Friday, March 15, 2013

जातिय पहिचान र अस्तित्वको लडाईं


हामी सम्भवतः सोझासिधा मंगोल भनिएर चिनिदै आएका छौं । हाम्रो आदिम पूर्खाहरुका अस्तित्व र पहिचानलाई लेख्य लिपिबाट परिचित नभएता पनि कथ्य किंवन्दन्ती शैलीबाट डोने/दनुवारको किराँतकालिन इतिहासको मानव पहिचानदेखि नै अलग्गै पहिचान बोक्दै जातिय संरचना भएको दुन क्षेत्रको आदिम भूमिपुत्रको नामबाट परिचित छौ भन्ने कुरामा कुनै दुईमत छैन हाम्रो डोने/दनुवार जातिमा ।
तर तथाकथित रुपबाट डोने/दनुवार जातलाई इतिहासको सुनौलो अवसरबाट ओझेलमा पार्ने अपभ्रंश शब्द दनुवारलाई हेयको भावबाट हेरिदैआएको छ । नेपालको इतिहासमा गोपालवंश, महिशपाल अर्थात आभिरवंश, किरातकालिन, मल्लकालिन हुँदै बिभिन्न टुकडे जातिय राज्यहरुको बाईसे र चौबिसे राज्यहरुको अस्तित्वमाथि धावा गर्दै लिगलिगकोटको घले गुरुङ्गहरुलाई लडाएर खाँ इतिहास बोकेको अपभ्रंश शब्द शाँबाट शाह उदयमान भएपछि जित्नेहरुको इतिहास बन्दै गए ।
फलतः नेपाल एकिकरणको अभियानले टुकडे राज्यबाट र छिमेकी देश उपनिबेशको सामना गदै पूर्वमा टिष्टा र पश्चिमा काँगडासम्म राज्य बिस्तारको शिकारमा कैयन राज्यहरुको इतिहास विलिन हुनपुगे । त्यही विलिन इतिहासको खोजी गर्नै हो भने दुनक्षेत्रको इतिहासमा डोनेदनुवार राज्यको अस्तित्व र पहिचान भेट्न सकिन्छ ।

नेपालको एकिकरण अभियानलाई आफ्नो राज्यको माटो दिएर बिस्तारित राज्यमा रैती र भाइचारा भएर दुनक्षेत्रको रक्षा गर्दै जल, जमिन र जंगलको आडमा जीबिकोपार्जन गर्दै आदिम पहिचानलाई स्विकार गर्दै आएको डोनेदनुवार समुदायलाई नेपालका आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले कुनै पनि
खेमामा कुनै कित्ता नभएको कुठाराघात गर्दै आएको देखिन्छ ।
आदिबासी जनजाति राष्ट्रिय प्रतिष्ठानले दुनक्षेत्रमा आदिम कालदेखि धर्म, संस्कृति, रीतिरिवाज, भेषभूषा, रहन सहन, खानपान, जन्म मृत्युपर्यन्तका पुर्ख्यौली संस्कारलाई तराईका सिंह जातिसँग मिलाउनु घोरआपत्तिको बिषय रहेको छ भन्दै आएको भन्ने कुरामा कुनै दुईमत नरहेको डोने/दनुवार समुदायको बुद्धिजीविहरुले बताउदै आएको छ । नेपालको दुनक्षेको इतिहासमा हेर्ने हो भने आदिबासी जनजाति मध्येको पुरानो जातिमय इतिहास डोने/दनुवार समुदायको भेट्न सकिन्छ । यद्यपि डोने/दनुवारको अस्तित्व र पहिचानलाई मधेशको सिंहसँग मिलाउन कसैले चेष्टा गर्छ भने त्यो दुनक्षेत्रको अर्थात मध्य पहाडी क्षेत्रको डोने/दनुवार जातिको लागि अपमानको बिषय हुनेछ । सदिऔं लामो कालखण्डदेखि बसोबास गर्दै आएको डोने/दनुवारलाई आदिबासी जनजाति महासंघको नेतृत्वले सही मुल्याङ्कन नगरेको तथ्यहरु खुलासा भएको छ । भारतको बिभिन्न प्रदेशहरुबाट बसाइ सराइ हुँदै नेपालको तराई प्रदेशको देहात भूमि मधेशमा आएर बसी आफ्ना गुथाउने नथुनी सिंह जस्ता जातिय अर्धचेत भएका पंचायती राजनीतिबाट आफ्नो स्वार्थसिद्ध राजनीतिलाइ खकुलो पर्दै छ्यालिसे सांसद बनेका ब्यक्तिहरुले गर्दा आदिम भूमिपुत्र जनजाति डोने/दनुवार,राई दनुवार, देबास राई दनुवार, कछाडे दलुबार आदिभूमिपुत्र समुदायलाई फरक-फरक कित्तामा उभिन बाध्य बनाएको छ । नथुनी सिंहले लेखेको आदिबासी दनुवार पुस्तकमा असली अपभ्रंश भएका डोनेबाट दनुवार भएकाहरुका लागि त्यो पुस्तकको शब्द शब्दहरु कालकुट बिष अर्थात गोमन सर्पको बिष झैं बन्न पुगेको छ । दुनक्षेत्रको आदिबासी डोने/दनुवार, देबास राई, राईदनुवारलाई, कछाडे दनुवार समुदायलाई भारत हिन्दुस्तानको सिंह जातिको पुर्ख्यौली पहिचान बोकेको पुस्तकहरुको सन्दर्भ जोडेर जातिय अपमान गरेको छ । उक्त ऐतिहासिक पुस्तकमा आफ्नो समुदायलाई देहातको मधेशमा बस्ने जनैधारी सिंहहरुले गरेकै छ । तर दुनक्षेत्रको डोने, देबास गर्खार, कछाडे, राईडोनेको जनघनत्वलाई नेपालको आदिबासी जनजाति अस्तित्व र पहिचानमा धमिलो पानीमा माछा मार्ने कार्य भई रहेको छ भन्ने ठहर गर्दै पहिचानको युद्ध लडिरहेको डोनेहरु अन्तिम साससम्म लडिरहने छ भनि यी समुदायको अग्रज तथा बुद्धिजीविहरुले बताउँदै आएका छन् ।

अस्तित्वको र पहिचानको लडाइमा तराईको सिंहहरुले बास्तबिक डोने/दनुवारलाई ओझेलको शिकार बनाएकोमा असन्तुष्टी ब्यक्त गर्दै आइएको छ । नेपालको बि.स.१९६८ को प्रथम जनगणनादेखि २०५८ सम्मको राष्ट्रिय तथ्याङ्क अध्ययन गर्ने हो भने स्वतः सिंह समुदाय हालको दनुवार भनेर कुनै कित्ता नपर्ने समाजशास्त्री तथा सँस्कृतिबिद्हरुको भनाईहरु बहसमा नआएका होईनन् । तर मधेशको मधेशी बन्नु भन्दा अतिसीमान्तकृत समुदायको आदिबासी बनेर बस्नुको अर्थ बुझेर नै आज मधेशी सिंहहरु दुनका डोने/ दनुवारसँग अर्काको समुदायको पहिचान मेटाउँदै सिंह जुधाई रहेको छ । मधेशका सिंहहरुले नाङ्गो नाँच आदिबासी जनजातिमा देखाएको जनजाति नेताहरुले बोल्दै आएको छ । बास्तबमा डोने/दनुवारको पहिचान गुमेको छ । नेपालको मध्य पहाडी क्षेत्र बिशेषतः काठमाण्डौ उपत्यकाको डुकुछाप गाबिसको आदिबासी डोने/दनुवार जीउँदो इतिहास छ । त्यसैगरी काभ्रेपलाञ्चोक जिल्लाको पुरानो आदिबासी र सिन्धुपाल्चोकको डोने/दनुवारलाई नै भन्दै आएको कुरामा कुनै अर्को बिकल्प भेटिँदैन । मकवानपुरको राईगाउँको राईडोने/दनुवार, धादिङको नौबिसेको राईडोने हुँदै सिन्धुली, नुवाकोट, गोर्खा लगायत उदयपुरको कटारी, रिस्कु हुँदै सदरमुकाम गाईघाट र त्रियुगा नगरपालिकाको सबैभन्दा आदिमबासी डोने/दनुवारलाई प्रथम दर्जमा स्विकार गरेको छ ।


नेपालको आदिबासी/जनजातिको कित्तामा भाषिक लोप हुदै मौलिक संस्कार र संस्कृतिमा परसंस्कृतिले गाँज्दै गएको डोने/दनुवारहरु “आफ्नो मौलिक पहिचान बचाऔं, धर्मको खोजी गर, जातिय गुटबन्दी बनाऔं, भाषिक रक्षा गर, भेषभूषाको संरक्षण गर” भन्ने मूल मुद्दा लिएर जातिय उत्थानको लागि आजभन्दा स्रोह्र बर्षअगाडि जुरुमुराएका आवाजहरु केहि तथाकथित ब्यक्तिको षड्यन्त्रमा परी बिहारी संस्कृतिमा मिलान गराउने मतियारहरु समेत डोने/दनुवार समुदायमा खुलेआम भेटिए । डोने/दनुवारको मौलिक साँस्कृतिक पहिचानको छबिमाथि एनजीओ लादेर इतिहासमाथि ताण्डब नृत्य देखाउने सिंहहरु आज डोने इतिहासमा चिहानमाथि कराउनु मात्र हुन्छ । मधेशी जनैधारी सिंहहरुले जातिय संगठनमा पद र पैसाको मोह देखाएर डोने सँस्कार र पहिचानमाथि लात बजार्नेका लागि डोने/दनुवार संगठनले कालो इतिहासमा लेख्नेछ र काँही नभएको जात्रा हाँडीगाउँको भने झैं तराईको जनैधारी सिंह समुदाय जनजाति डोने/दनुवारभित्र पर्न सक्छ ? पर्न सक्छ भने कुन कालखण्डको ऐतिहासिक पहिचानको सम्बन्धले जोड्न सक्छ त ? नेपाल एकिकरण पूर्ब कालखण्डको इतिहासलाइ मान्ने हो भने पनि तराइका सिंह समुदाय डोने/दनुवारसग मेल खाँदैन भने किन एक भएर बस्ने ? भूगोलले साँस्कृतिक पहिचान बिर्सदैन । जनैधारी सिंहहरु देबको सन्तानहरु, पुर्खौली राजा हरिश्चन्द्र सिंह देबलाई पुर्खा मान्ने मधेशका सिंहहरु दुनक्षेत्रका डोने/दनुवार आदिबासी जनजाति सँग जातिय सम्बन्ध छ भनी लगन गाँठोमा बाँधिनु भनेको डोने समुदायलाई पहिचान र अस्तित्वमा गुमाईदिनु हो । यो तागाधारी मधेशी सिंहहरुको जातिय अभियान हो भनी मतवाली जनजाति नेताहरुको दाबी छ । डोने दनुवारहरुले पुर्खौली इतिहासमा सचेत हुनुपर्ने बेला आएको छ । पहिचानको सँस्कारलाई डोने/ दनुवार समुदायले जोगाउने अभियानमा एक जुट हुनु पर्ने बेला भएको छ ।

(लेखक उदयपुरबाट नियमित प्रकाशित हुने संघीय राज्य साप्ताहिकका प्रकाशक/कार्यकारी सम्पादक हुन् ।)

No comments:

Post a Comment