भारतमा अंग्रेजहरुका विरुद्ध १९४७ मा सिपाही
विद्रोह भयो, भारतीयहरुले अंग्रेज शासकमाथि हमला गरे, अंग्रेजी हुकुमतका
विरुद्ध हतियार उठाए । सशस्त्र विद्रोह भयो । तैपनि भारत स्वतन्त्र हुनमा
कति समय लाग्यो ? भारत १९४७ मा स्वतन्त्र भयो, लगभग ९० वर्ष लाग्यो- किनकि
गुलामी जीवन बिताइराखेका मानिसलाई संगठित हुन धेरै समय लाग्छ ।
गुलामीको
पीडामा बसेका मान्छे संगठित हुन सक्दैन, किनकि ऊ आजीवन गरिब र दुःखी रहँदै
आएको हुन्छ । त्यसैले तिनीहरुले महान् आदर्शवाद अंगाल्न सक्दैनन्, आज मौका
आयो भने ल मन्त्री बनौं 'आन्दोलन देखा जाएगा'-यो भावना हुन्छ-उनीहरुको
मन-मस्तिष्कमा । तर यो स्थिति सधैँभरि नै कायम रहन्छ, यस्तो हुँदै हुँदैन ।
तराईमा
२२ जिल्ला छन्- यी सबै २२ वटा जिल्लामा २२ वटा मधेशी पार्टी खुल्यो, मधेश
थिङ्किङ्को पार्टीहरुको संख्या बाइस वटै भयो भने ती सबै पार्टीमा कम्तीमा
दश-दश जना त नेता हुन्छन् नै । यस रुपमा अब २२० जना मधेशी नेताहरुले मधेशी
मागको नारा लगाए कि लगाएनन् ? सबै मधेशकै नारा लगाउँछन् । अलि-अलि डिफरेन्स
होला । यो पनि शासक, वर्गविशेष र जाति विशेषको लागि त नराम्रो लक्षण नै छ
नि ।
म
त के ठान्छु नेपालमा अल्पमत होइन, अल्पसंख्यक बाहुनहरुको शासन छ । यस यो
भयावह स्थितिबारे पहाड र मधेशका बहुसंख्यक जनता जागृत भइराखेको छ । मेरो
पनि भेट हुन्छ- शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, नेवार, थकाली,
मनाङ्गे र तराईका जातजातिका नेता, बुद्धिजीवी तथा सामान्य जनतासँग । मैले
के पाएको छु भने- सबैको दिमागमा यो 'बाहुनवादु तथा 'अल्पसंख्यक बाहुनहरुको
शासन' र 'राजनीतिक पार्टीहरुमाथि कब्जा'का प्रति भयङ्कर आक्रोश विद्यमान छ ।
त्यसैले अब यो स्थिति धेरै दिनसम्म कायम रहँदैन । म त शासक जातिका
नेताहरुलाई पनि पटक-पटक के सम्झाई रहन्छु भने भारतमा सन् १८५७ को सिपाही
विद्रोहको समय त्यति जागृति थिएन, अंग्रेजहरुको थिचोमिचो थियो र साथै
लोभ-लालच पनि थियो- त्यस कारणले अंग्रेजलाई धपाउन भारतीयहरुलाई ९० वर्षको
समय लाग्यो ।
तर
आजको शिक्षित-जागृत जनता, तेज मिडिया र हतियारको बिगबिगीको युगमा त्यति
समय लाग्दैन । लगभग साढे दुई सय वर्षदेखि कायम शाहवंशी राजाको राजसिंहासन र
महत्वाकांक्षी राजा ज्ञानेन्द्रको तानाशाही शासन मात्र १९ दिनको आन्दोलनमा
ध्वस्त हुन सक्छ भने, यो एउटा जातिविशेष-बहुल अल्पसंख्यकको शासन धराशायी
पार्न नेपालको ९० प्रतिशत शासित-शोषित पहाडी-मधेशी जनतालाई कति समय लाग्छ ?
म त भेट्न आउने पहाडी-मधेशी नेताहरुलाई पनि भन्ने गर्छु कि धैर्य,
इमानदारी र साहसका साथ आफ्नो हक-अधिकारको लडाइँ जारी राख्नुहोस्,
तपाईहरुलाई ९० वर्ष लाग्दैन- हो ९ वर्ष त लाग्न सक्छ ।
फोरमको
नाउँमा माओवादीहरुसँग मिलेर भूमिगत गतिविधि चलाई राखेको विराटनगर जेसिज
प्राइमरी स्कूलको एउटा मामूली मास्टर उपेन्द्र यादवको आन्दोलनलाई हेर्दा त
के लाग्छ भने परम्परादेखि चल्दै आएको, यो अल्पसंख्याकको शासन र राजनीति'
एउटा मामूली झट्कामै समाप्त हुन सक्छ । किनकि आन्दोलन चर्किनुअघि
पहाड-मधेशका आम जनताले उपेन्द्र यादवको नाउ पनि सुनेका थिएनन् । तैपनि के
एकै रातमा यत्रो ठूलो क्रान्ति भएन र अब फेरि योभन्दा ठूलो क्रान्ति हुन
सक्दैन ? यो कुरा त म मान्दिन । आज त ठाउँ-ठाउँमा सशस्त्र समूह खडा भइसकेको
छ । तिनीहरुलाई डाँका किन न भन्नुहोस् ? तर उनीहरुले नारा त मधेशकै
लगाउँछन् । यो माओवादीहरुको 'तथाकथित क्रान्ति या विद्रोह' असफल भइदिएको भए
विद्रोहको आरोपमा समातिएका नेताहरुलाई फाँसी हुन्थ्यो । तर ती सबैले
सम्झौता गरेको छन् र राजसुख भोगिरहेका छन् । भारतको भगत सिंहलाई
अंग्रेजहरुले देशद्रोही घोषणा गरे र फाँसी दिए, तर भगत सिंह आज भारतको महान
शहीद तथा देशभक्त हुन् ।
त्यसैले
जसलाई अहिले नेपालका नेता, पुलिस तथा मिडिया सशस्त्र गिरोह भन्ने गर्छन्,
उही भोलिको सशस्त्र क्रान्तिकारी साबित हुन्छन् । समयको कुरा हो, जित्यो
भने क्रान्तिकारी- हारे भने डाँका, अनि फाँसी । जुन मधेशी एउटा लट्ठी लिएर
नेपाली सेना- पुलिसको सामुन्ने जान हिम्मत गरेका थिएनन्, त्यही मधेशमा दलित
र शासनको थिचोमिचो भोगिरहेको जातिको- डोम, दुसाध र मुसहर जातिका केटाहरुले
रिभल्वरबाट नेपाली पुलिसलाई गोली हान्ने गरेको छ- मनोबल यति उच्च भइसकेको छ
। त्यस कारणले मलाई कहिले पनि लाग्दैन कि मधेशको आन्दोलन समाप्त भयो ।
मूलबासी दृष्टिकोण ( ताम्सालिङ विशेषाङ्क )को १५ औं पृष्ठबाट साभर ।
मूलबासी दृष्टिकोण ( ताम्सालिङ विशेषाङ्क )
सम्पादक: कृष्ण बहादुर तामाङ, पृष्ठ संख्य: १२०
प्रकाशक: मुलबासी राष्ट्रीय महासंघ, नेपाल
http://www.samabad.com/index.php
No comments:
Post a Comment