मन हँुदैन, केवल मस्तिष्क मात्रै हुन्छ भन्ने तर्कमा अहिले पश्चिमा विश्व बहस गर्दै छ । र, हामी पूर्वीयाहरू मनमाथि विचार–विमर्शमा छौ“ । हामी पूर्वीयाजत्तिको हार्दिकता र आत्मीयता मस्तिष्कको कुरा गर्ने पश्चिमाहरूसँग छैन । आज सोचमग्न छु कि यो माया र प्रेम भन्ने चिज मनबाट आउँछ कि मस्तिष्कबाट ?
स–साना लक्ष्य लिएर बाँच्नुलाई अपराध हो भन्थे, भारतीय पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम । तर, जिन्दगीको रथ आफू पनि खुसी रहने र परिवारका सदस्यहरूको मुहारमा खुसी दिने यही सानो लक्ष्यभन्दा माथि उठ्न सकेको छैन । यो समाज आज पनि ड्राइभर, खलाँसी र आर्मी, पुलिसलाई राम्रो नजरले हेर्दैन । के हाम्रोचाहिँ मन ह“ुदैन ? जिन्दगी नियममा चल्ने भए र सोचेजस्तो हुने भए मेरा पनि केही खुद्रा सपना थिए । अरूले झैँ सानदार सरकारी जागिर खाने ।
तर, एसएलसीको नतिजा अपेक्षा गरेविपरीत निस्किएपछि राजधानी झरेको हुँ । राजधानी खाल्डोमा प्रवेश गर्दा मेरा जे–जति सपना थिए, ती सपना र भविष्यमाथि सहरले तुषारापात गरिरह्यो । काभ्रेको एउटा गाउ“देखि राजधानी झर्दा र यो खाल्डोमा संघर्षरत रहँदै गर्दासम्म जीवन र जगत्लाई हेर्ने दृष्टिकोण क्रमशः फेरिँदै गयो । आशावादी आँखाले दुनियाँ पढ्न खोज्ने म मेरा सकारात्मकता हेर्ने आँखालाई समेत राजधानीले नकारात्मक हेर्ने र सोच्न बाध्य बनायो ।
घरबाट भागेर सहर छिरेपछि मात्रै थाहा भयो कि यो सहरले पैसालाई चिन्छ, अरूलाई चिन्दैन । पाइला–पाइलामा पैसा चाहिने खाल्डोमा बाँच्न र श्वास अडाउनका लागि भए पनि केही न केही आधार त चाहिन्थ्यो नै † त्यही आधारको खोजीमा थिएँ । संयोगवश, मेरो भागमा बसको ढोका ढक्ढक्याउन लेखेको रहेछ । त्यही पाए“ । चाबहिलको गोपीकृष्ण नगरदेखि अनामनगर हुँदै कोटेश्वरसम्म चल्ने बा.१ख ७३२४ नम्बरको नेपाल यातायातको ढोका ढक्ढक्याउँदै धेरैपटक चिच्याएको छु । यो सहरमा गाडी जुन गतिले चल्थ्यो, त्योभन्दा छिटो मेरो मन र विचार चल्थ्यो । गाडीको ढोका ढक्ढक्याउँदै गर्दा धेरैपटक अनौठा घटना भए । म घर छाडी हिँडेको जेठमा । सायद, त्यसको दुई महिनापछि नै मैले काम गर्ने गाडीमा विकास सर चढ्नुभयो । उहाँ हामीलाई स्कुलमा गणित पढाउनुहुन्थ्यो र अति माया पनि गर्नुहुन्थो । एक मनमा डरले डेरा जमाइरहेको थियो भने अर्काे मनमा तत्काल सोच पनि आयो– चोरेर खान पो लाज, काम गरेर खान केको लाज ? म चोर्न थोरै गएको हुँ र ? बूढाले नदेखे पनि हुन्थ्योजस्तो लागिरहेको थियो ।
तर, जेबाट भाग्न खोज्यो, त्यहीँ पुगेर ठोकिन्छ भनेझै“ उहा“ले देखिहाल्नुभयो । झर्ने बेला अलिक उदास हुँदै भन्नुभएको थियो, ‘पढ्न नछाड बाबु, केही बिग्रिएको छैन । गरिबको सम्पत्ति भन्नु नै पढाइ हो ।’ तर, अचानोको पीर खुकुरीलाई के थाहा ? म रहरले खलासी बनेको कहाँ हो र ? यस्तैमा एकदिन सँगै पढेको एक सहपाठीलाई कलेज ड्रेसमा ठाँटिएर गाडी चढेको भेटेँ । मनमा डरको मात्रा बढ्दै गयो । यसले के सोच्ली भन्ने परिरह्यो । गान्धीले भनेझ“ै, ‘सवसे वडा है रोग– क्या कहते हो लोक’ ले मलाई बारम्बार सताइरह्यो । मिहिनेत गर्दै गए“, मनमा एउटा अठोटचाहिँ थियो । जिन्दगी यसै पनि फसिहाल्यो । अब ड्राइभर नबनी घर जान्न । जिन्दगीमा विकल्प होइन, संकल्प ठूलो कुरा हो, जहाँ रहे पनि जहाँ पुगे पनि । सायद मनको अठोटकै परिणाम होला । खलासी हुँदै म ड्राइभर बने“ †
चाहे पाइलट होस्, चाहे इन्जिनियर, चाहे ड्राइभर होस् वा खलासी, सबैको मन हुन्छ † कसैलाई माया गर्ने र आºनो बनाउने मेरो पनि मन थियो । जिन्दगीमा यी आँखाले कतिलाई हेरियो, कतिलाई राम्रो देखियो । राम्रो हुनु र हाम्रो हुनु त फरक कुरा थियो । त्यस समय म बौद्ध रुट भएको माइक्रोबस चलाउँथे“ । र, हामीले खाना खाने होटल थियो त्यहीँ । नियमित आउ–जाउ गर्दा र चल्ने र जिस्कने क्रम बढ्दै जाँदा त्यही होटलवालाकी छोरी मेनुकासँग मन साटियो । तर, हामीबीच असमानताको खाडल थियो । कहाँकी सम्पन्न धनीकी छोरी र कहाँको भाडाको गाडी चलाउने म । कहिलेकाही“ त हीनताबोध हुन्थ्यो र त्रास पनि लाग्थ्यो हाम्रो प्रेम सफल हँुदैन भन्नेमा । तर, मेनुका बारम्बार भन्थी, ‘काम सानो–ठूलो ह“ुदैन, प्रेमले जात, धर्म, धनी र गरिब केही हेर्दैन नरेश †’ तर, मान्छेको विचार र व्यवहार नितान्त फरक कुरा रहेछन् ।
उसले आºनो आमा पहिले दीर्घरोगी भएको, धर्म परिवर्तन गरेर क्रिस्चियन बनेपछि रोग निको भएको र अहिले सारा परिवारै क्रिस्चियन भएको सुनाई । जब मैले विवाहको प्रस्ताव गरेँ, तब पो उसले जात, धर्मको कुरा गरी । बाबु–आमालाई रुवाउन नहुने आदर्श वाक्य दोहो¥याई । उसैले प्रश्न गरी, ‘नरेश, एउटा बुद्धिष्टसँग क्रिस्चियनको विवाह कसरी हुन सक्छ ?’ प्रस्टै भयो कि मेनुकाले आºनो शारीरिक प्यास मेटाउनका लागि मात्रै मायाको नाटक गरेकी रहिछ ।
हो, म एउटा बुद्धिष्टको कोखमा जन्मिएँ, बुद्धिष्ट हुनलाई मेरो आºनो केही त्याग छैन । मेनुका पनि बुद्धिस्टको कोखमा जन्मिई र आज क्रिस्चियन बनी । सायद उसको यसमा ठूलो त्याग होला । मैलेजस्तै धर्मको नाममा आºनो पवित्र प्रेमको बलि अरूले चढाउनु नपरोस् । – नरेश तामाङ, काभ्रे, नमोबुद्ध, हाल ः काठमाडौं
No comments:
Post a Comment