Sunday, April 7, 2013

रेमले छेकेको त्यो मिसाइल प्रहार


मेरी पिन्चोट मेयेरको जन्म धनी परिवारमा सन् १९२० मा भयो । बाबु एमोस वकिल र सन् १९१२ मा गठित प्रोग्रेसिभ पार्टीका सदस्य थिए । एमोसले समाजवादी पत्रिका ‘दि मासेस’को प्रकाशनमा सहयोग गरेका थिए । मेरीकी आमा रुथ एमोसकी दोस्री पत्नी हुन्, जसले ‘दि नेसन’ र ‘दि रिपब्लिक’जस्ता लोकप्रिय पत्रिकामा काम गरेकी थिइन् । मेरी पेन्सिलभानियाको मिल्फोर्डमा हुर्किन्, बढिन् । बाल्यकालमै उनको भेटघाट माबेल डोड्ज, लुइस ब्रान्डिज, रोबर्ट ला फोलेटटे र ह्यारोल्ड इकेसजस्ता वामपन्थी बुद्धिजीवीसँग भयो । स्कुले शिक्षापछि भाषार कलेजमा पढ्न थालिन्, जहाँ उनको झुकाव साम्यवादतर्फ बढ्न थाल्यो ।
१८ वर्षको उमेरमा विलियम एटउडसँग प्रेम भयो । दुवै चाओटेस्थित रोजमेरी हलमा नाच्न थाले । एकदिन त्यहीँ जोन एफ केनेडीसँग उनको भेटघाट भयो । भेटघाटलगत्तै कलेज छाडिन् र पत्रकारिता सुरु गरिन् । युनाइटेड प्रेस र मेडमोइसेलेका लागि लेख्न थालिन् । लेबोर पार्टीको सदस्यता लिएर युद्धको विरोध गर्न थालिन् । परिणामतः संघीय जाँच ब्युरोले उनीमाथि निगरानी राख्न थाल्यो । दोस्रो विश्वयुद्ध उत्कर्षमा पुगेको समय सन् १९४४ मा कोर्ड मेयेरसँग भेट भयो । मेयेर युद्ध मोर्चामा सख्त घाइते भएर बायाँ आँखा गुमाइसकेका सैनिक लेफ्टिनेन्ट थिए । छोटो समयमै दुवै यति घुलमिल भए कि वर्षदिन नबित्दै सन् १९४५ को अप्रिल १९ मा बिहे गरे । युद्ध सकिएपछि गठित संयुक्त राष्ट्रसंघको सान फ्रान्सिस्कोमा आयोजित सम्मेलनमा दुवै सहभागी भए । सम्मेलनमा कोर्ड ह्यारोल्ड स्टासेनको सहायक भएर र मेरी पत्रकार भएर छिरेका थिए । त्यसबेला उनी एटलान्टिक मासिक पत्रिकामा कार्यरत थिइन् ।

मेरी सन् १९४५ को अन्तिमतिर छोरो क्वेन्टिनको आमा बनिन् भने सन् १९४७ मा माइकलको । सोही साल कोर्ड संयुक्त विश्व महासंघको अध्यक्ष बने । यो महासंघका लागि कोष खडा गर्न लागि पर्नेमध्ये अल्बर्ट आइन्स्टाइन पनि थिए । मेरीले पनि सो संगठनको मुखपत्रका लागि लेख्न थालिन् । तीन वर्षपछि मेरीले तेस्रो छोरो मार्कलाई जन्माइन् र सपरिवार म्यासाचुसेट्सको क्याम्ब्रिजमा गएर बस्न थालिन् । ठीक त्यसैबेला आफ्नो संगठनभित्र अमेरिकी कम्युनिस्ट पार्टीले घुसपैठ गरिरहेको रहस्य कोर्डले थाहा पाए । गोप्य रुपमा अमेरिकी गुप्तचर संस्था सिआइएसँग नजिकिएर काम गर्दा उनले यो कुरा पत्ता लगाए । सिआइएका वरिष्ठ अधिकृत तथा वकिल एलन ड्युलेसले पछि उनलाई तलबी कर्मचारी बन्न आग्रह गरे । त्यसबेला छापा तथा प्रसारण माध्यममाथि निगरानी राख्न र आवश्यक कारबाही चलाउन सिआइएले ‘अपरेसन मेकिङबर्ड’ सञ्चालन गरिरहेको थियो । कोर्डले सो अपरेसन प्रमुखको जिम्मेवारी पाए । उनले मेरीलाई यो कुरो लुकाएनन् । उनीहरुको बसाइसराइ वासिंगटनमा भयो । सबैले देखिनेगरी कुलिनहरुको जर्जटाउन समाजिक समाजको सदस्य भए । समाजभित्र पनि जेम्स एंग्लेटोन, फ्रान्क बिस्नरजस्ता सिआइएका अधिकृतहरु थिए, दुवै कोर्डका हाकिम थिए ।

सन् १९५३ मा एलेन ड्युलेस सिआइएको निर्देशक बने । सोही बेला सिनेटर जोसेफ मैककार्थीले कोर्ड कम्युनिस्ट भएको आरोप लगाए । संघीय जाँच ब्युरोले उनको विगतबारे जाँचपड्ताल सुरु ग¥यो तर ड्युलेस र विस्नरले बचाए । जागिर जोगिए पनि कोर्डको मन खिन्न भयो । जागिर छाडेर पुनः पत्रिकामा काम गर्ने सोच बनाए तर न्युयोर्कका कुनै प्रकासकले काममा लगाउन चाहेनन् । सन् १९५५ को अन्त्यतिर जोन एफ. केनेडीकी पत्नी ज्याकलिनसहित उनीहरु बसिराखेको नजिकै घर किनेर बस्न आए । उनीहरु नवविवाहिता थिए । जाँडै ज्याकलिन र मेरी साथी भए । यसबीच कोर्ड युरोप पुगे र ‘रेडियो फ्रि युरोप’ चलाउन थाले । सिआइए द्वारा सञ्चालित यो रेडियोको उद्देश्य सोभियत संघविरुद्ध जनमत तयार गर्न प्रगतिशील संगठनहरु गठन गर्न लगाउने र तिनीहरुका लागि चन्दा उठाउने थियो । यसबीच कोर्ड र मेरीको सम्बन्ध बिग्रियो । छुट्टिन चाहे तर १९५६ को डिसेम्बरमा छोरो माइकल गाडी दुर्घटनामा मारिएपछि केही समयका लागि नजिकिए र दुई वर्षपछि कानुनी रुपमै अलग्गिए । कोर्डसँगको सम्बन्ध तोडिएपछि मेरीले पेन्टिङको काम सुरु गरिन् । बहिनी टोनीको घरमा आर्टग्यालरी खोलिन् । उनी र आर्टिस्ट केनेथ नोल्याफबीच सम्बन्ध अघि बढ्यो । केनेडीका भाइ रोबर्टसँग घनिष्ठता बढ्यो ।

कोर्डबाट टाढिएपछि सिआइए अधिकृत जेम्स एंग्लेटोनले मेरीको टेलिफोन वार्ता ‘ट्याप’ गर्न थाले । जेम्सलाई मेरीले कोर्डको हाकिमको नाताले मात्र होइन, कलेज पढ्दाको साथी सिसेरी डि आत्रोमोन्टको श्रीमान्को नाताले पनि चिन्थिन् । जेम्स घरमा आउँथे र मेरीका छोराहरुलाई माछा मार्न लैजान्थे । त्यसबेला केनेडी पामेला टर्नर भन्ने २१ वर्षीया केटीसँग प्रेम गर्थे । पामेलालाई उनले जर्ज टाउनस्थित लियोनार्ड केटरको घरमा कोठा लिएर राखेका थिए । लगभग तीन वर्षपछि केटर दम्पतीले पामेलालाई घरबाट निकालिदियो । केनेडीले त्यसपछि प्रेमिका पामेलालाई सन् १९६१ मा मेरीको घरमा राख्न लगे । स्मरणीय छ, केनेडी राष्ट्रपति बनिसकेका थिए । पामेलालाई भेट्न आउने क्रममै मेरीसँग पनि हिमचिम बढ्यो । ह्वाइट हाउसमै भेटघाट सुरु भयो । एकदिन केनेडीले रात सँगै बिताउन मेरीसँग आग्रह गरे तर केनेथलाई सम्झेर स्वीकार्न तयार भइनन् । पछि केनेथबाट निराश भएपछि भने कतिपय रात दुवैले सँगै बिताए । मेरीको जीवनी लेख्ने लेखिका निना बर्लेघका अनुसार उनीहरुको भेटघाट गर्ने गोप्य स्थान कम्तिमा ३० वटा थिए । केनेडीकी पत्नी राजनीतिक र सामाजिक काममा प्रायः घरबाहिर हुन्थिन् । उनको अनुपस्थितिमा केनेडीले मेरीलाई हप्तामा तीन–चार रात ह्वाइट हाउसमै सुत्न लगाउँथे ।

एकदिन मेरी गाँजा बोकेर ह्वाइट हाउस पुगिन् । गाँजा देखेपछि केनेडी प्रफुल्ल भएर भने, ‘ल्याऊ, यसको आनन्द लिउँं ।’ त्यो दिन उनले गाँजा राखिएको तीन खिल्ली चुरोट पिए । नशा लागेपछि भने, ‘यो त कोकिनजस्तो हुँदो रहेनछ, पख म तिमीलाई आज कोकिनको स्वाद चखाउँछु ।’ नीना दाबी गर्छिन्, ‘पछिल्लो दिन दुवै नशामा लठ्ठ हुन्थे ।’ यसबीच भर्खरै क्रान्ति सम्पन्न भई समाजवजादी मुलुक बनेको क्युबास्थित ‘बे अफ पिग’ लाई लिएर अमेरिकाको सोभियत संघ र क्युबासित मतभेद चर्कियो । क्षेप्यास्त्रसमेत तैनाथ हुन थालेपछि युद्धको सम्भावना बढ्यो । समाजवादी मुलुकहरुसित बढेको यो मतभेदलाई कम गर्न र समस्यालाई शान्तिपूर्ण ढंगबाट सुल्झाउन मेरीले केनेडीमाथि दबाव दिइन् । यसअघि अमेरिका–सोभियत संघ दुवै क्षेप्यास्त्र बनाउने होडमा थिए तर मेरीको संगतका कारण अमेरिकी नीतिमा एकाएक परिवर्तन आयो । शीतयुद्धलाई न्युनीकरण गरेर रुसी नेता निकिता ख्रुस्चेभसँग सम्झौता गर्न केनेडी तयार भए । अमेरिकी विश्वविद्यालयमा बोल्दै केनेडीले ‘शान्ति भाषण’ दिए, जसको प्रसार सोभियत सरकारले देशभरि ग¥यो । आणविक परीक्षण प्रतिबन्ध गर्ने सम्झौताको कुरा उठ्यो, भियतनाममा तैनाथ सेना फिर्ता गर्ने कुरा उठ्यो र अमेरिकी र रुसी राष्ट्रबीच सीधा टेलिफोन सम्पर्क (हटलाइन) स्थापना गरियो । फिडेल क्यास्त्रोसँग कुराकानी गर्न केनेडीले दूतलाई क्युबा पठाए ।

यी काम–कारबाहीले केनेडीले पेन्टागन (रक्षा) र सिआइए (गुप्तचर) को विश्वास गुमाए । मतभेद चर्किएपछि केनेडीले सिआइए प्रमुख एलन ड्युलेस र अर्का दुईजना वरिष्ठ अधिकृतलाई बर्खास्त गरिदिए । यसै सेरोफेरोमा सन् १९६३ को नोभेम्बर २२ मा डलासको भ्रमण गर्दैगर्दा केनेडीको रहस्यमय हत्या भयो । भर्खरै प्रकाशित पिटर जेनीको पुस्तक ‘मेरिज मोजाइक ः दि सिआइए कन्स्पिरेसी टु मर्डर जोन एफ केनेडी, मेरी पिन्चोट मेयेर एन्ड देयर भिजन अफ वल्र्ड पिस’मा उल्लेख गरिएअनुसार यो हत्याकाण्डबारे मेरीलाई धेरै कुरा थाहा थियो । उनको एउटा डायरी पनि थियो । जहाँ डायरी राख्ने गरिएको दराज थियो, त्यसैमा केनेडीको हत्यासम्बन्धी एउटा श्रव्यदृष्य थियो । राष्ट्रपतिको हत्याबारे छानबिन गर्न गठित आयोगको अनुसन्धानलाई मेरीले महत्वपूर्ण प्रभाव पार्न सक्थिन् । केनेडीको हत्या भएको ठीक ११ महिनापछि सन् १९६४ अक्टोबर १२ को दिन मेरी वासिंगटन डिसीको केय पुलनजिक नहर क्षेत्रमा डुल्दै थिइन् । उनी त्यहाँ दैनिक जान्थिन् । कसैले नजिकबाट हानेको गोली टाउकोको बायाँभागमा लाग्यो । उनी छट्पटाइन् । हत्याराले अर्को गोली हान्यो । गोली दायाँ काँधबाट छिरेर सिधै मुटुमा लाग्यो । तत्काल मृत्यु भयो । प्रत्यक्षदर्शी दुई जनाको बयानका आधारमा प्रहरीले अश्वेत व्यक्ति रे क्रम्पलाई पक्राउ ग¥यो । प्रमाणको अभावमा पछि उनी पनि रिहा भए । आज ४८ वर्षसम्म सो हत्या रहस्यमय नै छ तर लेखक पिटर जेनीले मेरीको हत्या सिआइएद्वारा गराइएको रहस्योद्घाटन गरेका छन् । सैनिक लेफ्टिनेन्ट तथा सिआइए एजेन्ट विलियम मिचेलले हत्या गरेका हुन् । मिचेलले खोजी पत्रकार तथा लेखक लियो डामोरलाई सन् १९९३ मा फोन गरी अपराध स्वीकारेको दाबी जेनीले गरेका छन् ।

मिचेलले मेरीको हत्या आफूले सिआइए रचित षड्यन्त्रअन्तर्गत गरेको स्वीकारेका थिए । स्मरणीय छ, मेरीद्वारा लिखित डायरी र श्रव्यदृश्य हत्यासँगै घरबाट गायब भएको थियो । डायरी गायब गर्नुमा सिआइएका वरिष्ठ अधिकृत जेम्स एंग्लेटोनको हात थियो । मेरीकी बहिनीज्वाइँ तथा न्युजविक पत्रिकाका ब्युरो प्रमुख ब्रेन ब्राड्ली घटनाको लगत्तै मेरीको घर पुग्दा त्यहाँ उनले एंग्लेटोनलाई देखेका थिए । जेनीको पुस्तकमा मेरी सिआइएको लागि खतरा बन्न पुगेको उल्लेख छ । मेरीका पूर्व पति कोर्ड मेयेरले पनि आफू मर्नुभन्दा केही अघि सन् २००१ मा भनेका थिए, ‘केनेडीलाई मार्ने कुकुरले नै मेरीलाई पनि मारेको हो ।’ यसबीच सिआइएका अवकाशप्राप्त अर्का एजेन्ट ब्रेन लातेलले केनेडीको हत्या हुँदैछ भन्ने जानकारी क्युबाली नेता फिडेल क्यास्त्रोलाई थियो भन्ने दाबी गरेका छन् । ब्रेन ६० को दसकमा सिआइएमा क्युबा हेर्ने अधिकृत हुन्, जो पछि ल्याटिन अमेरिका हेर्ने ब्युरो प्रमुख भए । पुस्तक ‘क्यास्त्रोज सेक्रेट ःदि सिआइए एन्ड क्युबाज इन्टेलिजेन्स मेसिन’मा उनले हत्यामा क्यास्त्रोको संलग्नता नभए पनि केनेडीले गोली हानेर मार्ने लि हार्भे ओस्वाल्डमार्फत् योजना थाहा पाएको दाबी गरेका छन् । उनले ओस्वाल्ड वामपन्थी भएको दाबी पनि गरेका छन् ।

No comments:

Post a Comment