Saturday, January 18, 2014

हाम्रो लडाई बाहुनबादी सामन्ती राज्यसत्तासँग हो ।

             -हिरामान बल तामाङ
हाम्रो जीवनको सुरुवात नै रुवाइबाट हुन्छ । जब हामी यो धर्तीमा आमाको कोखबाट जन्म लिन्छौ । त्यसबेला हामी धेरै रुन्छौ र कराउँछौं । अनि आमाको कोखबाट जन्म लिएको दिनदेखि हाम्रो संघर्षको दिनहरु सुरु हुन्छ । जन्मने बित्तिकै लामा, पुरोहित वा आ-आफ्नो संस्कृति अनुसार न्वारण गरेर आमा बुबाले नाम राखिदिन्छन् । हाम्रो जन्मसंगै हाम्रो नाम, जात, धर्म, समग्रमा हाम्रो पहिचान सुख, दुःख, धनी, गरिव आदि हाम्रो समाजले नै दिएको हुन्छ । हामी जन्मदा रिस, राग, घमण्ड, इश्र्या पाप र क्रोध भन्ने लिएर आएको हुँदैन । सकारात्मक र नकारात्मक भन्ने केहि पनि हुँदैन, मात्र शुद्ध मन बोकेर जन्मेका हुन्छौँ । जब मानिस समाजमा बसेर ठुलो हुँदै जन्छ, अनी हामीले जे जती देखेका छौँ र बुझेका छौँ, त्यो नै हामीलाई सबैभन्दा ठुलो लाग्छ, जुन समाजबाट प्राप्त गर्छौ । हामी सधैँ त्यसैमा रमाउँछौँ र त्यहि समाजले दिएको नाममा गर्व गछौँ । म ठुलो जात, उसको सानो जात, उसले छोएको खान हुँदैन भन्ने भेदभाव त्यहीबाट थालनी गर्छौं । तर यो सब भ्रम मात्र हो की, यो समाजको क्रियाकलापले हामीमा एक प्रकारको सोचाइ बनिसकेको हुन्छ । जस्तै त्यो रातो, त्यो कालो, त्यो निलो लगायत यस्तै-यस्तै समाजमा जे बोलिन्छ, हामीलाई त्यही कुरा सही लागिरहेको हुन्छ । हामी त्यही कुरा सिकिरहेका हुन्छौँ र स्वीकार्य पनि । यसरी यस्तै कुराहरु हाम्रो मस्तिष्कमा छाप बनेर बसेको हुन्छ । हामी त्यही सोचले ग्रस्त बनी सकेका हुन्छौँ । त्यही अनुसार त्यस्तै खालको कर्म गर्छौ, अनी हिजोका दिनहरुमा जे सिक्यौ त्यही अनुसार हामी रिस, राग, क्रोध, घमण्ड, इश्र्या, असन्तुष्टी र दुःख मात्र पाइरहेका हुन्छौँ । त्यसैले हामी जन्मेदेखि नै हाम्रो सोचाईलाई सकारात्मक बनाउने की नकारात्मक बनाउने भन्ने कुरामा धेरै भूमिका आफ्नो आमा-बुबामा नै निर्भर रहेको हुन्छ ।
नेपालको अन्तरिम संविधान २०६३ ले नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरे पनि राज्यले विभिन्न तरिकाले जबरजस्ती अझै आदिबासीहरुलाई लादिरहेको ज्वलन्त उदाहरणबाट पनि प्रष्ट हुन्छ ।  हामीले गोर्खा दरबारबाट ल्याइने दसैँको फूलपाती बौद्धधर्मावलम्बी मूलबासी मगरहरुलाईनै बोकाई पहिले हनुमानढोका र त्यसपछि नारायणहिटी दरबार भित्र्याइने संस्कार चलाईयो । पृथ्वीनारायण शाहले कथित नेपाल एकीकरणको नाममा त्यही समयदेखि नै नेपालका मूलबासीहरुलाई एकतर्फी ढंगले एक भाषा, एक धर्म र एकै संस्कृतिलाई जवर्जजस्ति मनाउन लगाईयो । जसकारण मूलबासीहरुको भाषा, लिपी, धर्म, चाडपर्व र संस्कृतिलाई दबाउने काम गरियो । आ-आफ्नो थाकथलोमा बसेका मूलबासी, दलित र उत्पिडितहरुमाथि ठुलो शोषण  गर्‍यो । उनीहरुको भाषा, लिपी, धर्म, संस्कृति र भेषभूषा योजनाबद्ध रुपमा हडप्ने काम भयो । त्यसैले अझै पनि मूलबासीहरु आफ्नो मातृभाषा, लिपी, भेषभूषा, संस्कृति र चाडपर्वमा धेरै पछाडि देखिन्छन् । यो मूलबासीको दोष होइन र थिएन पनि । हिजो राज्यले मूलबासीमाथि गरेको शोषण, दमनको एउटा उदाहरण मात्र हो । अब मूलबासीले आफ्नो मातृभाषा, धर्म, लिपी, चाडपर्व र संस्कृति के हो? भन्ने कुरा बुझिसकेका छन् । त्यसैले त अहिले मूलबासीले आफ्नो हक अधिकारको सुनिश्चितताको लागि आवाजहरु उठाइरहेका छन् ।
यो देश हिमाल, पहाड र तराईमा बसोबास गर्ने बाहुन, क्षेत्री, तामाङ, मगर, दमाई, मधेशी, कामी, सार्की, शेर्पा, गुरुङ लगायत सबै जातजातिको हो । यहाँ सबैले आ-आफ्नो भाषा, लिपी, संस्कृति, भेषभूषा अनुसारको चाडपर्व मनाउँन पाउनु पर्छ । यो उनीहरुको नैसर्गिक अधिकारभित्र पर्छ । अहिले मूलबासीले आफ्नो हक अधिकारको आवाज उठाएको कुनै बाहुन, क्षेत्री वा कुनै जातिलाई दोष दिएर विरोध गरेर होईन यो त समग्र राज्यको ब्यवस्था र प्रणालीमाथि गरेको विरोध हो । बाहुन, क्षेत्री, नेवार, तामाङ, मगर, सार्की, शेर्पा, लिम्बु लगायत सबै जातजातिको बसोबास रहेको यो फूलबारीमा सबै जातको फूलहरु राम्रोसँग फूल्न पाउनु पर्छ । ता कि कोपिलामै कोहि कसैबाट निमोठ्ने काम नहोस् भन्ने हो । मर्दा होस् या पर्दा, हामीलाई हाम्रो समाजको आवश्यकता हुन्छ । समाजभित्र हाम्रो आफ्नै विभिन्न किसिमको पृथक पहिचान छन् । त्यहि हिजो राज्यले मेटाउन र दबाएर राख्न खोजेको पहिचानलाई यो बेलामा मूलबासीहरुले खोजीरहेका छन् । सकारात्मक तरिकाले मूलबासीले आफ्नो हक अधिकारको कुरा उठाईरहेको बेला धेरैजसो गैर मूलबासीहरुले गलत तरिकाले ब्याख्या गर्दै जनताको माझमा नकारात्मक भ्रमहरु फैलाईरहेको अवस्था छ ।
हामी साँस्कृतिक र विभिन्न हिसाबले धेरै धनी छौँ । त्यसैले त हामीले तिमी सानो जात म ठुलो जात, तिमी बाहुन, तिमी तामाङ, तिमी नेवार र तिमी गरिब भनेर नकारात्मक हिसाबले हेर्नु हुँदैन थियो । मूलबासीले ब्यापक रुपमा पहिचान र अधिकार सहितको संघीयताको मुद्धा उठाइरहेको बेला अर्कोतर्फ संघीयता आयो भने देश टुक्रिन्छ भनेर नकारात्मक तरिकाले अगाडि बढ्नु बिलकुल गलत विचार र धारणा हो । फेरी पनि एकात्मक सत्ता र शासन अनि भाषा, धर्म, संस्कृति लाद्न खोज्नु हो । पहिचान सहितको संघीयताले कसरी देश टुक्रिन्छ ? विश्वमा त्यस्तो देशहरु पनि छन् जहाँ संघीयता प्रणाली लागु भएपछि अझ समृद्ध र शक्तिशाली बनेका छन् ।
संयुक्त राष्ट्रसंघमा सदस्य भएका १९२ सदस्य राष्ट्रहरु मध्ये २९ वटा देशको शासन संरचना संघीय ढाँचामा रहेको छ । संख्यात्मक हिसाबले कम भए पनि संघीय राज्य प्रणालीले विश्व जनसंख्याको ४०५ भन्दा बढी भागको प्रतिनिधित्व गर्दछ । सामान्यतया ठुलो भू-भाग भएको अर्जेन्टिना, अस्ट्रेलिया, रुस, भारत, दक्षिण अफ्रीका, जर्मनी जस्ता देशहरुले संघीय प्रणाली अपनाएका छन् भने अर्कोतर्फ विश्वकै सबैभन्दा सानो मुलुक तर जाती, भाषा, धर्म र क्षेत्रका आधारमा ठुलो सामाजिक विविधता भएको सेन्ट किट्स एण्ड नेभिस, माइक्रोनेसिया, कमोरस स-साना देशले पनि संघीयता अपनाएका छन् । यो उदाहरणले नेपाल भन्दा ठुलो भूगोल भएको र नेपाल भन्दा कम वा सानो भूगोल भएको देशमा पनि संघीय शासन पद्धति भएको देखिन्छ । नेपालकै पनि त्यस्ता ठाउँ छन्, जहाँ अहिलेपनि सबै समुदायको मानिसहरुलाई एकै ठाउँमा उभ्याउन सफल भएका छन् । ‘मर्दाका मलामी र जीउँदो जन्ती’ भन्ने नेपाली उखानलाई सार्थकता दिइरहेका छन् । जस्तै काभ्रेको खनालथोक भन्ने गाविसमा खनाल थरका समुदाय बाहेक तामाङ, बाहुन र क्षेत्री भएपनि त्यो ठाउँको नाम खनालथोक छ र त्यो ठाउँमा सबै समुदायका  मानिसहरु मिलेर बसेका छन् । त्यस्तै च्यासिङखर्क गाविसको कामीडाँडा भन्ने ठाउँको नाम विद्यमान छ । त्यहाँ कामी जातका (जसलाई दलित समुदाय भनिन्छ) उनीहरु सहित तामाङ, बाहुन, क्षेत्री, मगर लगायतका समुदाय मिलेर बसिरहेका छन् । त्यस्तै सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर ३ मा बाहुनेपाटी भन्ने ठाउँ छ, त्यहाँ पनि सबै समुदायको मानिसहरु मिलेरै बसेका छन् । यसरी अहिलेको विद्यमान परिस्थितिमा हेर्दा धेरै ठाउँमा जातीय नाम छन् । तर पनि कसैको केहि आपत्ती भएको पाईदैन उनीहरु सबै मिलेर बसेका छन् । नाम जुन भएपनि उनीहरु सबै एउटै गाउँ, टोल अनि छिमेकमा मिलेर बसिरकेका छन् । अहिलेसम्म कामीडाँडा भएको ठाउँमा तामाङहरुले तामाङ डाँडा हुनुपर्छ भनेको सुन्नमा आएको छैन, खलानथोकमा नेवारथोक हुनुपर्छ भनेको छैन । यो भ्रम फैलाउने काम मात्र भईरहेको छ । जुन उनीहरुबाट (बाहुन/क्षेत्री) नै भईरहेको छ । हामी द्वन्द्व हुनेखालको भ्रामक कुराको पछाडि नलागि सबैले सकारात्मक तरिकाले गाउँदेखि सहरसम्म र सहरदेखि गाउँसम्म संघीय राज्य र प्रणालीको आवश्यकताको बारे आमनागरिकलाई बुझाउन जरुरी छ । अनि मात्र हामीले यो देश नेपालमा बसेर सुख, शान्ति महशुस गर्न पाउँनेछौँ । हुन त हामी मान्छेको स्वभाव कस्तो छ भने हामी प्राय समय अरुको कुरा काटेर बिताउँछौ । जुन कामको न कुनै प्रतिफल आउँछ न कुनै सार नै । र पनि कुरा काटेरै अमुल्य समय बर्बाद गरिरहेका हुन्छौं । दुई चार जना साथी जम्मा हुन्छौँ अनी सुरु हुन्छ । जसले आफ्नो अमुल्य समय त बर्वाद गरिरहेका हुन्छौं, त्यो भन्दा बढी आफ्नै जिबन बर्वादीको उत्कर्षमा पुर्‍याईरहेका छौं । यसरी हाम्रो अमुल्य समय बर्बाद भईरहेको छ । हामीले समयको नास गरिरहेका छौँ । यी र यस्तै कारणले हामीले दुःख पाइरहेका छौँ । हाम्रो मन अशान्त छ । हामीले समयको सही सदुपयोग गर्न सकिरहेका छैनौँ । आजको यो २१ औं शताब्दीमा हामी त्यसै बस्नु हुन्न, केहि गर्नुपर्छ अवश्य केहि हुन्छ । हामी सल्लाह दिन्छौँ, अभिप्रेरित गर्छौँ । समयको सही सदुपयोग गर्छौं । बर्तमानलाई सन्तुलनमा ल्याउन भबिश्य आफै सुधार भएर जाने छ । साथी भाइसंग गाफिनुस् तर नकारात्मक बहस हैन कसैको कुरा काटेर समय बर्बाद गर्नुभन्दा राम्रो सोचको सिवकास गरौं । सकारात्मक सोचौं, सबैसंग राम्रो ब्यवहार गरौं, मिठा-मिठा कुरा गरौं । मूस्कुराऔं, तब न जीवनले सुःखको अनुभुती पाउनेछ । जीवनमा आनन्दको झल्को आउनेछ । आफुले राम्रो सोचे अरुले पनि राम्रो सोच्नेछ भन्ने मनमा राखौं ।
सबैसंग समान ब्यवहार गर्नु पर्दछ । जातीय र सांस्कृतिक पहिचान सहितको राज्य बनाउँदैमा देशको जातीय एवं धार्मिक सद्भाव भड्किने होइन । बरु जबसम्म सबै जातजाति, भाषाभाषिले आफ्नो सांस्कृतिक र पहिचानको सम्मान गरेको अनुभूति पाउँदैनन् तबसम्म त्यो राज्य ब्यवस्था बलियो हुनै सक्दैन । जातीय पहिचान सहितको संघीय राज्य बनायो भने देश बर्बाद हुन्छ भन्नु देशलाई कि त यथास्थितिमा राख्ने सड्यन्त्र हो, कि त फेरीपनि नेपालमा असफल राज्य व्यवस्थालाई नै प्रयोग गर्ने दुस्साहस हो ।

No comments:

Post a Comment