Thursday, January 23, 2014

सैनिक हेडक्वार्टर पुग्यो तामाङ ल्होसारको विवाद

टुँडिखेलमा वीरबहादुर, खुल्लामञ्चमा कुमार समूह 
काठमाडौं, ९ माघ । ल्होसार पर्वको विषयलाई लिएर तामाङ समुदायमा विवाद उत्पन्न भएको छ । विवादमा नेपाली सेनाका एकजना अधिकारीसमेत मुछिएका छन् । तामाङ संघ-संस्थामा देखिएको विवादले गर्दा यस वर्षको ल्होसार पर्व खुल्लामञ्च र टुँडिखेल दुई ठाउँमा आयोजना हुने भएको छ ।
अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार नेपाल तामाङ राष्ट्रिय घेदुङ संघका अध्यक्ष वीरबहादुर तामाङले माघ १७ गते ल्होसार मनाउन भन्दै सैनिक मञ्च टुँडिखेल बुकिङ गरेका छन् । टुँडिखेल बुकिङ गरिएपछि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएका मिलन तामाङले स्टल निर्माण लगायतको व्यवस्थापनको ठेक्का लिइसकेका छन् ।
अर्कोतर्फ कुमार योञ्जन अध्यक्ष रहेको नेपाल तामाङ घेदुङका पदाधिकारीहरु भने टुँडिखेल वीरबहादुरलाई दिइएकोमा आपत्ति जनाउँदै सैन्य हेडक्वाटरमा डेलिगेसन गएका छन् । आधिकारिक संस्था ठानेर वीरबहादुर तामाङलाई कार्यक्रमको स्वीकृति दिएको भन्दै नेपाली सेनाका अधिकारीले गल्ती स्वीकारेको नेपाल तामाङ घेदुङका एक केन्द्य्रीय नेताले अनलाइनखबरलाई बताए ।
कुमार योञ्जन अध्यक्ष रहेको नेपाल तामाङ घेदुङमा एमाले समर्थित लोकतान्त्रिक तामाङ संघ, कांग्रेसको नेपाल तामाङ संघ र एमाओवादीको तामाङ राष्ट्रिय मुक्ति मोर्चासहित १ सय १० वटा संघसंस्था आवद्ध छन् । ०६४ सालमा नेपाल तामाङबाट फुटेर बनेको वीरबहादुर नेतृत्वको नेपाल तामाङ राष्ट्रिय घेदुङलाई भने वैद्य माओवादीको समेत समर्थन रहेको बताइन्छ ।
वीरबहादुर तामाङलाई टुँडिखेलमा कार्यक्रम गर्न दिने भूमिका नेपाली सेनाका मोक्तान थरका एक कर्नेलले गरेको स्रोतले बतायो ।
कुमार योञ्जनको टोली प्रधान सेनापतिसमक्ष डेलिगेसन गएपछि कर्नेर्ल मोक्तानले योञ्जनलाई टेलीफोन गरेर मिल्न आग्रह गरेका छन् । तर, मिलेर एकै ठाउँमा ल्होसार मनाउन आग्रह गर्दा वीरबहादुरले कार्यक्रमको अध्यक्षता र आर्थिक विभागको प्रमुख आफैंले पाउनुपर्ने आग्रह गरेको संस्थापन पक्षको गुनासो छ ।
टुँडिखेल वीरबहादुरले कब्जा गरेपछि योञ्जन पक्षले भने १७ गतेको ल्होसारका लागि गाडी र पसलले भरिएको खुल्लामञ्च बुकिङ गरेको छ । खुल्लामञ्चमा स्टल निर्माणका लागि योञ्जन समूहले अनिष तामाङलाई २ लाख रुपैयाँ पेश्कीसहित व्यवस्थापनको जिम्मा दिएको स्रोतले जानकारी दियो ।
चाडलाई कमाउने धन्दा बनाएको गुनासो
लोकतन्त्रमा खुलामञ्चको निःशुल्क प्रयोग गरिनुपर्नेमा त्यसलाई व्यापारिकस्थल बनाएर यतिबेला सैनिक मञ्च टुँडिखेलमा सार्वजनिक कार्यक्रमहरु हुन थालेका छन् । नेपाली सेनाको शोभाका रुपमा रहेको टुँडीखेलमा कार्यक्रमका लागि बुकिङ गर्दा नेपाली सेनाले पैसा लिने गरेको गुनासो तामाङ घेदुङका एक नेताले गरेका छन् ।
आउँदा १७ गते टुँडिखेलमा आयोजना हुन लागेको ल्होसार पर्वमा भाग लिन जानेहरुले गेटबाटै टिकट काट्नुपर्ने व्यवस्था गरेर चाडबाडलाई कामउने धन्दा बनाउन खोजिएको तामाङ सुमदायका व्यक्तिले अनलाइनखबरसँग गुनासो गरे । ‘सांस्कृतिक महत्वका चाडबाडलाई आर्थिक चलखेलको विषय बनाउनु दुखद कुरा हो’ स्रोतले भन्यो, ‘चाडको निहुँमा पैसा कमाउने प्रचलन बढ्न थाल्यो, यही पैसा कमाउने लोभमा तामाङ घेदुङमा विभाजन आएको हो ।'

No comments:

Post a Comment