काठमाडौं: एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले यति छोटो समयमा सरकार गिराउन व्यवहारिक नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश विरोधी रबैया बढेको भन्दै असहज महसुस गर्न थालेका छन्।
एकातिर ओली र अर्कोतिर मधेश केन्द्रीत दलको आन्दोलनका कारण मुलुकको एकतामै अप्ठ्यारो परिसकेको उनको धारणा छ। यसबारे उनले संयुक्त मधेसी मोर्चाका नेतासँग शनिबार बिहान भएको वार्तामा खुलेरै आफ्नो द्विविधा पोखेका थिए।
दाहाललाई उद्धृत गर्दै वार्तामा सहभागी मोर्चाका एक नेताले भने, ‘तपार्इंहरूका मुद्दालाई सम्बोधन गरौं भने यति छिट्टै कसरी सरकार गिराउनु ? नगरौं भने मुलुकको एकतामै अप्ठ्यारो परिसक्यो।' दाहालले प्रधानमन्त्री केपी ओलीको उग्र मधेसविरोधी नीतिप्रति आफू असहमत रहेको पनि बताएका थिए।
दाहाललाई उद्धृत गर्दै ती नेताले भने, 'ओलीको उग्र मधेसविरोधी नीतिप्रति तपाईंहरू मात्र नभएर म पनि असहमत छु। मैले पटकपटक उग्र मधेसविरोधी नीति त्याग्न प्रधानमन्त्रीलाई आग्रह गरिसकेको छु।'दाहालले ओलीको नीतिप्रति आफू असहमत हुँदाहुँदै पनि यो सरकारको समर्थन गर्नु आफ्नो बाध्यता रहेको पनि बताएका थिए।
मुलुक बचाउन पनि वार्ताका लागि मोर्चाको सकारात्मक र निर्णयक भूमिका हुनुपर्नेमा उनले जोड दिएका थिए। दाहालले आफ्नो पार्टी पनि मोर्चाको भावनाअनुसार नै मधेस दुई प्रदेशकै पक्षमा रहेको बताएका थिए।वार्तामा सरकारी वार्ताटोलीका संयोजक एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भनेका थिए, ‘हाम्रो पार्टीले संघीयता स्वीकारेको थिएन तर स्वीकारेपछि तपाईंहरूले उठाएको दुई प्रदेशलाई पनि स्वीकार्न सकिन्छ।'
उनले व्यवस्थापिका संसद्मा रहेको संविधान संशोधनसम्बन्धी प्रस्तावका पक्षमा मोर्चालाई आउन पनि आग्रह गरेका थिए।वार्तामा सहभागी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सीमांकनका विषयमा मोर्चाले दिएको अवधारणाको कार्यान्वयनका लागि संविधान संशोधन नभएसम्म सत्ता पक्षको कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका थिए।
उनीहरूले झापादेखि पर्सासम्म र नवलपरासीदेखि कञ्चनपुसम्म दुई प्रदेश हुनुपर्ने अडान दोहोर्याएका थिए।वार्तापछि ठाकुरले अन्नपूर्णसँग भने, 'वार्ताको वातावरण बनाउन पनि पहिले सीमांकनका विषयमा संशोधन हुनुपर्छ।'
आफूहरू आइतबार कांग्रेस र एमालेसँग छुट्टाछुट्टै छलफल गरेर त्यसपछि एमाओवादी, कांग्रेस, सरकारी वार्ताटोलीका संयोजकसहितको बैठक हुने बताए।महेन्द्रराय यादवले मधेसको समस्या समाधान गर्न मोर्चासहित प्रमुख दलका शीर्ष नेताहरू रहने उच्चस्तरीय राजनीतिक समिति गठन स्वीकार्य हुन नसक्ने बताए।
मोर्चाका नेता र प्रतिपक्ष दल कांग्रेसका नेताबीच पनि शनिबार नै छलफल भएको छ। मोर्चाका नेताले तराईमा दुई प्रदेश आफूहरूको बटमलाइन भन्दै त्यसमा सहयोग गर्न कांग्रेसलाई आग्रह गरेका थिए। 'सीमांकन बटमलाइन भएको मोर्चाले धारणा राख्यो,' कांग्रेस सचेतक ईश्वरी न्यौपानेले भनिन्।
मोर्चाका नेताले कांग्रेसले अघि बढाएको दुईबुँदे संविधान संशोधनको प्रस्तावका बारेमा पनि आफूहरूसँग सल्लाह नगरेको भन्दै त्यसका कतिपय विषयमा असहमति रहेको बताएका थिए।'निर्वाचन क्षेत्र जनसंख्याका आधारमा हुनुपर्छ भन्ने हाम्रो धारणा हो,' सद्भावनाका नेता लक्ष्मणलाल कर्णले भने, ‘तर कांग्रेसले दर्ता गरेको प्रस्तावमा प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र हुने व्यवस्था छ, त्यसलाई कसरी मान्न सकिन्छ?'
छलफलमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नेताहरू आनन्दप्रसाद ढुंगाना, महेश आचार्यलगायत सहभागी थिए। त्यस्तै मधेसी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवलगायत थिए।
सीमामा मोर्चाको तालिमबारे नागरिक समाजको प्रश्न
काठमाडौं: नागरिक समाजका प्रतिनिधिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई उद्धृत गर्दै नेपाल-भारत सीमा क्षेत्रमा मोर्चाले तालिम सञ्चालन गरिरहेको एक भारतीय पत्रिकामा छापिएको समाचारबारे स्पष्ट गर्न मोर्चाका नेतासँग आग्रह गरेका छन्।
नागरिक समाजका प्रतिनिधिले मोर्चाका नेतासँग शनिबार भएको भेटमा त्यस्तो आग्रह गरेका हुन्। भारतीय पत्रिका इन्डिया टुडेले यादवसँगको कुराकानी भन्दै सीमा क्षेत्रमा मोर्चाले तालिम गरिरहेको समाचार प्रकाशित गरेको थियो।
यादवले भने त्यस कुरामा कुनै सत्यता नभएको बताएका थिए। नागरिक समाजका तर्फबाट डा. बाबुराम भट्टराई, पीताम्बर शर्मा, कृष्ण हाछेथू, सीके लाललगायतले मोर्चाका नेतालाई भेटेका थिए।
यादव 'त्यस्तो हावादारी कुरा आफूलाई थाहा नभएको' भन्दै टक्टकिएको लालले बताए। सीमा क्षेत्रमा हुने तालिममा भारतीय जनता पार्टीका केही नेताको समेत समर्थन रहेको उक्त पत्रिकाले छापेको थियो।
प्रकाशित: कार्तिक २९, २०७२
No comments:
Post a Comment