भूकम्पपीडित झन् पीडित कार्तिक २३, २०७२- वैशाख १२ गतेको भुइँचालो जाँदा बाबरे ६, दोलखाका प्रीतिबहादुर खत्री घरमै थिए। भाग्न खोज्दाखोज्दै घर गल्र्यामगुर्लुम लड्यो। उनलाई पुर्यो। केही घण्टामा उद्दार गरिएका उनलाई अर्को दिन सैनिक हेलिकप्टरबाट काठमाडौं लगियो। गम्भीर अवस्थामा राजधानी पुर्याइएका उनको केही दिन उपचार भयो। आफूलाई राखिएको ‘सिनामंगल भन्ने ठाउँको अस्पताल’ मात्र थाहा पाए उनले। कुन भन्ने मेसो पाउन सकेनन्। अस्पतालको नामभन्दा उपचार ठूलो कुरा थियो। त्यो भयो। उनको दाहिने हर नै खुस्किएको थियो। डिस्चार्ज गर्दा डाक्टरले भनेका थिए, ‘कम्तीमा एक वर्ष भारी कुरा नउचाल्नू।’
भारी कुरा नउचाल्नु भनिएका तिनै व्यक्ति केही दिनअघि बिगुमा चामलको भारीसहित भेटिए। बिगुसम्म गाडी चल्ने सडक थियो। भूकम्प र त्यसपछि गएको पहिरोले भत्काइदियो। अचेल बाबरेसम्म मात्र गाडी पुग्छ। त्यहाँबाट बिगु लैजानुपर्ने सामान मान्छेको थाप्ला र ढाडको भर पर्नुपर्ने बाध्यता छ। विश्व खाद्य कार्यक्रमले बिगुका भूकम्पपीडितलाई चामल लैजानु थियो। त्यसमा बाटामा पर्ने बाबरेका भूकम्पपीडितहरू उर्लिएर भरिया बने। आफ्नो निभेको चुलो छिचोल्दै गएको चामल बोकेर पाएको पारिश्रमिकले केही छाक दाउरा जोर्नुपर्ने उनीहरूको नियति थियो। अनिकाल सामना गरिरहेका सबै छिमेकीले बोरा बोक्न थालेपछि प्रीतिबहादुरले पनि हिम्मत गरेका थिए।
बिहान ४ बजे घरबाट हिँडेका उनले दिउँसो ३ बज्न लाग्दा ३० केजी चामलको बोरा बिगुमा बिसाए। ९ सय ३५ रूपैयाँ बुझे। र, दुखेको जिउ एकछिनलाई ढिस्कोमा अड्याए। ‘भारी नबोकी खानै नपाइने भयो’, खुय्य गर्दै उनले भने, ‘डाक्टरले भनेको सबै कुरा मान्नु हो भने पेट भोकै हुन्छ।’ उनलाई राति १० बजेचाहिँ घर पुगिन्छ कि भन्ने आस थियो। काम गरेपछि जिउ कटकटी दुख्ने र केही दिन थला पर्ने गरेको उनले सुनाए। त्यति लामो बाटो भारी बोकेर गएपछि हालत के होला भन्ने प्रश्नमा भने, ‘त्यो त सोच्दै नसोचौं।’
प्रीतिबहादुरको गाउँमा अहिलेसम्म सरकारले ९ केजी र उनैले नाम थाहा नपाएको कुनै संस्थाले ८ केजी चामल बाँडे। वडा नम्बर ६ का ८४ परिवारको खाने मेलो बनिबुतो र भारी नै हो। सबैजसोको घरमा अन्न छैन। भूकम्पपछि बिजुली बलेको छैन। राहतको सोलार र टुकीले उज्यालो धान्नु परेको छ। चिसापानी खोलाको मुहानबाट ल्याएको खानेपानी पनि पहिरोले उडाइदियो। उम्रेको पानी खोजेर बिजोगले गुजारा चलाउनु परेको छ। शौचालय जान पनि गाह्रो छ। गाउँको निकुभूमि उच्चमावि भत्किएकाले बालबच्चाले भुइँमै पढिरहेका छन्।
यो दोलखा बाबरेको मात्र समस्या होइन। प्रीतिबहादुरको मात्र पीडा होइन। भूकम्पपीडित हरेक गाउँ र व्यक्तिको हालत यस्तै छ। जुनसुकै गाउँमा पुग्नुहोस्– जाडो ह्वात्तै बढिसक्यो, पीडित परिवारका बालबच्चाका आङमा तातो लुगा छैन। केही दिनअघि सिन्धुपाल्चोक बाह्रबिसेको खानी गाउँ पुग्दा हिउँदे पानी परिरहेको थियो। कम्मरमाथि मात्र ढाक्ने एकसरो लुगामा बालबच्चा लुगलुग काँपिरहेका थिए। नाकबाट सर्दीको सिँगान बगिरेहेको थियो। सुताइ–बसाइ पातलो पालमा थियो। खाना पेट भर्न मात्र थियो, पोसिलो कुरा गर्नु बेकार थियो। जाडोकै कारण स्कुल जान नसकेको बताउने धेरै थिए। बुढापाकाको अवस्था उस्तै दयनीय थियो। दोलखाका बिगु, अलम्पु र बाबरेतिरको स्थिति पनि त्यही थियो।
भूकम्पको सुखद संयोग ठूला राजनीतिक दलहरू एक ठाउँ आए। संविधान बनाउन प्रतिबद्ध भए। भूकम्पपीडितले आफ्नो व्यथाभन्दा देशको व्यथा सल्टाउनुलाई ठूलो कुरा ठाने। संविधानपछि आफ्नो पालो आउनेमा ढुक्क भए। प्रक्रिया तीव्र गतिमा अघि बढ्यो पनि। संविधान बन्यो। नयाँ सरकार बन्यो। सँगसँगै भारतले नाकाबन्दी लगाइदियो। सरकारको ध्यान त्यतै केन्द्रित भयो। मधेसमा आन्दोलन तात्तियो। राजनीतिक क्षेत्र उतै चिन्तित भयो। इन्धन आउन छाड्यो। कहिलेकाहीं कसैकसैले गाडीमा हालेर चामल लैजान्थे, अब दाताले नै न गाडी पाउने भए, न चामल। नाकाबन्दीको सबैभन्दा चेपुवामा भूकम्पपीडित परे।
भूकम्पलगत्तै बरु दाताहरूको बाढी चलेको थियो। गाउँ–गाउँमा राहत सामग्री पुग्यो। देश–विदेशमा रहेका आफन्तले गाउँ सम्झिए। सकेको सहयोग लिएर गए। एनजीओ–आईएनजीओ जुर्मुराए। सरकारी निकायहरू सक्रिय भए।
अब त दाताहरूसमेत हच्किएका छन्। नाकाबन्दी जारी रहे राहत पुर्याउन नसकिने भइयो भन्न थालेका छन्।
कतिपयले त सरकारलाई सहयोग रद्ध गर्ने उल्टो चेतावनी दिन थालेका छन्।
यस्तो अवस्थामा सरकार स्वयंको ध्यान भूकम्पपीडिततिर जानु जरुरी छ। पीडितले आफूलाई बेरेका त्रिपाल फाटिसके। खाद्यान्न सकिए। बाहिर बस्न मौसमले साथ दिन छाड्यो। सरकारले न पुन: निर्माण गरिदियो, न झुपडी बनाउन सहयोग गर्यो। जसोतसो दिएको राहतको १५ हजार यताउतिमै सकियो। पहिरो जान सक्ने भएकाले बर्खामा होइन, दसैंपटिबाट घर बनाउन सघाउने भन्दै सरकारले थामथुम पारेको थियो। त्यो समय आइसक्यो। झट्ट हेर्दा सरकारसँग खास स्रोत त छैन, तर गैरकारी क्षेत्रबाट आएका वचनहरू पालना हुन बाँकी धेरै छन्। तिनलाई खोजेर, बजेट शीर्षक हेरफेर गरेर वा अन्य कुन उपायद्वारा हुन्छ, पीडितलाई राहत पुर्याउनैपर्छ।
प्रकाशित: कार्तिक २३, २०७२
No comments:
Post a Comment