलाई समेत जबर्जस्ती फकाए तर केही दिनपछि ट्युबमेन त्यहाँबाट पुनः भाग्न सफल भइन् । आफैँले भूमिगत रेल रोड नाउँको नेटवर्क निर्माण गरिन् । अश्वेत दासको मुक्ति गर्न गठित उक्त नेटवर्कमा दासत्व उन्मुलन चाहने गोराहरू पनि संगठित भए । संगठन विस्तार गर्ने क्रममा मेरिल्यान्डमा मित्र मण्डली अर्थात् साथीहरुबीचको धार्मिक समाज निर्माण भयो । समाज पहिलोपल्ट क्यारोलिना र पेन्सिलभानियाका दासहरुलाई भगाउन सफल भयो । संगठन विस्तार गर्ने क्रममा ट्युबमेनले पाँच दिनसम्म पैदल यात्रा गरेर १४५ किमी लामो यात्रा तय गरिन् । दिनरात खटेर दासलाई भगाउन र भागेका दासहरुको परिवारको हेरचाह गर्न थालिन् । फिलाडेल्फिया पुगेपछि उनलाई लाग्यो– परिवारका बाँकी सदस्यलाई पनि भगाउनुप¥यो । यसबीच अमेरिकी संसद्ले नयाँ कानुन पारित ग¥यो ।
पारित कानुनले भागेका दासलाई पक्रन र सजायँ दिन प्रहरीलाई थप अधिकार प्रत्यायोजन ग¥यो । सन् १८५० को डिसेम्बरमा भतिजी केसियाह, ६ वर्षको छोरा र काखे बच्चीलाई समेत बिक्री गर्न लागेको खबर उनले पाइन् । उनी गोप्य तवरमा बाल्टिमोर पुगिन् र दासत्वबाट मुक्त भइसकेका केसियाहका पति जोन बाउलीको सहयोगमा केसियाह र छोराछोरीलाई रातिको समय पारेर भगाई फिलाडेल्फिया लान सफल भइन् । भूमिगत रेलरोडका कार्यकर्ताहरु न्युयोर्क, न्यु इंग्ल्यान्ड र क्यानाडासम्म फैलिए । उनीहरुले भगाएका दासहरुलाई सुरक्षित स्थानमा राखेर पाल्नेसमेत काम गरिन् । यसबीच सन् १८५१ को अन्त्यतिर ट्युबमेन डोर्चेटर काउन्टी फर्किइन् । आफ्नो लोग्ने जोनलाई खोज्न सफल भइन् तर जोन क्यारोलिना नाउँकी केटीसँग बिहे गरेर बस्न थालेका रहेछन् । ट्युबमेनले संगठनमा लाग्न जोनसँग आग्रह गरिन् तर जोनले मानेनन् । पछि त्यहाँ भगाइएका केही दासलाई पाल्न जोन र क्यारोलिनालाई राजी गराइन् । त्यहाँ ११ वर्ष काम गरेपछि मेरिल्यान्ड फर्किन् । निरक्षर उनले पुगेलगत्तै ७० जना दासलाई मुक्त पारिन् । रिभोल्भर बोकेर, तर्साएरै कतिपय दासलाई मुक्त गरिन् । पछि उनी क्यानाडा पुगिन् । क्यानाडा त्यतिखेर दासमुक्त मुलुक बनिसकेको थियो ।
कानुनविपरीत दास भगाउने अपराधबापत पछि अमेरिकाको संघीय सरकारले ट्युबमेनको गिरफ्तारीमा ४० हजार डलर इनाम दिने घोषणा ग¥यो (स्मरणीय छ, राष्ट्रपति अब्राहम लिंकनको हत्यारा जोन विल्कस बुथको पक्राउमा जम्मा २५ हजारको इनाम राखिएको थियो) । यद्यपि पाँच फुटमात्र अग्ली ट्युबमेन कहिल्यै पक्राउ परिनन् । यसबीच सन् १८५९ मा जोन ब्राउनसँग उनको भेट भयो । जोन दास मोचनका कट्टर हिमायती थिए तर उनी हिंसाको मार्गमा अग्रसर थिए । उनले मुक्त दासहरुको छुट्टै सशस्त्र समूह बनाइदिन ट्युबमेनसँग आग्रह गरे र सैन्य आक्रमणमार्फत् दासमुक्त पार्ने योजना बनाउन थाले । उनले ट्युबमेनलाई जनरल बनाए । भर्जिनियाको हार्पर्स फेरीमा आक्रमण गर्न ओन्तारियोमा गोप्य बैठक गरे । योजनाअनुरुप अक्टोबर १६ मा आक्रमण गरियो तर सफल नभएपछि पक्राउ परे र दुई महिनापछि फाँसीमा चढे । सो आक्रमणमा ट्युबमेनको संलग्नता थिएन । उनी न्युयोर्कमा थिइन् । यसपछि उनले दास उन्मुलनका पक्षधर सांसद विलियम सेवार्डसँग मिलेर काम गरिन् ।
सन् १८६१ मा अमेरिकामा गृहयुद्ध मच्चियो । उनी बोस्टन र फिलाडेल्फियामा गठित संगठनमा आबद्ध भइन् । दासत्व मोचनका हिमायती सैन्य जनरल डेविड हन्टरलाई भेटिन् । पछि हन्टरले साउथ क्यारोलिनाको पोर्ट रोयल जिल्ला स्वतन्त्र हुनुपर्ने माग अघि सारे र मुक्त अश्वेत दास किसानहरुको फौज खडा गरे । राष्ट्रपति अब्राहम लिंकन दक्षिण क्षेत्रलाई मुक्त हुन दिन तयार थिएनन् । उनले जनरल हन्टरलाई आफ्नो कार्यप्रति क्षमा माग्न आग्रहसमेत गरे । ट्युबमेनले दक्षिणमा दासमोचन गर्न तत्पर सैनिक अधिकृतहरुलाई दिइएको नसिहतलाई लिएर राष्ट्रपतिको आलोचना गरिन् । भनिन्, ‘तपार्इं चाहनुहुन्छ भने नेग्रोहरु दासत्वबाट मुक्त हुन सक्छन्, याद गर्नुस्, जमीनमा खतरनाक सर्प छ, त्यो सर्पले भोलि तपाईंलाई नै डस्न सक्छ ।’ पछि लिंकनले सन् १८६३ को जनवरीमा दास उन्मुलनको घोषणा गरे । ट्युबमेनले सरकारी निर्णयको स्वागत गरिन् । सरकारको उक्त घोषणा सम्पूर्ण अश्वेतहरुको मुक्तिको एक महŒवपूर्ण कदम भएको प्रतिक्रिया दिइन् ।
यसको बाबजुद दक्षिण भेगलाई स्वतन्त्र पार्न गरिएको आन्दोलनप्रतिको समर्थन फेरि दोहो¥याइन् । सन् १८६५ मा महासंघ बनाउने यो आन्दोलन पूर्णतः तुहियो । आन्दोलनकारीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेपछि उनी औबर्न फर्किन् । ४९ वर्षको उमेरमा आफूभन्दा २२ वर्ष कान्छो नेल्सन डेबिडसँग प्रेम भयो । डेबिस गृहयुद्धका एक मुख्य योद्धा थिए । सन् १८६९ को मार्चमा उनीहरुबीच बिहे भयो । जोडी २० वर्षसम्म चल्यो । पछि महिलालाई मताधिकार दिनुपर्ने माग गर्दै विभिन्न राज्य घुमिन् । सन् १८९६ मा जब अफ्रो–अमेरिकी महिलाहरुको राष्ट्रिय महासंघ गठन भयो, सो सम्मेलनको उनी एक मुख्य वक्तामा चयन भइन् । उनको अन्तिम समय गरिबीमा बित्यो । उनको निधन ९३ वर्षको उमेरमा निमोनियाबाट सन् १९१३ मा भयो ।
– राजेन्द्र स्थापित
No comments:
Post a Comment