Thursday, November 19, 2015

चिसोको चपेटामा भूकम्पपीडित : तात्नै छाड्यो मन्डी


श्रीमती र छोरा-छोरी पाल्नको निम्ती राजनीती गर्ने तामाङ समुदायको नेताहरूको नाममा
यस्तो दयनिय फोटो देख्द पनि हाम्रो आँशु झर्छ भने उनिहरूको हालत के भएको होला ? ।
साङ्लीभञ्ज्याङको अस्थायी शिविरअघि घाम ताप्दै पीडित दम र खोकीका बिरामी ८७ वर्षीय सञ्जबहादुर तामाङ । भन्नुस यो तामाङ म्हेमेलाई राज्यले त हेरेन-हेरेन? आफूलाई तामाङ समुदायको नेता भन्ने तामाङ नेताहरूलाई नै थाहा छैन उस्को बिजोग ? ।
यहाँ प्रश्न उब्जेको छ, तामाङ समुदायको तामाङ नेताहरू के को निम्ती राजनीती गर्दै छ? के तामाङ समुदायको तामाङ नेताहरू आफ्नो श्रीमती, छोरा-छोरी पाल्ने काम गर्नको निम्ती मात्र राजनीति गरेको हो ? यदी त्यस्तो होईन भने बैशाख १२ र २९ गतेको भूकम्पमा परेर ११ लाख तामाङ जनता पिडित भएका छन् ।
तामाङ नेताहरूले खोइ ति भूकम्प पिडित तामाङ जनताको बाँच्न पाउने आधिकारको निम्ती आवज उठाई दिएको ? तामाङ नेताहरूले खोइ ति भूकम्प पिडित तामाङ समुदायको जनताको निम्ती काम गरेको ? छी तामाङ नेताहरू हो तिमीहरूलाई तामाङ समुदायको नेता भनेर तामाङ जनताको अघी आफ्नो नाम भजाउन अलिकती पनि लाज लाग्दैन? ।
अब तिमी तामाङ नेताहरूलाई तामाङ समुदायले बहिस्कृत गर्ने छन् तिरस्कृत गर्ने छन् । उस्तै परे यो बर्ष तामाङ समुदायको जनता टुँडिखेलमा ल्होछर मनाउन आउने छैन । उनिहरू आफ्नै घरमा आफ्नो भूकम्पमा परेर मृत्यु भएको परिवारको मात्र होईन आफूलाई तामाङ समुदायको नेता भन्ने तामाङ नेताहरूको श्रद्धा गरेर आफ्नै घरमा बस्ने छन् ।
................................................................
सिन्धुपाल्चोक— मंसिरको ठन्डीमा घमाइलो घाम प्यारो हुने नै भयो । त्यहीमाथि शीत चुहिने जस्तापाता ठोकिएको अस्थायी टहरोभित्र कठ्यांग्रिएको शरीर जाडो मौसमको कलिलो घाममा सेकाएर तताउन बाध्य छन्, यसपालि भूकम्पपीडित ।
बिहानीको ११ बज्न खोज्दैछ । सुदूरपूर्वबाट उदाएको सूर्यको किरणले बाक्लो जंगलको अग्ला लोठसल्ला र चिलाउनेको रुख छेड्दै स्याउलेको साङ्लीभन्ज्याङलाई घमाइलो बनाउन भ्याइसकेको छ। बिहानीको खाना खाइवरी साङ्लीभन्ज्याङवासी टहरोबाहिर घाममा मस्त छन् ।
ठन्डीले सताएपछि दुई दिनदेखि ज्वरोले थलिएका ४२ वर्षीय चित्रबहादुर खत्री टहरोअघि मन्डी ओढेर घुप्लुक्क सुतिरहेका छन् । बिरामी लोग्नेको स्याहारमा खटिएकी पत्नी जितकुमारीले एक गिलास मनतातो पानी थमाइन् । चित्रबहादुरले आँखै नखोली पूरै पानी घुटुघुटु पिइदिए र गिलास फुत्त भुइँमा राखे । 'घाँटी दुखेर पानी निल्नै मुश्किल पर्छ । भातको सितो त छिर्दैछिर्दैन,' सुन्निएका आँखाका डिल देखाउँदै उनले भने ।
घमाइलो लागे पनि घाम नाम मात्रैको । सिरिरि.... जंगलबाट आउने सिरेटोले घामको तापलाई चिस्याइदिँदो रहेछ । 'अ‍ैल्यै यस्तो ! पुस–माघको ठन्डी कसरी छल्ने हो कुन्नि ?' कमजोर शरीर टुसक्क बिसाउनसमेत हम्मे परेपछि मन्डीमै गुड्ल्किँदै चित्रबहादुरले सुस्केरा छाडे ।
त्यति नै बेला उनकै घर सामुन्नेको पीपलबोटको फेदमा बुढ्यौली शरीर अड्याएर बसेका ८७ वर्षीय सञ्जमान तामाङ खोक्न थाले ।
हिरिक्क बनाएर लामो खोकी थामियो ।
'उमेरले बूढो भए पनि शरीर बलियै थियो । यी बालाई पनि ठन्डीले भेटेछ,' बिरामी चित्रबहादुरछेउ आइपुगेका छिमेकी बेलबहादुर खत्री भन्दै थिए ।
वैशाख १२ को विनाशकारी भूकम्पबाट सर्वस्व गुमाएर घाँसेमैदान साङ्लीभञ्ज्याङ आइपुगेका स्थानीय डाँडागाउँवासी ठन्डीबाट कठ्यांग्रिन थालेका छन् । चिसोले घरैपिच्छे टन्सिल, रुघा, ज्वरो, दम र खोकीका बिरामी छन् । केटाकेटी र वृद्धवृद्धालाई जोगाउन हम्मे परेको छ ।
मौसम फेरिए पनि उनीहरुका दुःख र सास्ती फेरिएका छैनन् । बरु अनगिन्ति समस्याका चाङ थपिँदो छ । भलबाढीबीच उनीहरुले कहालीलाग्दो बर्खा गुजारे । टहरोभित्र पानी उम्रन्थ्यो, भल पस्थ्यो, सोहोर्दैमा हैरान थिए । हिँउदमा केही सुविस्ता हुने ठानेका थिए उनीहरुले । तर ठन्डी लिएर आएको हिँउदले अझ बढी सास्ती दिने संकेत गरिरहेको छ । भुइँबाट पानी उम्रन छाडेको होइन, जस्ताको छानो र जस्ताकै बारबेर गरी बनाइएको टहरोभित्र बिहानीपख शीतको सानो भलबाढी नै बग्छ ।
साउन दोस्रो साता त्यहाँ पुग्दा भूकम्पले सर्वस्व हरण गरेका चित्रबहादुर बलिया र फुर्तिला देखिन्थे । दुई सातादेखि अनुभव गर्न थालेको चिसो बढ्दै जाँदा उनी ज्वरोले शिथिल बनिसकेका छन् । ठमठम हिँड्ने वृद्ध सञ्जमान लौरोको साहराबिना शरीर घिच्याउन नसक्ने भइसकेछन् । प्रलयकारी भूकम्पमा मुश्किलले बाँचेका त्यहाँका १८ घरपरिवारलाई बढ्दै गएको ठन्डीले सात्तो लिइसकेको छ ।
'त्यत्रो भुइँचालोमा मरिएन, यो ठन्डीले सजिलै बाँच्न देलाजस्तो छैन,' ६३ वर्षीय बेलबहादुर संत्रस्त छन् ।
कति ठूलो द्विविधामा छन् उनीहरु । थातथलो फर्किजाउँ त पहिरोले घेरेको डाँडागाउँ चिरा र धाँजाले छियाछिया छ । फर्केर बस्न हुने, नहुने पत्तो छैन । साङ्लीभञ्ज्याङमै बसौं त जंगलभित्र टहरोको बसाइले चिसो सजिलै छलिनेवाला छैन । न बाक्ला लुगाफाटा छन् न गतिला ओढ्ने–ओछ्याउने । राहतमा पाएको केही थान मन्डी तात्दै तात्दैन । पुस–माघमा झन् ती मन्डीको के काम ?
'जमिन जाँचेर बस्न मिल्ने या नमिल्ने बताइदिए मात्रै विकल्प सोच्न सकिन्थ्यो,' जाडो छल्ने संरचनाको चित्र कोर्दै चित्रबहादुरले भने ।
एउटै कथा, चिसोकै बेथा
साङ्लीभञ्न्ज्याङमा मात्र ठन्डी छिरेको होइन । भूकम्पबाट सर्वाधिक जनधनको क्षति बेहोरेका सिन्धुपाल्चोकवासी चिसोले जस्ता र त्रिपालको अस्थायी संरचनामा गुँडुल्किन बाध्य छन् । समस्या त धेरै छन् । यसपालिको ठन्डीमा कसरी बाँच्ने भन्ने साझा समस्या र चिन्ताले सताइएका छन्, जिल्लाका भूकम्प पीडित ।
तत्काल शरीर लुकाउन बनाइएका अस्थायी टहरा नाम मात्रका छन् । सिरेटो छेल्दैन, साँझ परेपछि जस्ता र त्रिपालबाट शीत चुहिन थाल्छ । घर ढल्दा सबै पुरिएपछि पीडितसँग न्याना लुगाफाटा छैनन् । राहतमा पाएको मन्डी, ब्लांकेटले अहिलेसम्म जसोतसो काम दिए पनि पुस–माघको जाडो धान्दैन । केटाकेटी र बूढाबूढीलाई चिसोबाट कसरी जोगाउने भन्ने पिरलो छ । हरेक गाउँ र बस्तीमा पीडित बिरामी पर्न थालेका छन् ।
भूकम्पले क्षति नपु¥याएको मेलम्चीको नयाँ बजार, जेठल गाविसको मुडे र ठूलोपाखरको पाखर क्षेत्रका बासिन्दा मात्र आफ्नै घरमा छन् अहिले । पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्मका ७० हजारभन्दा बढी परिवार साढे सात महिनादेखि टहरोमा आश्रित छन् । झण्डै १ लाख ७० हजार जनसंख्या टहरोमुनि लुगलुग काँपिरहेको छ यतिबेला ।
माथिल्लो क्षेत्रका ३५ गाविस हिमाली क्षेत्रसँग जोडिएका छन् । तातोपानी, लिस्ती, फुल्पिङडाँडा, मार्मिङ, घोर्थली, लिसंखु, ठूलोधादिङ, गोल्चे, गुम्बा, हगाम, सेलाङ, हेलम्बु, किउल, भोताङ, गुन्सा, थाङपालकोट, इचोक, बरुवालगायत हिमाली गाविसमा चिसो ह्वात्तै बढेसँगै टहरोमुनिको जनजीवन कष्टकर बन्दै गएको छ । हिउँदमा त हिँउकै कहर झेल्नुपर्छ यी गाविसवासीले ।
न्यानो मानिएको बेंसी क्षेत्र नदीकिनारमा रहेकाले तुवाँलो, हुस्सु र शीतले ढाकिन्छ । भोटेकोसी, इन्द्रावती, ब्रह्मायणी, सुनकोसी लगायत नदीतटीय क्षेत्रका बस्तीमा तुवाँलो, हुस्सु र शीतले जाडो बढाउँदै लगेको छ ।
बर्खा र चाडबाडमा पीडितले टहरो थप व्यवस्थित र न्यानो हुने बनाउन फुर्सदै पाएनन् । भूकम्पलगत्तै बर्खे खेतीपाती सुरु भयो । दसैं, तिहार मनाइसक्दा बाली भिœयाउने चटारो सुरु भइसकेको छ । बर्खे बाली भिœयाएपछि खेतबारी खनजोत गरी गहुँ, तोरी, आलु लगाउने हतारो सुरु हुन्छ । त्यसैले भूकम्पपीडितले यसपालिको जाडो कष्टकर रुपमा टहराभित्रै बिताउने निश्चित छ ।
भूकम्पले ढलेका बस्ती अझै उस्तै छन् । खण्डहर घर र गाउँ जमिनमा सुतिरहेका छन् । खण्डहरसँगै बनाइएको टहरोमा पीडित जीवन गुजारा चलाइरहेका छन् ।
पुनःनिर्माण सुरु हुन सकेको छैन । सरकारले ल्याउने भनिएको भूकम्पप्रतिरोधी घरको डिजाइनको प्रतीक्षामा छन् सिन्धुवासी । डिजाइनसँगै सरकारले संरचना निर्माणमा दिने घोषणा गरेको २ लाख रुपैयाँ अनुदान र सस्तो ब्याजदरको बैंक ऋण सहज प्रक्रियाद्वारा उपलब्ध गराउन थाले तत्काल घर बनाउन थाल्ने सोचाइमा धेरै पीडित छन् ।
जाडो छल्न कतै–कतै परम्परागत ढुंगामाटोका घर निर्माण सुरु भइसकेका छन् । भोटसिपा, कुबिन्डे, सिपापोखरे, बाँडेगाउँ, स्याउलेलगायत गाविसमा ढुंगामाटोका घर बनिरहेका देखिन्छन् । परम्परागत शैलीका घर 'आफ्नालागि आफैंले चिहान बनाउनु' सरह भएको अनुभव सँगाले पनि सुरक्षित बास बाध्यता भएको पीडित बताउँछन् ।
'पुनःनिर्माण नथाले यस्ता चिहान बनिरहन्छन्,' बल्लाङ गाउँका सामाजिक कार्यकर्ता रामशरण अधिकारी भन्छन्, 'यसलाई रोक्न र पीडितको सुरक्षित बासका लागि संरचना निर्माण मापदण्ड, डिजाइन र घोषित रकम निकासालाई विलम्ब गर्नुहुन्न।'
http://www.nagariknews.com/breaking-news/story/48828.html

No comments:

Post a Comment