Thursday, April 11, 2013

धनी बाउका छोराको क्रान्तिकारी धन्दा

जोसे आल्ताग्रासिया रामिरेज नाभास भेनेजुयलाका करोडपति हुन् । माक्र्सवादी वकिल उनले एल्बा मारिया सान्चेजसँग बिहे गरे । सोभियत नेता भ्लादिमिर इल्यिच लेनिनबाट प्रभावित जोसेले तीनैजना छोराको नामकरण गरे– इल्यिच, लेनिन र भ्लादिमिर । सन् १९४८ मा जन्मेका जेठा छोरा इल्यिचको पठनपाठन राजधानी क्याराकासको साधारण स्कुलबाट सुरु भयो । स्कुले जीवनबाटै सन् १९५९ मा कम्युनिस्ट पार्टीले सञ्चालन गरेको युवा आन्दोलनमा सक्रिय भए । सात वर्षपछि पार्टीले क्युबाको राजधानी हभानानजिक क्युबान गुप्तचर संगठन डिआइजीले सञ्चालन गरेको समर क्याम्पमा पठायो, जहाँ उनले छापामार युद्ध कला सिके ।

सोही साल उनका आमाबाबु अलग्गिए । एल्बा तीनै सन्तानसहित लन्डन पुगिन् । इल्यिचको लन्डन स्कुल अफ इकोनोमिक्समा भर्ना भए । पढाइ पूरा नगरी रुस गए र विश्वका धेरै कम्युनिस्ट नेताले अध्ययन गर्ने मस्कोस्थित प्याट्रिस लुमुम्बा विश्वविद्यालययमा भर्ना भए तर दुई वर्षमै निकालिए । सन् १९७० मा बेरुत पुगे । प्यालेस्टिनी मुक्तिका लागि संघर्षरत एक मात्र माक्र्सवादी छापामार संगठन ‘पिएफएलपी’को स्वयंसेवक दस्तामा सदस्य बने । माक्र्सवाद–लेनिनवाद र चे ग्वेभारा विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्दै गठित र जर्ज हब्बासको नेतृत्वमा रहेको उक्त संगठनले उनलाई जोर्डन पठायो । ब्ल्याक सेप्टेम्बरजस्ता लडाकू संगठन निर्माण गरेको पिएफएलपीले उनको कोड नाउँ राख्यो– एच ४ । जोर्डनको राजधानी अम्मानमा उनी कार्लोसको नामले सक्रिय भए ।

सन् १९७२ को सेप्टेम्बरमा जर्मनीको म्युनिखमा ओलम्पिक खेलकुद चल्दै थियो । सेप्टेम्बर ५ को झिसमिसेमै छालाको टोपी लगाएका आठ जना छापामार १ सय २० राष्ट्रका १२ हजार खेलाडी बसिरहेको ओलम्पिक भिलेजमा प्रवेश गरे । मेसिनगन र हाते बमधारी उनीहरु सरासर इजरायली खेलाडीका लागि व्यवस्था गरिएको ब्लकमा पुगे । त्यहाँ बसिरहेका दुई जना खेलाडीलाई मारे र बाँकी नौ जनालाई बन्धक बनाए । पछि इजरायली जेलमा रहेका दुई सय कैदीलाई रिहा गर्न इजरायली सरकारले आनाकानी गरेपछि नौजनै मारिए । सो घटनाका योजनाकार थिए– जर्ज हब्बास र कार्लोस । लगत्तै कार्लोस पेरिस गए र उतै सक्रिय भए । सन् १९७३ मा लन्डनमा थिए । एक साँझ माक्र्स एन्ड स्पेन्सर स्टोरको ढोका खुल्यो । ढोका खोल्ने युवकलाई बन्दुक बोकेका कार्लोसले नियन्त्रणमा लिए र स्टोरका धनी जोसेफ सिफकोमा लान बाध्य पारे । जोसेफ बेलायतभरिकै ठूलो डिपार्टमेन्ट स्टोरको मालिक मात्र होइन, यहुदी महासंघका उपाध्यक्ष पनि हुन् ।

कर्मचारीले लिफ्ट प्रयोग नगरिकन सिँढी चढाएर उनलाई सिफको शयनकक्षमा पु¥याए । सिफकी पत्नी लोइसले देखिन् र चुकुल लगाएर प्रहरीलाई खबर गरिन् । सिफ रातिको खाना खाने तयारीमा थिए । कोठाको ढोका खोल्नेबित्तिकै कार्लोसले तीन राउन्ड गोली चलाए तर सिफ बचे । अर्को गोली चलाउन लाग्दा मेसिनगन ‘जाम’ भयो । त्यसैबेला प्रहरीको गाडीको साइरन सुने । प्रहरीलाई छलेर भागे । केही दिन नबित्दै लन्डनस्थित इजरायली हापोलिन बैंकमा बम पड्काए । पेरिसबाट प्रकाशित हुने तीनवटा पत्रिकाको गाडीमा बम हाने । नेदरल्यान्डको हेगस्थित फ्रान्सिसी दूतावासमा जापानी रेड आर्मीले सशस्त्र आक्रमण ग¥यो । राजदूतको अपहरण गर्ने उद्देश्यले गरिएको सो आक्रमण निर्धारित समयमा हुन नसकेपछि चालकलाई बन्दी बनाइयो । उनैको सहाराले राजदूतकोमा पुगे । प्रहरीसँग मुठभेड भयो । दुई जना प्रहरी घाइते भए ।

यसका बाबजुद राजदूत जैक्स सेनार्डलगायत दस जनालाई बन्धक बनाउन सफल भए । उनीहरुको मागबमोजिम पेरिस विमानस्थलमा पक्राउ परेका ब्रिगेड सदस्य युताका फुरायालाई रिहा गर्न प्रधानमन्त्री ज्याक्स सिराक बाध्य भए । ब्रिगेडका छापामारको मागबमोजिम सिराकले ७०७ बोइङ र तीन लाख डलर पनि दिए । बोइङ चढेर सकुशल मध्यपूर्व पुगे । योजनाकार पनि कार्लोस नै थिए । यो घटनापछि कार्लोसलाई खोज्न अमेरिकाको सिआइए, एफबिआइ, बेलायतको एम–६, इजरायलको मोसाद र फ्रान्सको गुप्तचर विभाग सक्रिय भए । इन्टरपोल जोड लगाएर लाग्यो । फ्रान्सेली अदालतले आजीवन कारावासको सजाय सुनायो । उनी भने भेष बदली सबैलाई चक्मा दि“दै हिँडे । उनले आफू आतंककारी नभएको, साम्राज्यवाद, पुँजीवाद र इजरायलविरोधी भएको र प्यालेस्टाइन भूमिको मुक्तिका लागि लडिरहेको बताए । सोभियत संघ, इराक, लिबिया, सिरियाको साथ पाए ।

सन् १९७५ मा अस्ट्रियाको भियनामा क्रिसमसको दिन, एक युवतीसहितको युवा दस्ता पेट्रोल निर्यातक देशको संघ ‘ओपेक’को भवनभित्र दिउँसै प्रवेश ग¥यो । नेता थिए– स्वयं कार्लोस । भित्र बैठक चलिरहेको थियो तर कोही पनि सम्हालिन नपाउँदै युवाहरुले दनादन गोली हाने । तीन व्यक्तिको घटनास्थलमै ज्यान गयो । ६ जनाको समूहले ६० जनालाई बन्धक बनायो । बन्धकहरु विभिन्न मुलुकका मन्त्री थिए । कार्लोसले प्यालेस्टिनी वक्तव्य रेडियो र टेलिभिजनमा प्रत्येक दुई घन्टामा प्रसारण गरिरहन अस्ट्रियाको सरकारलाई दबाव दिए । यदि यो सर्त नमानेमा १५ मिनेटमा एक बन्दीको हत्या गर्ने धम्की दिए । अस्ट्रियाई सरकार माग पूरा गर्न तयार भयो । भोलिपल्ट डिसेम्बर २२ मा सरकारले पिएफएलपीलाई एउटा विमान उपलब्ध गरायो । ४२ जना बन्धकलाई सोही विमानमा राखेर अल्जेरिया गए । त्यहीँ सबै बन्दी रिहा भए । कार्लोसको समूहमा लिबियाइ राष्ट्रपति कर्नेल कद्दाफीका निजी विमान चालक नेभिले आत्किसोन र जर्मनीको सहरी वामपन्थी छापामार संगठन ‘बादर मेनहोफ’ र रिभोल्युसनरी सेल्सका थिए । बन्धक मुक्त गर्न कार्लोसले तेल उत्पादक राष्ट्रसँग पाँच करोड डलर लिएका थिए ।

सन् १९७६ मा कार्लोस युगोस्लाभियामा पक्राउ परे । त्यसबेलासम्म मध्यपूर्वमा शान्तिप्रक्रिया सुरु भइसकेको थियो । त्यसैले उनले इराक, लिबिया, सिरियामा आफ्नो सुरक्षा देखेनन् । उनको चाहनाअनुरुप युगोस्लाभ सरकारले सुडान पठाइदियो । सुडान पनि त्यतिबेलासम्म अमेरिका र इजरायलविरोधी बनिसकेको थियो । कट्टर इस्लामिक राष्ट्रमा बसेर काम गर्न धर्म परिवर्तन गरी मुसलमान बने । सिरिया, लेबनान र जर्मनीको छापामारहरु संगठित गरेर छुट्टै संगठन बनाए । पूर्वी जर्मनीको गुप्तचर विभाग ‘स्टासी’सँग मिलेमतो गरे । जर्मन सरकारले पूर्वी बर्लिनमा कार्यालय खोल्न र बस्न व्यवस्था मिलाइदियो । ७५ जना कर्मचारी र एउटा गाडी दियो । त्यहीँबाट योजना बनाएर म्युनिखको ‘रेडियो फ्रि युरोप’, फ्रान्सको मिसन अफिस, फ्रान्सकै टिजिभी रेलमा बम विष्फोट गराए । यी आक्रमण लेबनानस्थित पिएफएलपीको अखाडामा फ्रान्सिसी बिमानले हवाइ आक्रमण गरेको बदलामा गरिएको थियो ।

त्यसरी नै फ्रान्सको आणविक भण्डारमा आक्रमण गरियो । यो घटनामा स्विस छापामार ब्रुनो ब्रेगेट र पछि कार्लोसकी पत्नी माग्डालेना कोप पक्राउ परे । कोप जर्मन फोटोग्राफर थिइन् अनि फ्रान्कफर्टको क्रान्तिकारी इकाइ (आरजेड) की पूर्व सदस्य । सन् १९७३ देखि १९९५ सम्म सक्रिय सो संगठन जर्मनीको सबैभन्दा खुंखार संगठन हो । नववामपन्थीहरुको सो संगठनले एयर फ्रान्सको विमान अपहरण गरेर युगान्डाको एन्टेबे पु¥याएको थियो । कोप दुई वर्षपछि रिहा भइन् । लगत्तै सन् १९८५ मा कार्लोससँग बिहे भयो । पछि एउटी छोरी पाइन् । कार्लोस सिरिया र लिबियामा बस्दा कोप पनि साथै थिइन् । सन् २००७ मा उनले पुस्तक निकालेकी छन्, ‘दि इयर्स अफ टेरर, माइ लाइफ विद कार्लोस ।’

सन् १९९४ मा फ्रान्सिसी प्रहरीले एकजनाको औंठा छाप कार्लोसको फिंगर प्रिन्टसित मिलेपछि खोजी सुरु ग¥यो । ती व्यक्ति तीन वर्षअघि सुडानका लागि उडेका थिए । गुप्तचरहरु खार्तुम पुगेर उनको निवास खोज्न थाले तर कार्लोस त्यहीँ रहेको पक्का विश्वास भएपछि फ्रान्स सरकारले सुडान सरकारसँग ठूलो धनराशिको सम्झौता ग¥यो । सम्झौताअनुरुप सुडान प्रहरीले ज्यानको खतरा छ भन्दै कार्लोसलाई सहरभन्दा टाढाको गाउँमा लग्यो । दुई दिनपछि राति उनकै अंगरक्षक कोठामा प्रवेश गरे । बेहोस हुने सुई दिएर डोरीले बाँधे । गोप्य रूपमा सहरमा ल्याई फ्रान्सिसी गुप्तचर प्रहरी डिएसटीका जवानहरुलाई हस्तान्तरण गरे । उनीहरूले कार्लोसलाई बेहोसीकै हालतमा विमान चढाई पेरिस लगे । फ्रान्सिसी सरकारले १५ अगस्तदेखि तीन वर्षसम्म अत्यन्त सुरक्षा प्रबन्ध भएको जेलमा एक्लै राख्यो । १९ वर्षसम्म हत्या, अपहरण, बम पड्काउने, लुट्ने काममा सक्रिय उनीविरुद्ध बल्ल सन् १९९७ को डिसेम्बर १२ देखि मुद्दा चलाइयो । प्रायः सबै मुलुकको प्रहरी रेकर्डमा फोटो भएका उनलाई अमेरिका, बेलायतलगायत थुप्रै मुलुकले मुद्दा चलाउन खोजे तापनि फ्रान्सिसी सरकारले सुपुर्दगी गर्न भने मानेन ।

उनीविरुद्धको मुद्दा ११ दिनमै टुंग्याएर । अदालतले आजीवन कारावासको सजाय सुनायो । मुद्दाको पैरवी गर्दै उनले भनेका थिए, ‘अधिकार प्राप्तिको निम्ति भएको ३० वर्ष लामो युद्धमा धेरैको रगत बग्यो, मेरो पनि तर मैले पैसाको लोभमा कसैको हत्या गरेको छैन, जे गरेँ प्यालेस्टिनीहरुको मुक्तिका निम्ति गरेँ ।’ उनको मुद्दा लड्नेमा एक थिइन्– फ्रान्सिसी वकिल इसाबेल पियरे । पछि सन् २००१ मा जेलमै दुवैले बिहे गरे । सन् २००७ मा फ्रान्सिसी सरकारले फेरि उनीविरुद्ध आतंकवादविरोधी कानुनअन्तर्गत मुद्दा चलायो । चार वर्षपछि सन् २०११ को डिसेम्बर ५ मा टुंगिएको सो मुद्दाबाट पनि उनले दोस्रो आजीवन कारावासको सजाय पाए । ६३ वर्षीय उनले सन् २००३ मा एउटा संस्मरण प्रकाशन गरेका थिए– ‘क्रान्तिकारी इस्लाम ।’ पुस्तकमा उनले विन लादेनले सेप्टेम्बर ११ मा अमेरिकामा गरेको आक्रमणको समर्थन गरेका छन् ।

भर्खरै चौथोपटक निर्वाचित भेनेजुयली राष्ट्रपति ह्युगो चाभेजले उनीबारे भनेका छन्, ‘आतंककारी बिल्ला लागे पनि कार्लोस एकजना क्रान्तिकारी लडाकु हुन् ।’ सन् १९७० र ८० को दशकमा उनकै कारण एक हजार पाँच सयले ज्यान गुमाएको इन्टरपोलको रिपोर्ट छ । उनको जीवनी र कार्यमा आधारित आजसम्म नौवटा पुस्तक, आठवटा चलचित्र, चारवटा टेलिभिजन कार्यक्रम, दुईवटा गीत र दर्जनौँ भिडियो गेम बजारमा निस्किसकेका छन् ।

No comments:

Post a Comment