Monday, November 2, 2015

नेपालको संविधानबाट मधेशीले स्थायी अधिकार कहिल्यै पाउँदैनन्


डा. सीके राउत (संयोजक,स्वतन्त्र मधेश गठबन्धन)
० अढाई महिना बितिसक्दासमेत मधेश आन्दोलनले एजेण्डा सम्बोधन गराउन सकेको छैन । किन होला ? 
— हामीले सुरूदेखि नै भन्दै आएका छौं कि मधेशको अधिकार नेपालको संविधानबाट कहिल्यै पनि प्राप्त हुँदैन । हामीले जतिसुकै आन्दोलन गरे पनि नेपालको संविधानबाट हामीले कहिल्यै पनि पूर्ण र स्थायी रूपमा अधिकार पाउन सक्दैनौं । 
० अहिले चलिरहेको आन्दोलनबाट कुनै उपलब्धि हुँदैन ?
— आन्दोलनको दबाबबाट केही अधिकार प्राप्त भइहाले पनि त्यो स्थायी रहँदैन । विगतदेखि अहिलेसम्म त्यही नै भइरहेको छ नि । देखाउनका लागि केही सम्झौता गरिदिने र संविधानमा केही संशोधन गरिदिने काम हुन सक्छन् । तर, अन्ततः मधेशीले केही पनि स्याथी रूपमा पाउने छैनन् । 
० विगतमा पनि मधेश आन्दोलन भएको थियो । केही वर्षको अन्तरालमा फेरि अहिले आन्दोलन भइरहेको छ । भनेपछि, मधेशीले पटक–पटक आन्दोलन गरिरहनुपर्ने अवस्था रहिरहनेछ ? 
— हो । यो अवस्था रहिरहनेछ । मधेशीहरू नेपाली साम्राज्यको अधिनमा रहिरहेसम्म आन्दोलन गरिरहनुपर्ने हुन्छ । अब आन्दोलनको दबाबबाट राज्यले अस्थायी रूपमा केही माग सम्बोधन गर्न सक्छ । तर, अन्ततः राज्यले दिइसकेको अधिकार पनि खोसेर लैजान्छ । उदाहरणका रूपमा नागरिकताको विषयमा मधेशीहरूले जुन अधिकार पहिला पाइसकेको थियो, त्यो अधिकार अहिलेको संविधानमा खोसिएको छ । यसरी नै यो प्रक्रिया चलिरहनेछ । किन भने, शासक वर्गले मधेशीमाथि औपनिवेशिक शासन लादेको छ । मधेशीहरूलाई समान अधिकार दिनुपर्छ, भन्ने मनसाय नै शासक वर्गले देखाउँदैन । त्यसैले मधेशीहरू नेपाली औपनिवेशबाट मुक्त नभएसम्म यो प्रक्रिया चलिरहनेछ ।   
० यो आन्दोलनबाट मधेशीका सबै माग राज्यले पूरा गरिदियो भने त फेरि पनि आन्दोलन गर्नु पर्दैन नि ?
— माग सम्बोधनको अन्तिम रूप भनेको सम्झौताका कुरा संविधानमै लेखाइदिने हो । तर, संविधानमा लेखाइ दिँदैमा मधेशीले अधिकार पाउने कुराको कुनै ग्यारेन्टी छैन । भर्खरै भएका घटनाहरूबाट पनि यो कुरा प्रमाणित हुन्छ । जस्तै, अन्तरिम संविधानको धारा १३८ मा अधिकारसम्पन्न स्वायत्त प्रदेशहरू हुनेछन्, भनेर लेखिएको छ । तर, यो कुरा अहिलेको संविधानले आत्मसात गरेको छैन । त्यसैले मधेशका लागि कुनै कुरा संविधानमा लेखाउँदैमा लागू नै हुन्छ, भन्ने छैन । जस्तै, मधेशीलाई नागरिकताबाट बञ्चित गर्नुपर्छ, भनेर त कतै लेखिएको छैन । सेनामा मधेशी भर्ना गर्नु हुँदैन, भनेर त कतै लेखिएको छैन । तर, पनि मधेशीलाई यी अधिकार खासै दिइएन । त्यसैले संविधानमा लेखाउँदैमा मधेशीले अधिकार पाउँदैनन् । 
० मधेशकेन्द्रित दलहरूले भनेको जस्तो ८ र २२ बुँदे सम्झौता कार्यान्वयन भइहाले पनि केही हुँदैन र ? 
— संविधानमा जेसुकै लेखाए पनि केही हुँदैन । किन भने सेना नेपाली शासक वर्गसँग छ । संविधानमा जे लेखाए पनि सेना लगाएर तत्काल खारेज गराउन सकिन्छ ।
० मधेशी जनता आन्दोलन छन् । सरकार तथा मधेशी मोर्चा आ–आफ्नै अडानमा छन् । अर्कोतर्फ मधेशीहरूको जनजीवन कष्टकर बनिसक्यो । अब मधेशकेन्द्रित दल र मधेशी जनता कसरी अगाडि बढ्नुपर्छ ? 
— मधेशकेन्द्रित दलहरूकै अगाडि संविधान जारी भएको थियो । यस्तो अवस्थामा उनीहरूले हाम्रो माग पूरा भइसक्यो, भन्नुपर्दथ्यो । यदि आन्दोलन जारी नै राख्ने हो भने माग परिवर्तन गर्नुपर्दथ्यो । र, त्यो माग स्वतन्त्र मधेशको हुनुपर्दथ्यो । पुराना माग बाँकी नै राखेर संविधान जारी भइसकेपछि आन्दोलन गर्नुको कुनै औचित्य हुँदैन । त्यसैले भिजन नभएको जस्तो यो आन्दोलन देखिएको छ । आन्दोलनकारीलाई समेत थाहा छैन कि केका लागि आन्दोलन भइरहेको छ । 
० मधेशकेन्द्रित दलले ८ र २२ बुँदे पूरा गर्नुपर्छ भनेर स्पष्ट रूपमा भनिरहेका छन् नि ?
— त्यस्तो होइन, माग नै सबैका फरक–फरक देखिएका छन् । कसैले ८ बुँदे, कसैले २२ बुँदे र कसैले ३५ बुँदै ल्याइदिन्छन् । जसलाई जे मन लाग्छ, त्यही गरिरहेका छन् । 
० मधेशकेन्द्रित दलहरू एकजुट हुन नसक्दा पनि आन्दोलन लम्बिएको हो ?
— यो आन्दोलनको भिजन नै छैन । भिजन नभएपछि गन्तब्यमा पुग्न सकिँदैन नि । 
० मागहरू एक, दुई, तीन गरी स्पष्ट रूपमा आउनुपर्दथ्यो ? 
— मागहरू नै प्रष्ट छैनन् । एक मधेश एक प्रदेशको नारा पनि उठेकै छ । दुई प्रदेश र तीन प्रदेशका कुरा पनि छन् । भनेपछि, स्पष्ट नभएपछि कसरी माग पूरा गराउन सकिन्छ । 
० त्यसो भए अहिले सरकार र मधेशी मोर्चाबीच जारी वार्ताले केही हुँदैन ? 
— वार्ताको औचित्य नै छैन । सम्झौता त पहिले नै भइसकेको हो नि । यदि शासक वर्ग इमान्दार भइदिएको भए विगतका सम्झौता कार्यान्वयन गर्न सक्थ्यो नि ।
० यो आन्दोलनबाट यदि दुई प्रदेश प्राप्त भयो भने पनि सबै अधिकार पाउने सम्भावना रहँदैन र ?
— मधेशभित्र एक, दुई, तीन वा १० वटै प्रदेश बनाउँदैमा केही हुँदैन । 
० तर, ती प्रदेशको बागडोर त मधेशीले नै सम्हाल्ने छ नि । होइन र ?
— यहाँ औपनिवेशिक समस्या छ । औपनिवेशिक समस्याको समाधान प्रदेश होइन । प्रदेश बनाउँदैमा सेना, शसस्त्र प्रहरीलगायत सुरक्षा निकायको अहिलेको रूप र संरचनामा परिवर्तन हुँदैन । अर्को ठूलो समस्या आप्रवासनको हो । मधेशमा पछिल्लो ६० वर्षमा पहाडीको संख्या ६ बाट ३६ प्रतिशतमा पुगेको छ । र, अबको २०–२५ वर्षमा झन् यो अवस्था बढ्न सक्छ । योसँगै ४० प्रतिशत मधेशीहरू पनि मधेशमा रहने छन् कि छैनन् त्यो भन्ने अवस्था छैन । 
० प्रदेश बनेपछि बसाइँसराइँमा कमि आउँछ नि ?
— कमि आउँदैन । झन् बढ्ने सम्भावना हुन्छ । किन भने मधेश प्रदेश बनिसकेपछि शासक वर्गले के सोच्छ भने, मधेश प्रदेशमा आफ्ना मान्छेलाई लगिएन भने यिनीहरूले जे पनि गर्लान् । र, यसबाट झन् अविश्वासको माहौल श्रृजना हुन्छ । यस्तो अवस्थामा पहाडबाट मधेश झर्नेको संख्या झन् बढाइनेछ । 
० मधेशीसँगको विभेद कम हुँदै गएको हो ?
— यसमा दुई वटा कुरा छन् । एकातर्फ विभेद घटेको छैन भने, अर्कोतर्फ मधेशीहरू नै विस्थापित भइरहेका छन् । मधेशीहरूसँगको ‘विभेदको दर’ र उनीहरूको ‘विस्थापनको दर’ लाई तुलना गर्नुपर्ने हुन्छ । ६०–६५ वर्षदेखि हामीले संविधानसभा र स्वायत्त प्रदेशका लागि लडिरहेका छौं नि । यस अवधिमा हामीले कति अधिकार पायौं त ? भएका अधिकार पनि खोसियो कि ? र, यसै अवधिमा कति मधेशी विस्थापित भए ? कति नागरिकताविहीन भए ? कति मृत्युवरण गर्न बाध्य भए ? ती कुरा पनि मूल्याङ्कन गर्नुपर्छ । त्यसैले, अधिकार प्राप्तिको दर ठूलो छ कि विस्थापित हुनेको दर ठूलो छ । मधेशमा ६० वर्षअघि ६ प्रतिशत मात्र पहाडी थिए । तर, अहिले हेर्ने हो भने, ३६ प्रतिशत पहाडी मधेशमा आएर बसेका छन् । जसले गर्दा मधेशीहरू विस्थापित हुन बाध्य भएका छन् । त्यसैले अब पनि हामी २०–२५ वर्ष कुर्न थाल्यौं भने कस्तो अवस्था आउला, भनेर हामी अनुमान लगाउन सक्छौंं । त्यसैले, विस्तारै विभेद हट्छ र सबै कुराको प्राप्ति हुन्छ भनेर कुर्न थाल्यौं भने, त्यतिञ्जेल मधेशीहरू नै विस्थापित भइसक्ने छन् ।
० पहिलो मधेश आन्दोलनदेखि अहिलेसम्मको अवस्थामा आइपुग्दाखेरी विभेद नघटेकै हो त ?
— विभेद घटेको छैन, बरू बढेको छ । 
० कसरी ?
— जस्तै, पहिला योग्य मधेशीलाई सरकारी जागिर पनि दिइन्थ्यो । तर, अहिले मधेशीलाई कोटा तिर धकेलिन्छ । कोटाले गर्दा ‘मधेशी’ भनेर व्यवहार गर्ने सम्भावना धेरै बढेको छ । यो आन्दोलनपछि त झन् मधेशीप्रतिको विभेदकारी दृष्टिकोण झन् बढेको छ । विगतमा केही योग्य मधेशीले जागिर पाउन सक्ने अवस्था पनि थिए तर, अब त्यो पनि रहेन ।
० पहिचान र अधिकार नपाएर मधेशीहरू पटक–पटक आन्दोलनमा उत्रिने गरेका हुन् ?
— मधेशीहरू दासत्वबाट मुक्त हुन आन्दोलन गर्दै आएका छन् । तर, नेतृत्वकर्ताले मधेशका एजेण्डाका विषयमा अस्पष्ट शब्दहरू राखेर दिग्भ्रमित गर्ने काम मात्र गरिरहेका छन् । ‘पहिचान’ र ‘अधिकार’ भन्ने शब्द धेरै सुनिन्छन् । अधिकारका कुरा गर्ने हो भने, अमेरिकाका मानिस पनि अधिकारका लागि लडिरहेका छन् नि । बेलायतका मानिस पनि अधिकारका लागि लडिरहेका छन् नि । यी शब्द अस्पष्ट छन् ।  अधिकारमा के चाहियो त, त्यो स्पष्ट हुनुप¥यो । पहिचान र अधिकार कसैले दिएर पाउने होइन । पहिचान र अधिकार आफैंले बनाउन सक्नुपर्छ । मधेशी भनेर हामीलाई हेपियो, नागरिक ठानिएन भनेर बच्चा जस्तो रूने नै होइन । मधेश राष्ट्र बन्यो भने पहिचान र अधिकार त आफैं स्थापित हुन्छ नि । 
० नेपालमा मधेशी मात्र होइन, कर्णालीका पहाडी समुदाय, पहाडका दलित समुदायहरू पनि त पीडित छन् नि ? 
— मधेशीको पीडा पहाडीको भन्दा एकदमै पृथक छ । पहाडमा गरिबी, अशिक्षा र  भोकमरी हुन सक्छन् । तर, तिनीहरू औपनिवेशिक शासनबाट प्रताडित छैनन् । जस्तै, पहाडमा जतिसुकै गरिबी भए पनि उनीहरूलाई अनागरिक बनाउने काम हुँदैन । कहिल्यै पनि हेपिदैन । जागिरबाट बञ्चित गरिँदैन । तर, मधेशीलाई जहिले पनि शंकाले हेरिन्छ । 
० मधेश आन्दोलनमा डा. सीके राउत देखिएनन् भनेर मधेशी जनताको गुनासो छ नि ?
— जुन बाटोबाट खाल्डोमा पुगिन्छ, भन्ने कुरा थाहा हुँदाहुँदै त्यही बाटोमा हिँड्नका लागि जनतालाई भन्न सकिँदैन । मैले सुक्ष्म विश्लेषण गरेको छु । मधेशी जनता अहिले हिँडिरहेको बाटोबाट अन्ततः खाल्डोमै पुग्छन् । त्यसैले हामी नेतृत्व लिएर हिँड्न सक्दैनौं । भोटका लागि अहिले पार्टीहरूले जे गरिरहेका छन्, त्यो काम हामी गर्न सक्दैनौं । हामी सही मार्गमा मात्र जनतालाई हिँड्न भन्छौं । 
० त्यसो भए, मधेशकेन्द्रित दलहरूले मधेशी जनतालाई दिग्भ्रमित पारेर आन्दोलनमा उतारेका हुन् ?
— हो । हरेक दृष्टिकोणबाट मधेशीलाई दिग्भ्रमित पार्ने कार्य भएको छ । 
० यो आन्दोलनमा तपाईंहरूको समर्थन छ ?
— विशेष गरी हामी नेतृत्व वर्गले मौनता नै राखेका छौं । र, मौनता भनेको आन्दोलनका लागि ठूलो समर्थन हो । 
० तपाईं मौन भए पनि गठबन्धनका कार्यकर्ता त यो आन्दोलनमा सहभागी छन् नि ?
— हेर्नुस् । हाम्रो गठबन्धनमा सबै पार्टीका मानिस छन् । आमजनता छन् । र, जनताको आन्दोलनमा तिनीहरू सहभागी हुनु स्वभाविक हो । त्यसमा हामीले कसैलाई पनि रोकेका छैनौं । 
० निकास के हो त ? 
— सबभन्दा पहिला मधेशकेन्द्रित दलका जिल्ला र स्थानीयस्तरका कार्यकर्ताहरू भ्रमबाट मुक्त हुनुपर्छ । स्वतन्त्र मधेशले मात्र समाधान दिन सक्छ, भन्ने कुरा लिएर अगाडि बढ्नुपर्छ । किन भने अब हेर्न केही बाँकी छैन । हामीले सबै कुरा हेरिसक्यौं ।
० तपाईंहरूको संगठनको आगामी रणनीति के छ ?
— हामी जनचेतना बढाउने क्रममै छौं । आन्दोलनका क्रममा पनि मधेशी नेताहरूले भ्रम श्रृजना गरेका छन् । हामीले त्यो भ्रमलाई चिर्ने प्रयास गरिरहेका छौं । प्रदेश समाधान होइन स्वतन्त्र देश नै समाधान हो, भन्ने कुरा मधेशीलाई बुझाइरहेका छौं ।
प्रकाशित मिति : २०७२ साल कार्तिक १३ गते शुक्रबार ।   

No comments:

Post a Comment