Sunday, April 7, 2013

हामी छापामार युद्धको तयारीमा छौँ


- मणि थापा 'अनुकूल', महासचिव, क्रान्तिकारी  कम्युनिष्ट पार्टी 

० चुनवाङको निर्णयबिरुद्ध तपाईंहरुले जुन मत राखेर माओवादीबाट विद्रोह गर्नुभयो, आजको स्थितिमा ती कुरालाई हेर्दा आफूलाई कहाँ पाउनुहुन्छ ?

- चुनवाङ बैठक मैले बहिस्कार गरेको थिएँ । किनभने, त्यो बैठकले के निर्णय गर्दैछ भन्ने पहिल्यै थाहा थियो । त्यो बैठकबाट एकीकृत नेकपा -माओवादी) साम्राज्यवादी शक्तिका रुपमा दक्षिणपन्थी सुधारवादतर्फ गयो । त्यो पार्टीले परिवर्तनको एजेन्डालाई सही ढंगले लैजान सक्दैन भन्ने हाम्रो आँकलनलाई यो महाधिवेशनले सही सावित गरिदियो ।

० तपाईं बाबुराम समूहमा लागेको जब्बर नेता हुनुहुन्थ्यो । उनलाई पहिलादेखि नै भारतपरस्तको आरोप लाग्ने गरेको हो । तर, तपाईं एकाएक नेपालको क्रान्तिले सेटब्याक खाने भयो भनेर ती 'भारतपरस्त' बाबुरामबाट कसरी मोडिनुभयो ?

- म बाबुराम पक्षधर कहिल्यै भइनँ । म मोटो मशालमा प्रवेश गरेको दुई वर्षपछि बाबुराम आएका र त्यसपछि एकता केन्द्र बनाइएको हो । पछिल्लो चरणमा पार्टीभित्र आन्तरिक जनवादको प्रश्न थियो । बाबुराम लामो समयसम्म पार्टीभित्र भिन्न मत राख्ने, तर त्यो मत उठाउन नसक्ने । बाबुराम मात्र हैन, दीनानाथहरुले राखेका कुरा पनि हामीले एकताबद्ध भएर उठायौं । प्रचण्डले कहिल्यै ती कुरा स्वीकार नगरेपछि बाबुरामले १३ र ४ बुँदे असहमति राख्नुभयो । त्यो भन्दा दुई महिनाअघि मैले प्रचण्डलाई भनेको थिएँ कि, 'तपाईंसँग मेरो कुरा मिलेन । यसकारण भिन्न दस्तावेज स्वीकार गरिदिनुस् ।' उहाँले त्यो स्वीकार गर्दिन भन्नुभयो । त्यसको दुई महिनापछि बाबुरामले संघीय लोकतान्त्रिक गणतन्त्रको दस्तावेज पेश गर्नुभयो । मैले बाबुरामको दस्तावेज स्वीकार गरेको होइन । त्यो दस्तावेज पेश गरेबापत जो कारवाही भयो, त्यो बेठिक छ भनेर मैले बाबुरामको पक्ष लिएको हुँ । पछि १२ बुँदे सम्झौता बाबुरामकै मुख्य भूमिकामा भयो । हामी झस्कियौं ।

० पूर्वी कमाण्डमा अनन्तसँग खटपट हुँदा प्रचण्डले नसघाएपछि बाबुराम पक्षधर हुनुभएको होइन ?

- भिन्न मतलाई स्वीकार नगर्ने, एकमना एकतावादलाई स्वीकार गर्ने, आएका प्रतिभालाई स्वतस्फूर्त विकास गराउनुभन्दा पनि आफ्नो गुटतिर तान्ने जो व्यक्तिवादी प्रबृत्ति हो, म त्यसविरुद्ध थिएँ । त्यो प्रबृत्ति प्रचण्डमा मात्र हैन, किरण र बाबुराममा पनि उत्तिकै थियो । अनन्तसँग पनि काम कारवाहीमा सामान्य तलमाथिका कुरा थिए ।

० माओवादी विभाजित भयो । प्रचण्डहरु जनवादी क्रान्तिको कार्यभार पूरा भएको र समाजवादी क्रान्ति गर्ने भनेर अगाडि आएका छन् । यसलाई कसरी हेर्नुभएको छ ?

- समाजवादी क्रान्तिको जो व्याख्या उहाँहरुले गर्नुभएको छ, त्यो सिद्धान्ततः माक्र्सवाद, लेनिनवाद र माओवादभन्दा बाहिर छ । नेपाली समाजको सही वर्ग विश्लेषण गर्न सक्नुभएको छैन । उहाँहरु वामपन्थी पनि हैन, लोकतान्त्रिक पनि हैन, सामाजिक फाँसिवादको कोणबाट समाजवादको व्याख्या गर्दै १०-१५ वर्षलाई शासन गर्ने मनोविज्ञानबाट आएको हुनाले कुनै समाजवादी विचारको आधारमा मूल्यांकन गरिएको नीति होइन । अहिले पनि नेपाल पुँजिवादमा गइसकेको छैन । सामन्तवाद कमजोर बन्दै गएको छ । नवउदारवाद प्रवेश गरेको छ । स्वतन्त्र पुँजीको अझै विकास भएको छैन । त्यसैले नेपालमा पुँजीवादी क्रान्ति पूरा भएको छैन । समाजवादमा पुग्ने कुरा त अलिकति टाढाको भयो ।

० नेपाली समाजलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक भनिन्थ्यो, भारतलाई विस्तारवादी भन्ने चलन कम्युनिष्ट पार्टीहरुमा थियो । तर, प्रचण्डको दस्तावेज त्यसबाट मुक्त छ । के गर्न खोजेका हुन् ?

- हिजो पनि उहाँहरु इमान्दार हुनुहुन्थेन । आज पनि हुनुहुन्न । किनभने, माक्र्सवादको सही विश्लेषण भएकै छैन । उहाँहरुले अहिले जो धारमा जान खोज्नुभएको छ, यसमा नियत खराब छ । बाह्र बुँदे सम्झौताअघि नै गोप्य तवरमा भारतलाई चिठी लेखेर उसको समर्थन लिइसक्नुभएको थियो । घटनाक्रमले के देखाउँछ भने, आज उहाँहरु पश्चिमाहरु, विशेषतः अमेरिकनहरुलाई खुशी पार्नका निम्ति यस्तो नाटक गर्दै हुनुहुन्छ । हेगस्थित अन्तर्राष्ट्रिय अदालतको कठघरामा जानु नपरोस् भनेर यी नाटकमा तल्लिन हुनुहुन्छ ।

० भारतलाई चिठी लेख्ने बेला तपाईं पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो । थाहा भएन त्यो कुरा ?

- मैले त्यो कुरा किरणलाई सोधेँ । तर, उहाँले पनि थाहा छैन भन्नुभयो । किनभने, त्यो अत्यन्त गोप्य तवरले भएको थियो । त्यहीँबाट माओवादी पार्टीको मुख्य नेतृत्व भारतपरस्त, साम्राज्यवादपरस्त भएको थियो भन्नका लागि अहिले विकास भइरहेका घटनाक्रमहरु प्रमाणका रुपमा सुरक्षित छन् ।

० बाबुरामसँग त्यत्रो काम गर्दा पनि संकेत पाउनुभएन ?

- पहिला जनयुद्ध आफ्नै धर्तिमा लड्नुपर्छ भनिएको थियो । कुनै देशको सहारा लिनु हुँदैन भन्ने घोषणा नै गरिएको थियो । तर, प्रचण्ड, बाबुरामहरु भारत बसाइँ भएपछि हामीलाई लाग्यो कि भारतसँग कतै न कतै नजिक भएर काम गर्दै हुनुहुन्छ । मैले लावाङ बैठकमा भनेको थिएँ कि, कहिले राजासँग, कहिले भारतको 'रअ' सँग सम्बन्ध राख्ने जुन कुरा थियो, त्यो स्वतन्त्र वामपन्थी धार होइन । त्यो पुच्छर धार हो, साम्राज्यवादी धार हो भनेर सगर्व घोषणा गरेको थिएँ । उहाँहरु खुलेआम नै भन्नुहुन्थ्यो, 'दरबारका निम्ति हाम्रो ढोका खुला छ, भारतका निम्ति पनि खुला छ । जसरी पनि हामीले नेपालमा नयाँ जनवादी क्रान्ति गर्छौं ।' यसो भनिरहँदा उहाँहरुमाथि हाम्रो अविश्वास चुलिँदै गएको हो ।

० किरणहरुले जनयुद्धको जगमा जनविद्रोह गर्ने भन्नुभएको छ । यसबीच तपाईंहरुबीच एकताको कुरा पनि चल्दैछ रे । के तपाईं कतै 'जनयुद्धको जग' भन्ने बाँकी देख्नुहुन्छ ?

- किरणजीहरुमा पनि लेफ्ट डेभिएसन आउने खतरा छ । उहाँहरुले जो नारा प्रस्तुत गर्नुभयो, त्यो किरणजीको होइन, प्रचण्ड-बाबुरामकै हो । अहिले जनविद्रोहका लागि पनि आधार तयार छैन । त्यसैले किरणजीहरुले भन्नु के पथ्र्यो भने, 'क्रान्तिकारी आन्दोलनको तयारी ।' अर्थात् रणनीतिक लक्ष्यमा नेपाली क्रान्ति फर्किएकाले क्रान्तिकारी आन्दोलनको तयारीका निम्ति धु्रवीकरण, संयुक्त मोर्चा भन्नुपथ्र्यो । एकैचोटी जनविद्रोह भन्नु एक किसिमको वाम लफ्फाजी नै हो । त्यसले पनि अहिलेको नेपालको वस्तुगत परिस्थितिको प्रतिनिधित्व गर्न सक्दैन । एकातिर बाबुरामजीहरु घोर दक्षिणपन्थी हुँदै सामाजिक फासीवादतिर जाँदै हुनुहुन्छ । अर्कातिर, किरणजीहरु अहिलेको समकालीन नेपाल र विश्वको सही मूल्याङ्कन गर्न नसकेर वाम अतिवादतिर जाने कोशिस गर्दै हुनुहुन्छ । यसलाई सुधार गर्न सक्नुभएन भने उहाँहरु पनि पुग्ने त्यही दक्षिणपन्थी अतिवादमै हो ।

० एकथरि छापामार युद्ध शुरु गर्नुपर्छ भन्दैछन् । तपाईंहरु प्रतिरक्षासम्ममा पुगेको भन्नेमा हुनुहुन्थ्यो । अब अहिले फेरि तयारीको चरणमा झरेको हो ?

- रणनीतिक रक्षामा फर्किएको जनयुद्धलाई प्रचण्ड-बाबुरामहरुको नेतृत्वले दक्षिणपन्थी सुधारवादमा फसाएको छ । हामी तयारीको चरणमा छौं । त्यो भनेको छापामार युद्धको तयारी नै हो । हामी अहिले नयाँ पार्टी, मोर्चा र सेना निर्माणको तयारीमा छौं भन्नु सैद्धान्तिक रुपमा ठीक हुन्छ ।

० तर, अहिले प्रविधिले विश्वलाई साँघुरो बनाएको छ । यस्तोमा पहिलाजस्तो युद्धको सहजता होला ?

- तत्कालिन मालेले झापामा, माओवादीले देशभर र कांग्रेसले पनि दुईपल्ट हतियार उठाइसकेको मुलुक हो यो । अहिले फेरि हतियार उठाउने प्रयत्न भइराखेको छ । छापामार संघर्ष भनेकै यस्तो कुरा हो कि, सबभन्दा सानो दस्ताले सबभन्दा ठूलो दस्तालाई परास्त गर्ने र त्यसलाई सन्तुलनमा ल्याउने । नेतृत्वले गद्दारी गरेरमात्र हो, नत्र जनयुद्ध त्यसतर्फ अगाडि बढ्दो थियो । अहिले नेपालमा जसरी साम्राज्यवादीको चलखेल बढेको छ, उनीहरुको प्रतिरोध गर्ने उपयुक्त विधि छापामार संघर्ष नै हो । त्यसैले छापामार संघर्षको औचित्य समाप्त भइसकेको छैन । अहिले अफगानिस्तानमा चलिरहेको संघर्ष पनि छापामार शैलीकै हो । भारतका माओवादी पनि छापामार संघर्षमा छन् । त्यसैले नेपालमा हुनैसक्दैन भन्ने कुरा मान्न सकिँदैन ।

० सफलतामा पुर्‍याउने परिस्थिति बन्ला त ः?

- रणनीतिक प्रत्याक्रमणबाट केन्द्रीय सत्ता कब्जा गर्ने अवस्थामा जनयुद्ध असफल भयो । नेपालको कम्युनिष्ट आन्दोलन सरकारसम्म आयो । तर, सत्तामा पुग्नेबेलामा मात्रै असफल भएको हो । जनयुद्ध सफल हुने हुने बेलामा नेतृत्वको गद्दारीले यस्तो भयो । सात सालदेखिका समस्या अझै समाधान भएका छैनन् । त्यसैले अर्को संघर्ष नेपालमा हुन्छ ।

० उनीहरुले सकिँदैन भनेर निचोड निकालेका हुन् कि ?

- पाँच-सात वर्षको बीचमा प्रचण्डका पाँच-सात वटै दस्तावेज पढियो, प्रत्येक दस्तावेजमा फरक फरक विश्लेषण छन् । कहिले जनयुद्धबाट जनविद्रोह भन्ने, कहिले शान्तिपूर्ण भन्ने, कहिले समाजवादलाई धक्का दिने भन्नुहुन्छ । यो भनेको विचारको स्खलन हो ।

० एमाओवादी एमालेकरण हुँदैछ हैन ?

- एमाले त संशोधनवादको सामान्य 'नम्र्स एन्ड भ्याल्युज्' लाई पक्डेर आफ्नो ठाउँमा अडिग छ । एमाओवादी त सामाजिक फासीवादी पार्टीको रुपमा आएको छ । प्रचण्डले धेरै ठूलो अधिकार आफूमा लिई सबै राजनीतिक पार्टीलाई निधेष गर्दै १०-१५ वर्ष सरकार कब्जा गर्ने रणनीतिमा छन् । त्यो भनेको नेपाललाई अघि बढाउन हैन कि, यो भन्दा पनि पछाडि धेकेलेर विदेशी रिझाउने काम हो ।

० चुनाव गर्ने भन्दै छन् त !

- आफूले बहुमत ल्याउने र आफ्नै नेतृत्वको सरकार हुनेखालको चुनाव हुने भए उनीहरुले चुनाव गराउँछन् । नत्र, यत्तिकै लट्काइराख्छन् ।

० प्रचण्डले बाबुरामलाई १०-१५ वर्ष सरकारमा टिक्न दिन्छन् ! के यो पत्यारयोग्य कुरा हो ?

- त्यो उनीहरुको कन्ट्रयाडिक्सनको कुरा हो ।

० किरण, मात्रिका यादवहरुसँग एकताको कुरा कहाँ पुग्यो ?

- हो, रामसिंह श्रीस, मात्रिका, हामी र किरणजीहरु सहितको एउटा ध्रुव आवश्यक छ । क्रान्तिकारी केन्द्र निर्माणबारे छलफल गर्दैछाँै ।

No comments:

Post a Comment