Monday, February 3, 2014

दबाबमा कांग्रेस, अडानमा एमाले

' यस्तो छ सुशीललाई सघाउन एमालेको अडान '
काठमाडौं, माघ २१– राष्ट्रपति रामवरण यादवले सहमतिय सरकार गठनका लागि दिएको एक साता समयसीमा भित्र दलहरुबीच सहमति हुन नसकेपछि प्रक्रियागत रुपमै सरकार गठन प्रक्रिया बहुमतिय प्रणालीमा पुगेको छ । सोमबार राष्ट्रपतिले समय नतोकिकनै बहुमतिय प्रक्रियामा जान आह्वान गरेलगत्तै सो प्रक्रिया सुरु भएको हो ।

यससँगै संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व आफूले गर्न पाउने दाबीसहित नेपाली कांग्रेसले पहल थालेको छ ।
यद्यपी कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्न त्यति सजिलो छैन । सम्मानजन स्थान दिए कांग्रेसलाई सघाउने बताएको प्रतिस्पर्धी दल एमालेलाई रिझाएर अघि बढ्नु पर्ने हुन्छ । कांग्रेस एमालेले सरकार तथा संविधान लेखनलगायतका काममा सहकार्य गरेर अघि बढ्ने सहमति गरेपनि शक्ति बाँडफाँड र सरकार गठनलगायतका विषमया दुवै दलबीच ठोस सहमति भने हुन सकेको छैन भने नयाँ जनादेश अनुसार राष्टपति, उपराष्टपति लगायतको पनि निर्वाचन गर्नुपर्ने एमालेले बताउँदै आएको छ । यस्तै कांग्रेसले सरकारको नेतृत्व गरेको खण्डमा राष्टपति एमालेले पाउनुपर्ने स्वाभाविक भएको उसले तर्क गर्दै आएको छ ।
एकीकृत नेकपा (माओवादी), राप्रपा नेपाल र फोरम नेपालले सरकारमा सहभागी नहुने घोषणा गरिसकेको अवस्थामा आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसले अव एमाले र साना दलको सहयोग लिएर सरकार बनाउनुको विकल्प छैन । त्यसको लागि ‘वार्गेनिङ’मा रहेका एमालेको मागलाई कसरी कांग्रेसले सम्बोधन गर्छ भन्ने चासो बढेको कतिपय विष्लेशकको भनाई छ ।
यसो त कांग्रेसले मंगलबारको लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरी एमालेलगायतका दलसँग गर्ने वार्ता, सरकार गठन र त्यसको स्वरूपलगायतका विषयमा आधिकारिक धारणा तय गरिने कांग्रेस उपसभापति राचन्द्र पौडेलले बताए ।
बैठकमा शक्ति बाँडफाँड तथा समसामयिक विषयमा समेत छलफल हुने उनले जानकारी दिए ।
कांग्रेसको तर्फबाट सभापति सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार छन् । संसदीय दलको नेतामा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गरेसँगै कोइरालालाई प्रधानमन्त्री हुने बाटो खुलेको थियो । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री हुने प्रावधान छ ।


No comments:

Post a Comment