-राजेन्द्र किराती
अघिल्लो परिस्थिति र परिवर्तित परिस्थितिबीचको अस्थायी कालखण्डलाई संक्रमणकाल भनिन्छ । अर्थात् पुरानो विरासतहरुको पूर्ण अन्त नभइसकेको अनि नयाँ मूल्य–मान्यताले समाजमा समग्र स्थान ग्रहण गरी नसकेको खिचडी र मिश्रित अवस्था नै संक्रमणकाल हो । अझ जोड दिएर भन्ने हो भने, पुरानो संस्कार–संस्कृतिको ठाउँ नयाँ संस्कार–संस्कृतिले लिने प्रक्रियाको अन्तिम विन्दू नै संक्रमणकाल हो । यतिखेर नेपाली राष्ट्रिय राजनीति पनि संक्रमणकालबाट गुज्रिरहेको छ । पुरानो राजनीतिक विरासत, परम्परागत मूल्य–मान्यता र दृष्टिकोणहरुलाई बाइ–बाइ भन्नुपर्ने हुन्छ, जुन अत्यन्तै कठिन हुन्छ । त्यस्तै नयाँ परिवर्तित राजनीतिक मूल्य–मान्यता र संस्कृतिलाई स्वागत गर्दै आत्मसात गर्नुपर्ने हुन्छ, जुन सजिलो छैन । यसरी नयाँ र पुरानो राजनीतिक संस्कार र संस्कृतिहरुको दोहोरो अस्तित्व, प्रभाव, मूल्य–मान्यता र भूमिकाहरुलाई गोलमाल गरिएको खिचडी नै असली अर्थमा संक्रमणकाल हो ।
संक्रमणकालको विषयमा अझ जोड दिएर भन्ने हो भने, यस्तो अवस्थामा राज्य सञ्चालनका सबै विधि र प्रक्रियाहरुमा द्वैध चरित्र हुने गर्दछ । पद्धति, प्रक्रिया र विधिको पद्धतिगत प्रयोग, परिचालन र कार्यान्वयन शूण्यप्रायः हुन्छ । नियम, कानुन, दण्ड–जरिवाना, पुरस्कार, शान्ति–सुरक्षा, अमन–चयन, एकरुपता, सुशासन र विकास–निर्माणका कामहरु गोलमाल, अनिश्चितता वा भद्रगोलताको बीच हुने गर्दछ । राजनीतिक, सामाजिक, साँस्कृतिक, धार्मिक, नैतिक र मानवीय मूल्य–मान्यताहरु दोधार र द्विविधाको चक्रव्यूहमा फँसेको हुन्छ । जसलाई जे गरे पनि छुट भएजस्तो अनि कसैलाई केही नगर्दा पनि ठूलै अपराध गरेतुल्य साथै दण्ड–सजाय भोगेतुल्य अनुभूति हुने गर्दछ । कसैलाई मरीमरी गर्दा पनि केही नगरे जस्तो अनि कसैले केही नगरी बसिरहँदा पनि राम्रैराम्रो काम गरिरहे जस्तो, इमान्दार, बेइमान र बेइमान इमान्दारजस्तो, सज्जन फटाहाजस्तो र फटाहा सज्जनजस्तो, चोर साधुजस्तो अनि साधु चोरजस्तो, प्रतिक्रियावादी र सामन्तहरु क्रान्तिकारीजस्तो र क्रान्तिकारीहरु सामन्तजस्तो, पश्चगामीहरु अग्रगामीजस्तो र अग्रगामीहरु पश्चगामीजस्तो, जनपक्षीयहरु जनविरोधीजस्तो र जनविरोधीहरु जनपक्षीयजस्तो, परिवर्तन, समानता र सामाजिक न्यायको पक्षपातीहरु पाखा लाग्दै गएजस्तो र यथास्थितिवादी र संसदवादीहरु राजनीतिको केन्द्रविन्दूमा रहनु अनि श्रमजीवीहरु तिरस्कृत हुँदै गएजस्तो र कुलीन वर्गीय संभ्रान्तहरु राजनीतिक मोर्चाको अग्रभागमा विराजमान हुने अनौठो अवसर पाइरहने विचित्र, बिडम्बना र बेथितिहरुको पर्याय नै संक्रमणकाल हो ।
यसको अतिरिक्त संक्रमणकाल कामभन्दा कुरा, योजनाभन्दा भाषणबाजी र वक्तव्यवाजी, सिद्धान्त, विधि, पद्धति र प्रक्रियालाई भन्दा मनोगत इच्छा, सृजनशीलता, एकतावद्ध संगठित र सामूहिकताभन्दा विश्रृङ्खलित, फुट र व्यक्तिवाद अनि व्यवहार र परिणामभन्दा औपचारिकता र कर्मकाण्डी शैली हावी हुने गर्दछ । समग्रमा यस्तो क्रियाकलाप र रवैयाहरु भनेको राष्ट्र, समाज र अग्रगामी मानव इतिहास निर्माणमा सहयोगी पटक्कै हुनसक्दैन । यसअर्थले पनि यो स्पष्ट हुन्छ कि संक्रमणकाल जति लामो समयसम्म जारी रहन्छ, त्यति नै मानव समाजको लागि अभिशाप हुने निश्चित देखिन्छ । यस्तो राजनीतिक अवस्थामा मुलुकको समग्र संयन्त्रहरु अपाङ्ग, लङ्गडो र अधुरो हुने गर्दछ ।
राज्यको यस्ता संयन्त्रहरुमध्ये कर्मचारीतन्त्र अत्यन्तै महत्वपूर्ण संयन्त्र हो । संक्रमणकालमा कर्मचारीतन्त्र पनि पूरै लङ्गडो बनेको हुन्छ । केन्द्रीय नीति र विधिभन्दा पनि व्यक्ति, समूह, दल र विचारपिच्छे फरक–फरक कार्यविधि जारी गर्ने कोशिस हुने गर्दछ । अर्थात् विधि र नीतिभन्दा व्यक्ति र उसको स्वभाव हावी हुने गर्दछ । यस्तो वस्तुगत धरातलमा कर्मचारीहरु पनि दैनिक कार्यालयको कार्यसम्पादन गर्नेभन्दा पनि, सेवाग्राहीहरुलाई सुलभ र गुणस्तर सेवा पु¥याउने भन्दा पनि औपचारिक कार्यक्रम, बैठक, कार्यशाला गोष्ठी, सेमिनार, अन्तरक्रिया, बहस र छलफलहरुमा व्यस्त मात्र होइन पूरै केन्द्रित हुने गर्दछन् । उनीहरु पनि प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र प्रतिनिधिहरु बन्ने क्रम निकै तीब्रतामा हुन्छ । अर्थात् समग्र कर्मचारीतन्त्र नै औपचारिकता र कर्मकाण्डे दलदलमा नराम्ररी फँस्ने गर्दछ ।
आज नेपाली कर्मचारीतन्त्र राजनीतिक संक्रमणकालबाट फाइदाको पोका पार्दै केही पार्टी, नेता, समूह र व्यक्तिको निर्देशन र आशीर्वादमा समग्र कर्मचारी प्रशासन संयन्त्रलाई मनोगत ढंगले नियन्त्रण गरिरहेका छन् । यो सिंगो मुलुकको लागि दुर्भाग्यमात्र होइन, ठूलो अभिशाप र बदनामी हो । जुनसुकै पनि कर्मचारीको एकजना केन्द्रीय वा स्थानीयस्तरको नेतृत्वसँग साँठगाँठ अनिवार्य शर्त भएको छ । कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन, पुरस्कार र दण्ड–जरिवाना प्रायः शून्यको स्थितिमा छ । कार्यसम्पादनको आधारभन्दा भनसुन, चाप्लुसी, भेटघाट, लेनदेन, चिनजान र व्यक्तिगत सम्बन्धलाई मूल्याङ्कनको मूल आधार बनाइएको देखिन्छ । दण्ड र पुरस्कार कार्यसम्पादनको आधारमा नभएर चिनजान र लेनदेनको प्रणालीमा अन्तरनिहीत छ । यसले इमान्दार, जागरुक, सक्षम र उच्च मनोवल भएको कर्मचारीहरुलाई प्रोत्साहित गर्न सक्दैन । यसको अलवा सेवाग्राहीले गुणस्तरयुक्त, सर्वसुलभ र छिटो छरितो किसिमले सेवा पनि प्राप्त गर्न सक्दैनन् । संक्रमणकालमा यस्तो कल्पना गर्नु बनिबनाउ चाहना र कल्पनामात्र हुन्छ । यसबेला तपाई–हामी जोकोही पनि सरकारी कार्यालयमा पुगेर हाकिमलगायतका कर्मचारीहरुलाई भेटेर छिटो सेवा ग्रहण गर्न चाहन्छौं भने त्यो सम्भव छैन । किनकि, कार्यालयका प्रमुखहरु कार्यालय समयमा प्रायः दैनिक एनजीओ, आईएनजीओ र अन्य विभिन्न नामधारी संघसंस्थाहरुको औपचारिक कार्यक्रम, गोष्ठी, कार्याशाला, छलफल र अन्तरक्रियाहरुमा अतिथिको ब्याज पहिरिएर मज्जाले आतिथ्य आसन ग्रहण गर्न व्यस्त हुन्छन् । यो कुनै आग्रह–पूर्वाग्रहको विषय होइन । यो लोकतन्त्रमा सबै संयन्त्रहरु औपचारिकतन्त्र र कर्मकाण्डीतन्त्रमा फँसेको हुन्छ भन्ने सच्चाइको उदाहरण मात्र हो । यो तीतो यथार्थ, वास्तविक भोगाई अनि कर्मचारीतन्त्रभित्रको यथार्थ तस्वीर हो ।
तसर्थ, संक्रमणकाल आफैँमा नकारात्मक कुरा हो । तर यो शाश्वतरुपमा भोग्नैपर्ने हुन्छ । यो समाज विकासको द्वन्द्वात्मक भौतिकवादी नियममा अनिवार्य र सार्वभौमरुपमा झेल्नैपर्ने प्रक्रियाहरु हुन् । तर यस्तो संक्रमणकाललाई सकेसम्म छिटो टुङ्ग्याई नयाँ परिवर्तित परिवेशको अभ्यास आरम्भ गर्नु सबैभन्दा बुद्धिमानी हुन्छ । अन्यथा सिंगो मुलुक तहसनहस हुन्छ, जताततै अस्तव्यस्तता छाउँछ, प्रणाली, विधि र प्रक्रिया एकादेशको कथा बन्दछ । अनिश्चय र अनिर्णयको आँधी–तुफानमा समग्र राजनीति कैद हुन्छ । नीति–नियमहरु शब्द, बोली, भाषण र वक्तव्यबाजीमा मात्र सीमित हुन्छ । एकरुपता, विधि, नीति र प्रक्रियाहरु व्यवहार र परिणामबाट धेरै टाढाको विषय बन्दछ । तब यस्तो बेलामा सबै सरकारी तथा गैरसरकारी निकायहरु केवल औपचारिक कार्यक्रमहरु जस्तैः बैठक, सेमिनार, गोष्ठी, अन्तकृया र छलफलहरुमा मात्र सीमित हुन्छ । अनि तपाई हामीले कार्यालयका प्रमुख र कर्मचारीहरु भेटनु पर्यो भने, कार्यालयको डेस्कमा नभएर त्यहाँस्थित ठूल–ठूला होटेलमा रहेको सभाहलहरुमा खोज्नुपर्ने हुन्छ । यो संक्रमणकालीन नेपाली राष्ट्रिय राजनीतिले उब्जाएको तीतो यथार्थ र बिडम्वनाको बारीमा फलेको खानैपर्ने तीतो फल हो ।
No comments:
Post a Comment