Sunday, April 7, 2013

जसले केही पनि बेच्न बाँकी राखेन


आर्थर फर्गुसनको जन्म स्कटल्यान्डमा भयो । स्कुले शिक्षा पूरा गरेपछि उनमा नाटक खेल्ने जाँगर चल्यो । उनी रैपरट्री कम्पनीमा गए । कम्पनीले आफ्नो नाटकमा स–सानो भूमिका दिन थाल्यो । उनी प्रतिभाशाली कलाकार थिए यसर्थ चाँडै नै स्कटल्यान्ड र उत्तरी इंग्ल्यान्डका दर्शकमाझ ख्याति कमाए । केही समय नाटकमा काम गरिसकेपछि उनलाई लाग्यो– मेहनत गरेअनुरुप आम्दानी भएन । उनले पेशा बदलेर अभिनय कलामार्फत् धन भएका, बुद्धि नभएकालाई सजिलै ठग्न सकिने सोच बनाए । उनले यसअघि एउटा नाटकमा सोझो धनी अमेरिकीको अभिनय गरेका थिए । उक्त नाटकमा एकजना ठगले उनलाई ठगेर भागेको कथा थियो । कथाअनुरुपकै योजना बनाइसकेपछि उनी लन्डनको सबै मुख्य ठाउँ घुमे । त्यसक्रममा मध्यलन्डनको ट्राफलगारस्थित ‘नेल्सन स्तम्भ’, वेस्टमिनिस्टर दरबारको उत्तरतर्फ रहेको घन्टाघर (बिगबेन) र राजारानी बस्ने बकिंघम दरबार वरिपरि निकै चक्कर काटे ।

सन् १८४३ मा निर्माण सकिएको नेल्सन स्तम्भ सन् १८०५ मा ट्राफलगारमा भएको युद्धमा मारिएका सैनिक एडमिरल होरासियो नेल्सनको स्मृतिमा बनाइएको थियो । ४७ हजार पौन्ड खर्च गरेर ग्रिकहरुले बनाउने डिजाइनमा निर्मित सो स्तम्भको टुप्पोमा एडमिरल नेल्सनको मूर्ति छ । भूइँदेखि नेल्सनले लगाइराखेको टोपीसम्म नाप्दा यसको उचाइ १ सय ६९ फुट ३ इन्च हुन्छ । स्तम्भको डिजाइन विलियम रेल्टोनले गरेका थिए । बिगबेन विश्वकै तेस्रो धेरै उचाइ भएको घन्टाघर हो । सयौं कालिगढले यसको निर्माण सन् १८५८ मा सकाएका हुन् । चलचित्रको सुटिङको केन्द्रजस्तै बनेको यसलाई इंग्ल्यान्डको मात्र होइन, विश्वकै एक प्रतिष्ठित धरोहर मानिन्छ । ३ सय १६ फुट उचाइको यो घन्टाघरमा चारमुखे घडी छ, जुन भूइँभन्दा १ सय ८० फुट उचाइमा छ । यो टावरमा लिफ्टको व्यवस्था छैन । टावरमाथि चढ्न ३ सय ३४ वटा खुड्किला पार गर्नुपर्छ । यो टावर उत्तर–पश्चिमतर्फ २ सय २० मिलिमिटर ढल्केको छ । आर्थर फर्गुसनले पटक–पटक चक्कर काटेको बकिंघम दरबार सन् १७०५ मा निर्माण भएको हो । ड्युकका लागि बनाइएको कारण यो दरबार १ सय ५० वर्षसम्म निजी स्वामित्वमा रह्यो । पछि सन् १७६१ मा राजा जर्ज (तृतीय) ले सो दरबारमा रानी सार्लोटीलाई बस्ने व्यवस्था मिलाए । यो ब्रिटेनका राजा–महारानीको सरकारी दरबारको रुपमा परिणत भएको सन् १८३७ अर्थात् महारानी भिक्टोरियाको पालादेखि मात्र हो ।

योजनामुताबिक उनी ट्राफलगार चोक गए । त्यसबेला उनले धनी व्यक्तिले लगाउने खालको लुगा लगाएका थिए । उनी बीचबीचमा त्यहाँ घुम्न आइरहेका विदेशी पर्यटकहरुतर्पm हेर्थे । समूहमा आएका पर्यटकभन्दा एक्लै आएका पर्यटकको खोजीमा थिए उनी । उनी यस्तो व्यक्ति खोज्दै थिए, जोसँग धन होस् तर सोझो होस्, जसले उनले बताउने कथाप्रति अविश्वास नगरोस् । उनको हेराइ एकजना व्यक्तिमा गएर टुंगियो, जो अमेरिकी थिए । उनी ती पर्यटक उभिरहेको ठाउँमा गए । स्तम्भको एक चक्कर काटे । फर्केर आइसकेपछि ती अमेरिकी पर्यटकसँग यति नजिक उभिए कि बर्बराएको कुरासमेत उसले सुनोस् । उनले भने, ‘कस्तो दुःखको कुरा ! यो स्तम्भ अब यहाँ धेरै दिन रहने भएन ।’ अमेरिकी पर्यटकको कान ठाडो भयो । किनभने यो प्रसंग निकै अचम्मको थियो । अमेरिकीले उत्सुक भएर फर्गुसनसँग सोधे, ‘कसरी ?’ फर्गुसनले सफल कलाकारले जस्तै अनुहारमा दुःखको भाव ल्याए । र, लामो सुस्केरा हाल्दै स्तम्भलाई नियाले । खल्तीबाट रुमाल झिकेर आँसु पुछेको जस्तो गरे । अनि बल्ल मलिन स्वर निकाल्दै भने, ‘यो स्तम्भ ब्रिटेनका महान् नौसैनिक एडमिरल नेल्सनको सम्मानमा बनाइएको हो, तर के गर्नु, अब यो यहाँ नरहने भयो ।’ अमेरिकीले झन् उत्सुक बन्दै फेरि सोधे, ‘तर किन, के भयो र ?’ फर्गुसनले अझ दुःखी हुँदै भने, ‘हाम्रो देश ब्रिटेनमाथि यो समय ठूलो संकट आइपरेको छ । विश्वयुद्ध (प्रथम)को कारण देशमाथि ठूलो आर्थिक भार प¥यो । ब्रिटेनको अगाडि ऐतिहासिक स्थल बेच्नुबाहेक अर्थोक विकल्प नै भएन । किन्नेले यसलाई जहाँ लैजाउन्, लैजाउन् ।’ ती अमेरिकी इवोवाका धनकुबेर थिए । बिदा मनाउने क्रममा इंग्ल्यान्ड घुम्न गएका थिए । उनले फर्गुसनको कुरो ध्यानपूर्वक सुनिसकेपछि फेरि सोधे, ‘तपाईंको मतलब, नेल्सन स्तम्भ बिक्रीमा छ ?’ फर्गुसनले तुरुन्त जवाफ फर्काए, ‘हो, यो बिक्रीमा छ ।’

अमेरिकी पर्यटक फस्दै गएको महसुस अब फर्गुसनले गरिसकेका थिए । त्यसैले उनले गोप्य कुरो भनिरहेको जस्तो अभिनय गरी भने, ‘म एकजना सरकारी अधिकृत हुँ । सरकारले यो स्तम्भ बेच्ने कार्यभार मलाई नै सुम्पेको छ ।’ सोझो अमेरिकीले फर्गुसनको चालबाजीलाई बुझ्नै सकेनन् । उनी ऐतिहासिक नेल्सन स्तम्भ किन्ने निधोमा पुगे र फर्गुसनलाई हात समातेर भीडभाड नभएको ठाउँमा लगी स्तम्भ आफैंलाई बेच्न बिन्ती गर्न थाले । फर्गुसनले नाटक गर्दै भने, ‘एकछिन मलाई सोच्न दिनुस् ।’ यति भनेर उनी चुप लागे । अमेरिकीलाई भने हतार भइसकेको थियो । उनी बिन्तीका बिन्ती गर्दै थिए । फर्गुसनले एकछिनपछि बल्ल मौनता तोड्दै भने, ‘हेर्नुस्, यो स्तम्भ किन्न धेरैवटा प्रस्ताव आएका छन् । तर, अमेरिकीहरुले किन्न सबैभन्दा बढी रुचि देखाएका छन् । त्यसैले म तपाईंलाई सक्दो मद्दत गर्छु ।’ अब अमेरिकी जति पैसा दिन पनि तयार भए । फर्गुसनले भने, ‘६ हजार पौन्ड, हुन्छ ?’ ती अमेरिकीले पनि तुरुन्तै ‘हुन्छ’ भने । फर्गुसनले उनीसित हात मिलाए र रेस्टुराँमा लिएर गए । चियासियापछि अमेरिकीले फर्गुसनको हातमा ६ हजार पौन्डको चेक थमाइदिए । फर्गुसनले पनि भर्पाइ रसिद दिए उनलाई । यसपछि यो स्तम्भलाई ढंगले उखेल्न जान्ने र अमेरिका पठाउन सक्ने यहाँ कुनै कम्पनी छ कि भनेर सोधे । फर्गुसनले कुनै एउटा कम्पनीको नाउँ दिइदिए र दुवै छुट्टिए । फर्गुसनले तुरुन्तै चेक साटे र रकम लिएर छुमन्तर भए । ती अमेरिकीले पछि मात्र आफू ठगिएको थाहा पाए । यो सन् १९२३ मा घटेको घटना हो ।

फर्गुसन केही दिन अलप भए । तर, फेरि देखापरे र पर्यटककै अगाडि बकिंघम दरबार फित्ताले नाप्न थाले । फर्गुसनको यो काम हेर्दै गरेका एक अमेरिकी पर्यटक उत्सुकतावश उनको नजिक गए । फर्गुसनले एकैचोटि दरबार बिक्रीमा रहेको कुरो नभनीकन यताउताको गफ गर्न थाले र कुराको सिलसिलामा दरबार बिक्रीमा राखिएको रहस्य खोले । उनको कुरा सुनेर पर्यटक अचम्ममा परे । उनले फर्गुसनसित इंग्ल्यान्डका जनताले राजदरबार बेच्ने अनुमति किन दिएको होला, जनता राजालाई माया गर्दैनन् र ? जस्ता जिज्ञासा राखे । उनको जवाफ फर्गुसनले यसरी दिए, ‘राष्ट्रमाथि अमेरिकाको ऋण छ । सरकारसित अरु कुनै विकल्प छैन । दरबार बेच्ने प्रस्ताव राजा स्वयंले राखेका हुन् । दरबार बिकेपछि उनी साधारण घरमा बस्न जानेछन् । बिक्रीबाट प्राप्त सबै रकम कर्जा चुक्ता गर्नमा प्रयोग गरिनेछ ।’ राजाको त्यागको कथा सुनेर ती अमेरिकी पर्यटक साह्रै प्रभावित भए । उनले राजाको देशभक्तिपूर्ण भावनाको खुलेर प्रशंसा गरे । उनले ‘त्यसै त इंग्ल्यान्डका जनता राजालाई मान्छन्’ भने । उनले फर्गुसनसित दरबारको मूल्य कति राखिएको छ भनेर सोधे । उनले आफू स्कटल्यान्ड यार्डको सदस्य भएको र दरबार बिक्रीको सम्पूर्ण कारोबार आफ्नै जिम्मामा भएको सुनाउँदै बैनाबापत २ हजार पाउन्ड लिएर सबै प्रवन्ध केही दिनभित्र हुने कुरो सुनाई ती अमेरिकी पर्यटकलाई बिदा गरे । यसैगरी बिगबेन (घन्टाघर) खरिद गर्न लालायित अर्को अमेरिकीसँग उनले १ हजार पौन्ड बैना लिए र चम्पट भए ।

उनी त्यसपछि लन्डन नबसी पेरिस गए । एफिल टावर पनि बेच्न खोजे तर सकेनन् । सन् १९२५ मा अमेरिका पुगे । उनले त्यहाँ पनि राष्ट्रपति बस्ने ह्वाइट हाउस ९९ वर्षका लागि एकजना व्यक्तिलाई करारमा दिए । वार्षिक एक लाख डलर भाडा तोकिएको कागज गरी उनले पहिलो वर्षको भाडा असुल्न भ्याए । योपटक पनि उनको शिकार टेक्सास निवासी अमेरिकी थिए । न्युयोर्क गएर अस्ट्रेलियाको सिड्नी निवासी एक व्यापारीलाई यस्तो कथा सुनाए, ‘अमेरिकी सरकार न्युयोर्कको बन्दरगाह छिर्ने समुद्रीद्वार चौडा गर्ने योजनामा छ । तर दुर्भाग्य, त्यहीँनेर स्ट्याचु अफ लिबर्टी छ, जो योजनामा बाधक बनेको छ । अमेरिकी सरकार यसलाई बिगार्न पनि चाहन्न किनकि यसमा फ्रान्सिसी र अमेरिकी जनताको भावनात्मक सम्बन्ध छ । त्यसैले यो मूर्तिलाई नबिगारिकन जस्ताको तस्तै उठाएर लैजानसक्ने व्यक्ति वा कम्पनीलाई बेच्ने सुर छ ।’ अस्ट्रेलियाली व्यापारी मूर्ति किन्न तुरुन्त तयार भए । उनले फर्गुसनलाई एक लाख डलर धरौटी राख्न दिए । तर, बैनापट्टा भएको केही दिन बितिसक्दा पनि कारोबार छिन्न ढिलाइ गरेपछि उनको धैर्य टुट्यो । फर्गुसनले हतार गरेकोमा अस्ट्रेलियाली व्यापारी सशंकित भए । उनले स्ट्याचु अफ लिबर्टी देखिने गरी लिएको फर्गुसनसमेत भएको फोटो प्रहरीलाई दिए । प्रहरीले फर्गुसन ‘वान्टेड व्यक्ति’ भएको सुनाएपछि ती व्यापारी आफैंले प्रहरीलाई उनकोमा लिएर गए । बल्ल फर्गुसन फन्दामा फसे । उनलाई पाँच वर्षको सजायँ भयो । उनी सन् १९३० मा रिहा भए र लस एन्जलसमा गई बस्न थाले । सन् १९३८ मा ५५ वर्षको उमेरमा उनको निधन त्यहीँ भयो ।
– राजेन्द्र स्थापित

No comments:

Post a Comment