वर्तमान नेपाललाई संघात्मक शासन व्यबस्थाभित्र प्रवेश गराउनेक्रममा राज्य पुनसंरचनाको प्रस्तावित खाकासमेत आयोगमार्फत सम्बन्धित निकायमा पेश गरिसकेको अवस्था छ । यही क्रमअन्तर्गत हिजोदेखि आजसम्म घनिभूतरुपमा वर्तमान मुलुकभित्र प्रमुख दुईवटा मुद्दामाथि राजनीतिक बहस हुँदैआईरहेको थियो । त्यो जातीय आत्मनिर्णयको अधिकार र उनीहरुको ऐतिहासिक पृष्ठभूमिको आधारमा राष्ट्र–राज्यको निर्माण । वास्तवमा संविधान निर्माण हुनुभन्दा पहिले यो मुद्दाको तार्किक निष्कर्षमा पुग्नुपर्ने हुन्छ । जसको बहस गर्नुपर्ने इजलास भनेको संविधानसभा हो । तर जननिर्वाचित संविधानसभाका सभासदहरुले यो मुद्दामाथि बहस गर्नुको साटो उल्टै आँखा भएर अन्धो, कान भएर बहिरो, रहेको अवस्था छ । अर्कोतिर राज्य पुनसंरचना आयोगका सदस्यहरु संरचनाका विषयहरुमाथि बहुमत र अल्पमत हुनु यो नहुने बेलाको गन्हाउने मुख भनेजस्तै छ । त्यसकारण यस्तो राजनीतिक परिस्थतिमा, यो संविधानसभाले देश र देशवासीहरुको निमित्त संविधान लेखनको त कुरै छाडौं दोश्रो पाकिस्तानले जन्म लिन्छकि भन्ने अत्याधिक सम्भावना बढ्दै गएको देखिन्छ ।
यो परिस्थितिबाट मुलुक र मुलुकवासीहरुलाई बाँच्न बचाउन समयमा नै सचेत सजग हुँदै सम्पूर्ण नेपालका मूलबासीहरुलाई यो लेखमार्फत आइलागे जाइलाग्न समेत आह्वान गरिन्छ । माथि उल्लेखित प्रमुख दुइटा मुद्दामाथि केही ठूला राजनीतिक दल भनाउदा अनि त्यसका भ्रातृ संघ–संस्था, जाति, व्यक्ति, सानातिना समुदायहरु संवेदनशील भएको देखिएन । नदेखिनु उनीहरुको वैचारिक स्वतन्त्रताको कुरा पनि हो । तैपनि उल्लेखित मुद्दाको व्यापक छलफल बहस गर्दै वास्तविक व्याख्या गरिनु देशवासीहरुको निमित्त नितान्त आवश्यक थियो र छ । तर, यो नभइरहेको अवस्था हो । उल्टै अतिरञ्जित र नकारात्मक दृष्टिकोण प्रचार प्रसारमा ल्याइयो । जो अन्धोहरुले हात्ती छामेजस्तो, प्रत्येक अङ्गहरुको आफ्ना–आफ्नै ब्याख्या भैदियो । जसको परिणाम राष्ट्र–राज्य निर्माणको क्रममाथि उल्लेखित प्रमुख सवालको बिरोधी एकजाति हैकमवादी तत्वहरुलाई एकछिन त्यहाँ पुग्ने काम भएको छ । वास्तवमा ऐतिहासिक पृष्ठभूमिको आधारमा राष्ट्र–राज्य बन्नु भनेको लगभग १०३ जातिको बसोबास रहेको नेपाललाई, १०३ टुक्रामा विभाजनगर्दै प्रत्येक जातीय राज्यहरु निर्माण गर्ने भनेको होईन ।
यस्तो वाईयत कुराको पछाडि नलाग्न पनि अनुरोध गरिन्छ । राज्य बन्नको लागि केही पूर्वाधार हुन जरुरी छ । पहिलो कुरो त्यो जातिको ऐतिहासिक शासकीय भूगोल, दोश्रो त्यो राष्ट्र–राज्यको आर्थिक अवस्थाको संरचना, तेश्रो उनीहरुको धर्म सँस्कार सँस्कृति, भाषालिपि, जनसंख्या आदि ईत्यादिको आवश्यक पर्छ । हावाको भरमा राज्य माग्दा पाईन्छ ? त्यसकारण वर्तमान संविधानसभा यस मानेमा कमजोर देखिन्छ । यी पूर्वाधारहरु पहिल्यै तायार पारिनु पर्थ्यो । तर, तयार हुन सकेन । नसक्नुको पछाडि उल्लेखित बिरोधी तत्वहरुको अहम् भूमिका रहेको छ । अझ यो दुईवटा सवाललाई तुहाउन यी षड्यन्त्रकारीहरुले न्वारानदेखिको तागत निकाल्दै कोलाहलरुपमा चिच्याईरहेको अवस्था हो । तर, यिनिहरुलाई यो जरुर थाहा हुनुपर्छ । यो मुलुकका मूलबासीहरु सुतिरहेका सिंह हुन् । सुतिरहेको सिंहको जुँगा उखेल्न कोही छैन । उखेले पछिको परिणाम भनेको भयावह हुन्छ । त्यो समयले नै बताउने छ ।
यही सन्दर्भमा किरात राज्यको एकैछिन छलफल गरौं । भर्खरै राज्य पुनसंरचना आयोगमार्फत किरात राज्यको प्रस्तावित खाका सम्बन्धित निकायमा पेश गरिसकेको अवस्था छ । यसको राजधानी धनकुटालाई समेत प्रस्ताव गरेको छ । वास्तवमा प्रस्तावित किरात राज्यको ऐतिहासिक पृष्ठभूमिको आधारमा तात्कालीन शासकीय भूगोललाई वर्तमान नेपालको कुनैपनि सीमित क्षेत्रभित्र अटाउन सकिन्न । यो वृहत्तररुपमा फैलिएको शासकीय भूगोल हो । जसलाई विशाल किरात राज्य भन्दा फरक पर्दैन । त्यसकारण यस्ता कपोकल्पित कुराहरुले तात्कालीन किरातहरुको विशाल स्वाभिमानमाथि आँच आउन सक्छ । अबउप्रान्त राज्य पक्ष किरात वा गैरकिरात जोसुकैले होस यस किसिमको काम कुरा नगरिदिन अनुरोध गरिन्छ । वर्तमान नेपालको निर्माण हुनुभन्दा धेरै पहिले हाल प्रस्तावित किरात राज्यको तात्कालीन शासकीय भूगोल अन्तर्गतको राजधानी ऐतिहासिक पृष्ठभूमिको आधारमा भन्ने हो भने वर्तमान नेपालको चारभञ्ज्यङ्गभित्रको खाल्डो हो । जसलाई आजभोली काठमाडौं भन्ने गरिन्छ ।
वास्तवमा तत्कालीन किरातकालीन राज्य शासनसत्ता त्यहाँबाट नै हरायो वा बिस्थापित भयो । इतिहासले यही प्रमाणित गर्छ । त्यसकारण जुन वस्तु जहाँबाट हरायो त्यहींबाट खोजिनु पर्छ । एकठाउँमा हराएर अर्को ठाउँमा खोज्दा पाईन्दैन । यो सभ्यतालाई आत्मसात् गरौं । यसको अर्थ पूर्वका भूभाग, किरात भूभाग होईन भन्न खोजिएको छैन । निश्चय पनि हो । तर शासकीय भूगोल भनेको वल्लो किरात, माझ किरातको खम्बुवान भन्दा अरु हुनसक्दैन । भन्नुपर्दा त्यो देशलाई खम्बुवान देश भनेर जान्नु पर्दछ । त्यस्तै अरुणपूर्वको शासकीय भूगोल भनेको पल्लो किरात लिम्बुवानभन्दा अरु हुनैसक्दैन । जसलाई पल्लो किरात लिम्बुवान देशको नामले जान्नु पर्दछ ।
यही सेरोफेरोभित्र वास्तवमा किरात भन्ने शब्द वर्तमान नेपालको बहुसंख्यक मूलबासीहरुको निमित्त गुलियोको बोट उखु भनेजस्तै हो । उखुबाट गुद, सक्खर, चिनी उत्पादन हुन्छ । के सक्खर र चिनीलाई उखु भन्न मिल्छ ? त्यस्तै सक्खर र चिनीबाट हरेक गुलियो वस्तुको उत्पादन हुन्छ । के सबैलाई सक्खर, गुद, चिनी भन्न मिल्छ ? कदापि मिल्दैन । सबैको आफ्नो आफ्नै अस्तित्व र स्वाद हुन्छ । त्यसकारण सारपक्ष मिले पनि रुप पक्ष मिल्दैन । अनि मिलेन भन्दैमा उखुको जरा नै उखेलेर खरानी बनाउने ? यो हुन सक्दैन । उखु र गुलियो सम्बन्ध भनेको नङ र मासु जस्तै हो । एकअर्कावीच बिरोध भएपनि मित्रतापूर्ण हुन्छ । शत्रुतापूर्ण हुनै सक्दैन । यदि भएमा दुवैको अस्तित्व समाप्त हुन्छ । त्यसकारण किरात शब्द र खम्बुवान, लिम्बुवानको सम्बन्ध भनेको उखु र गुलियोको जस्तै हो । यसको अन्तर भनेको आफ्ना–आफ्नै अस्तित्व र शासकीय भूगोल मात्रै हो ।
यहीक्रम अन्तर्गत अरुणपूर्वको पल्लो किरात लिम्बुवान वर्तमान नेपालको प्रान्तीय राज्यहरुभन्दा, छुट्टै आफ्नो अस्तित्व, पहिचान र मौलिकता बोकेर उपस्थित छ । वास्तवमा उदाहरणकोरुपमा भारतको आसामलाई मिनि भारत भनेजस्तै पल्लो किरात लिम्बुवानलाई मिनि नेपाल भन्दा फरक पर्दैन । नेपालमा लगभग १०३ जातिको बसोबास छ । पल्लो किरात लिम्बुवानमा यो भन्दा कम छैन । अर्को आफ्नै पुर्खौली थातथलो अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा शासकीय भूगोल भएका मूलबासीहरु पनि कम छैन । यिनिहरुको संक्षेपमा सामान्य डाटासमेत राख्ने कोसिस भएको छ । यसअनुरुप वर्तमान संखुवासभा, जसलाई अरुण उपत्यका समेत भनिन्छ । यो सेरोफेरोभित्र उत्तरमा भोटखोलादेखि हटियागोलासम्म आफ्नै पुर्खौली थातथलोसहित बसोबास गर्दैआएका भोटे शेर्पा जातिहरु छन् । त्यस्तै बिचभागतिर लोहोरुङ, मेवाहाङ, याम्फु र दक्षिणपूर्वतिर याख्खाहरुको ऐतिहासिक पृष्ठभूमिको आधारमा बसोबास रहेको छ । ताप्लेजोङको उत्तर ओलाङचुङगोला भोटे शेर्पाहरुको आफ्नै थातथलोको आधारमा हिजोको नेपाल सरकारले गोवा, ढेवा मार्फत शासन गर्दैआएका थिए । त्यस्तै ईलामको पूर्व केहीभाग लाप्चा जातिहरुको आफ्नै पुर्खौली थातथलो रहेको छ । मोरङ र झापाको उत्तरी भागतिर धिमाल जातिहरुको आफ्नै पुर्खौली थातथलो छ । अर्को तराईका विविध जातिहरुको आफ्नै अस्तित्व र पहिचानको दाविगर्दै आईरहेको अवस्था छ ।
धनकुटा आठपहरीयाहरुको ऐतिहासिक पृष्ठभूमिको आधारमा यी जातिहरुको पुर्खौली थातथलो अन्तर्गत शासकीय भूगोल भनेको उल्लेखित चारकिल्लाभित्रलाई मान्नुपर्दछ । जस्तै: तमोर नदीको उत्तर, चित्रेकुटे डुङडुङेको दक्षीण, हाल तेह्रथुमको लुङख्वाखोला पश्चिम, माङमाया खोला पूर्व, यतिभित्रको भूभागलाई आठपहरीयाहरुको ऐतिहासिक पृष्ठभूमिको आधार मान्नुपर्छ । यहाँका यी जातिहरु मूलबासी हुन् । आफ्नो माटोको रक्षार्थ यी जातिहरुको पुर्खाले आठ किल्लाको निर्माण गरेका थिए । जुन किल्लामा आफ्नो समग्र परिवारसहित पहरा गर्थे । जसको कारण यी जातिहरुलाई आठपहरे भनिएको हो । धनकुटाभित्र दुई किसिमका आठपहरे छन् । खाल्साली र धनकुटेली भन्ने कुरो अंग्रेज लेखक हेमिल्टनले आफ्नो पुस्तक एन एकाउन्ट अफ नेपालमा लेख्छन् । वास्तवमा यो कति सत्यतामा आधारित छ भोलीको अध्ययन र खोजको विषय हो । अर्को कुरो यो जातिहरुले धार्मिक साँस्कृतिकरुपमा आफुहरुलाई हिन्दुकरण हिजोदेखि आजसम्म गरेका छैनन् र गर्न पनि चाहदैनन् ।
यी जातिहरु आफ्नै धर्म, भाषा, लिपि, सँस्कार सँस्कृतिमा मौलाउन चाहन्छन् । जसको कारण यिनिहरुको आफ्नै पहिचान र अस्तित्वको साथ उपस्थिति छ । उदाहरणकोरुपमा अरुणपूर्वमा साँस्कृतिक क्रान्तिको शुरुवात दशैं वहिष्कारबाट भएको थियो । जसको नेतृत्व धनकुटाका आठपहरे रामलीहाङ्ग र रीदीमाहाङ्ग द्वयले गरेका थिए । जसलाई तात्कालीन हिन्दुअतिवादी राज्यसत्ताद्वारा १८६७ मा झुण्ड्याएर हत्या गरिएका थिए । अझ पनि धनकुटाको त्यो ठाउँलाई झुण्ड्वाको नामले जानिन्छ । आजसम्म साँस्कृतिक क्रान्तिका यी महान दुई सहीदका सम्मानको त कुरै छाडौं खोज तलास समेत नगरेको अवस्था हो । जे होस भोलीको समयले यसको छिनोफानो गर्नेछ । यसकारण पनि हुनसक्छ, आठपहरीयाहरुले चाडपर्वकोरुपमा दशैं कुन चिडियाको नाम हो आजसम्म थाहा छैन ।
अन्त्यमा, बहुमत अल्पमतको साथसाथै वर्तमान राज्य पुनसंरचना आयोगमार्फत केही राज्यहरुलाई जातीय संकेत गर्न खोजिएको छ । वास्तवमा यो केही होईन वाईयत कुरा हो । यो संविधानसभा र राज्यसत्तालाई थाहा हुनुपर्छ । यस देशका मूलबासीहरुले नाम मात्रको राज्यको निमित्त वलिदानीपूर्ण संघर्ष र आन्दोलन गर्दैआएको होईन । यो मुलुकका मूलबासीहरुको आफ्नो पुर्खौली थातथलो अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा पूर्णसंघीय शासन व्यवस्था अन्तर्गत आफ्नो माटोमा स्वयम्ले शासन गर्नु पाउनुपर्छ भन्ने मुल्य र मान्यताकासाथ वलिदानपूर्ण संघर्षमा जुटेका हुन् । धन्यबाद !
No comments:
Post a Comment