Friday, February 7, 2014

पहिचान विरोधीलाई भोट नहाल्नु: गोले

नेपाल तामाङ घेदुङका पूर्वाञ्चल प्रमूख मोहन गोलेले सम्पूर्ण आदिवासी समुदायलाई आसन्न दोश्रो संविधानसभाको निर्वाचनमा पहिचान विरोधी पार्टीलाई भोट नहाल्न आग्रह गरेकाछन् । हामीले पहिचान विरोधीलाई भोट हालेर ठूलो मान्छे बनाउदा उल्टै हाम्रो भाग्य र भविष्यमाथि खेलवाड गरेको आरोप लगाउदै उहाँले अब त्यस्तो गल्ती गर्न नहुने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ गाउ समन्वय परिषद् कटारीले १९ औ विश्व आदिवासी दिवसको अवसरमा गत साउन २५ गते कटारी बजारमा आयोजना गरेको विशाल समारोहलाई प्रमूख अतिथिको आसनबाट सम्बोधन गर्दै गोलेले उक्त कुरा बताउनुभएको हो । चारदलीय सिन्डीकेटको राजनीतिप्रति निकै आक्रमक देखिएका गोलेले अगाडि भन्नुभयो- ‘पहिचान विरोधी पार्टीका केही बाह्रमासे जोगीहरु फेरि निर्वाचनको नाममा जनता भुल्याउन गाउ पसेकाछन्, तिनीहरुलाई कुकुर लगाएर लखेट्नोस’ ।
 
पहिचान विरोधी एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेकै कारण संविधानसभा बिघटन भएको दावी गर्दै गोलेले एमालेको बहुपहिचान ‘मिसाउ र शासन गर’ को सुत्रमा आधारित रहेको खुलासा गर्नुभयो ।
एकात्मक राज्य व्यवस्थामा एउटै जातिलाई ‘फुटाउ र शासन गर’ को सुत्र प्रयोग गर्नेहरुले नै संघीयतामा लिम्बुवान, किरात, कोशी प्रदेशको खाका अघि सारेर ‘मिसाउ र शासन गर’ को नीति लिएको उहाँको दावी थियो ।
‘एमाओवादीलाई आदिवासी समुदायको भोटले ठूलो पार्टी बनाएपनि उसले विदेशीको इशारामा द्वन्द्वकालमा उठाएको मुद्दा छाड्दै गएको छ’, उहाँले अगाडि भन्नुभयो-‘त्यस्तै नेपाली कांग्रेस स्पष्ट पहिचान विरोधीको रुपमा देखियो’ । अझैपनि तिनै पार्टीको पछि लाग्नु भनेको भावी समृद्ध नेपाललाई २ हजार वर्ष पछाडि धकेल्नु हो, उहाँको कथन थियो ।
कार्यक्रमका अर्का वक्ता तथा विशेष अतिथि आदिवासी बुद्धिजीवी कुमार सिंह राईले पहिचान रक्षाको लागि आदिवासी समुदायले आफ्नै नेतृत्वमा आन्दोलन गर्नुपर्ने बताउनुभयो । ००७ सालदेखि २०६३ सालसम्म अर्काकै लागि आदिवासी समुदायले लडेको र केही नपाएको बताउदै उहाँले अव एकपटक आफैले लडेर स्वशासन लिनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सुनुवार सेवा समाजका जिल्ला अध्यक्ष नेत्रकुमार सुनुवार, कटारी गाविसका पूर्व अध्यक्ष रामकुमार राई, सचिव गंगाप्रसाद पोखरेल, स्थानीय नेता बुद्धराज राई, नेपाल तामाङ घेदुङका क्षेत्रीय सदस्य मेखबहादुर तामाङ, भुजेल सेवा समाजका केन्द्रीय सदस्य मनकुमारी भुजेल, आदिवासी जनजाति महासंघ गाउ समन्वय परिषद् सिरीसेका अध्यक्ष इन्द्र थापामगर, त्रिवेणीका अध्यक्ष इमबहादुर तामाङ, रिस्कुका अध्यक्ष कमलबहादुर माझी र एक दर्जन बढी आदिवासी नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आदिवासीका गीत/नृत्य, झाँकी प्रस्तुत गर्नुका साथै हजारौको संख्यामा सहभागी जुलुसले विभिन्न नारा सहित कटारी बजार परिक्रमा गरेका थिए । आदिवासी जनजाति महासंघ कटारीको अध्यक्ष दिपककुमार माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघका सचिव तथा स्थानीय सञ्चारकर्मी रिषी राईले गर्नुभएको थियो ।

No comments:

Post a Comment