Sunday, April 7, 2013

सत्तामा पुग्दै, कमरेडहरू फुटेर सकिँदै- राजेन्द्र स्थापित

एकेल उर्फ एचिले ओचेटोको जन्म सन् १९३६ को मार्च ३ मा इटलीको सहर ट्युरिनमा भएको हो । सन् १९६३ देखि १९६६ सम्म 'कम्युनिस्ट युवा आन्दोलन'को सचिव रहेका उनी पछि कम्युनिस्ट पार्टीको सिसिली क्षेत्रका निम्ति सचिव बने । सिसिली अपराधीहरूको स्वर्ग हो । उनले त्यहाँका माफियाविरुद्ध एकखालको युद्ध नै छेडे । सन् १९८६ मा पार्टीले उनलाई रोम बोलायो । लगत्तै उनी राष्ट्रिय समन्वय समितिको सदस्य बने । त्यसवेला महासचिव थिए- अलेक्ज्यान्ड्रो नाता । सन् १९८८ मा महाधिवेशन डाकियो । बन्दसत्र सुरु हुनेबित्तिकै एकेल पक्षधरहरू नाताविरुद्ध खनिए । नाताले महाधिवेशनलाई सम्हाल्न सकेनन् र पदबाट राजीनामा नै दिनुपर्‍यो । महाधिवेशनले एकेललाई महासचिवमा छान्यो । उनको नेतृत्वकालमै बर्लिन पर्खाल भत्कियो र सोभियत संघको विघटन भयो । यो घटनापछि उनले इटलीमा पनि कम्युनिस्ट पार्टी भविष्य नभएको निष्कर्ष निकाले । सन् १९९१ मा पार्टी विघटन गरी नयाँ वामपन्थी समूह 'वामपन्थीहरूको प्रजातान्त्रिक पार्टी -पिडिएस) गठन गरे । तर, कम्युनिस्ट पार्टीका एकतिहाइ सदस्यले पिडिएसमा जान अस्वीकार गरे । केही समयपछि असन्तुष्ट समूहले 'कम्युनिस्ट पुनस्र्थापना पार्टी -पिआरसी)' गठन गर्‍यो । सन् १९९४ मा चुनाव भयो । पिडिएसको तर्फबाट उनी उम्मेदवार बने । तर, प्रगतिशील शक्तिहरूको सहयोग र समर्थनका बाबजुद सिल्भियो बर्लुस्कोनीबाट उनी पराजित भए । पराजयले उनको छविमा असर पार्‍यो । उनी पार्टी नेतृत्वबाट हटे । यसपछि सन् २००४ मा उनी पुनः राजनीतिमा सक्रिय भए । युरोपेली संसद्को सदस्य बने । उनले एन्तोनियो डी पियत्रोसित मिलेर त्यहाँ भ्रष्टाचारविरुद्ध प्रस्ताव लगे । र, अचानक संसद्बाट राजीनामा दिए । सन् २००६ को निर्वाचनपछि युरोपेली संसद्मा समाजवादी समूहको एउटा कोटा खाली रहृयो । युरोपेली समाजवादीहरूको समूहले फेरि एकेललाई निर्वाचित गर्‍यो । अहिले उनी फेरि कम्युनिस्ट पुनस्र्थापना पार्टीमा जाने हल्ला चलेको छ । यद्यपि, उनले हल्लाको खण्डन गरिसकेका छन् । बरु उनले नयाँ पार्टी 'वामपन्थीहरूको पुनस्र्थापना' खडा गर्ने बताएका छन् । उनका अनुसार, नयाँ पार्टी प्रजातान्त्रिक वामपन्थी, हरियाली, सामाजिक जनवादी र कम्युनिस्ट पुनस्र्थापना पार्टीलाई समेत मिलाएर बन्नेछ । उता, पिडिएसको नेतृत्वबाट उनी हटेपछि पत्रकार मासिमो डी आलेमाले नेतृत्व सम्हाल्न पुगे । मासिमो पनि सन् १९७० मै युवा कम्युनिस्टहरूको महासंघको सचिव भइसकेका व्यक्ति हुन् । सन् १९९८ मा उनी प्रधानमन्त्री बन्न सफल भए । उनैको शासनकालमा नेटोले सन् १९९९ मा युगोस्लाभियामा बमबारी गर्‍यो । उनले यसको विरोध गरे । माक्र्सवादलाई परिवर्तित सन्दर्भमा संशोधन गर्नुपर्छ भन्ने अडान राख्दै आएका उनलाई सन् २००६ मा च्याम्बर अफ डेपुटिजले राष्ट्रपति छानेको थियो, तर उनी आफैँ पछाडि हटे । किनभने पिआरसी फाउस्टो बेर्टिनोटीलाई राष्ट्रपति बनाउने पक्षमा थियो । यसपछि भने रोमानो प्रोदीको सरकारमा मासिमोले विदेश मन्त्रालयसहित उपप्रधानमन्त्री पाए । उनी यो पदमा सन् २००८ सम्म रहे । मासिमोपछि पिडिएसको सचिव बनेका वाल्टर भेल्ट्रोनी पनि पत्रकार हुने । १५ वर्षकै उमेरमा युवा कम्युनिस्ट महासंघमा लागिसकेका उनी 'एल युनिटा'का प्रधानसम्पादक थिए । सन् १९७६ मा कम्युनिस्ट पार्टीको सदस्यता पाएका उनी सन् २००७ मा पिडिएसको सचिव बनेका हुन् । उनी सन् २००१ देखि २००८ सम्म रोम सहरको मेयर थिए । उता, कम्युनिस्ट पार्टीलाई विघटन गरी पिडिएस गठन गर्ने एकेलको निर्णयविरुद्ध खडा भएका एकतिहाइ पार्टी सदस्यको नेतृत्व कम्युनिस्ट नेता अर्मान्डो कोसुताले गरेका थिए । उनकै नेतृत्वमा लगत्तै 'कम्युनिस्ट पुनस्र्थापना पार्टी -पिआरसी)' गठन भएको हो । नयाँ पार्टी गठनलगत्तै सर्वहारावर्गीय प्रजातन्त्र र कट्टर वामपन्थी मोर्चा यसैमा विलय भयो । पिआरसीको प्रथम महासचिव थिए- सर्गेई गारभिनी । सन् १९९४ मा सर्गेईको स्थान फाउस्टो बेर्टिनोटीले लिए । फाउस्टो लामो समय मजदुर युनियनको नेतृत्वमा थिए । उनी पिडिएसबाट पिआरसी छिरेका नेता हुन् । सन् १९९६ मा जब रोमानो प्रोदीको सरकार गठन भयो, पिआरसीले त्यसवेला निणर्ायक भूमिका खेलेको थियो । तर, सन् १९९८ मा सरकारलाई दिइराखेको समर्थन फिर्ता लियो । प्रोदीको सरकार संसद्मा अल्पमतमा पर्‍यो । समर्थन फिर्ता लिने पार्टी निर्णयविरुद्ध अध्यक्ष अर्मान्डो कोसुताले विद्रोह गरे । उनले छुट्टै दल 'कम्युनिस्ट पार्टी -पिडिसिआई)' गठन गरे । यो पार्टी वामपन्थी प्रधानमन्त्री मासिमोको मन्त्रिमण्डलमा सम्मिलित भयो । पिआरसी सन् २००४ मा 'मध्यवामपन्थी गठबन्धन'मा सरिक भयो । यसका एकजना नेता निची भेन्डोलाले समलिंगी राजनीति सुरु गरे । सन् २००६ को आमचुनावमा यो गठबन्धनले सदनमा बहुमत हासिल गर्‍यो, परिणामस्वरूप फाउस्टो संसद्को अध्यक्ष बने । सदनको अध्यक्ष भएलगत्तै पिआरसीको नेतृत्व प|mान्को गियोर्डानोले सम्हाले । निर्वाचनपछि गठित प्रोदीको दोस्रो सरकारमा पिआरसी पनि सम्मिलित भयो । अन्य मन्त्रालयसहित पार्टीका पुराना नेता पाउलो फेरारोले सामाजिक ऐक्यबद्धता मन्त्रालय चलाउने जिम्मा पाए । तर, पिआरसी सम्मिलित सरकारले अफगानिस्तानमा खटिँदै आएको आफ्नो सेनालाई मजबुत पार्न थप रकम निकासा गर्ने र लेबनानमा सेना पठाउने निर्णय गरेपछि मध्यवामपन्थी गठबन्धनमा मतभेद सिर्जना भयो । सो निर्णयकै कारण कम्युनिस्ट वर्कर्स पार्टी, कम्युनिस्ट अल्टरनेटिभ पार्टी र क्रिटिकल लेˆटले गठबन्धन त्यागे । सन् २००८ मा फेरि निर्वाचन भयो । निर्वाचनमा पिआरसी पछारियो । यसको प्रतिफल सचिव बेर्टिनोटीले पार्टी अधिवेशनमा भोग्नुपर्‍यो । पार्टीका सचिव पाउलो फेरेरो बने । अधिवेशन सकिएको ६ महिनापछि बेर्टिनोटीका समर्थकहरू निची भेन्डोला र प|mान्को गोर्डियानो मिलेर छुट्टै पार्टी 'वामपन्थीहरूको आन्दोलन -एमपिएस)' गठन गरे । तर, गठन प्रक्रियामा लागेका नेताहरू गिउस्टो गातानिया, मिलजाइडे कापरिली र तोमासो सोडानोले पिआरसी नछाड्ने निर्णय गरे । पार्टी विभाजनपश्चात् पिआरसीले कम्युनिस्ट पार्टी -पिडिसिआई), समाजवाद २००० र युनाइटेड कन्जुमरसित मिलेर पुँजीवादविरोधी वामपन्थी गठन गर्‍यो । यो मोर्चा सन् २००८ को युरोपेली संसद् निर्वाचनका लागि गठन गरिएको थियो । तर, निर्वाचनमा मोर्चाले ३.४ प्रतिशत मत मात्र पाउन सक्यो । संसद्मा एकजनालाई पनि पठाउन सकेन । पार्टी यतिखेर युरोपेली वामपन्थी पार्टी र युरोपेली पुँजीवादविरोधी वामपन्थीको सदस्य रहेको छ । स्मरणीय छ, युरोपेली वामपन्थी पार्टीको प्रथम महासचिव फाउस्टो बेर्टिनोटी हुन् । फाउस्टो त्यतिखेर पिआरसीका पनि महासचिव थिए । युरोपेली संसद्मा पिआरसीका नेताहरू पनि छन्, तर उनीहरू 'युरोपेली संयुक्त वामपन्थी-नोर्डिक गि्रन लेˆट ग्रुप'को तर्फबाट त्यहाँ प्रतिनिधित्व गरिरहेका छन् । इटलीमा यतिखेर कम्युनिस्ट र वामपन्थीको नाउँबाट करिब दुई दर्जन दल छन् । त्यहाँ कम्युनिस्टहरूको औपचारिक आन्दोलन सन् १९२१ को जनवरी २१ मा कम्युनिस्ट पार्टीको गठनपश्चात् सुरु भएको हो । यसअघि त्यहाँका कम्युनिस्ट समाजवादी पार्टीमा सरिक थिए । समाजवादी पार्टीका कम्युनिस्ट नेताद्वय अमादेव बोर्डिगा र आन्तोनियो ग्राम्स्कीले पार्टी फुटाएर 'कम्युनिप्ट पार्टी' गठन गरेका थिए । प्रथम महासचिव थिए- ग्राम्स्की । उनलाई मुसोलिनीको फासिस्ट सरकारले जेलमा कोचेको थियो । उक्त पार्टीले सन् १९२१ मा सम्पन्न निर्वाचनमा भाग लियो । निर्वाचनमा ४ दशमलव ६ प्रतिशत मत र १५ जनालाई संसद्मा जिताएर पठाउन सफल भयो । पार्टीको दोस्रो महासचिव थिए- क्यामिला राभेरा । राभेराले तीन वर्ष पार्टीको नेतृत्व गरे । त्यसपछि पाल्मिरो तोग्लियाटी पार्टी महासचिव बने । उनले सन् १९३० देखि १९३४ र १९३८ देखि १९६४ सम्म पार्टीको नेतृत्व गरे । बीचको चार वर्ष भने रुगेरो गि्रस्कोले पार्टी चलाएका थिए । तोग्लियाटी इटलीको कम्युनिस्ट आन्दोलनमा सबैभन्दा लामो समय पार्टीलाई नेतृत्व प्रदान गर्ने नेता हुन् । सन् १९६४ मा उनको निधनपछि मात्र पार्टीलाई नेतृत्व गर्ने जिम्मेवारी लुइटी लोन्गोले पाएका थिए । लुइटी सन् १९२२ मा मस्कोमा आयोजित कोमिन्टर्नको सम्मेलनमा भाग लिने नेता थिए । उनले रुसी नेताहरू लेनिन र स्टालिनलाई भेटेका थिए । सन् १९३३ मा उनी कोमिन्टर्नको राजनीतिक आयोगको सदस्य बनेका थिए । सन् १९६४ मा पार्टी महासचिव बनेपछि उनले आफूलाई 'मात्र एउटा सचिव, पार्टीको हाकिम होइन' भनेका थिए । उनले पछि 'इटलीलाई सुहाउँदो समाजवाद' को व्याख्या गरे । इटलीका चर्चित कम्युनिस्ट नेता इन्रिको बर्लिन्ग्वेरको नेतृत्व क्षमताको सही मूल्यांकन उनैले गरेका थिए । आफ्नो स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि महासचिव पद उनले बर्लिन्ग्वेरलाई नै सुम्पे । उनी त्यसपछि पार्टीको मानार्थ अध्यक्ष मात्र बने । यो पद उनले सन् १९८० मा निधन हुँदासम्म सम्हालेका थिए । बर्लिन्ग्वेर सन् १९४३ मा कम्युनिस्ट बनेका नेता थिए । टोग्लियाटीले 'राजनीतिक क्यारियर बनाऊ' भनेर उनलाई सार्डिनिया खटाएका थिए । उनी त्यसपछि सन् १९४४ मै कम्युनिस्ट युवा संगठन -एफजिसिआई) को राष्ट्रिय सचिवालय सदस्य बन्न सफल भए । १९४५ मा पार्टीको केन्द्रीय सदस्य र १९४९ मा एफजिसिआईको राष्ट्रिय सचिव बने । उनी १९५६ मा प्रजातान्त्रिक युवाहरूको विश्व महासंघको अध्यक्ष बने । उनको नेतृत्वमा कम्युनिस्ट पार्टी चलेकै समयमा सन् १९७९ मा सोभियत संघले अफगानिस्तानमाथि हस्तक्षेप गर्‍यो । उनले सार्वजनिक तवरमै हस्तक्षेपको विरोध गरे । सोभियत संघले उनलाई लाइनमा ल्याउन रुसी दूतलाई रोम पठायो, तर उनी बर्लिन्ग्वेरलाई रिझाउन सफल भएनन् । सोभियत संघलगायत पूर्वी युरोपेली कम्युनिस्ट पार्टीसितको सम्बन्ध तोडिएपछि सन् १९८० मा पेरिसमा आयोजित कम्युनिस्ट पार्टीहरूको सम्मेलन पनि इटली कम्युनिस्ट पार्टीले बहिष्कार गर्‍यो । बर्लिन्ग्वेरले आफ्नो चीन भ्रमण पनि रद्द गरी वैकल्पिक प्रजातान्त्रको वकालत गर्न थाले । उनले इटलीभित्र पनि सबै वामपन्थी पार्टीलाई एक ठाउँमा ल्याउने कोसिस गरे । यसैबीच, सन् १९८४ को जुनमा पाडुवामा आयोजित आमसभालाई सम्बोधन गरिरहेका वेला बीचैमा छाडेर हिँडे । उनलाई ब्रेन हृयामरेज भएको रहेछ । तेस्रो दिनमै उनको निधन भयो । उनको अन्त्येष्टिमा १० लाखको सहभागिता थियो । उनको कार्यकालमा इटलीको कम्युनिस्ट पार्टी पश्चिम युरोपकै ठूलो 'कम्युनिस्ट पार्टी' बनेको थियो । पार्टी सदस्य संख्या १८ लाख पुगेको थियो भने १९७६ को निर्वाचनमा पार्टीले ३४ दशमलव ४ प्रतिशत मत प्राप्त गरेको थियो । बर्लिन्ग्वेरपछि अलेज्यान्ड्रो नाता पार्टी महासचिव बने । सन् १९४५ मा कम्युनिस्ट पार्टीमा लागेदेखि नै पूर्णकालीन बनेका उनी इटली सुहाउँदो समाजवादका पक्षधर र बर्लिन्ग्वेरको नजिकका थिए । तैपनि, उनी आफू पार्टी महासचिव भएपछि सोभियत संघ र पूर्वी युरोपका सत्तारूढ कम्युनिस्ट पार्टीहरूसित बिग्रेको सम्बन्ध सुधार्ने प्रयत्नमा लागे । यसक्रममा उनले पार्टीका नेता अर्मान्डो कोसुताको सोभियत संघ भ्रमण योजनालाई साथ दिए । तर, यसै प्रसंगबाट पार्टीभित्र उनी आलोचित बने । र, १९८८ मा जबर्जस्ती पदबाट हट्न बाध्य पारियो । यो घटनापछि उनले हृदयाघातसम्म सहनुपर्‍यो । उनलाई पार्टीको मानार्थ अध्यक्षमा सीमित पारियो । पार्टी नेतृत्व एकेलले लिए । नाता र पित्रो इन्ग्राओले कम्युनिस्ट पार्टी विघटन गरी वामपन्थीहरूको प्रजातान्त्रिक पार्टी बनाउने एकेलको निर्णयको विरोध गरेका थिए ।

No comments:

Post a Comment