Monday, February 3, 2014

सेवारो मितज्यू !

-फूलमान वल
पहिले-पहिले गाउँघरतिर भालु मितको चलन थियो । सानोमा कसैले झगडा गर्‍यो भने दुबैजनाको टाउको ठोक्काएर लाउने 'भालु मित' । गाउँमा आधुनिकता पस्दै गएकोले मेलमिलापको यो टिपिकल नेपाली शैली पनि संकटमा छ । रंगकर्मी दयाहाङ राईले भने यसलाई मीठो फ्ल्यासब्याकमा उधिन्ने काम गरेका छन् । अनामनगरस्थित मण्डला थियटरमा नियमित शो भइरहेको नाटकमा कलाकारहरू गाउँको सम्झनामा फर्किन्छन् र संस्कृतिको जरा खोतल्ने प्रयास गर्छन्- अहिलेको समयमा उभिएर । हराउँदै गएपछि वास्तविकता पनि रमाइलो फ्यान्टासीमा बदलिन्छ भन्ने अब्बल उदाहरण बन्न पुगेको छ, नाटक- 'मितज्यू' ।

सिधा अर्थमा नाटक 'मितज्यू' विश्वव्यापीकरणले चेपुवा पार्दै लगेको सीमान्तीकृत संस्कृतिको घिटिघिटे  अभ्यास हो । ठीक यही समय सहरमा गनिएका बुद्धिजीवीहरू नेपाली लोकवार्ता सम्मेलन गरिरहेका छन्- डा. अभि सुवेदीदेखि, तुलसी दिवससम्म । लोककला, संस्कृति र परम्परालाई मनोरञ्जनका रूपमा मात्रै नभई त्यसको अर्थ र भावको गहिराइबाट बुझ्नुपर्ने र तिनलाई आधुनिक बजारमा प्रबर्द्धन गर्नुपर्ने तर्क छ, यी विद्वत्जनको । माघे संक्रान्तिकै दिन नगरकोटमुनिको एउटा गाउँमा पुग्दा एक अधबैंसे भन्दै थिए, 'संक्रान्तिको दिन सबेरै नुहाएर घरलौरी ढोग्ने चलन अचेलका बच्चाहरूले चटक्कै छाडे ।'

उनले यसो भन्दै गर्दा एकहुल केटाकेटी बाइकको पछिपछि कुदिरहेका थिए, प्रत्येकको हातमा मोबाइल फोन थियो । लोककला, संस्कृति र परम्परालाई अर्थ र भावको गहिराइमा पुगेर बुझ्ने र आधुनिक बजारमा नयाँ ढंगले प्रबर्द्धन गर्ने भनेको सायद मोबाइलमा संसारभरका सबै कुराहरूको 'एक्सेस' राख्ने पुस्तालाई आफ्नो संस्कृतिको जरा बुझाउनु हो । दयाहाङको निर्देशन र सोमनाथ खनालको लेखन रहेको 'मितज्यू'ले यस्तै एउटा उदाहरणीय प्रयास गरेको छ । नाटक हेर्नपुग्ने तन्नेरी दर्शकहरू रंगमञ्चको अँध्यारोभित्र आफ्नो संस्कृतिको उज्यालो खोज्छन् । गाउँमा छुटेको पाइला र अल्झेको सम्झनामा उनीहरू आफ्नै हजुरबुबाका प्रेमकथा पत्ता लाएझैंको मनोदशामा पुग्छन् र आँसु खसाल्छन् । प्रविधिको विस्तारित आयामहरूमा संस्कृति नछिराउने हो भने हाम्रोजस्तो विकासोन्मुख मुलुकको 'कल्चरल आइडेन्टिटी' साँच्चिकै नाटकको फ्ल्यासब्याक जस्तोमात्रै भएर सम्झनामा हराउनेछ ।

पछिल्लोपटक फिल्मतिर बढी जम्नथालेका दयाहाङले जसरी नाटकलाई फिल्मी प्रस्तुतिमा ढालेका छन्, हामीले पार गरिआएको समयलाई पनि यो विन्दुबाट नियाल्दा साँच्चिकै फिल्मी अनुभूत हुनेछ । डिजिटल प्रविधिको विकासले बितेको थोरै वर्षमा ल्याएको उलटपुलट र त्यसले नेपाली संस्कृति र जीवनशैलीमा पारेको प्रभाव झन् फिल्मी लाग्नेछ । आधुनिक बजारले निर्माण गरेको उपभोक्तावादी संस्कृति र यसले चोरेर लगेको नेपाली मौलिक संवेदना, सम्बन्धहरूबीचको फिक्कापन र व्यक्तिवादको सघन बोधले थियटरको अँध्यारोभित्र झन् गाढा अँध्यारो महसुस गराउनेछ । पछिल्ला वर्ष दलहरूबीच मेलमिलापको संस्कृतिमा किन क्षयीकरण आइरहेको छ ? र उनीहरूको यस्तो व्यवहारकै कारण समाजमा बेमेलता र असहमतिको मनोविज्ञान कसरी हुर्किंदै गइरहेको छ ? झगडा हुँदा पनि टाउको ठोक्काएर मित लाउने सांस्कृतिक जराको क्षयीकरणसँग यसको मनोवैज्ञानिक सम्बन्धको आयाम खोतल्नुपर्छ । 'मितज्यू' हेरेपछि यस्तो लाग्नेछ ।

पूर्वी नेपालको सामाजिक सांस्कृतिक परिवेश बोकेको नाटकको अर्को सौन्दर्य सद्भाव र विविधताको सम्मान हो । लिम्बुहरू हर्कबहादुर चेम्जोङलाई रामबहादुर माझीसँग 'टाउको ठोक्काएरै' मित लगाइदिन चाहन्छन्, किनभने उनीहरूले काबेली खोलामा तिनै माझीबाट डुंगा तर्नुपर्छ । माझी पनि आफ्नै झगडियासँग मित लाउँदा किन खुसी छन् भने उनले तिनै लिम्बु गाउँमा माछा बेचेर गुजारा गर्नुपर्छ । हरेक भेटमा माझीले उच्चारण गर्ने अभिवादनबोधी शब्द 'सेवारो मितज्यू'मा फरक अस्तित्वको उपस्थितिप्रतिको सहज स्वीकारोक्ति र सम्मान प्रकट हुन्छ । दलहरू टाउको ठोक्काएर भालुमित लाउने सांस्कृतिक क्षयीकरणको मनोवैज्ञानिक सिकार नभएको भए सायद नागरिकले दोस्रो संविधानसभाको निर्वाचन देख्नुपर्ने थिएन होला ।

कुनै बेला हाटबजारमा आफ्नी प्रेमिकासित कसैले धाननाच नाच्यो या पालाम गायो मात्रै भने पनि खुकुरी झिकेर वितन्डा मच्चाउने विर्खबहादुर त्यागको जबर्जस्त नमुना हुन् । प्रेमिकाको खुसीको लागि जीवनभर अविवाहित रहने यस्ता मान्छे समाजमा अब भेटिने छैनन् । यस अर्थमा यो पनि एउटा मीठो-मीठो फ्ल्यासब्याक मात्रै हो, हाम्रो समयको । बदलिंँदै गएको आजको प्रेम गर्ने शैली आधुनिक बजारले निर्धारण गरेको व्यक्तिवादमा आधारित छ । यसले एउटा नयाँ प्रेम-संस्कृतिको विकास गर्दैछ, जसमा त्यागभन्दा प्राप्तिले बढी अर्थ राख्छ । समााजिक चेतना र मनोविज्ञान निर्माणको मुख्य पाटो मानिने राजनीति हुर्किन थालेको यो नयाँ संस्कृतिबाट प्रभावित नहुने कुरै आउँदैन । त्यागभन्दा लुछाचुँडीको बाली उठाइरहेको नेताहरूका लागि विर्खबहादुर एउटा सटिक व्यंग्य पात्र हुन् ।   

नाटकमा एकसाथ दुइटा समयको बोध हुन्छ- बितेको समय र हामीले भोग्दै गरेको समय । बितेको समयको कथा भनेपछि 'मितज्यू' त सकिन्छ, तर भोग्दै गरेको समय, जो हरेक दर्शकको आफ्नो निजात्मक समय पनि हो, यो अहिले नै सकिंँदैन । भोलिको पुस्ताका लागि अनेकौं फ्ल्यासब्याकहरू निर्माण गर्नेछ, यो समयले । ती फ्ल्यासब्याक 'मितज्यू'जस्तै मीठो हुनेछ या तीतो अहिलेका राजनीतिक रंगमञ्चका खेलाडीहरूमा भर पर्नेछ ।

No comments:

Post a Comment