Tuesday, February 4, 2014

खुल्लमखुल्ला यौनधन्दा


जुसपसलमा एक गिलास जुस माग्दा तपाईंलाई पसलेले 'केटी चाहिन्छ?' भनेर सोध्यो भने? कस्मेटिक पसलकी साहुनीले लिपस्टिकमात्रै होइन, लिपस्टिकवाली पनि पाइन्छ भनेर कटाक्ष गरिन् भने? चियापसलमा चियासँगै यौवनको पनि चुस्की लगाउन पाइने कुरा चल्यो भने? तपाईं छक्क पर्नुहोला। तर, अब धेरै छक्क पर्नुपर्दैन। राजधानीमा यौन व्यवसायले यति धेरै जरा र हाँगाबिँगा फैलाइसकेको छ कि यहाँ सामान्य चियापसल पनि दलालीका अखडा भएका छन्। सिंगो राजधानी यौनधन्दाको खुला बजारजस्तो भएको छ। एक हप्तासम्म अम्मर जिसी ग्राहकको भेषमा यो जाडोमा राजधानीको यौन तापमान बुझ्न विभिन्न अखडामा पुगेका थिए।

लिपस्टिकसँगै लिपस्टिकवालीको व्यवस्था 
काठमाडौँ, सुन्धारास्थित सिभिल मलको आडैमा भर्खरै खुलेको नागस्थान मिनी मार्केटभित्र एउटा कस्मेटिक पसल छ। पसलको सोकेसमा दुई चार पिस क्रिमका बट्टा, स्याम्पू र केही अन्य कस्मेटिक आइटम देखिन्छन्। 'यस्तो भित्र पनि कस्मेटिक पसल चल्छ र दिदी?' शुक्रवार संवाददाताले जिज्ञासा राख्यो। 'चलाउन जानेपछि चलिहाल्छ नि भाइ,' पसल सञ्चालक महिलाले भनिन्, 'यसो साथीभाइ, दिदीबहिनी आउँछन्। उनीहरूले किन्छन्।' पसलमा अन्य तीन जना युवती देखिएपछि फेरि सोधियो, 'यति सानो पसलमा कर्मचारी त टन्नै हुनुहुँदो रहेछ नि त?' 
'चाहियो नि काम गर्ने यिनै त हुन् नि। भाइलाई पनि मन पर्यो कि?' महिलाले अस्वाभाविक कटाक्ष गर्दै भनिन्। 
व्यापारिक संभावनाको हिसाबकिताब गर्नेले त्यस्तो ठाउँमा कस्मेटिक पसल थाप्नु मूर्खता ठान्लान्। तर, उक्त पसलकी साहुनी भन्छिन्, 'व्यापार भव्य छ।' तर, त्यहाँ लिपस्टिक र क्रिमपाउडरको होइन, शृंगार सामग्री लगाउने युवतीको यौवनको हुँदो रहेछ।
सबैको आँखामा त्यो कस्मेटिक पसल भए पनि अनुभवी ग्राहकले त्यो यौन व्यापार केन्द्रको 'शोरुम' भएको प्रस्टै थाहा पाउँछन्। ‘के छ ओ भाइ? धेरैपछि भेट भयो त,’ एक जना अधबैँसे संभावित ग्राहकसँग चिनेजस्तो गरेर बोलिहालिन् उनले। छोटो भलाकुसारीपछि उनले भनिन्, 'सामान(केटीहरू)को सर्टेज छ, मन भए भनिहाल्नुस्।’ सानो त्यो पसलमा कम्तीमा तीन जना 'साहुनी' सधैँ बसेका हुन्छन्। अधबैँसेले भने, ‘कति पैसा लाग्छ, ठाउँ कहाँ छ?' उनले भनिन्, ‘तीन सय कोठा भाडासहित १८ सय रुपैयाँ लाग्छ।' 
दिउँसै यसरी ढुक्कै व्यापार गरिरहेकी उनीसँग 'प्रहरीले छापा मार्छ कि?' भनेर सोधियो। उनले संवाददातालाई पनि संभावित ग्राहक ठानेकीले निर्धक्क भनिन्, 'यो एरियामा आउने त्यही एक जना सइसा'प हो। उहाँलाई चिनेकै छौँ। छापा मार्ने योजना भए म्यासेज आइहाल्छ।' उनको छेउमै एक किशोरी धागो कात्न सघाइरहेकी थिइन्। नाम पारु बताउने उनले संवाददातालाई भनिन्, 'जाऊँ न दाइ।' कम उमेरकी देखिइने उनले आफूसँग धन्दाको दुई वर्षको अनुभव भएको बताइन्। सिन्धुपाल्चोक घर बताउने उनले प्लस टू पढ्दै गरेको पनि बताइन्। ‘बिहान कलेज गइन्छ। दिउँसो जब गर्न आइन्छ,' उनले भनिन्। 
‘के गफ दिइ'रा, भाइ। जाने हो कि होइन?’ दिदी झर्किइन्। त्यहाँ रहेकी युवती मन नपरेको बताउँदै थप सोधियो, ‘दिदी भर्जिन पाइन्छ?’ उत्तर कडा थियो, ‘जिन नपाएर हैरान भइरहेका बेला केको भर्जिन नि? यिनी पनि भर्जिनभन्दा त के कम छिन् र!’ संवाददाताले साथीहरू आउँदैछन् भनेर कुरा लम्ब्याए पनि उनी हतारिन थालिन्, 'साथीलाई चाँडो बोलाउनुस्।' आफूकहाँ 'होम डेलिभरी'को पनि व्यवस्था भएको भन्दै उनले नम्बर टिपाइन्। 
ब्युटी पार्लरका ब्युटीहरू
काठमाडौँ, खिचापोखरीको छेउमा एउटा ब्युटी पार्लर छ। ब्युटी पार्लरमा महिलाको भीड हुनुपर्ने हो। तर, त्यहाँ केटाहरूको आउजाउ बाक्लो देखिन्छ। ‘दिदी, के छ हालखबर?,’ भर्खरै आएका एक युवकले सोधे। लिपिस्टिकले ओठ चम्काउँदै गरेकी एक अधबैँसे महिलाले जवाफ फर्काइन्, ‘ज्यानलाई त ठीकै छ तर व्यापार छैन। बोनी गर्ने हो?’ आफ्नो नाम शीला बताउने उनी दिउँसोको ३ बजेसम्म बोनी नभएको सुनाउँदै चुकचुकाउँदै थिइन्। ‘बोनी भा’छैन भन्नुहुन्छ, मुखैभरि लिपिस्टिक र गाजल लतपतिएको छ नि?’ ती युवक जिस्किए। ‘त्यो मोरो पुरानो रेगुलर ग्राहक हो। पहिला धेरै खर्च गर्थ्यो। आज भुक्का छु भन्यो। पैसा लिइएन।’ 
आफू भर्खर थाकेर आएको बताउँदै 'मन भए माल’ छानेर गइहाल्न आग्रह गर्दै थिइन्। सोही पसलमा रहेका दुई युवतीतिर औँल्याइन्, ‘माइलीको कोठा भाडासहित दुई हजार। कान्छी चाहिने भए त्यो भन्दा पाँच सय बढी।’ उनका अनुसार माइलीभन्दा कान्छीलाई धेरैले रोज्ने भएकाले उनको रेट महँगो छ। जिउ तन्काउन भन्दै शीला बाहिर निस्केका बेला कान्छीले मुख फोरिन्, ‘गफ दिन्छे दलाल्नी बूढी! दिउँसो दुई टि्रप मारिसकियो। माइलीको पनि एक भइसक्यो।’ एकैछिनमा तीन युवा देखापरे र तीन जनाका लागि पाँच हजार रुपैयाँ दिए। 
पार्लरमा रहेका दुई जना युवतीलाई केटाहरूले बाइकमा हुइँक्याएपछि उनले लोप्पाको इशारा गर्दै संवाददातालाई भनिन्, ‘देख्यौ त भाइ। अचेल मालको अभाव भा’बेला एकछिन पनि स्टक रहन्न। अघि नै तिम्लाई जाऊ भनेको मानेनौ।' उनले अब चाहेर पनि मिलाइदिन नसक्ने भन्दै अन्तै खोज्न आग्रह गरिन्। भन्दै थिइन्, 'डे ड्युटीवाला सकिए। नाइटवालासँग जाने हो भने एकछिन कुर्नुपर्छ।'
एयरपोर्टमै सत्कार
चार वर्षको दुबई बसाइपछि स्वदेश फर्केका दाङका राहुल घर्तीलाई एक अपरिचित युवतीले 'स्वदेशमा स्वागत छ' भन्दै एयरपोर्ट गेटमै बुके थमाइन्। उनका आफन्त, साथीभाइ कोही पनि काठमाडौँमा नभएकाले उनी होटलमा जाने तयारी गरिरहेका थिए। एक्कासि बैँसालु युवतीको सत्कार अनौठो लाग्यो। उनले चिनजान गरे। युवतीले आफ्नो परिचय दिँदै होटलको र आफ्नो गरेर जम्मा पाँच हजारमा एक रात कटाउन पाइने अफर गरिन्। दिउँसो भएकाले उनी डराएनन्। केटीकै स्कुटरमा बसेर गौशालाको एउटा होटल पुगे। स्वदेश फिरेको पहिलो रात रमाइलो भएको कुरा साथीलाई सेयर गरेका थिए। उनका साथी संगम (नाम परिवर्तन) मार्फत सम्पर्कमा आएका उनले घाँटीमा माला वा खादा नभएका परदेशीलाई यस्ता युवतीले नजर लगाउने बताए। उनले भने, 'मलाई पनि रहर थियो, खोज्नुपर्ला जस्तो लागेको थियो। शिकार आफैँ आएपछि छाड्न मन लागेन।' अपरिचित युवतीको पछि लाग्दा डर लागेन? भन्ने प्रश्नको उत्तर दिँदै भने, 'विश्वस्त पार्नका लागि होटलको भिजिटिङ कार्डमा रहेको ल्यान्डलाइन नम्बर सम्पर्क गराएकी थिइन्।' 
आकाशेपुलमा बार्गेनिङ
‘पाँच सयमा मिल्दैन। अर्को चोटि बढी दिउँला नि,’ एक युवा गोंगबुस्थित नयाँ बसपार्कको आकाशेपुलको भित्तामा अडेस लगाइरहेकी युवतीलाई भनिरहेका थिए। साँझको ६ बज्नै लागेका थियो। आकाशे पुलमा यस्तो बार्गेनिङ सुरु भइसकेको थियो। युवतीले 'हजारभन्दा घटी हुन्न' भनेर अड्डी कसेपछि पुलबाट बाटो क्रस गरिरहेका बटुवाहरू त्यतै हेरिरहेका थिए। ती युवती निर्धक्क भन्दै थिइन्, 'दलालको हात पर्यास भए दुई हजारभन्दा माथि पर्थ्यो।' बटुवाले घेरेपछि बार्गेनिङ गरिरहेका युवा लजाएर निस्किए। 'सधैँ यस्तै सुन्नुपर्छ, अन्त गएर कुरा गर्याज भए हुने नि,' एक अधबैँसे भुतभुताएर बाटो लागे।
होटल र चियापसलमा सेटिङ 
‘आधा घण्टाका लागि पनि कोठाको पूरा भाडा तिर्नुपर्ने? अलि मिलाउनुस् न,’ बसपार्कस्थित एक होटलमा बार्गेनिङ गरिरहेका थिए एक अधबैँसे। उनीसँगै आएकी युवती भन्दै थिइन्, ‘यहाँ त यस्तै हो। कोठामा छिर्नेबित्तिकै पूरा चार्ज लाग्छ।’ कोठा खर्च पाँच सय लाग्ने भयो उनीहरूलाई। ‘तनाव कम गर्न भनेर कहिलेकाहीँ यता छिरिन्छ। गोजी रित्तै पारिदिन्छन्,’ होटलको इन्ट्रीबुकमा राजु नाम बताएका ती अधबैँसले भने। बाहिरबाट ल्याउने झन्झटै नगरेको भए सस्तोमैं मिल्ने होटल सञ्चालकको दाबी थियो।
कलंकी चोकको भित्रपट्टि एउटा सामान्य चिया पसल छ। चिया पसलमा काम गर्ने युवती भने धेरै छन्। पहिलो चोटि त्यहाँ जाने त्यति सानो पसलमा धेरै स्टाफ देखेर छक्क पर्छन्। तर, त्यो बिहान चियाको स्वाद होइन, यौनको स्वाद पनि पस्किने ठाउँ हो। त्यहाँ आउने चियाका पारखीसँग बार्गेनिङ गरेर नजिकैको होटलमा पठाउने बन्दोबस्त मिलाइरहेका थिए, चिया पसलका साहूजी। चिया अर्डर गरेका एक अधबैँसेलाई उनी भन्दै थिए, 'चियाले मात्रै जाडो थामिन्छ र सिया पनि छन् नि यहाँ!' ती शुद्ध चियाका ग्राहक परेछन्, प्रतिक्रिया दिएनन्। साहूजीले भने, 'चिया पसल गरेर मात्रै काठमाडौँमा परिवार पाल्न मुस्किल छ। पहिला ग्राहकको आग्रहमा काम थालेका हौँ। अहिले त सबै त्यसैको आशले आउँछन्। त्यसैले नयाँ–नयाँ केटी कन्ट्याक्टमा राख्ने गरेका छौँ।'
मसाज 'ससाज' 
मसाजलाई यौन व्यवसायबाट मुक्त गरिएको दाबी गर्छ प्रहरी। तर, मसाज मात्र गर्ने मसाज सेन्टर भेट्न मुस्किल पर्छ ठमेलतिर। ठमेल चोकमा एक जना स्थानीयलाई ‘मसाज सेन्टर कता छ?’ भनेर सोध्दा उनले एक जँड्याहातिर औँलो सोझ्याए। ‘आउनुस् सेक्सी मसाजमा लगिदिन्छु,’ त्यो जँड्याहाले ‘बडी मसाज’ लेखिएको घर नजिक लिएर कमिसन माग्न थाल्यो। एक जना साथी आएपछि मात्र भित्र छिर्ने बताएपछि त्यो दलाल कड्कियो, ‘यस्ता भिखारी पनि ठमेलमा त्यस्तो गर्न आउने!’ पहिलो तल्लामा रहेको त्यो मसाज सेन्टरको दुइटा झ्यालबाट दुई युवती चिहाइरहेका थिए। हातले इशारा गरेर बोलाए। माथि जाँदा एक जनाले भनिन्, ‘मन परेनन् मालहरू?’ त्यसको केही तल चोकको भित्रपट्टि ‘ट्र्याडिसनल’ नामक मसाज सेन्टरबाट पनि एक सेतो ज्याकेट लगाएकी केटीले बोलाइन्। ‘छानीछानी गर्न पाइन्छ मसाज ससाज दुवै,’ चार जनाको समूहमा रहेका केटीहरू बोले, ‘यहाँ गरे पनि होटलतिर गरे पनि। आफ्नो रोजाइ।’ 
यस्ता मसाजसँग 'ससाज' चलाउनेका दर्शक ठमेलका फ्यान्सी पसल सञ्चालक सुरज पाठक सीधै यौनधन्दा भनेर खोल्न दिए राम्रो हुने बताउँछन्। ‘मसाज भन्ने जे पायो त्यही गर्न दिने। यस्तो भन्दा त बरु कुनै निश्चित ठाउँमा सीधै सेक्स बजार भनेर खोल्दा हुने,’ उनले भने। 
दलालदेखि दिक्क 
नयाँ बसपार्कको आकाशेपुलमै भेटिएकी यौनकर्मी नितुले धेरै होटल व्यवसायी तथा र्यााकेट सञ्चालकबाट ठगिएको दुखेसो पोखिन्। आफूहरूले कष्ट भोग्नुपर्ने र त्यसबापत २५ देखि ३० प्रतिशतमात्र आफूलाई पैसा दिने गरेको उनले बताइन्। ‘त्यसैले अचेल सीधै आफैं कन्ट्र्याक्ट गर्छु,' उनले भनिन्। अहिले उनले एक हजारदेखि १५ सय रुपैयाँसम्म माग्ने गरेकी छिन्, होटल खर्चबाहेक। रातभरि सँगै बसेको मूल्य तीन हजार रुपैयाँ भएको जनाइन्। 
यस्तै, बौद्धको पिपलबोटमा साँझतिर भेटिएकी सुजाता पनि व्यवसायीबाटै ठगिइन्। ‘अहिलेसम्म आफूले कमाएको सबै पाएको भए काठमान्डूमा घर बनाइसक्थेँ,' उनको दुखेसो छ, ‘पोहोरदेखि आफैँले खोजेर हिँड्छु।’ उनी साँझमा पिपलबोट वरपर नै ग्राहक खोज्छिन्। रत्नपार्कमा ग्राहक खोजिरहेकी शान्ता पनि दलालकै ठगीबाट हैरान भएर आफँै दौडिन थालेकी हुन्। उनले एक पानपसलेलाई दलालका रूपमा प्रयोग गरेकी थिइन्। ‘उसले त आधाभन्दा कम दिन थालेपछि म आफैँ ग्राहक खोज्न हिँडेँ,’ उनले भनिन्। 
यौनधन्दाका सञ्चालकहरूले धेरैलाई रोजगारी दिएको तर्क गर्दै यो व्यापारलाई व्यवस्थित गर्नुपर्ने जिकिर गर्दै आएका छन्। बत्तीसपुतलीको एक क्याफेका सञ्चालक हरिनारायण आफूले दर्जन युवतीलाई ‘जब’ दिलाइरहेको बताउँछन्। यहाँ काम नगरे उनीहरू सडकमै पुग्ने अवस्था रहेको उनको ठम्याइ छ। ‘उनीहरूलाई राम्रै आम्दानी भइरहेको छ,' उनले भने, 'कसैको खुट्टा ढोग्नुपरेको छैन। आफँैले कमाएका छन्। आफ्नो गर्जो टारेका छन्। यसमा किन आपत्ति?’ यो व्यवसायलाई अझै व्यवस्थित गर्न सरकारले छुट्टै नीति ल्याउनुपर्ने उनको माग छ। 
'पूर्ण नियन्त्रण गर्न नसकिने' 
बेलाबेला केही जोडीलाई रंगेहात पक्रेर चर्चामा आउने प्रहरी प्रशासन अहिले शान्त छ। 'सामाजिक मर्यादा' कायम राख्ने कुनै त्यस्तो अभियान चालिएका छैनन्। यौन व्यवसायमा रहेका अधिकांश महिलासँग अर्थोपार्जनको अन्य विकल्प नभएकाले प्रहरीले नियन्त्रण गर्न नसकेको बताइन्छ। महानगरीय प्रहरी वृत्त बालाजुकी डीएसपी गंगा पन्तले भनिन्, 'उनीहरूको नाममात्र खुले पनि सडकमै पुग्ने अवस्था आउँछ। पक्राउ गर्दा पनि सबै कुरा हेर्नुपर्ने हुन्छ।’ 
बालाजु वृत्तले अहिले नागार्जुन क्षेत्रलाई विशेष निगरानीमा राखेको छ। त्यो क्षेत्रमा होटल, लज तथा रिसोर्टमा यस्ता यौनधन्दा हुने गरेको पाइएको उनले बताइन्। 'डान्स बार र रेस्टुरेन्टमा 'भल्गर' भएर बस्ने युवतीलाई समेत सचेत गराउँदै आएका छौँ,' डीएसपी पन्तले भनिन्। 
प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर ज्योतिराज शर्मा भने यो पेशा केहीका लागि बाध्यता नै भएको बताउँछन्। ‘हातमा सीप केही पनि छैन,' उनले भने, 'कसैलाई केही बेर रमाइलो गराएर आफू पनि रमाउँदै राम्रो आम्दानी गर्न सकिन्छ भने त्यो अवश्य नै रोज्छन्।’ उनको तर्क छ, ‘सरकारले यसलाई व्यवस्थित गरिदिनुपर्छ।’ समय–समयमा रेडलाइट एरिया तोक्नुपर्ने आवाज उठाइए पनि त्यो मागलाई मूर्त रूप दिन नसक्नुले यो पेशा अझ विकृत हुँदै गएको उनको ठम्याइ छ। ‘यो पेशा रोकेर रोक्न, छेकेर छेक्न सकिन्न,' उनले भने, 'बरु कसरी व्यवस्थित गर्ने? त्यतातिर सोच्नुपर्ला।’ 
०००
करिब एक हप्ताको निगरानीमा देखिएका दृश्य र घटना हुन् यी। चियापसलदेखि एयरपोर्टको गेटसम्म यौनधन्दाको सञ्जाल फैलिएको छ। यौनको विषयमा खुलेर कुरा गर्नसमेत अस्वीकार गर्छ नेपाली समाज। तर, राजधानीमा जहाँसुकै यौन अखडा खुलेका छन्। एक प्रहरी अधिकृतले गरेको टिप्पणी मननीय थियो, 'राजधानी 'खुला यौनालय' बन्दै गइरहेको छ।’

१६ माघ, २०७०

No comments:

Post a Comment