नेपालमा विगत २०४७ सालबाट एमएनओले चलाएको मूलवासी आन्दोलनले आदिवासी समुदायको सम्बन्धमा केही मनगढन्ते तर्कहरु अगाडि सार्दैल्याएको छ । बाहुनहरुद्वारा निर्मित वृहत नेपाली शब्दकोषमा आदिवासी भनेको असभ्य, जङ्गली, घुमन्ते, तरुलभ्याकुर खोजिखाने आदि प्रजातिका मानिस हुन भनेर अर्थ लगाई दिएपछि कतिपय मङ्गोल नश्लका जातिहरुले आफुलाई आदिवासी भन्न समेत लाजमानेको अवस्था थियो । पछिबाट मानवशास्त्र तथा समाजशास्त्रका विज्ञहरुले खोजअनुसन्धान गरी यी शब्दहरुको अर्थ पहिचान गर्नेक्रममा आदिवासी भन्नाले एउटा निश्चित थातथलोमा आदिम कालदेखि बसोबास गर्दैआएका त्यही स्थानमा सदियौंदेखि आफ्नो पुर्ख्यौली इतिहास कायमगर्दै अझसम्म त्यो भूमिसँग आफ्नो सहअस्तित्व र पहिचान बचाउँदै आएका जातिहरुलाई आदिवासी भन्ने गरिन्छ भनि अन्तर्राष्ट्रियरुपमा मान्यता स्थापित हुँदैआयो । यसरी नै आफ्नो छुट्टै भाषा, धर्म, सँस्कृति, लिपि, परम्परागत मूल्यमान्यता भई राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट वहिष्करणमा पर्दैआएका हिन्दुवर्णाश्रम व्यवस्थादेखि बाहिर रहेका जाति वा समुदायलाई आदिवासी भनिन्छ भनि मानवशास्त्र तथा समाजशास्त्रका विज्ञहरुले यो मान्यता स्थापना गरेका हुन् ।
आदिवासी समुदायको बारे हिन्दुअतिवादी बाहुनहरुले गरेको परिभाषाभन्दा भिन्नरुपमा अर्थ लगाई उनीहरुमाथि राज्यद्वारा गरिदै आएको शोषण, अन्याय, अत्याचार, दमन र उत्पीडनको न्यायिक छानविनगरी उनीहरुमाथि भएको अन्यायको क्षतिपूर्ति राज्यले दिनुपर्छ भन्ने मान्यतासमेत अन्तर्राष्ट्रिय स्तरबाट स्थापना भएको छ । यो अधिकार वहालिका लागि नेपालमा क्रियाशील आदिवासी समुदायको संघ/संस्थाहरु आन्दोलनरत रहेको यो अवस्थामा गैरआदिवासी बाहुन/क्षेत्रीहरु आफुलाई पनि आदिवासीमा सूचिकृत गरेर राज्यबाट प्राप्त हुने अवसरको मापदण्डबाट वञ्चित गरिनु हुँदैन भनेर आन्दोलित भइराखेको अवस्थामा एमएनओले हामी आदिवासी होईनौ, मूलवासीमात्र हौं, आदिवासी बाहुन हुन भनि प्रचार गरिदिनाले गलत अर्थ र भ्रमहरु पैदा भएका छन् । वास्तविकता यो होईन । संस्कृत तथा नेपाली वाङमयमा ”आदि“ भन्ने शब्दले शुरुको हो भन्ने अर्थ लाग्छ । आदिवासी भन्नाले शुरुको बासिन्दा हो भन्ने सोझै अर्थ लाग्दछ । यसको अर्थ आधावासी होईन । अर्को कुरा एमएनओका प्रेसिडेन्ट गोपाल गुरुङले आदिवासी भनेका १४९५ मा भारतबाट नेपाल भित्रिएका बाहुनहरुलाई भनिन्छ र जनजाति भनेका १५५९ मा राणाहरुले भारी बोकाएकाहरु हुन भनेर भनिएको छ । तर त्यो गलत हो । जङ्गबहादुर भन्दा पहिला कोही पनि राणा थिएनन् नेपालमा । जङ्ग बहादुरको सक्कली नाम बालनरर्सिंह कुवर हो ।
आफु प्रधानमन्त्री भएपछिमात्र उनले थर र नाम परिवर्तन गरी जङ्ग बहादुर राणा लेखेका हुन । त्यसपछि उसका सबै सन्तानहरुले राणा लेख्न थालेका हुन् । तसर्थ आदिवासी समुदायको बारेमा जे जति मान्यताहरु स्थापित भएका छन् त्यसले मूलवासीको कुनै मर्म र भावनामाथि आँच पुर्याउदैन । बरु यी माथिका मान्यताहरुले मूलवासीको राजनैतिक हैसियतमा थप पृष्ठपोषण गर्नेछ । किनभने आदिवासी, मूलवासी जे भने पनि तिनिहरुले उठाएको र बोकेको मुद्दा भनेको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, भाषिक, साँस्कृतिकका साथै लैंगिक पनि हो । हाम्रो मुद्दा भनेको शब्दसँग भन्दा पनि शासकहरुले गरेको उत्पीडनसँग हो । शब्दमा कसैलाई चित्त नबुझेमा त्यसको निराकरण पछिबाट पनि गर्न सकिन्छ । तर, अहिलेको अवस्थामा आपसमा शब्द र व्यक्ति व्यक्तिवीचमा झगडा गरियो भने शत्रुहरुसँग लड्ने मजबुत शक्तिनिर्माण हुने छैन ।
आदिवासी र मूलवासीको नारा उठाउनेहरु सबै उत्पीडित जाति र वर्गहरु नै हुन् । त्यसकारण अहिलेको मुलमुद्दा भनेको कसैलाई पनि अधिकार वहालि गर्न नचाहने शासनसत्तामा आफ्नो हैकम र दवदवा कायम राख्दै राष्ट्रको ढुकुटी ब्रह्मलुट गर्ने हिन्दुअतिवादीहरु विरुद्धको संघर्ष हो । यसलाई अर्को भाषामा भन्दा राष्ट्रिय मुक्तिको लागि गर्नैपर्ने आमुल तथा यूगान्तकारी परिवर्तनको घडि हो । यसबेला शब्दप्रहारबाट जुनसुकै राजनीतिक प्लेटफर्मबाट निरन्तर लडिरहेका योद्धाहरुको भावना र ईच्छाशक्तिमा आँच र ह्रसआउने गरी घोचपेच गर्नु अनर्थ हुनेछ । हामी कसैले आफुलाई आदिवासी भनेता पनि राजनीतिक मुलप्रवाह सिर्जना गर्न यो मुलुकको मुलवासी भन्दा केही फरक पर्ने छैन ।
आदिवासी भन्ने पहिचानबाट अधिकार स्थापना गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यता स्थापित भैसकेता पनि सबैखालका उत्पीडन अन्त्यका लागि मुलवासीको नामबाट निर्माण भएको शक्तिलाई किनारा लगाउनु बुद्धिमानी हुने छैन । आगामि दिनमा उत्पीडन विरुद्ध लड्ने शक्ति समायोजनका लागि फराकिला दायराहरु सबै पक्षले निर्माण गर्दै जाउँ । अबको अन्तिम विजय हाम्रो सुनिश्चित छ ।
No comments:
Post a Comment