Monday, February 3, 2014

अब पालो हरित विकासको

-किर्स्टन गिलान
निर्वाचन सम्पन्न भइसकेको र नयाँ सरकार गठनको प्रक्रिया चलेको वर्तमान अवस्थामा अब नेपालले आर्थिक पक्षमाथि जोड दिने बेला आइसकेको छ । विश्व बैंकका अनुसार, सन् २०१३ मा नेपालको आर्थिक विकास घटेर ३.६ प्रतिशतमा झरेको थियो । आर्थिक विकासको सवालमा नेपाल आफ्ना सबै छिमेकीभन्दा पछि परिरहेको अवस्था छ । निर्यात घट्दो छ भने आयात बढ्दो छ । विप्रेषणबाट प्राप्त रकमको ठूलो भाग उपभोगमा खर्च भइरहेको कारणले मात्र यसो भएको होइन । गतवर्ष कृषि क्षेत्रमा १.३ प्रतिशतले मात्र वृद्धि भयो र यो विगत पाँच वर्षको सबभन्दा कम वृद्धि हो । नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब एक तिहाइ भाग कृषिले ओगटेको र प्रत्येक चार नेपालीमा तीनजना कृषिमा निर्भर रहेको अवस्थामा नेपालका लागि कृषि विकासको ठूलो महत्त्व छ ।
डेनमार्क नेपालको विकासका क्षेत्रमा धेरै वर्षदेखि संलग्न रहेको छ । नवीकरणीय ऊर्जा तथा शान्ति, मानवअधिकार तथा सुशासन र व्यापारिक साझेदारीका क्षेत्रमा हामी दुई देश नजिकका साझेदार रहिआएका छौं । हामीले हाम्रो संलग्नतालाई नयाँ तहमा पुर्‍याउने प्रयत्न गर्दै नेपालमा समावेशी हरित विकासलाई सहयोग गर्नमा जोड दिँदैछौं । ४०० मिलियन डेनिस क्रोनरको 'उन्नति' नामक हाम्रो नयाँ समावेशी आर्थिक विकास कार्यक्रममार्फत यो कार्य सम्पन्न हुनेछ । यसको माध्यमबाट हामीले बजारमा आधारित वृद्धिलाई सुदृढ बनाउने, गरिबी घटाउने तथा जीवनस्तरमा सुधार ल्याउने लक्ष्य राखेका छौं ।
नेपालको पूर्वाञ्चल क्षेत्रमा अदुवा, दुग्धपदार्थ र परम्परागत चियाखेतीको बीउबिजनदेखि उपभोक्तासम्मको मूल्य शृङखलालाई हामी सुदृढ बनाउन
चाहन्छौं । बजारमा आधारित आर्थिक वृद्धिका लागि उपयोग नभएको र ठूलो सम्भावना बोकेको क्षेत्र भन्ने हाम्रो विश्वासका कारण हामीले पूर्वाञ्चल क्षेत्रलाई छानेका हौं । हालसालै एकजना किसानले भनेका थिए, 'हामी ठूला सपना बोकेका साना किसान हौं ।' यस्तै किसिमको सपनालाई हामी सहयोग गर्न चाहन्छौं ।
यसका साथै हामी साना किसानलाई अझ राम्रो आर्थिक तथा प्राविधिक पहुँच दिलाएर उनीहरूको उत्पादनमा सुधार ल्याएर तथा त्यसको सही मूल्य दिलाएर सहयोग गर्न चाहन्छौं । मूल्य शृङखलाअनुसार, स्थानीय पूर्वाधारलाई सुधार गर्नका लागि हामी स्थानीय सरकारलाई सहयोग गर्न चाहन्छौं, जसले गर्दा किसानहरूले आफ्ना उत्पादन बजारमा पुर्‍याउन थप सजिलो तथा सस्तो होस् । साथै हामी किसान तथा अन्य व्यापारीलाई प्रतिनिधित्व गर्ने निजी क्षेत्रको सार्वजनिक क्षेत्रसँगको संवादका लागि बनेका मञ्चलाई सुदृढ बनाउन चाहन्छौं । थप लगानी र वित्तीय क्षेत्रको सामाजिक जिम्मेवारीलाई जोड दिनका लागि उपयुक्त वातावरणलाई सुदृढ बनाउन मार्गप्रशस्त गर्न चाहन्छौं । लैंगिक, धार्मिक वा जातीय भेदभाव नगरी समाजका सबै समूहका अधिकारलाई सम्मान गर्ने वातावरण हामी सुनिश्चित गर्न चाहन्छौं ।
यस कार्यक्रममार्फत साना किसानले अझ धेरै बिक्री गर्न, धेरै आर्जन गर्न र यसैकारण आफ्नो जीवनस्तर वृद्धि गर्न सक्षम हुन्छन् भन्ने हाम्रो सोच छ । उच्च मूल्यका नेपाली उत्पादनलाई अझ राम्रो 'प्याकेजिङ' गर्न, 'ब्रान्ड' गर्न र स्थानीय, क्षेत्रीय तथा विश्वव्यापी रूपमै उच्च मूल्यमा बिक्री भएको हेर्न चाहन्छौं । मूल्य शृङखलाको परिणामस्वरूप थप विविध उत्पादन विकास हुने हाम्रो आशा छ र यी विविध उत्पादनहरू जस्तै- सुगन्धित चिया, उच्चस्तरीय चिज र अदुवाका मिठाइ हुनसक्छन् ।
हामी यो क्षेत्रमा गुणस्तरीय रोजगारी विकास गर्ने तथा कामको खोजीमा देश छाडेर अन्यत्र जाने विकल्पमात्र देखेका हजारौं युवाका लागि नेपालमै रोजगारीका अवसर सुरक्षित गर्ने आशा राख्छौं । सार्वजनिक तथा निजी क्षेत्रको संवादमार्फत हामी निजी क्षेत्रको विकासलाई सहयोग पुर्‍याउने नीतिगत संरचना तथा नेपाली जनताको हितका लागि समावेशी आर्थिक वृद्धि सुदृढ बनाउन चाहन्छौं ।
मूल्य शृङखला तथा कार्यक्रमको कार्यान्वयन तथा विकास दुवैका लागि साझेदारी आवश्यक छन् । त्यसैले 'उन्नति' सार्वजनिक तथा निजी धेरै राष्ट्रिय साझेदारको निकट सहकार्यको परिणाम भएको कुरा सुखद छ । यी साझेदारहरूमा कृषि विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल व्यापार मञ्च तथा निजी क्षेत्रका संस्थाहरू छन् ।
खासगरी पूर्वी नेपालका चिया, अदुवा तथा दुग्धपदार्थ उत्पादन गर्ने किसान र उद्यममा लक्षित यो कार्यक्रमको सफलताका लागि डेनमार्क कठोर मिहेनत गर्न तत्पर छ । आजको पाँच वर्षमा राजनीतिक स्थिरताको वृद्धिसँगै हामीले नेपालका सबै महिला, पुरुष तथा बालबालिकाको हित हुनेगरी समावेशी र हरित दुवै विशेषता बोकेको आर्थिक वृद्धि देख्न पाउनेछौं भन्ने मेरो आशा छ ।

लेखक नेपालका लागि डेनमार्ककी राजदूत हुन् ।

No comments:

Post a Comment