Sunday, April 7, 2013

आधी आकाशले जहाँ राष्ट्र छाएको छ


– राजेन्द्र स्थापित
सेलिया सान्चेजको जन्म मेडिया लुनामा सन् १९२० मा भयो । पूर्वी क्युबास्थित यो शहर आज पनि उखु खेतीका लागि प्रसिद्ध छ । सानैमा आमा मरेपछि चिकित्सक बाबु म्यानुअल सिल्भियराको छत्रछायाँमा हुर्किन् । सुधारवादी दलमा आबद्ध म्यानुयल सज्जन राजनीतिज्ञ थिए । सेलियाले उनैबाट शिक्षा र राजनीति सिकिन् । पढाइसकेपछि क्लिनिकको काममा सघाउन थालिन् । जँचाउन आउनेहरु प्रायः सबै निर्धन हुन्थे । गरिब जनताको सेवामा लागेपछि सबैको प्रिय बनिन् ।

सन् १९५२ मा फुल्गोन्सिया बाटिस्टाले ‘कू’ गरी दोस्रोपटक सत्ता हातमा लिए । अमेरिकाको आडभरोसामा सन् १९३३ देखि १९४४ सम्म शासन गरिसकेका उनी निरंकुश र तानाशाह थिए । सत्तामा उनको पुनरागमनपछि जनता निकै निराश भए । ३२ वर्षीया सान्चेजले त झन् हिंसात्मक विद्रोह गरी बाटिस्टालाई फाल्नुपर्ने प्रण गरिन् र महिलाहरुलाई संगठित गर्न थालिन् । त्यसबेला केटाकेटीहरु लागुपदार्थका व्यापारीबाट अपहरणमा पर्ने घटना सामान्य भइसकेको थियो । नाबालिग केटालाई पेडोफिल (कम उमेरका केटाकेटीसँग यौन सम्बन्ध राख्ने) र नाबालिग केटीलाई डान्स बारमा लगेर बेचिन्थ्यो । यसको विरुद्ध सेलियाले आवाज उठाइन् र महिलाहरुलाई सडकमा उतारिन् । हभाना र सान्तियागोमा ठुल्ठूला प्रदर्शन भयो ।

प्रदर्शनकारीले राजबन्दीलाई दिइने यातना र हत्याको विरोधसमेत गरे । सरकारविरोधी ती प्रदर्शनमा हाइडे सान्तामारिया, भिल्मा एस्पिन (राउल क्यास्त्रोकी पत्नी), मेल्बा हर्नान्डेज, मार्ता रोजासजस्ता नेतृहरु पनि सहभागी थिए । यसबीच यो स्थितिको फाइदा उठाउँदै केही युवाले सान्तियागोको ठूलो ब्यारेक मोन्काडोमा सन् १९५३ को जुलाई २६ मा आक्रमण गरे । आक्रमण सफल भएन । ९ जना आक्रमणकारी, घटनास्थलमै र पक्राउ परेकामध्ये ५६ जना जेलमै मारिए । पक्राउ पर्नेमा फिडेल क्यास्त्रो उनका आफ्नै भाइ राउल (वर्तमान राष्ट्रपति) र फिडेलपछिका दोस्रा कमाण्डर अबेल सान्तामारिया पनि थिए । पक्राउ परेकै दिन अबेलले जेलमा चर्को यातना पाए र मारिए । फिडेललाई १५ र राउललाई १० वर्षको कैद सजाय सुनाइयो तर लगत्तै चौतर्फी राजनीतिक दबाब झेल्न नसकेर सरकारले रिहा गर्‍यो।

ब्यारेक आक्रमणमा संलग्न र पक्राउ पर्न र मारिनबाट बचेका क्यामिलो सियनफेगोज, हुबेर मातोससँगै क्यास्त्रो दाजुभाइ डुंगाबाट मेक्सिको भागे । त्यहाँ निर्वासित अरु क्युबालीहरुलाई संगठित गरे । सन् १९५४ मा मेक्सिको पुगेका अर्जेन्टिनाका क्रान्तिकारी अर्नेष्ट चे ग्वेभारासँग पनि त्यहिँ भेट भयो । स्पेनिश गृहयुद्धकालका रिपब्लिकन नेता अल्बर्टो बायाले सैन्य तालिम दिए । उनीहरुले सन् १९५५ को जुनमा ‘२६ जुलाई आन्दोलन’ गठन गरे । विद्रोही यो क्रान्तिकारी समूहको मुख्य लक्ष्य थियो– बाटिस्टा सरकारको पतन । संगठन गठनले हभानालगायत सबै साना–ठूला गाउँ–सहरका युवालाई प्रभाव पार्‍यो। दर्जनौँ सहयोगी संगठन गठन भए तर सेलिया भने सिधै ‘२६ जुलाई आन्दोलन’मै आबद्ध भइन् । यसबीच, स्वदेश फर्केर क्रान्ति गर्ने लक्ष्य बोकी फिडेल, राउल, चेलगायत ८२ जना क्रान्तिकारी ‘ग्रान्मा’ डुंगाबाट सन् १९५६ को डिसेम्बर २ मा क्युबा फर्के । दिउँसो समुद्री तटमा आइपुगेका उनीहरुलाई सेनाले देख्यो र आक्रमण गर्‍यो। क्रान्तिकारीहरु दुई समूहमा तितरवितर भए । बोकेर ल्याइएको खाद्यान्न पनि समुद्रकिनारमै छुट्यो । पथप्रदर्शक किसानले धोका दिएपछि ‘एम्बुस’मा पनि परे । बचेका १२ जना भागेर सियरा मायस्त्रा पहाडी इलाकामा पुगे र पुनः संगठित भए । सेनासँग भएको अर्को भिडन्तमा चे सख्त घाइते भए । उनको घाँटी र छातीमा दुईवटा गोली लागेको थियो ।

सेलिया क्रान्तिकारीहरुका लागि खाद्यान्न पुर्‍याउने काममा जुटिन् । सोका लागि स्वयंसेवकहरु परिचालन गरिन् । क्रान्तिकारी महिलाहरु निदिया साराबिया र पछि ब्रिगेडियर जनरल बनेकी टेटे प्लेब्लासँग सम्पर्क राखी काम गरिन् । यसपछि भने उनको नाउँमा वारेन्ट जारी भयो । ‘खतरनाक महिला’ घोषित भएपछि लुक्दै–भाग्दै सियरा मायस्त्रा पुगिन्, जहाँ उनको र फिडेलको पहिलोपटक सन् १९५७ मा आमने–सामने भयो । फिडेलले उनलाई ला प्लाटाको पोस्टमा खटाए, जहाँ छापामारहरुलाई आवश्यक खाद्यान्न, लत्ताकपडा र हतियार व्यवस्थापनको भार उठाइन् । फिडेलको विश्वासिलो र  मिल्ने साथी बनिन् । हतियार चलाउने कला सिकिन् ।

सोही वर्षको मेमा उभेरोमा सरकारी सेनासँग भएको भिडन्तमा उनले र टेटेले पुरुषसरह बहादुरी देखाए । भिडन्तमा सरकारी सेनाले हवाई आक्रमणसमेत गरेको थियो । ४०–५० जना किसान मारिएका थिए । टेटे त्यो बेला मात्र १७ वर्षकी थिइन् । भिडन्तको बेला सरकारी सेनाले पूरै गाउँमा आगो लगाइदिएको थियो । आगलागीबाट गाउँलेहरु घरबारविहीन भए । सेलियाले सबैको रेखदेख गरिन् । यसरी स्थानीय जनताको ‘गडमदर’ बनिन् ।

सन् १९५८ मा फिडेलसँग मुस्किलले ३ सय छापामार थिए । तिनै छापामारको आडमा रेडियो प्रसारण गरेर सत्तालाई चुनौती दिए । लगत्तै अमेरिकाले क्युबामाथि हतियार नाकाबन्दी ग¥यो । बाटिस्टाले विद्रोह दबाउन सियरा मायस्त्रामा १२ हजार सैनिक पठाए तर पराजित भए । सरकारी सेनासँग एकपछि अर्को गर्दै ला प्लाटा, लास मर्सेडेसमा युद्ध भयो । सन् १९५८ को अगस्त २१ देखि भने चारैतर्फबाट सरकारी सेनामाथि धावा बोल्न सुरु गर्‍यो। सन् १९५९ को जनवरी १ मा बाटिस्टा देश छाडेर भागे र डोमिनिक गणतन्त्रमा शरण लिन पुगे । सोही दिन, चे र क्यामिलोको नेतृत्वमा रहेको विद्रोही सेनाले राजधानी हभाना कब्जा गर्‍यो। उता, फिडेल र सेलियाले नेतृत्व गरेको छापामार दस्ताले पनि दोस्रो ठूलो सहर सान्टियागोमाथि कब्जा जमायो । बाटिस्टा सरकारको पतनपछि उदारवादी वकिल तथा राजनीतिज्ञ म्यानुयल ल्लेयो अन्तरिम राष्ट्रपति बने, जनवरी ३ मा । फिडेल र सेलिया जनवरी ८ मा हभाना प्रवेश गरे । ६ महिनापछि फिडेलले सरकार चलाउँदा सेलिया मन्त्रिमण्डलको सचिव बनिन् । राज्य परिषद् कार्यालयको जिम्मेवारीसमेत सम्हालेकी उनी सधैँ– सबैतिर फिडेलसँगै देखा पर्न थालिन् । उनको नेतृत्वमा शिक्षा, स्वास्थ्य र महिला अधिकारमा क्युबाले ठूलो फड्को मार्‍यो। सन् १९६५ मा फिडेलले कम्युनिस्ट पार्टी गठन गरेपछि केन्द्रीय सदस्य भइन् । सन् १९७१ मा फिडेलसँगै चिली गइन् र दौत्य सम्बन्ध स्थापनामा सघाइन् । सन् १९८० मा हभानामा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलन सफल पार्न ठूलो भूमिका खेलिन् । पार्टी र सरकारको प्रमुख कार्यको निर्णयकर्तासमेत भएकी उनको निधन सन् १९८० को जनवरी ११ मा फोक्सोको क्यान्सरबाट भयो ।

बिबिसी रेडियोका पत्रकार लिन्डा प्रेसलीका अनुसार सेलिया बाटिस्टाविरोधी छापामारहरुका प्रमुख संगठक थिइन् । उनी भन्छिन्, ‘सन् १९५७ मा फिडेलसँग भेट भएपछिको पूरै दुई दशक क्युबाली क्रान्तिको धुकधुकी बनिरहन सफल भएकी छन् । उनी फिडेल क्यास्त्रोको जीवनको एक अभिन्न अंग हुन् ।’ क्रान्ति नायिका निदिया साराबियाका भनाइमा सेलिया क्युबाकी प्रतिमूर्ति हुन् । इतिहासकार पेड्रो आल्भारोज ताबियोको दाबी छ– ‘सन् १९५७ भित्र बाटिस्टाको सरकारले सेलियालाई मार्न सकेको भए, क्युबाली क्रान्ति सफल हुने नै थिएन ।’ अर्का इतिहासकार रोबर्टो सालासका अनुसार सन् १९५९ देखि १९८० सम्म फिडेल क्यास्त्रोले जति पनि निर्णय गरे, साना–ठूला सबैमा सेलियाको सहभागिता थियो । अझ कतिपय महत्वपूर्ण निर्णय सेलियाकै हुन्थ्यो र फिडेलले पछि सहमति व्यक्त गर्थे । वरिष्ठ क्युबाली लेखक तथा पत्रकार मार्ता रोजासका अनुसार सन् १९६२ मा ‘बे अफ पिग’मा क्षेप्यास्त्र तैनाथसम्बन्धमा अमेरिकासित विवाद हुँदा रुसी प्रधानमन्त्री निकिता खु्रस्चोभ र उपप्रधानमन्त्री मिकोयानलाई पत्र उनैले लेखेकी थिइन् । आफ्नो अनुमतिबिना लेखिएको भए पनि पछि फिडेलले सो कार्यप्रति सहमति जनाएका थिए । यसै कारणले पनि होला, मुलुकभित्र नभए पनि बाहिर धेरैले दुईजनाबीचको सम्बन्धबारे अनेकन शंका गरे । पत्रकार लिन्डाले सेलिया फिडेलको प्रेमिका भएको दाबी गरिन् । अविवाहित सेलियाबारे चे लगायत धेरैले धेरै कुरा लेखेका छन् तर स्वयं फिडेलले उनीबारे लामो कुरा कहिल्यै लेखेनन् ।

फिडेलकी पहिलो पत्नी मिर्ता बालार्ट हुन् । हभाना विश्वविद्यालयमा पढ्दै सन् १९४८ मा बिहे भएको थियो । हनिमून मायामीमा मनाए । फिडेल मेक्सिकोको निर्वासनमा गएपछि सम्बन्धविच्छेद भयो । उनीहरुका एक छोरा छन्– फिडेल एन्जेल क्यास्त्रो । मिर्ताको पछि डा. एमिलियो ब्लान्कोसँग बिहे भयो । सन् १९५९ देखि स्पेनमा बस्न थालिन् । फिडेलकी दोस्री पत्नी डालिया सोतो डेल भ्याले हुन् । दुवैको भेट सन् १९६१ मा भएको हो । चिनी मजदुर संगठनकी सचिव डालियासँग उनको बिहे सन् १९८० मा मात्र भएको हो । डालिया मिर्ताभन्दा १२ र फिडेलभन्दा १३ वर्षले कान्छी हुन् । उनीहरुको पाँच सन्तान भए ।

क्युबाली क्रान्तिमा अहम् भूमिका निभाउने महिला क्रान्तिकारीमध्ये भिल्मा लुसिला एस्पिन पनि हुन् । क्रान्तिकारीहरुका प्रमुख नेता फ्रान्क पाइससँग भेटेपछि क्रान्तिमा लागेकी थिइन् । अमेरिकाको क्याम्ब्रिज विश्वविद्यालयबाट इन्जिनियरको डिग्री हासिल गरेकी उनले पछि ‘२६ जुलाइ आन्दोलन’ भित्र हल्काराको जिम्मेवारी निभाइन् । वर्तमान राष्ट्रपति राउल क्यास्त्रो र र उनको मेक्सिकोमा भेट भएको हो । क्रान्तिमा टेटे प्वेब्ला, मारियाना ग्राजालेस, हाइडे सान्तामारियाहरुको पनि उल्लेखनीय योगदान रहेको छ । टेटे सेनामा ब्रिगेडियर जनरलसम्म भइन् भने मारियाना महिला संगठनको उच्च पदमा पुगिन् । सियरा मायस्त्रामा सरकारी सेनासँग भिडन्त हुँदा हतियार अपुग भएपछि एकजना पुरुष छापामारले हतियार महिलालाई दिइएकोमा विरोध गरेका थिए । जवाफमा फिडेलले उनलाई भने, ‘उनीहरु तिमीभन्दा दक्ष सिपाही हुन्, तिमीहरु भन्दा अनुशासित छन् ।’ त्यसबेला महिला प्लाटुन कमाण्डर मारिया थिइन् । पछि इसाबेल रियलो कमाण्डर अफिसर बनिन् ।

क्रान्तिपछि क्युबाली महिलाहरु अधिकारसम्पन्न बनेका छन् । अहिले उपराष्ट्रपति पनि महिला नै हुन्– ग्लेडिस मारिया पोर्टेला । वर्तमान मन्त्रिमण्डलमा १८ प्रतिशत महिला मन्त्री र २२.८ प्रतिशत उपमन्त्री छन् । प्रान्तीय सभामा ३१ प्रतिशत महिला सदस्य छन् । ६२ प्रतिशत वकिल, ४९ प्रतिशत न्यायाधीश, ४७ प्रतिशत सर्वोच्चका न्यायाधीश र २० प्रतिशत महिला सैनिक छन् । विश्वविद्यालयका ६२ प्रतिशत विद्यार्थी छात्रा छन् भने कूल महिला जनसंख्याको ४९.५ प्रतिशत स्नातक वा सोभन्दा माथिल्लो तह उत्तीर्ण छन् । राष्ट्रिय सभा (संसद) का ३६ प्रतिशत सदस्य महिला छन् । ७२ प्रतिशत शिक्षक महिला छन्, ७८ हजार ९ सय जना त नर्स नै छन् । ५१ प्रतिशत चिकित्सक, ४३ प्रतिशत वैज्ञानिक, ३३ प्रतिशत प्रबन्धक, ७० प्रतिशत बैंक कर्मचारी पनि महिला नै छन् । महिलाको सरदर आयु ६८.४ वर्ष छ ।

No comments:

Post a Comment