Sunday, April 7, 2013

सानो ठाउँका निम्ति ठूलो संघर्ष


चीन र जापान एसिया महादेशका ठूला आर्थिक शक्ति हुन् । विश्व अर्थतन्त्रमा यिनको स्थान अमेरिकापछि पर्छ । यिनको आर्थिक कारोबार गत वर्ष १४ दशमलब ३० प्रतिशतले वृद्धि भई तीन सय ४५ अर्ब अमेरिकी डलर पुगेको छ । चीन जापानमा उत्पादित सामानको सबैभन्दा बढी खपत हुने राष्ट्र हो भने जापान चिनियाँ सामानको चौथो ठूलो बजार हो ।

चीनमा जापानी लगानी चालु वर्षको पहिलो आठ महिनामा १६ दशमलब २० प्रतिशतले वृद्धि भएको छ । जापानमा चिनियाँ लगानी भने सोही अवधिमा ११ दशमलब १० प्रतिशतले घटेको छ । सेनकाकु टापुलाई लिएर दुई देशबीच तनाव सुरु भएपछि व्यापार र लगानी दुवैमाथि ठूलो असर परेको छ । विवादले तुलनात्मक रुपमा जापान बढी घाटामा परेको छ । पूर्वी चिनियाँ सागरमा अवस्थित यो टापु समूह चीन, जापान र ताइवानको समुद्री सीमाना नजिक छ । यसको स्वामित्वलाई लिएर तीनै मुलुकबीच विवाद थियो । बेलाबेलामा एक अर्काको पानीजहाजमाथि आक्रमण गर्ने, डुबाइदिने र चालक दलका सदस्य तथा जहाजका यात्रीलाई बन्धक बनाउने क्रम चल्दै आएको थियो । सन् १९७२ मा जब चीन–जापानबीच दौत्य सम्बन्ध स्थापना भयो, तब विवाद सतहमा आयो ।

किनभने बसोबासरहित टापु भए पनि सन् १९६९ मा तेल र ग्यासको भण्डार पत्ता लागेपछि विशेषतः दुवै देशले यसलाई महत्व दिन थालिसकेका थिए । टापुमा तेल र ग्यास भण्डार भएको एसिया र सुदूर पूर्वका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक आयोग (इसिएएफइ) ले पत्ता लगाएको हो । त्यसबेला देङ सियाओ पिङले भनेका थिए, ‘टापुलाई लिएर हामीबीच समस्या भएको यथार्थ हो तर अर्को दस वर्षसम्म पनि टुंगो नलागे पनि केही छैन, विवादलाई सल्टाउँदै गरौँला । हाम्रा पुर्खाहरु बुद्धिमान नभएकाले साझा विन्दु पहिल्याउन असमर्थ रहे तर आगामी पुर्खा अवश्य बुद्धिमान हुनेछन्, उनीहरुले सबैलाई मान्य हुने समाधानको मार्ग पहिल्याउने छन् ।’ तर टापुमाथि स्वामित्वको दाबी गर्ने तीन राष्ट्रले साझा विन्दु पहिल्याउनुअघि नै सन् २००४ को अप्रिलमा जापानको एक दक्षिणपन्थी समूहले टापुमाथिको चिनियाँ दाबी निरर्थक भएको वक्तव्य जारी ग¥यो । तीन महिनापछि नजिकै प्राकृतिक ग्यासको निम्ति सरकारी स्तरबाटै अनुसन्धान थालियो ।

जापानको उक्त कार्य अवैधानिक भएको भन्दै बेइजिङस्थित दूतावासअगाडि विरोध प्रदर्शन भयो । सन् २००६ को मार्चमा जापानको क्योदो समाचार समितिले टापु जापानको मात्र भएको दाबी ग¥यो । लगत्तै चीनको सोही विवादित टापुनजिकको समुद्रमा जापानी जहाजसँग ठक्कर खाएर २७० टन तौलयुक्त ताइवानको जहाज डुब्यो । पछि जापानले माफी माग्दै तीन लाख ११ हजार डलर क्षति भ¥यो । सन् २०१० को सेप्टेम्बरमा चिनियाँ माछा मार्ने डुंगा र समुद्रमा गस्ती गरिरहेका दुईवटा जापानी जहाजबीच मुठभेड भयो । जापानले चिनियाँ डुंगा कब्जामा लिई क्याप्टेन झाङ खिसिङलाई समात्यो । १० दिनपछि मुक्देन घटनाको ७९ औं वर्षदिन मनाउने क्रममा बेइजिङ, सांघाइ, हङकङलगायत प्रमुख चिनियाँ सहरमा जापानविरोधी प्रदर्शन भए । प्रधानमन्त्री वेन जियाबाओले क्याप्टेन झाङलाई तुरुन्त रिहा नगरे जापानविरुद्ध कारबाही गर्ने चेतावनी दिए । हप्ता दिनपछि सेप्टेम्बर २४ मा जापानले क्याप्टेनलाई मुक्त ग¥यो तर चिनियाँ पक्षले माफी माग्नुका साथै क्षतिपूर्ति दिनुपर्ने माग उठायो ।

चीनको माग मान्न जापान तयार भएन । बरु टोकियोलगायत प्रमुख ६ सहरमा चीन विरोधी प्रदर्शन भयो । यसबीच सन् २०१२ को जुलाई १५ को दिन विवादित क्षेत्रमा तीनवटा चिनियाँ जहाज प्रवेश गरे । रिसाएर जापानले चीनस्थित आफ्ना राजदूतलाई फिर्ता बोलायो र चीनको सामुद्रिक विस्तारवादी नीतिको विरोध ग¥यो । अगस्त ८ मा विवादकै बीच अमेरिकासित मिलेर जापानले ओकिनावा टापु वरपर संयुक्त सैन्य अभ्यासको घोषणा ग¥यो । यसको विरोधमा २५ वटा चिनियाँ सहरमा प्रदर्शन भयो । जापानद्वारा सञ्चालित व्यापारिक निगम, योजना, दूतावास र जापानी नागरिकमाथि समेत आक्रमण गरियो । जापानी सामान बहिस्कारको नारा उठ्यो । जापानविरुद्ध युद्ध गरेर सही काम गरेको ठहर गर्दै माओत्सेतुङको जयजयकार गरियो । पछिल्लो घटनाले चीनको तुलनामा जापान बढी घाटामा प¥यो, पर्दैछ । विवादित सेनकाकु टापुलाई चिनियाँहरुले तियाओयु र ताइवानीहरुले तियाओयुताइ भन्ने गर्छन् । तेल, ग्यास, खनिज भण्डार र माछा मार्ने अधिकारलाई लिएर तीन देशबीच विवाद चल्दै आइरहेको यो टापु समूहमा कूल स–साना आठवटा टापु छन् । यी टापु चीनको पूर्वमा, ताइवानको उत्तरीपूर्वमा, जापानी टापु ओकिनावाको पश्चिममा र ¥युक्यु टापुको दक्षिणपश्चिममा छरिएर बसेका छन् । दूरीको हिसाबले ताइवानभन्दा १ सय २०, चीनभन्दा २ सय र ओकिनावाभन्दा २ सय मिल टाढा छन् ।

आठवटा टापुमध्ये सबैभन्दा ठूलो टापु भनेकै उत्सुरी जिमा (चिनियाँ नाउँ तियाओयु ताओ) हुन्, जसको क्षेत्रफल मात्र चार दशमलब ३२ वर्ग किमी छ । अर्काे एउटा टापु कुबा जिमा (चिनियाँ नाउँ ह्वाङवेइयु) को क्षेत्रफल १ दशमलव शून्य आठ वर्ग किमी छ । बाँकी ६ वटै टापु कुनैको पनि क्षेत्रफल आधा वर्ग किमी पनि छैन । सबैभन्दा सानोको क्षेत्रफल त जम्मा शून्य दशमलव शून्य शून्य शून्य आठ किमी छ । आठैवटा टापुको कूल क्षेत्रफल ६ दशमलव २७ वर्ग किमी हो । तीमध्ये पनि पाँचवटा मानवरहित टापु हुन्, तीनवटा बाँझो जमीन र ठूल्ठूला ढुंगाले भरिएका । आठमध्येका तीनवटा उत्सुरी (तियाओयु ताओ) किताको (बेइ सियाओ ताओ) र मिनामीको (नान सियाओ ताओ) जापानका कुरिहारा परिवारको नाउँमा छन् । जापानको गृह तथा सञ्चार मन्त्रालयले सन् २००२ देखि २०१२ सम्म यी टापु प्रयोग गरेबापत उक्त परिवारलाई अढाइ करोड येन तिरेको थियो । उस्तै अमेरिकाले लडाकु विमान राख्दै आएको टापु काबु (ह्वाङवेइयु) को पनि भाडा तिरेको थियो । जापानी सरकारले आफैँले प्रयोग गर्दै आएको एउटै मात्र टापु ताइसो (चिवेइ यु) मात्र हो । कुरिहारा परिवारको स्वामित्वमा रहेका तीनैवटा टापु यसै महिनाको ११ तारेखमा दुई अर्ब ५० लाख येनमा जापान सरकारले खरिद गरेपछि चीन क्रुद्ध भएको हो ।

विवादित टापुबारे चीनको दाबी छ, ‘सेनकाकु टापु समूह सन् १३७२ देखि चीनकै भूभागको रुपमा रहँदै आएको हो । सन् १५३४ मा छिङ वंशले ताइवानमाथि आधिपत्य जमाउँदा यसमाथि पनि नियन्त्रण गरिएको हो । चिनियाँहरुले तियाओयु भन्ने यो टापुको उल्लेख चिनियाँ यात्रीको पुस्तकमा (सन् १४०३ मा प्रकाशित) उल्लेख छ । छिङ वंशको शासन सुरु भएपछि सम्राटका दूत छन खानले ¥युक्युको भमणबारे लेखेको पुस्तकमा पनि यो कुरा उल्लेख छ । मिङ वंशले सामुद्रिक सीमाना निर्धारण गर्दा तीमध्येको एउटा टापु चिवेइयु (जापानी नाउँ ताइसो जिमा) लाई ¥यक्यु टापुभन्दा बाहिर अर्थात् चीनको सामुद्रिक सीमाना निर्धारण गरिएको पाइन्छ । यसबीच सन् १८९४ मा चीन–जापान युद्ध भयो । चीन पराजित भयो । सन् १८९५ को अप्रिल १७ मा दुई देशबीच सिमोनोसेकी सन्धि भयो ।सन्धिको धारा २ (ख) मा फरमोसा (ताइवान) सहित आसपासको टापु जापानमा गाभिएको उल्लेख गरियो । तथापि सन्धिमा कुन–कुन टापु जापानमा गाभिएको प्रस्ट उल्लेख थिएन ।’ चीनको थप दाबी छ– सन् १७८५ मा जापानी भूगोलविद हायासी सिहेइले निकालेको नक्सामा विवादित टापु र चीनमा एउटै रंग लगाइएको छ ।

अर्का जापानी नक्सा विशेषज्ञले १८ औं शताब्दीमा तयार पारेको नक्सामा पनि ती टापु चीनकै भूभागभित्र पारिएको छ । दोस्रो विश्वयुद्धको समाप्तिपछि भएको पोष्टड्याम सम्झौतामा पनि स्पष्ट उल्लेख छ, ‘होन्सु, होक्काइडो, क्युसु, सिकोकु र अन्य साना केही टापु मात्र जापानका हुनेछन् ।’ उक्त सम्झौतामा अमेरिका, बेलायत र ताइवान संलग्न थिए । सम्झौताप्रति जापानले सहमति जनाएको थियो । विवादबारे जापानको पनि आफ्नै भनाइ छ । मेइजी वंशको पुनस्र्थापनापश्चात् सन् ८७९ मा ओकिनावा र ¥युक्युलाई जापानमा गाभिएको हो । त्यसबेलासम्म सेनकाकु जापानको ¥युक्यु अधिराज्य र चीनको छिङ वंशको सीमा टापु थियो । सन् १८८५ मा ओकिनावाका गभर्नरले ती टापुलाई आधिकारिक रुपमा आफ्नो भूभागमा गाभ्न जापान सरकारलाई अनुरोध गरे । जापानी विदेशमन्त्रीका अनुसार टापु छिङ अधिराज्यको नजिक रहेकाले मात्र टापुको नाउँ चिनियाँ रहन गएको हो ।

मानवरहित सो टापुबारे जापानले सन् १८८४ मा नै सर्वेक्षण सुरु गरेको थियो । चीन–जापान युद्धपछि ती टापुहरू ओकिनावाभित्र गाभिए तर दोस्रो विश्वयुद्धमा जापानको पराजयपछि अमेरिकाको सानफ्रान्सिस्कोमा सन् १९५१ मा भएको सन्धिले १८९५ को सन्धिलाई रद्ध गरेको चीनको दाबी छ । जापानलाई समेत सम्मिलित गरेर गरिएको उक्त सन्धिपछि ओकिनावा अमेरिकाको नियन्त्रणमा गयो र अमेरिकाले सन् १९७२ को मे १५ मा मात्र ओकिनावा र ¥युक्युमाथिको आफ्नो नियन्त्रण छाडेको हो, दोस्रो विश्वयुद्धपछि सेनकाकु टापुलाई ओकिनावा र ¥युक्यु टापु शृंखलाभित्र पारिएको थियो । अमेरिकाले त्यहाँको प्रशासन चलाउने अधिकार जापानलाई हस्तान्तरण गरी छाडेको थियो । लगत्तै चीन र जापान दुवैले विवादित टापुको विषय सुरक्षा परिषद्मा उठाएका थिए । यस विषयमा चीन र ताइवानको एउटै भनाइ रहँदै आएको छ ।

उनीहरुका अनुसार चीन–जापान युद्धपछि भूभाग अंशबण्डा अमेरिकी राष्ट्रपति उलिसेस ग्रान्टकै सुझावमा गरिएको थियो, त्यसबेला विवादित ती आठैवटा टापुबारे कतै उल्लेख थिएन । कुरिहारा परिवारले तीमध्ये तीनवटा टापुको प्रशासन सन् १९३० मा जापानबाट अनुमति लिएर चलाउन थालेको थियो । जापानको दाबी छ– कोगातात्सुहिरो र उनको परिवारलाई टापु जिम्मा दिँदा चीन र ताइवान दुवैले विरोध गरेका थिएनन् । जापानको थप दाबी छ, ‘सन् १९५३ मा चीनको पत्रिका रेनमिन रिबाओमा प्रकाशित लेखमा समेत सेनकाकु टापु अमेरिकी अधिनस्थ ¥युक्युको अंग हो भन्ने उल्लेख छ । सन् १९२१ मा नागासाकीमा कन्सुलर भएर आएका चिनियाँ कूटनीतिज्ञ फेङ मिनद्वारा लिखित पत्रमा पनि ती टापु जापानी साम्राज्यअन्तर्गतको भनिएको छ ।’

आठवटा ती स–साना टापुबारे चीन–जापानबीच विवाद चलिरहेकै बेला जापानको प्रमुख विपक्षी पार्टीले गुगल सर्च इन्जिनलाई एउटा पत्र लेखी विवादित टापुको चिनियाँ नाउँ मेट्न आग्रह गरेपछि दुई देशको सम्बन्धमा थप तनाव सिर्जना गरिदिएको छ । जर्मनी र फिनल्यान्डका भूगर्भविदहरुले पनि टापुमाथिको जापानको दाबी निरर्थक भएको विचार व्यक्त गरेका छन् । दक्षिण चीन सागरमा सेनकाकुबाहेक कुरिल, ओकिनोतोरी, स्प्राटली र पारासेल द्वीपको पनि विवाद छ । कुरिलमा जापान र रुस, ओकिनोतोरीमा चीन र जापान, पारासेलमा चीन–ताइवान–भियतनाम र स्प्राटलीमा चीन–ताइवान–भियतनाम–फिलिपिन्स–मलेसिया र बु्रनाइबीच खिचातानी चलिरहेको छ ।
-राजेन्द्र स्थापित  

No comments:

Post a Comment