Friday, February 21, 2014

दिदीको दर्द

पोखरा, फाल्गुन ९ - आफ्नै काखमा हुर्काएको भाइका दुवै मृगौला बिगि्रएपछि ४३ वर्षीया ज्ञानमाया गुरुङको न दिनमा भोक, न रातमा निद्रा भएको छ । २७ वर्षीय भाइ कमललाई बचाउन उनी आफ्नै मृगौला दिन तयार भइन् । तर समस्या बाँकी नै छ । प्रत्यारोपण खर्च नहुँदा उनी घरघरै सहयोग माग्दै हिँडेकी छन् ।
बिहान कोठाबाट निस्केकी उनी साँझसम्म घर, पसल र सरकारी कार्यालयमा हात फैलाउँदै डुल्छिन् । यसरी हिँड्दा उनको पोल्टामा आशाभन्दा धेरै निराशा पर्छ । 'मृगौला दिएर भाइलाई बचाउँछुभन्दा पनि सकिरहेकी छैन,' उनले भनिन्, 'ऋणधन गरी खोजेको पैसा पनि जँचाउँदैमा सकियो । साथमा हजार रुपैयाँ पनि छैन ।'
'सातामा दुईपटक डाइलोसिस नगराए शरीर फुलेर भाइ सिकिस्तै हुन्छ,' उनले भनिन्, 'आखिर एकपटक त मर्नैपर्छ, जति बाँच्छु आयु बाँडेर बाँच्छु भनेर माग्दै हिँडिरहेकी छु । मन भएकाले पाँचदेखि हजार रुपैयाँसम्मै दिन्छन् । कसैले त मनै चसक्क हुने गरी तीखो वचन लगाउँछन् ।'
बुवा सानैमा बितेपछि उनी र आमा जगमायाले गाउँघरमा मेलापात गरेर ४ भाइ हुर्काएका थिए । अहिले ज्ञानमायाका श्रीमान् खड्कबहादुरको एक्लो कमाइमा बिरामीसहित पाँच जनाको परिवार पालिएको छ । गोर्खा घयाल्चोक २, तेर्सोबाट पोखरा आएका उनीहरूको सम्पत्ति केही छैन । धन कमाउन साउदी पुगेका कमल तीन वर्षपछि बिरामी भई फर्के । आएपछि अस्पताल चहार्दा चहार्दै ३ लाख रुपैयाँ सकियो ।
'डोजर चलाउँदा चलाउँदै खान, बस्नको ठेगाना हुन्थेन । वाकवाकी लागिरहन्थ्यो,' साउदी बस्दाको दिन उनले सम्झे, 'नेपाल फर्केर डाक्टरलाई देखाउँदा दुवै मृगौला फेल भयो भने ।'
हेमोडाइलोसिस गराउँदै आएका कमलको मृगौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले जनाएको छ । 'दुवै मृगौला बिग्रेका छन्, प्रत्यारोपणको विकल्प छैन,' डा. निरज गौतमले भने, 'बिरामीको आर्थिक स्थिति कमजोर भएकाले समस्या छ ।'
प्रकाशित मिति: २०७० फाल्गुन ९

No comments:

Post a Comment