नेकपा एमालेका पाँच शीर्ष नेताबीच यतिखेर शक्ति संघर्षको विचित्र रुप देखा परेको छ । एमाले नेताहरु अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी ओली तथा महासचिव ईश्वर पोखरेलबीच पार्टी र सरकारमा वर्चस्व कसरी कायम गर्ने भन्ने रस्साकस्सी शुरु भएको छ । प्रस्तुत छ, पार्टी र सरकारमा हावी हुन पाँच नेताका आ–आफ्ना दाउ:
झलनाथ : फुटाउ र राज गर
अध्यक्ष झलनाथ खनाल पुनः पार्टी अध्यक्ष हुने ताकमा छन् । यसका लागि खनालसँग केही आधार पनि छन् । तेश्रो अवस्थामा पुगेको एमालेलाई दोश्रो ठूलो पार्टी बनाएको र आफ्नै कार्यकालमा विगतमा पार्टीले दुई–दुई पटक सरकारको नेतृत्व गर्न सफल भएकाले आफ्नो नेतृत्व सफल भएको उनको जिकिर छ । यद्यपि, पछिल्लो कालखण्डमा पार्टीमा ओली पक्ष हावी हुँदै गएको छ । त्यसैले सहजै पार्टी अध्यक्ष हुने सम्भावना उनले देखेका छैनन् । त्यसैले अघिल्लो महाधिवेशनमा झैं यसपालि पनि खनालको सूत्र छ, माधव नेपाल र केपी ओलीलाई मिल्न नदिने । फुटाएर राज गर्ने । अनि यही नीति अख्तियार गर्दै आलो पालो चलन अनुसार प्रधानमन्त्री पनि बन्ने । गत अधिवेशनमा माधव–ओली ढिक्का फुटाएर नै खनाल अध्यक्ष बनेका थिए ।
माधव नेपाल : पार्टी अध्यक्ष
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको भित्री इच्छा त राष्ट्रपति नै बन्ने हो । तर, त्यो तत्काल सम्भव नभएको उनले लख काटिसकेका छन् । सरकारको नेतृत्व कांग्रेसले गर्ने भएकाले प्रधानमन्त्री हुने सम्भावना पनि रहेन । त्यसैले माधव कमरेडको दाउ अब पार्टी अध्यक्ष बन्नतिर सोझिएको छ । यसका लागि अर्का नेता केपी ओलीले उनलाई पटक्कै सहयोग गर्ने छैनन् । किनकि, गत महाधिवेशनमा माधवले अन्तिम अवस्थामा आएर ओलीलाई धोका दिएका थिए र खनाललाई सघाएका थिए । त्यसैले माधवले पार्टी अध्यक्ष बन्न वर्तमान अध्यक्ष खनालसँग सहकार्य गर्ने मनस्थिति बनाएका छन् । त्यसका लागि खनाललाई संसदीय दलको नेतामा सहयोग गर्ने र आफू पार्टी अध्यक्ष बन्ने माधवको चाणक्य रणनीति छ ।
केपी ओली : झर्ला र खाउँला
अर्का वरिष्ठ नेता केपी ओलीको चाहनाकै कुरा गर्ने हो भने धेरै छन् । स्वास्थ्यका कारण पनि उनी सक्रिय पदको साटो सम्मानित पद राष्ट्रपति नै हुन चाहन्छन् । तर उनलाई राष्ट्रपति बनाइदिने कसले ? कांग्रेसले ओगटेको त्यो पद उसले मरिगए छाड्नेवाला छैन । अर्कोतिर प्रधानमन्त्री पद पनि यसपालि कांग्रेसले नै खाला जस्तो छ । उस्तै परे एमाले सत्ताको खेलबाटै बाहिर हुन पनि बेर छैन । एमाले र कांग्रेस लगायतका अन्य दल मिले भने सत्ता समीकरणको खेल अर्कै पनि हुनसक्छ । त्यसैले केपी ओली कमरेडको दाउ पनि आगामी महाधिवेशनमा पार्टी अध्यक्ष नै भएको देखिन्छ ।
केपी ओलीलाई पार्टी अध्यक्ष बन्न भने निकै हम्मे हम्मे पर्नेछ । माधव नेपालले सहयोग गरे भने मात्र उनी पार्टी अध्यक्ष बन्ने हुन् । केपी ओली पक्षको गुनासो नै के रहँदै आएको छ भने माधव नेपालले बुटवल महाधिवेशनमा आफूलाई सहयोग नगरेकै कारण पार्टीमा खनाल हावी भए । ‘बुटवल महाधिवेशनमा बहुदलीय जनवादका पक्षधर केपी ओली र बहुदलीय जनवादका विपक्षी झलनाथ खनालबीच सैद्धान्तिक लडाईं थियो’, ओली निकट एक नेता भन्छन्, ‘माधव नेपालले धोका दिएका कारण बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउकोसँग तुलना गर्ने खनाल अध्यक्ष भए । अब त्यसो हुन दिनुहुन्न । बहुदलीय जनवादीहरु मिल्नुपर्छ । माधव कमरेडले ओलीलाई साथ दिनुपर्छ ।’ ओली निकट सूत्रका अनुसार माधवले ओलीलाई पार्टी अध्यक्षमा साथ दिए ओली पक्षले माधवलाई भावी राष्ट्रपतिका रुपमा समर्थन गर्न सक्छ ।
तर, माधवले अर्कै समीकरणको तयारी गरेका कारण ओलीका यी सपना पूरा हुन भने गाह्रै छ ।
वामदेव गौतम : सरकारमा पार्टीको नेतृत्व
एमालेका अर्का नेता वामदेव गौतमसँग राष्ट्रपति र प्रधानमन्त्री बन्ने उच्च महत्वाकांक्षा तत्काललाई छैन । उनलाई मुलुकको परिस्थिति र आफ्नो स्थानको राम्रो हेक्का छ । त्यसैले उनको दाउ छ, कांग्रेसको नेतृत्वमा अब बन्ने सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने । अलिकति पहल गर्ने हो भने वामदेवका लागि यो सहज सपना हो । अब स्थानीय निर्वाचनको पनि सम्भावना भएको भन्दै वामदेव गौतम पक्षधरहरु सरकारको नेतृत्व वामदेव कमरेडलाई गर्न लगाएर उहाँकै नेतृत्वमा स्थानीय निर्वाचन पनि जित्नुपर्ने दलील पेश गर्न थालेका छन् । किसानका नेतालाई सरकारको नेतृत्व गर्न पठाउँदा राम्रो सन्देश पनि जाने धेरैको तर्क छ । एमालेले बुढा र रुग्ण भइसकेका भरतमोहन अधिकारीको साटो वामदेव जस्ता नेतालाई गृह र उपप्रधानमन्त्री बनाएर सरकारमा पठाउनुपर्ने उनी पक्षको दावी छ । माधव, ओली र खनाल दोश्रो वरियतामा सरकारमा नजाने भएकाले वामदेवलाई चिट्ठा पर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
ईश्वर पोखरेल : गुट परिवर्तनको रहस्य
एमालेमा ईश्वर पोखरेल नै एक यस्ता नेता हुन्, जसलाई चुनाव हारे पनि हारे जस्तो अनुभव गर्नु परेको छैन । त्यसैले चुनाव हारे पनि उनी अचेल सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्ने दाउमा छन् । यसका लागि ईश्वरले हालै मात्र क्याम्प पनि परिवर्तन गरेका छन् । ईश्वर माधव गुट परिवर्तन गरी ओली गुटमा प्रवेश गरेका छन् । ओलीले पनि वामदेव र भरतमोहन जस्ता बुढाखाडालाई हैन, अब ईश्वरजीजस्तो रणनीतिक दाउपेच जान्ने र काम गर्न सक्ने नेतालाई सरकारमा पठाउनुपर्ने बताउन थालेका छन् । यसपालि संविधानसभामा ओली गुटकै धेरै सभासदले जितेको र समानुपातिकमा पनि ओली पक्ष नै हावी भएकाले सत्ताको खेलमा ओलीको क्याम्प लाभदायी हुने ईश्वरको विश्लेषण हो । तर, ओली निकट एक नेता भन्छन्, ‘ईश्वरजी पिपलपाते हुन्, उनको भर छैन । जहिले पनि अन्तिममा आएर ओलीलाई धोखा दिने उनको बानी छ । यसपालि पनि आफ्नो स्वार्थ पूरा भएपछि उनले ओलीलाई धोका दिनेछन् ।’
No comments:
Post a Comment