अलवरका भारतीय महाराज जयसिंह राजस्थानस्थित माउन्ट आबुमा पोलो खेल्दै थिए तर किन हो, उनलाई आफ्नो घोडाप्रति रिस उठ्यो । बेलायती गभर्नर जनरलका प्रतिनिधि रोबर्ट होल्यान्ड, अन्य राजनीतिक व्यक्तित्व र दर्शक सबैले देख्नेगरी घोडालाई नराम्रोसित पिटे । दुई दिनसम्म केही पनि नखुवाउन हुकुम जारी गरे ।
एकदिन नामी ज्योतिषी अलास्टरलाई निमन्त्रणा दिए । अलास्टर मुम्बईमा बस्थे । उनले मुम्बईबाट जति दिन बाहिर बस्नुपर्ने हो, प्रत्येक दिनको एक हजार भारु, आफू र साथीहरुको भ्रमण खर्च, खाना-बस्ने सबै व्यवस्था हुनुपर्ने माग अघि सारे । अलास्टरको भविष्यवाणी सत्य सावित हुने गथ्र्यो । महाराज चेम्बर अफ पि्रन्सेसको चान्सलर पदको प्रत्यासी बन्न चाहन्थे र त्यस पदमा रहेर सफल बन्न सकिन्छ कि सकिन्न भन्ने सल्लाह लिन चाहन्थे । तसर्थ अलास्टरको सबै माग मानेर बोलाए । अलास्टर ठीक समयमा रेल चढेर अलवर पुगे तर रेलवे स्टेशनमा उनलाई लिन कोही गएनन्, जबकि आइपुग्ने मिति र समय पहिल्यै महाराजलाई लेखी पठाएका थिए । उनी निकै धनी थिए, मोटरगाडी र मुम्बईमा धेरैतिर घर थिए । कसैले लिन नआएपछि स्टेसनबाट पैदल हिँडे । आधा माइल हिँडिसकेपछि एउटा थोत्रो भाडाको टाँगा भेट्टाए । गेस्ट हाउस पुगेपछि थाहा पाए- बस्ने व्यवस्था पनि रहेनछ । तसर्थ, कहिले कता त कहिले कता गएर बास खोजे तर कतै मिलेन ।
बाटोमा हिँडिरहेकै बेला संयोगवश उक्त राज्यका अर्थमन्त्री आर.सी. खन्नासँग भेट भयो । उनले 'तिमी को हौ र कहाँ जान लागेको ?' जस्ता प्रश्न सोधे । मन्त्री खन्ना र अलास्टरबीच औपचारिक चिनाजानी थिएन तर धनी र सभ्य व्यक्ति बाटो हराएको जस्तो ठानेर उनले सो प्रश्न सोधेका थिए । अलास्टरले खन्नालाई पूरा वृत्तान्त सुनाए र महाराज आफैँले हस्ताक्षर गरेर पठाएको निमन्त्रणापत्र देखाए । मन्त्री खन्ना महाराजको सन्की स्वभावबाट परिचित थिए र राति महाराजको निजी सहायक वा एडिसीलाई फोन गर्ने हिम्मत पनि गर्दैनथे । त्यसैले ज्योतिषीलाई आफ्नै घरमा लगे । खाना खुवाए र बास पनि दिए । भोलिपल्ट अलास्टर महाराजको निजी सहायकसँग भेट्न गए तर उनले खासै चासो देखाएनन् । उनले भने, 'जहाँ बसेका छौ, त्यहीँ बस्दै गर । महाराजले बोलाउनू भनेपछि खबर पठाउँला ।' मन्त्री खन्नाले निकै अप्ठ्यारो महसुस गरे । ज्योतिषीलाई खाना खुवाउन र बास दिन नसक्ने व्यक्ति उनी होइनन् तर ती ज्योतिषीप्रतिको महाराजको दृष्टिकोण कस्तो रहेछ जान्न आतुर थिए । यदि ज्योतिषीदेखि महाराज रिसाएका रहेछन् भने खाना र बास दिने उनको पनि खैरियत थिएन, मन्त्री पदबाट हात धुनुपर्ने हुन्थ्यो । फेरि उनी दयालु थिए, एकजना परदेशीको सडकको बास होस् भन्ने पनि चाहन्नथे ।
ज्योतिषी प्रत्येक दिन दरबार जान्थे र निजी सहायकलाई भेट्थे । केही सीप नलागेपछि दरबारका अन्य कर्मचारी र नोकरचाकरसँग पनि भेटेर आफ्नो खबर महाराजसम्म पुर्याइदिन वा नभए मुम्बई र्फकने अनुमति दिन बिन्तीभाउ गर्न थाले । उता, दरबारका गुप्तचरहरु पछि लागेका थिए । यसरी नै तीन-चार महिना बित्यो । दिनको एक हजारको हिसाबले महाराजसँग एक लाखभन्दा बढी लिनुपर्ने भयो । भ्रमण खर्च अलग्गै थियो । एकदिन उक्त राज्यका प्रहरी प्रमुख रायबहादुर गोपालदास ज्योतिषीलाई भेट्न खन्ना निवास पुगे । महाराजले भेट्ने इच्छा जाहेर गरेको खबर सुनाए । अलास्टर निकै प्रसन्न भए । 'खराब दिन सकिएछ क्यारे' भन्दै राम्रो लुगा लगाए । प्रहरी प्रमुखले उनलाई विजय मन्दिर दरबार -सन् १९१८ मा निर्मित रत्नजडित १ सय ५ कोठा भएको) को बैठक कोठासम्म पुर्याइदिए तर महाराजसँग भेट्नुअघि एडिसीको कार्यालयमा घन्टौँ कुर्न लगाइयो ।
महाराज जयसिंह सुनौलो सिंहासनमा विराजमान थिए । उनलाई दरबारियाहरुले घेरेर बसेका थिए । महाराज छालायुक्त कुर्सी कहिल्यै प्रयोग गर्दैनथे । अपवित्र ठान्थे । ज्योतिषी अलास्टरले महाराजलाई झुकेर प्रणाम गरे । उनलाई एउटा कुर्सीमा बस्न दिइयो । महाराज र उपस्थित दरबारियाहरुबीच छलफल चलिरहृयो । अलास्टर चुपचाप बसिरहे । करिब एक घन्टापछि अलास्टर बोले, 'योर हाइनेस, म मौसुफको भविष्य बताउन हाजिर भएको छु तर मौसुफको राज्यमा आइपुगेपछि पनि मैले यत्रो दुःख झेल्नुपर्ला भन्ने सोचेको थिइनँ ।' महाराजले भने, 'म तिमीबाट केही पनि जान्न चाहन्न किनभने तिमीलाई आफ्नो भाग्यबारे आफैँलाई केही थाहा रहेनछ कि यहाँ आइसकेपछि के-कस्तो दुःख झेल्नुपर्ने हुन्छ ? त्यस्तो मान्छेले मेरो भविष्यबारे के बताउला ?' यति भन्दै उनले ज्योतिषीलाई तुरुन्त निस्कन आदेश दिए । ज्योतिषीलाई न फिस दिए न भ्रमण खर्च । तर पनि ज्योतिषी अलास्टरले आफ्नो भाग्य बलियो भएको ठान्दै ज्यान बचाएर मुम्बई फर्के ।
सन् १९२६ मा महाराज इंग्ल्यान्ड गए । त्यहाँ आयोजित गोलमेच सम्मेलनमा भाग लिए । भारतको समेत सम्राट कहलिएका सम्राट जर्ज -पञ्चम) र महारानी मेरीले उनको स्वागतार्थ बकिंघम दरबारमा रात्रिभोज दिए । महाराज जयसिंहले तत्कालीन बेलायती प्रधानमन्त्री लर्ड चेम्बरलेनलाई एक पत्र लेखी सूचित गरिदिए कि पञ्जा नलगाइकन कसैसित हात मिलाउँदिन । पत्रमा लेखिएको थियो, 'म कट्टर हिन्दु हुँ । भगवान रामचन्द्रको वंशमा जन्मिएका कारण विधर्मी -फरक धर्मावलम्बी) को हात छुन मिल्दैन । हिन्दुबाहेक अरु कसैसित पञ्जा नलगाइकन हात मिलाउन सक्दिन ।' आफ्नो पाहुना बनेका भारतको एउटा राज्यका राजाको उक्त घमन्ड सुनेर रानी क्रोधित भइन् । उनले पनि चेम्बरलेनलाई आदेश दिइन् कि जयसिंह यदि पञ्जा लगाएर बस्छन् भने सम्राट र सम्राज्ञी दुवै उनीसित कदापि हात मिलाउँदैनन् । सम्राट जर्ज पनि अत्यन्त रिसाए । उनले रात्रिभोजमा आमन्त्रित पाहुनाको सूचीबाट महाराज जयसिंहको नाउँ हटाइदिन आदेश दिए । पछि रिस अलि कम भएपछि आदेश फिर्ता लिए तर यसको बाबजुद विदेश मन्त्रीले महाराजले अशिष्टता प्रदर्शन गरे भने स्वदेश फर्काइदिने धम्की दिए । धम्कीबाट महाराज डराए । सम्राट र सम्राज्ञीलाई पनि रिसाउन नदिने, आफ्नो 'नाक' पनि जोगिने उपाय सोचे ।
उनी लन्डनको मसहुर सूचीकारकोमा गए । छिट्टै लगाउन र फुकाल्न मिल्ने पञ्जा सिलाउन सकिन्छ कि सकिँदैन सोधे । सूचीकारले बनाउन सकिने बताए । उनले सिपालु कारिगरसँग सल्लाह गरी पञ्जाभित्र त्यस्तो वस्तु राखे, जसको सहयोगबाट तुरुन्तै लगाउन र फुकाल्न सकियोस् । पञ्जा पाएर महाराज दंग परे । दरबार गए र बिनापञ्जा हात मिलाउन तयार रहेको सन्देश सम्राट र सम्राज्ञीलाई दिन चेम्बरलेनलाई भने । रात्रिभोजमा करिब ५ सयको उपस्थिति थियो । उपस्थित सबैले महाराजको हातमा पञ्जा देखे । जब सम्राट र सम्राज्ञीको नजिक पुगे, पञ्जाभित्र लुकाएर राखेको स्वीच थिचिदिए । पञ्जा फुक्लियो । हात मिलाएपछि कुरो गर्दागर्दै पञ्जा फेरि हातमा आयो । त्यहाँ उपस्थित कसैले भेउ पाउन सकेनन् । सबैले सोचे कि महाराजले परम्परा त्यागेनन्, पञ्जा लगाएरै सम्राट र सम्राज्ञीसित पनि हात मिलाए । पञ्जा नलगाइकन हात मिलाउन तयार भएकोमा बेलायती रानी पनि खुसी भइन् । त्यस अवसरमा महाराज शाही पोशाकमा थिए, गाढा रंगको पगडी लगाएका थिए, जसमा हिरा जडिएको थियो । पञ्जा फिका रंगको थियो, जसको रंग हातको -छाला) को रंगसँग ठ्याक्कै मिल्थ्यो ।
एकपटक भायसराय लर्ड विलिङ्टनले महाराजलाई सिमला आउन निमन्त्रणा दिए । उनी जान राजी भए तर आफ्नो सचिवमार्फत् भ्रमण अवधिभर कुकुर र छालाबाट बनेको सबै वस्तु टाढा राख्न सूचित गरे । यसबाट भायसराय रिसाए तर पनि छाला प्रयोग गरी बनाइएका सबै फर्निचर हटाउन र सबै कुकुरलाई सिक्रीले बाँधेर राख्न आदेश दिए । श्रीमती विलिङ्टनले पनि महाराजको कुरो पटक्कै मन पराइनन्, कारण एउटा चिनियाँ कुकुर सधैँ उनको साथमा हुन्थ्यो । महाराज आफूले भनेअनुरुप व्यवस्थाबाट सन्तुष्ट भए । उनको स्वागतमा दिइएको रात्रिभोजमा सरिक भए । भोजमा सयौँ पाहुना उपस्थित थिए । यसैबीच चिनियाँ कुकुर थुनिएको कोठाबाट भाग्न सफल भयो र दगुर्दै श्रीमती विलिङ्टनको खुट्टानेर बस्न गयो । एकछिनपछि सँगै बसिरहेका महाराज जयसिंहको खुट्टा चाट्न पुग्यो । महाराज डराएर जुरुक्क उठे । कुकुरलाई देखेर रिसाउँदै हिँडे । कोठाभित्र पुगेपछि सबै लुगा फुकाले र टबभित्र पसेर खूबसित नुहाए ताकि कुकुरले छोएपछि लागेको अपवित्रता मेटियोस् । रात्रिभोजमा सरिक सबैजना महाराजको अशिष्ट व्यवहार देखेर क्षुब्ध भए । भायसराय पनि रिसाए । यसबीच लुगा फेरेर महाराज फेरि सरिक हुन आइपुगे । उनले माफी मागेनन् बरु उठेर जानुपरेको कारण सबैलाई बताए ।
भायसराय अनुभवी कूटनीतिज्ञ थिए । रिस थामे तर बदलामा महाराजले राज्यको ढुकुटी रित्याएको, जनतामाथि अत्याचार गर्ने गरेको लगायतका राजनीतिक रिपोर्ट बेलायत पठाइदिए । यसको अधारमा विदेश मन्त्रालयले सन् १९३३ मा एउटा छानबिन समिति बनायो । समितिले महाराजलाई अपदस्थ गर्नुपर्ने सुझाव पेश गर्यो । सुझावअनुरुप अधिकारविहीन बनाई निर्वासनमा पठाउने निर्णय गरियो । मुम्बईका साहु गोविन्दरामबाट ऋण लिएर महाराज प|mान्स पुगे । कैयौँ प्रयासको बाबजुद स्वदेश र्फकने अनुमति नपाएर दुःखी बनेका उनी दिनरात रक्सीमा डुब्न र क्लबमा गएर जुवा खेल्न थाले । एकदिन जुवा खेलेर र्फकंदै गर्दा क्लबको भर्याङबाट खसे । गहिरो चोट लाग्यो । घटना घटेको चार दिनपछि र निर्वासनमा गएको चार वर्षपछि सन् १९३७ को मे १९ मा ५५ वर्षको उमेरमा निधन भयो । उनका चारवटी महारानी थिए । सन् १८९२ मा 'महाराज' घोषित उनी महाराज मंगलसिंह प्रभाकर बहादुरका एक्ला छोरा थिए । उनलाई बेलायती सरकारले फाँसी दिएको थियो । राजस्थान प्रान्तको अलवर राज्यका सातौँ महाराज जयसिंहको सन्तानको रुपमा मात्र एउटी छोरी थिइन्- कुमारी बाजीलाल ताजकुँवर साहिबा । १५ वर्षको उमेरमा उनको बिहे सन् १९४६ मा डातियाका महाराज श्रीकृष्णसिंह देव लोकेन्द्रबहादुरसँग भयो ।
बेलायती सरकारले जयसिंहपछि नातेदार तेजसिंह प्रभाकरलाई अलवरको महाराज बनाइदियो । त्यस राज्यका अन्तिम महाराज उनी बेलायती उपनिवेशका समर्थक थिए । कंग्रेस पार्टीका विरोधी थिए । पछि भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि महात्मा गान्धीको हत्या भयो, हत्याको योजनामा सरिक भएको आरोपमा तेजसिंह गिरफ्तार भए । भारत सरकारले सन् १९६२ मा सबै सम्पत्ति राष्ट्रियकरण गर्यो । उनको निधन तीन वर्षअघि सन् २००९ को फेबु्रअरी १५ मा भइसकेको छ ।
- राजेन्द्र स्थापित
No comments:
Post a Comment