Tuesday, March 19, 2013

जातिवादको वध गरौ


-कमल नेपाली
हिन्दूहरूको महान् चाड दसैँ संघारमै आइपुगिसकेको छ । दसैँ असुरी शक्तिमाथि दैवी शक्तिको विजयको परिचायक हो । साथै, यसले मेलमिलाप र भाइचाराको पृष्ठपोषण पनि गर्छ । तर, यसबीचमा दिइने बलिका कारण दसैँ हिंस्रक बनिरहेको यथार्थ कसैबाट छिपेको छैन । आफ्नो मनोकांक्षा पूरा गर्न कुनै निर्दोष पशुपन्छीको रगत बगाउनु कुनै पनि कोणबाट वैज्ञानिक देखिँदैन । यस विषयमा हरेक वर्ष आउने दसैँमा धेरथोर चर्चा चलिरहेकै हुन्छ । तर, यस वर्ष भने राजधानीमा भर्खरै मात्र बलिविरुद्ध र्‍याली सम्पन्न गरियो । पोखरामा पनि यस्तै अभियान सम्पन्न भयो । सानै किन होस् तर सानदार छ यो आवाज । यो आवाज त्यस्तो बलिको पक्षमा छ जहाँ समाज र देशलाई कालो पार्ने हाम्रो विचारको वध भएको होस् । यहाँ अहिल्यै वध गरिहाल्नुपर्ने एउटा जंगी जन्तु (!) छुवाछुतको बारेमा चर्चाको जमर्को गरिने छ ।

कुरा पछिल्लो समाचारबाटै सुरु गरौँ । राजविराज मलेठस्थित एक निमाविमा कक्षा ३ मा एक्लै उदास भेटिएकी १० वर्षीया रेणुकुमारीले भनेकी छिन्-‘सरहरू पनि म नजिक आउन चाहनु हुन्न । मेरा किताब-कापी पनि छुनुहुन्न । साथीहरू त देख्नेबित्तिकै भाग्छन् ।’ अनि धरमपुर-२ का सिकन्दर मरिक आफ्ना ४ वर्षीय छोरा श्यामकुमारलाई लिएर स्थानीय एक निजी विद्धालयमा जाँदा सञ्चालकले आपत्ति जनाउँदै भनेछन्-‘तिम्रो बच्चाको एड्मिसन गरे मेरो विद्धालयका पाँच सय बच्चा यहीँबाट भाग्छन् ।’ विगतमा कोढीहरूलाई गरिने जस्तो  दुर्ब्यावहार  छि: । 
इतिहासतिर फर्केर हेर्दा जयस्थिति मल्लले हिन्दू धर्मशास्त्रको आडमा समाजको पुन:संरचना गरेको कुरा पढ्न पाइन्छ । जसलाई हामी सामान्य ज्ञानका ठेलीहरूमा समाज सुधार भनेर पढ्छौँ तर त्यो सुधार होइन बिगार थियो । दलित समुदायलाई सहरभित्र पस्न समेत नदिइनु केको सुधार ? यसको आधार थियो मानव सभ्यताकै सम्भवत: सबैभन्दा ध्वाँसे ग्रन्थ मनुस्मृति । ऋषि भनाउँदा मनुले गरेका केही निर्देशनहरू पनि नजर गरिहालौँ:
-शूद्रलाई भोजनको लागि जूठो अन्न, लाउनको लागि जडौरी लुगा र ओछयाउनका लागि पराल, जडौरी डसना आदि दिनुपर्छ (१०/१२५) ।
-शूद्रलाई भोजनको लागि जूठो अन्न, लाउनको लागि जडौरी लुगा र ओछयाउनका लागि पराल, जडौरी डसना आदि दिनुपर्छ (१०/१२५) ।
-शूद्र जातिले उच्च वर्णकासँग कठोर वचन बोले त्यसको जिब्रै काटिदिनू, धर्मोपदेश गरे त्यसको मुखमा र कानमा उम्लेको तातो तेल खन्याइदिनू, एकै आसनमा बस्यो भने त्यसको चाकै काटिदिनू, बाहुनको शरीरमा थुक्यो भने दुवै ओठ काटिदिनू, मुत्यो भने मुतेन्द्रीय र पादेमा चाकै काटिदिनू (८/२७०, २१७, २८०-२८२) ।
-बिरालो, न्याउरीमुसा, काग, भ्यागुता, कुकुर, छेपारो, लाटोकोसेरो आदिको हत्या गर्दा गर्नुपर्नेभन्दा बढी प्रायश्चित शूद्रको हत्या गर्दा गर्नुपर्दैन (११/१३२) ।
पछि गोरखाका राजा राम शाहले पनि जयस्थितिकै स्वाहा गरे । छुवाछुतलाई बलियो बनाए । फेरि तिनैले भने-‘न्याए नपाए गोर्खा जानू ।’ सोध्न मन लाग्छ- न्याय यस्तो हुँदोरहेछ भने अन्याय कस्तो हुन्छ महाराज ? तिनै शाहका सन्तान पृथ्वीनारायण शाहलाई विशाल नेपाल निर्माण अभियानमा बिसे, बांगे र जसवीरहरूले कति योगदान दिए भन्ने त भनिरहन पर्दैन । त्यसपछिका हरेक निर्णायक आन्दोलनमा अग्रमोर्चामा रहँदै आएका छन् दलित । ०७ सालमा तनहुँको बन्दीपुर गोलीकाण्डमा वीरगति प्राप्त गर्ने चन्द्रबहादुर सार्कीदेखि जनआन्दोलन-२ का सहिद चन्द्रबहादुर बयलकोटीसम्मले आहुति दिएका छन् मुक्ति र परिवर्तननिम्ति । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसमेतको रगतमा लतपतिएको छ नेपाली राजनीति । तर, देशका लागि रगतपसिना बगाउने ती सेनानीहरूको पानीचाहिँ चलेन । तिनको समुदायको पानी चलेन । काम पर्दाको मात्र भाँडो बनाइए बिचराहरू ! कवि श्रवण मुकारुङको कवितामा बिसे बहुलाएको त्यसै कहाँ हो र ? यता मान्छे हुन नपाएर बिसेले सन्तुलन गुमाए भने सबै जातिका मानिसलाई सार्वजनिक स्थलमा राखी भातपानी चलाउने प्रयास गर्ने राजा रणबहादुर शाहलाई जातिवादीहरूले मगज बिग्रेको भने । सतीले सरापेको भनिने यस भूखण्डमा मगज सप्रेकाहरूको चाला भने मानवियता विरुद्धको छ ।
पृथ्वीनारायणले भौगोलिक एकीकरण त गरे तर भावनात्मक एकता टुक्रिएको नेपाल बन्न नहुनेतर्फ सोचेनन् । त्यसपछि शाह इतिहास ज्ञानेन्द्रसम्म आइपुग्दा उल्लेख्य केही भएन । मुलुक राजतन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा भीमसेन थापामगरपछि चार दर्जनभन्दा बढी प्रधानमन्त्री भइसके तर जातिवाद र छुवाछुतसम्बन्धी विभेदविरुद्ध त्यस्तो केही चमत्कार भएन । अहिले, देश राष्ट्रपतिको अभिभावकत्वमा छ र पनि भयो त भन्न मिल्ने केही परिवर्तन आउन सकेन देशमा । आज मंगल ग्रह छुने युगमा जाबो मान्छेले मान्छेलाई छोएको जस्ता हास्यास्पद कृत्यहरू समाजमा छ्यालब्याल छन् । दैलेखमा एक कथित उच्च जातिकाले आफूले पिउँदै गरेको चिया छोएको भन्दै स्थानीय डम्बर वि.क.को मुखमा जूठो चिया छयापिएको समाचार ओथाइसकेको छैन । थापा थरका ती ठालु बसेको बेञ्चमा बस्नु नै उनी त्यसरी अपमानित हुनुको कारण थियो । काठ निर्जीव वस्तु हो जहाँबाट विद्धुत तरंगसमेत प्रवाह हुन सक्दैन । के एउटै काठमा बस्दा छोइएको भयो ? त्यसो हो भने त पृथ्वीमै बस्न भएन किनकि पृथ्वी ढुंगामाटोले बनेको छ, छोइन्छ । त्यसो त यही भूमिमा छोइछिटोको निहुँमा कतिको ज्यानै लिइएका घटनाहरू हालसालै भए । मोसो दलेर, पेटीकोट लाइदिएर गाउँ घुमाउने कालो घटना त कास्कीमै देखियो । अझै पनि दलितहरू कोठा खोज्ने क्रममा आफूलाई छद्म भेषमा प्रस्तुत हुन बाध्य छन् । यत्रो अवधिको लडाइँ साझा थलोको हकमै सीमित हुनु दुर्भाग्यपूर्ण छ ।
यहाँ धेरै कुरा चल्छ दलितको । पसिना बिटुलो हुँदैन । सीप बिटुलो हुँदैन र ‘त्यो’ पनि । जंगबहादुरले झापा जाँदा मेचेकी छोरीसँग बिहे गरेर चौधरी पद्वी प्रदान गरी पानी चलाइदिएका थिए रे । यहीँबाट छयाङ्ङ हुन्छ कि जातपातका कुरा शासकहरूको सनकको धतुरो हो । अहिल्यै पनि त दलित युवतीप्रति भोकाएको स्यालले कुखुरा देख्दा झैं र्‍याल चुहाउने उपल्ला भनिनेहरू समाजमा ग्यालग्याल्ती छन् । यिनै सनकीहरूद्वारा विगतमा अप्सरा कहलिएका वादी महिलाहरू वेश्या बनाइए । बजारमा किनबेच हुने आलुप्याजसरह व्यवहार गरियो । पानी नचल्ने, नछुने बनाइयो । तर, वदिनीहरूको ‘त्यो’-चाहिँ निरन्तर चलिरह्यो, चलिरहेकै छ । अझ जंगबहादुर बेलायत जाँदाको प्रसंग झनै गजबको छ । उनले यात्रामा चाहिने सामल मात्र होइन भान्से र दूधका लागि गाई समेत जहाजमै लादेर लगेका रहेछन् । बेलायत पुगेपछि पनि उनीहरूले फलफूल मात्र खाए रे । म्लेच्छहरूले छोएको नखाने ठूलाठालू न परे । तर, तिनै जंगबहादुरलाई बेलायती सुन्दरी लाउरा बेलको बैँस भने खुबै स्वादिलो लागेछ । भनिन्छ, उनले तिनै सुन्दरीका लागि नेपालको ढुकुटी रित्याएका थिए । हास्यास्पद त के भने जंगले बेलायतबाट फर्केपछि मुलुकी ऐन बनाएर जातपात र छुवाछुतलाई कानुनी रूपमै संस्थागत गरिदिए । महर्षी गौतमले शूद्र-विषयक दण्ड विधानमा लेखेका रहेछन्- ‘यदि शूद्रले आफूभन्दा ठूलाकी स्त्रीसित गमन गर्‍यो भने राजाले त्यसको लिंग नै काट्न लगाउन् ।’
देवकोटाको अमर हरफ ‘मानिस ठूलो दिलले हुन्छ’ लाई हामीले एउटा कानले सुनेर अर्को कानले उाडायौँ । उनले त आफू सल्लाहकारसभाको सदस्य भएताका नेपालबाट छुवाछूत हटाउने प्रस्तावलाई दलितको हातबाट पानी पिएरै अनुमोदन गरेका रहेछन् ‘तिमीहरूको अछूत पानी मैले खाइदिएँ, अबदेखि तिमीहरू मजस्तै छुत भयौ’ भन्ने घोषणा गरे । महजत्तिकै गुलियो यो कुरो हाम्रो समाजलाई पातीजस्तै तीतो भयो सायद । उनलाई पनि रणबहादुर शाहलाई जस्तै खुस्केट भनेर कुरा काटे होलान् । मान्छेलाई मान्छे ठान्न नसक्ने हाम्रो सोच कति सांग छ त्यो सोच्नुपर्ने बेला घर्किँदै छ । महिषासुरको प्रतीकको रूपमा राँगोलाई खेदीखेदी, ढुंगाले हानीहानी मारेर छुवाछुतजस्ता राक्षसहरू मर्दैनन् । जसरी बाटो काट्नु भनेको खुँडा प्रहार गरेर बाटोलाई टुक्राटुक्रा पार्नु होइन, बलिको अर्थ पनि कुनै अबोध पशुपन्छीको चोला उठाउनु होइन बरु हामीभित्रको दैत्यको वध गर्नु हो ।


No comments:

Post a Comment