Sunday, February 2, 2014

साठी जिल्लामा एपीएफको २९ हजार जनशक्ति निर्वाचनमा परिचालन हुने

काठमाडौं,  असोज २५ : सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सुरक्षायोजना अनुसार अति सम्बेदनशील र सम्बेदनशील गरी ४० जिल्लामा एपीएफ टोली खटाई सकिएको तथा अन्य जिल्लाहरुमा समेत खटाउने कार्य भइरहेको कुरा बताउनु भएको छ । उहाँले सशस्त्र प्रहरी बलको करीब २९ हजार जनशक्ति निर्वाचनमा शान्ति सुरक्षाको लागि परिचालन गर्ने लक्ष्य रहेको जानकारी गराउनुहुँदै परिचालनको लागि फौजलाई तयारी हालतमा राख्न तथा आफ्ना सम्पूर्ण गतिविधिहरु निर्वाचन सफल गराउने दिशामा केन्द्रीत गर्न देशभरका एपीएफ इकाईका कमाण्डरहरुलाई निर्देशन दिनुभयो । 

सशस्त्र प्रहरी महानिरीक्षक वन्तले बडादशैं, शुभ दिपावली तथा छठ पर्वको पुनित अवसरमा शुभकामना तथा आसन्न सम्बिधान सभाको निर्वाचनमा सुरक्षा व्यवस्था एवं अन्य शान्ति सुरक्षा सम्बन्धमा मातहत एपीएफ अधिकृत तथा जवानहरुलाई मार्गदर्शन गर्दै सो कुरा बताउनु भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक वन्तको उक्त सम्बोधनलाई सशस्त्र प्रहरी बलको संचार तथा संगठनमा केहीअघि भित्रिएको इन्ट्रानेटको माध्यमबाट सम्पूर्ण एपीएफ इकाईहरुमा प्रत्यक्ष प्रशारण गरिएको थियो । 
आसन्न सम्बिधान सभाको निर्वाचनमा ६० भन्दाबढी जिल्लाहरुमा सशस्त्र प्रहरी बल परिचालित हुने भएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक वन्तले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा व्यवस्था मिलाउनको लागि बलका क्षेत्रीय तथा स्थानीय प्रमुखहरुलाई स्थानीय निर्वाचन कार्यालय तथा स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकाय र नागरिक समाज लगाएत सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय एवं सहकार्य गर्न निर्देशन समेत दिनुभयो । 
राष्ट्र र नागरिकको सेवा र सुरक्षामा समर्पित रहेको सशस्त्र प्रहरी बलले आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक पुरा गर्दै संगठन स्थापनको औचित्य पुष्टि गरेको र नागरिकमाझ लोकपृय रहेको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले कार्यक्षेत्र प्रति बलले देखाएको अग्रसरता एवं तत्परताको फलस्वरुप हाल १ सय २५ भन्दाबढी ठाँउबाट एपीएफ इकाई स्थापनाको माग भइरहेको उल्लेख गर्नुयभो । 
उहाँले कार्यक्षेत्रमा एपीएफ टोलीको योगदान तथा अनुशासन र कार्यक्षेत्रप्रतिको समर्पणको प्रसंसा गर्दै सधै व्यावशायीक भएर दायित्व निर्वाह गरिरहन निर्देशन दिनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले भन्नुभयो–‘बलको कार्यसम्पादन र कार्यक्षेत्रप्रतिको जिम्मेवारीको उच्च मूल्यांकन भई संगठनालाई राजस्व तथा औद्योगिक सुरक्षाको जिम्मेवारी समेत प्राप्त भई सो को लागि दरबन्दी समेत थप भएको कुरा सवैलाई जानकारी नै छ ।’ उहाँले यो उपलब्धीलाई अवसर र चुनौतीको रुपमा लिएर कार्यक्षेत्रमा ओजपूर्ण योगदान पु¥याउन मार्गदर्शन समेत गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले संगठनले आफ्ना राष्ट्रसेवकको मनोबल उच्च तुल्याउँदै संगठनको कार्यमा प्रभावकारीता ल्याउन ‘बृत्ती विकास योजना’ तर्जुमा कार्य अगाडी बढाएको, ‘नियुक्ति तथा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्त’ तयार गरेको, एफपीयु मिसन थप भएको, संगठनले आगामी दिनमा गर्ने कार्यको लागि ‘तीन वर्षीय रणनैतिक कार्य योजना’ तयार गरिएको, चीन सरकारको सहयोगमा करीब ३ अर्व ६० करोडको लगानीमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको आधुनिक भौतिक संरचनाहरु निर्माण हुन लागेको लगाएतका संगठनका विविध उपलब्धीपूर्ण कार्यहरुबारे मातहतलाई स्मरण गराउनुहुँदै संगठनको लक्ष्यीत उद्देश्य प्राप्तीमा समर्पित रहिरहन निर्देशन दिनुभयो । 
शान्ति सुरक्षा कायम राख्न कार्यक्षेत्रमा विशिष्ट योगदान पु¥याएका बलका राष्ट्रसेवकको मनोबल अभिबृद्धि गर्ने कार्यमा समेत संगठनले ध्यान पु¥याई रहेको कुरा उहाँले बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक वन्तले यसै वर्षबाट निर्जिवन विमा प्रणालीमा समेत केही सुधार गरिएको बताउनुहुँदै एक जना सशस्त्र प्रहरी कर्मचारीको लागि ४ सय ९० रुपैयाँमा तीन लाख रुपैयाँको विमा गरिदै आएकोमा यस वर्ष प्रति व्यक्ति विमा दर घटेर ४ सय ३३ रुपैयाँमा विमाको रकम बढाएर चार लाख रुपैयाँको विमा गरिने व्यवस्था मिलाइएको कुरा समेत उल्लेख गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक वन्तको उक्त प्रत्यक्ष सम्बोधन ड्युटीमा परेकादेखि बाहेकका सम्पूर्ण एपीएफ अधिकृत तथा जवानहरुले एपीएफ संचारबाट प्रत्यक्ष सुनेका थिए भने इन्ट्रानेटको माध्यमबाट प्रत्यक्ष देखेका र सुनेका थिए । 
त्यस अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु ठाकुरमोहन श्रेष्ठ, दुर्जकुमार राई, ऋषभदेव भट्टराई, जीवनकुमार थापा र कृष्णकुमार तामाङको समेत उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment