काउन्ट भिक्टर लुस्तिगको जन्म अस्ट्रिया–हंगेरीअन्तर्गतको क्षेत्र (वर्तमानमा चेक गणतन्त्र) को होस्तिनेमा भयो । वास्तविक नाउँ रोबर्ट भिक्टर मिलर भएका उनी सो सहरका मेयर थिए । १९ वर्षको भइसक्दा नसक्दै लुस्तिग जुवाको पोख्त खेलाडी बनिसकेका थिए । चेक, जर्मन, इटली, अंग्रेजीलगायत युरोपका दर्जनौं भाषा बोल्न जान्ने उनी गफ गरेरै ठग्न सिपालु बने ।
सन् १९२२ मा ३२ वर्षको हुँदा थुप्रैलाई ठगेर अमेरिका गए । सुरुमा न्युयोर्क र पछि मिसौरीमा डेरा लिए । गाईवस्तु पाल्ने नक्कली योजना बनाएर बैंकबाट बाइस हजार डलर ठगी गरे । सो काण्ड सार्वजनिक भएपछि सन् १९२५ मा पेरिस पुगे । त्यो विश्वयुद्धको समाप्तिपछि फ्रान्स विकासको पथमा दू्रतगतिमा दौडिरहेको समय थियो । जताततै पुराना संरचना भत्कँदै, नयाँ बन्दै थियो । उनी भने ठूलै ठगी गर्ने योजना बुन्दै थिए । धन्दा सुरु गरेको १०–१२ वर्षको अवधिमा बाइसवटा नाउँ फेरिसकेका उनी एकदिन बिहानै पत्रिका पढ्दै थिए । उनको नजर इफिल टावरबारे लेखिएको समाचार विश्लेषण (फिचर) मा प¥यो ।
समाचारमा टावर कहिले र कसले बनाएको, टावरको संरचना दिनपरदिन कमजोर बन्दै गइरहेकाले तत्काल मर्मत कार्य थाल्नुपर्नेमा जोड दिइएको थियो । टावरलाई मर्मतमात्र गर्ने वा पूरै भत्काएर पुनःनिर्माण गर्ने भन्ने बहस विशेषज्ञहरुमाझ चल्न थालेको कुरो पनि उल्लेख थियो । पत्रिका पढ्दा पढ्दै मुहार हँसिलो बन्यो । खुराफाती दिमागमा खतरनाक योजना बन्यो । योजनालाई सफल बनाउन अर्का ठग रोबर्ट आर्थर टर्बिलोलाई पनि सामेल गरे । २३ वर्षीय टर्बिलो फ्रान्सिसी थिए । बाल्यकालदेखि सर्कसमा लागेका उनी पछि अमेरिका पुगे । लुस्तिग जत्तिकै नामुद गफाडी थिए । उनको गफ अमेरिकी व्यापारीहरु सजिलै पत्याउँथे । यसको बाबजुद पक्राउ परे । चार वर्ष जेल जीवन काटेर स्वदेश फर्के । पेरिसलाई केन्द्र बनाएर वैवाहिक जीवनबाट असन्तुष्ट धनी महिलालाई फसाउने काममा लागे । यौनसुख प्रदान गर्दै बदलामा ठूलो रकम र बहुमूल्य वस्तु उपहार लिन्थे । कुलीन महिलाहरुको नजरमा उनी धनी अमेरिकी थिए । उनको गफ गर्ने शैली रसपूर्ण हुन्थ्यो, कसैले शंका गर्दैनथे ।
भेटघाटपछि दुवै महाठग दंग भए । भविष्यमा मिलेर ठगी गर्ने र त्यसबाट हुने लाभ आपसमा बाँडेर लिने सहमति गरे । योजना बताउँदै लुस्तिगले भने, ‘म काउन्ट बन्छु र हुलाक मन्त्रालयको लेटरप्याड प्राप्त गर्छु ।’ टर्बिलोले सोधे, ‘किन काउन्ट बन्नुप¥यो ?’ लुस्तिगले जवाफ फर्काए, ‘किनकि इफेल टावर हुलाक मन्त्रालयले हेर्छ ।’ योजनाअनुरुप लुस्तिग इफेल टावर बिक्री गर्ने जिम्मेवारी पाएका हुलाक मन्त्रालयका उपमहाप्रबन्धक बन्ने भए । टर्बिलोले सोधे, ‘मेरो भूमिका के त ?’ लुस्तिगले जवाफ दिए, ‘तिमी मेरो मन्त्रालयको सचिव बनेर काम गर ।’ योजनाअनुरुप एउटा शानदार भवन भाडामा लिए । आन्तरिक सजावटलाई मन्त्रालयसरह दुरुस्त बनाए ।
हुलाक मन्त्रालयको लेटरप्याड प्राप्त गरे । धातुको व्यापार गर्ने पाँच ठूला व्यापारीलाई पत्र लेखे । पत्रमा एउटा अत्यन्त महत्वपूर्ण विषयमा छलफल गर्न मन्त्रालयमा निम्त्याइएको कुरा उल्लेख थियो । पत्र र छलफल गोप्य हुने पनि उल्लेखित थियो । भेट्ने मिति, समय र स्थान उल्लेख थियो । पत्र लेख्ने र व्यापारीसम्म पु¥याउने काम टर्बिलोले गरे । तोकिएको मिति र समयमा व्यापारीगण होटल डे क्रिलोन पुगे । उक्त होटल सबैभन्दा उच्च दर्जाको थियो । उनीहरुको स्वागत टर्बिलोले गरे । अत्यन्त ठूलो सम्मान दिए । महँगो रक्सी टक््रयाए । उनले आफ्नो हाकिम हुलाक मन्त्रालयको उपमहाप्रबन्धक भएको र व्यस्त रहेको भन्दै पर्खन आग्रह गरे । यथार्थमा लुस्तिग भित्र कोठामा हाइ काढ्दै थिए । व्यापारी पनि हाकिमको व्यस्तताबाट निकै प्रभावित भएर भेट्ने प्रतीक्षा गर्दै थिए । एकछिनपछि पाँचै जनालाई भित्र जान दिइयो । लुस्तिग सोफाबाट उठे र जोसिलो पाराले हात मिलाएर सबैको स्वागत गरे । टर्बिलोले पालैपालो सबैको परिचय गराए ।
लुस्तिगले सबैको नाउँ आफूले सुनेको भन्दै दंग पारे । साथै ख्याति र इज्जत कमाएको आधारमा कम्पनीको चयन गरेको बताए । ‘इफेल टावर निकै पुरानो भइसकेको र यसको मर्मतको भार वहन गर्न अब गाह्रो पर्दै गइरहेकाले सरकारले यसलाई भत्काएर त्यसमा भएको सात हजार तीन सय टन स्टिल बिक्री गर्न खोजेको’ बाट कुरा सुरु गरे । अगाडि भने, ‘यो योजनालाई पूर्णरुपमा गोप्य राख्ने सरकारी निर्णय छ किनभने ऐतिहासिक धरोहर गिराउँदा सरकारको चौतर्फी विरोध अवश्यंभावी छ ।’ उनले यो योजनाबारे गृहकार्य गरी कोटेसन पेस गर्न अनुरोध गरे । ठूलो मात्राको स्टिल सस्तोमा खरिद गरेर मुनाफा खाने सपना देख्न थालिसकेका व्यापारीले सबै कुरा गोप्य रहने आश्वासन दिँदै शीघ्र कोटेसन पठाउने बाचा गरे । बिदा गर्ने बेलामा लुस्तिगले पुनः एकपटक गोप्यता भंग नगर्न सबैलाई चेतावनी दिए ।
इफेल टावर सन् १८८७ मा निर्माण सुरु गरेर १८८९ मा सम्पन्न भएको पेरिसको सबैभन्दा अग्लो स्तम्भ हो । इन्जिनियर तथा डिजाइनर गुस्ताफ इफेलकै नाउँबाट टावरको नामकरण हुन गएको यो स्तम्भ १ हजार ६३ फुट अग्लो छ अर्थात् ८४ तले भवनबराबरको छ । सन् १९३० मा बनेको न्युयोर्कको क्रिस्टल सिरी भवन बन्नुअगाडिसम्म यो विश्वकै अग्लो भवन (स्तम्भ) थियो । भुइँतलाबाट पहिलो तलासम्म उक्लन मात्र तीन सय सिँढी चढ्नुपर्छ । पहिलो र दोस्रो तलामा दुईवटा ठूला रेष्टुराँ छन् । ९ वटा इलेभेटर भएको यो स्तम्भ अहिलेसम्ममा २० करोड आन्तरिक र बाह्य पर्यटकले चढिसकेका छन् । सन् २००६ मा मात्र ६७ लाख १९ हजार २ सयले स्तम्भ चढेका थिए । स्तम्भ निर्माणमा ७ हजार ३ सय स्टिलबाहेक अन्य १० हजार टन धातु प्रयोग गरिएको थियो । विश्वकै चर्चित र लोकप्रिय पर्यटकीय केन्द्र बनेको यो स्तम्भसँग इरिका इफेल नामक अमेरिकी महिलाले सन् २००७ मा बिहे गरेकी थिइन् ।
व्यापारी हिँडिसकेपछि लुस्तिग र टर्बिलो आगामी योजना बनाउन जुटे । उनीहरुमध्ये सबैभन्दा मूर्ख कुन हो र उसलाई कसरी फसाउन सकिन्छ भनी विचार–विमर्श गरे । अन्त्यमा आन्द्रे पोयसन नाउँका व्यापारी अरुभन्दा उपयुक्त भएको निष्कर्ष निकाले । किनकि पोयसन नवधनाढ्य थिए । व्यापारमा ठूलो दख्खल नभएका उनी पूर्व सरकारी अधिकृत थिए । छलफल चलाएको तेस्रो दिनमै पाँचै व्यापारीले कोटेसन पेस गरे । दुई–तीन दिनपछि पोयसनलाई बोलाइयो । सूचना प्राप्त गर्नेबित्तिकै पोयसन दौडेर होटल पुगे । सबैभन्दा बढी मोल तोकेका कारण ‘तपाईंको कोटेसन पास भयो’ भनेर लुस्तिगले भन्नेबित्तिकै उनी दंग परे । लुस्तिगले कोटेसनको काम तमाम हुन केही दिन लाग्ने बताए र बिनाघुस सरकारी कर्मचारीले काम नगर्ने भएकाले केही हजार डलरको बन्दोबस्त गर्न भने । भ्रष्ट प्रशासनतन्त्रबारे पोयसनलाई थाहा थियो । उनी तुरुन्तै राजी भए । तुरुन्तै मागेको रकम दिइदिए, साथै इफेल टावर खरिदबापत दिनुपर्ने पहिलो किस्ता दुई लाख ५० हजार डलरको चेक पनि बुझाए । दुई महाठगले एकजना बैंक अधिकृतलाई हातमा लिएर सोही दिन चेक साटे र देश छाडेर भागे ।
उता, आफू ठगिएकोबारे पूर्ण बेखबर र ‘इफेल टावर तिम्रै भो, चाहेको बेला गिराउन सक्छौ’ भन्ने व्यहोरासहितको लुस्तिगको हस्ताक्षरयुक्त पत्र पाएर दंग पोयसन घरायसी कामले केही दिन चुप बसे । पछि टावर गिराउन ठेक्काका निम्ति एउटा एजेन्सीमा पुगे । त्यहाँ पुगेपछि बल्ल उनले आफू ठगिएको थाहा पाए र आफू मूर्ख बनेकोमा पछुताएर बसे । पोयसनलाई ठगेर अस्ट्रियाको भियना पुगेका ठगहरू त्यहीँ मोज गरेर बसे । त्यत्रो ठूलो ठगी गर्दा पनि कुनै हंगामा नभएपछि एक महिनामै स्वदेश फर्के । लालची बनिसकेका उनीहरुले फेरि एकपटक इफेल टावर बेच्ने योजना बनाएर पहिलाजसरी नै ६ जना व्यापारीसँग छलफल चलाए । तर, पछिल्लोपटक योजना सफल भएन । ६ मध्येको एक व्यापारीले योजनाको जानकारी प्रहरीलाई दिए । प्रहरीले उनीहरु बसेको घरमा छापा मारे तर सुइँको पाइसकेका उनीहरु गिरफ्तार हुनबाट बचे । प्रहरीबाट बच्दै यसपछि पनि अल कापोन नाउँको कम्पनी र स्कटल्यान्डनिवासी आर्थर फर्गुसनलाई ठग्न सफल भए । यसपछि टर्बिलोलाई बिदा दिएर लुस्तिग अमेरिका पुगे । नेब्रास्का निवासी औषधी व्यापारी टम शासँग साझेदारी गरे । नोट छाप्ने सानो बाकस बनाए ।
रातारात धनी बन्ने सपना पालेका ग्राहकहरु बाकस किन्न तयार भए । प्रत्येक ६ घन्टामा एक सय डलरको एउटा नोट छापिने भनिएको उनको बाकस एकजना व्यापारीले ३० हजार डलरमा किने । व्यापारीले घर लगेर नोट छाप्न थाले । पहिलो ६ घन्टामा एउटा र दोस्रो ६ घन्टामा अर्को गरी बाकसरुपी मेसिनबाट सय–सय डलरको दुईवटा नोट निस्कियो तर त्यसपछि खाली कागजमात्र निस्कन थालेपछि आफू ठगिएको थाहा पाएका व्यापारीले थानामा उजुरी दिए । उजुरीको आधारमा केन्द्रीय अनुसन्धान व्युरोले विशेष टोली गठन गरी लुस्तिगलाई खोज्न थाल्यो । त्यसबेलासम्ममा लुस्तिग र शाकी तरुनी पत्नीबीच रोमान्स सुरु भइसकेको थियो । यो रोमान्सबाट आगो बनेकी लुस्तिगकी पत्नी बिल्ली मइकै सूचनाका आधारमा सन् १९३५ को मे १० मा लुस्तिग पक्राउ परे ।
प्रहरीले उनको घरबाट नोट छाप्ने मेसिन एउटा र ५१ हजारको नक्कली नोट बरामद ग¥यो । उनलाई न्युयोर्कस्थित संघीय कारागारमा राखियो । डिसेम्बर ५ देखि अदालती कारबाही सुरु भयो । १५ वर्षको सजाय सुनाइयो । तर, केही दिनपछि नै जेल तोडेर भाग्न सफल भए । २७ दिनपछि पिटसवर्गमा समातिए । अदालतले सजाय बढाएर २० वर्ष पु¥यायो । १२ वर्षपछि ५७ वर्षको उमेरमा सन् १९४७ मा जेलमै उनको निधन भयो । उनलाई ब्रेन ट्युमर भएको थियो ।
No comments:
Post a Comment