Saturday, November 16, 2013

‘संघीयताविरोधी धङधङीका कारण संविधान बन्न सकेन’

हितबहादुर तामाङ, नुवाकोट निर्वाचन क्षेत्र नं. २
० गत संविधानसभा निर्वाचनमा तपाई जुन निर्वाचन क्षेत्रमा पराजित हुनुभएको थियो, अहिले फेरि त्यही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ? फेरि किन त्यही क्षेत्र रोज्नुभयो ?
-पहिलो कुरा म गत संविधानसभा निर्वाचनमा पनि नुवाकोट २ बाट प्रतिस्पर्धी थिएँ । त्यो निर्वाचनमा म प्राविधिक हिसाबले मात्रै पराजित भए पनि जनताको मतदानबाट म विजयी भएकै थिएँ । जनताले मलाई नै बढी मतदान गरेका थिए । कांग्रेस नेता रामशरण महतले विभिन्न किसिमका हथकण्डा अपनाएर मात्रै प्राविधिक जित हासिल गरेका हुन् । उनले कर्मचारीलाई प्रभावित गरे, धाँधलीका अनेकौं तिकडम गरे । नुवाकोट निर्वाचन क्षेत्र नं. २ का जनताले आफ्नो तर्फबाट मलाई गत संविधानसभामा पनि असाध्यै माया गरेकै हुन् अहिले पनि त्यहाँका जनताले मलाई विजयी गराउने कुरामा म ढुक्क छु । जहाँसम्म क्षेत्र रोज्ने कुरा छ, म पार्टीको इमान्दार सिपाही हुँ । पार्टीले जुन जिम्मेवारी दिन्छ, म त्यो पूरा गर्नेछु । यसपटक पनि पार्टीले मलाई नुवाकोटको क्षेत्र नं. २ मा उम्मेद्वार बनाएको हुनाले म त्यहींबाट प्रतिस्पर्धामा उत्रिएको हुँ ।
० अहिले पनि प्रतिस्पर्धी त पूरानै छन्, विगतमा पनि धाँधलीका कारण आफू पराजित भएको भन्नुभयो । यहाँले विगतबाट पाठ पनि सिकिसक्नु भएको होला, के छ आफ्नो तयारी ?
-अहिले पनि सरसर्ती हेर्दा जनसमर्थन र जनलहरको हिसाबले हाम्रो पार्टी एमाओवादीकै पक्षमा देखिएको छ । यो मैंले मात्रै भन्ने कुरा भन्दा पनि आम जनसमुदायले पनि भनेका छन् । तर प्रतिस्पर्धीका हिसावले अरु पार्टीको तुलनामा कांग्रेस अगाडि हो कि भन्ने देखिएको छ । हुन त यहाँ नेकपा एमालेलगायतका अरु पार्टीहरु पनि हाम्रो प्रतिस्पर्धामा छन् । यद्यपि नुवाकोट क्षेत्र नं. २ मा हाम्रो प्रतिस्पर्धा नेपाली कांग्रेससँग नै हो । कांग्रेस हाम्रो प्रतिस्पर्धामा आउने भने पनि निकै पछाडि छ । अर्को कुरा निर्वाचनमा छुट्टै तयारी भन्ने हुुँदैन । जनतालाई मतपत्र चिनाउने हो, सचेत गराउने हो । त्यसपछि सही र अग्रगामी राजनीतिक दल को हो भन्ने कुरा त जनताले नै फैसला गर्नेछन् ।
० विगतमा थोरै मतान्तरले पराजित हुनुभयो, यसपटक पनि कांग्रेस नै आफ्नो प्रतिस्पर्धी हो भन्नुहुन्छ, फेरि तपाईहरु यसपटक जनताबीच टेस्टेड पनि भइसक्नु भयो, त्यसकारणले गर्दा त तपाईको अवस्था झन् खस्किँदो होला नि होइन र ?
-अवस्था खस्किँदो छैन, जनताले बुझेका छन् संविधानसभाको निमित्त लडेको पार्टी पनि एमाओवादी नै हो । एमाओवादीको स्पष्ट बहुमत नहुँदा संविधान बन्न सकेन भन्ने कुरा जनतालाई स्पष्ट छ । नेपाली कांग्रेसलगायतका केही यथास्थितिवादी दलहरुको संघीयताविरोधी धङधङीका कारण संविधान बन्न नसकेको हो । त्यसो भएको कारणले गर्दा पनि नयाँ संविधान बनाउन, पहिचान र संघीयताको अधिकार सुनिश्चित गर्न एनेकपा माओवादीलाई नै भोट दिनुपर्छ भन्ने जनतामा आम रुपमा विकास भइसकेको छ । जहाँसम्म सरकारमा छँदाखेरि केही पनि भएन र तपाईहरु पनि फ्रेस अनुहार होइन भन्ने कुरा गर्नुभयो, त्यसमा के छ भने नेपाली कांग्रेसले १८ वर्षसम्म शासन गर्दाभन्दा हाम्रो अध्यक्ष कमरेडले ९ महिना सरकार सञ्चालन गर्दा जनताका समस्या बढी सम्बोधन भएको छ । त्यतिखेर किसानहरुले लिएको ३० हजारसम्मको सावा र व्याज ऋण मिनाहा गरिदिएको छ । १०० रुपैयाँको बृद्धभत्ता ५०० रुपैयाँ पु¥याइएको छ । ७५ वर्षमा पाउने व्यवस्थालाई ७० वर्षमा झारिएको छ । महिला विधवा भत्ता जुनसुकै उमेरमा भए पनि पाउने व्यवस्था गरिएको छ । गाविसमा आउने अनुदान ५ लाखबाट २५/३० लाख पु¥याइएको छ । यही कारणले अहिले गाउँगाउँमा टोलटोलमा कच्ची नै भए पनि मोटरबाटो पुगेको छ । किसानहरुका लागि आवश्यक कृषि मलमा अनुदानको व्यवस्था गरिएको छ । यी सबै कामहरु नेपाली कांग्रेसको १८ वर्षे शासनकालमा भन्दा एमाओवादीको ९ महिने शासनकालमा भएको छ । अल्पमतमा रहँदा त एमाओवादीले जनताको पक्षमा यतिधेरै काम गर्न सक्छ भने, बहुमत दिन सकियो भने कति धेरै काम हुन सक्छ भन्ने पनि जनताले विचार गरेका छन् । त्यसो हुँदा यसपटक एमाओवादीको पक्षमा जनता उर्लिएका छन् ।
० नुवाकोट क्षेत्र नं. २ मा यहाँलाई मतदान गर्नुपर्ने खास कारण के छ ?
-मलाई भोट हाल्नुपर्ने एउटा कारण त मैले यो जिल्लामा राजनीतिक गर्न थालेको ३२/३३ वर्षभन्दा बढी भयो । यति लामो अवधिमा मैंले जनताको सेवा मात्रै गरेको छु । यो कुरालाई यहाँका जनताले स्वीकार गरिसकेका छन् । अर्को कुरा एकीकृत नेकपा माओवादी यो मुलुकको अग्रगामी राजनीतिक शक्ति हो, म त्यही पार्टीको उम्मेद्वार भएकाले पनि जनताले अग्रगामी शक्तिलाई मतदान गर्नेछन् भन्ने मलाई लाग्छ । अर्को कुरा गत संविधानसभामा म नहुँदा पनि र हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र डा. बाबुराम भट्टराई अर्थमन्त्री भएका बेलामा नुवाकोटको विकासका लागि सबैभन्दा बढी योगदान दिएका थियौं । म जननिर्वाचित प्रतिनिधि नहुँदा समेत जिल्लामा सबैभन्दा बढी जनताको प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणलगायतका काम गरेको स्थिति हो । जनताले यो कुरा बुझेका छन् । त्यसैले नुवाकोटको विकास निर्माणका लागि पनि यहाँका जनताले मेरो र हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी) को पक्षमा मतदान गर्नेछन् ।

No comments:

Post a Comment