Tuesday, October 8, 2013

सिरियाका असादः वार्ताका दुश्मन, युद्धका आसीक


-वारवारा एफ वाल्टर
गृहयुद्धको सबैभन्दा उल्लेखनीय वास्तविकता के हो भने, यस्ता युद्ध टुंगिनुभन्दा प्रायः महिनौं वा वर्षौंपहिले नै परिणाम स्पष्ट देखिन्छ। एटलान्टा गुमेपछि जेफ्फर्सन डेभिसलाई आफूले अमेरिकी गृहयुद्ध हार्ने कुरा थाहा थियो, तैपनि उनले अन्त्यसम्म युद्ध लडे। मोम्मर गद्दाफीलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले सैनिक कारबाही शुरु गर्नासाथ करिब–करिब निश्चित रूपमा थियो कि उनले लिबियाको युद्ध हार्नेछन्, तर पनि उनले युद्ध जारी राखे। 
यही वास्तविकता सिरियाका राष्ट्रपति बसार अल–असादको मामिलामा पनि सत्य छ। इतिहासले आफूले अन्ततः हार स्वीकार्नुपरे पनि दृढ नेताहरूले गृहयुद्धमा लडाइँ जारी राख्ने गरेको देखाउँछ। आफ्नै महँगो पराजयको यात्रामा आफूलाई व्यस्त राख्दै राष्ट्रपति असादले यस परम्परालाई निरन्तरता दिएका छन्।
असादले यस युद्धमा सफलता पाउने देखिन्न। सन् २०११ को फेब्रुअरीमा अमेरिकी गुप्तचर र सीआईएका दुवै निर्देशकले अमेरिकी सिनेटसमक्ष असादले यो चुनौती थाम्न नसक्ने घोषणा गर्नासाथ यो तथ्य स्पष्ट भइसकेको थियो। यदि असादले यो युद्ध हार्ने सत्य हो भने, उनी किन लडिरहन्छन् ? दुई वटा कारणका लागि उनले युद्ध जारी राखेका छन्। पहिलो, उनलाई थाहा छ कि आफ्नै तरिकाले वार्ताबाट उनी युद्धबाट बाहिरिन सक्दैनन्।सैद्धान्तिक रूपमा वार्ताबाट शान्ति–सम्झौतामा पुग्ने हो भने उनले फ्री सिरियन आर्मी (एफएसए)का सदस्यहरूलाई शान्तिलाई सम्भव बनाउने बदलामा कुनै प्रकारको सत्ता साझेदारी गर्नुपर्ने हुन्छ। निकारागुवा, मोजाम्बिक र क्याम्बोडियामा समझदारीपूर्ण सफल वार्ताबाटै गृहयुद्धको अन्त्य भएका थिए। तर वास्तवमा यससम्बन्धमा वार्ताबाट हुने सहमतिलाई असाद र एफएसए दुवैले अस्वाभाविक रूपमा लिएका छन्। असादको दृष्टिकोणमा आफ्नो अल्पमत अलावाइट सम्प्रदायलाई च्याँखे थापेर जनसंख्याको हिसाबले निकै ठूलो सुन्नी बाहुल्यतालाई सत्ता साझेदारीका लागि कुनै वास्तविक प्रस्ताव अघि सार्नु भनेकै निर्णायक पराजय भोग्नु बराबर हो। राष्ट्रको कुल जनसंख्याको ७० प्रतिशत ओगटेको समूहसँग राजनीतिक प्रक्रियामा खुल्ला हुन सहमत बन्नु भनेकै असादका लागि नयाँ सरकारमा अल्पमतमा बस्न तयार हुनुजस्तै हो। अत्यन्तै अलोकप्रिय तानाशाहलाई यस्तो अवस्थामा आफूलाई काराबास वा बदलाको भावनाले उद्वेलित जनताको हातबाट मृत्युदण्ड हुन सक्ने पक्कै थाहा हुन्छ।

यदि असाद महत्त्वपूर्ण राजनीतिक सुधारका लागि तयार नै भए तापनि उक्त सहमति अस्वीकार गर्न विपक्षी समूहसँग आफ्नै वैधानिक कारण हुन सक्छ। मानांै तिनीहरू एकीकृत नै भए तर सुन्नी र इसाई समूहले आफूहरूले हतियार बिसाइसकेपछि असादले निरन्तर सत्ता साझेदारी गरिरहन्छन् भनी कसरी विश्वास गर्न सक्छन् ? हिंसा र निरन्तर हिंसाको खतरा जारी राख्नु एफएसएका लागि असादलाई ठीक स्थानमा राख्ने एकमात्र उपाय हो। तिनीहरू परिवर्तनका लागि असादले अघि सार्ने कुनै पनि प्रस्ताव वा बचनप्रति सशंकित रहेका छन्। असादले स्वेच्छिक रूपमा सत्ता हस्तान्तरण गरी जीवनका बाँकी दिन निर्वासनमा आरामसँग बिताउन सक्थे। तर असादले लडाइँलाई निरन्तरता दिइरहनुको यो दोस्रो कारण हो। उनलाई आफ्नो लागि सुरक्षित र आरामदायी निर्वासन विकल्प हैन भन्ने थाहा छ। विगतका इतिहासमा अलोकप्रिय तानाशाहहरूले पराजयको सम्भावना बढ्दै जाँदा कहिलेकाहीँ निर्वासनको छनोट गरेका थिए। सत्तरीको दशकमा इरानका शाहले, असीको दशकमा फिलिपिन्सका फर्डिनान्ड मार्कोसले र सन् २०११ मा वेन अलीले निर्वासनलाई अन्तिम विकल्पको रूपमा प्रयोग गरेका थिए। तर दुर्भाग्यको कुरो, यो विकल्प असादका लागि खुल्ला छैन। त्यसैले उनी अन्त्यसम्म लड्नेतर्फ आकर्षित भएका छन्। असाद निर्वासनमा जान सक्दैनन्, किनभने उनीमाथि अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी)द्वारा कारबाही अघि बढाउने ठूलो खतरा छ।

उनको समस्या भनेको उनले आईसीसीको रोम घोषणापत्रमा हस्ताक्षर गर्नु हो, जसको कारण उक्त अदालतलाई यदि मानवताविरोधी अपराध गरेको खण्डमा उनीमाथि आवश्यक कारबाही गर्ने अधिकार प्राप्त छ। जुन कार्य उनले स्पष्टरूपमा विगत दुई वर्षभित्र गरिसकेका छन्। वास्तवमा गतवर्ष तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले सार्वजनिक रूपमै युद्ध अपराधका लागि असादमाथि कारबाही गरिनुपर्ने आवाज उठाइसकेकी छिन्। यसले गर्दा उनी प्रत्यक्षरूपमा आईसीसीको नजरमा परिसकेका छन्। उनले उक्त घोषणापत्रमा हस्ताक्षर नगर्ने राष्ट्रहरू जस्तै– संयुक्त राज्य अमेरिका, क्युबा, साउदी अरेबिया, जिम्बावे वा सुडानमा शरण लिन सक्नेछन्। यस्ता राष्ट्रको सूची सानो र तीमध्ये पनि अधिकांश उनीप्रति वैरीभाव राख्ने खालका भएकाले ती मुलुकले लामो समयसम्म उनको सुरक्षाका लागि ग्यारेन्टी दिन सक्दैनन्। त्यसो भए के हुन्छ त ? इतिहासले सल्लाह दिन्छ कि असादले लडाकूहरूलाई निर्णायक ढंगले पराजित गर्न निरन्तर लडिरहन्छन्। उनले इरान र रसियाले आफूलाई निरन्तर समर्थन गरिरहने र अन्तर्राष्ट्रिय समुदायले सिरियामा हस्तक्षेप नगर्ने आशा गर्नेछन्। तर समय उनको पक्षमा छैन। निरन्तरको युद्ध र अन्तर्राष्ट्रिय समुदायले लगाएको आर्थिक नाकाबन्दीको कारण उनको सत्ता कमजोर हुनेछ। यस ओरालोले उनी अन्ततः सहमतिका लागि सम्झौता गर्न विस्वस्त हुनेछन् तर उनलाई विश्वास नगर्ने विपक्षीले उनको सहमतिको प्रस्तावलाई अस्वीकार गर्ने सम्भावना छ। निर्वासन पनि सही विकल्प हुनेछैन, किनभने थोरै मुलुकले मात्र उनलाई स्वीकार्ने वा विश्वासका साथ उनलाई सुरक्षा दिने बाचा गर्ने सम्भावना छ।
सबैभन्दा ठूलो सम्भावना भनेको गद्दाफीले जस्तै पराजय र मृत्यु भोग्नु रहेको छ। त्यो स्थिति सिरियाली जनता र विश्वका अधिकांश व्यक्तिका लागि खराब विकल्प हुनेछैन। बाहुल्य सुन्नी नेतृत्वमा सिरियाले नयाँ सरकार पाउनेछ, अमेरिका र पश्चिम जगत्को शत्रु नेताहरूको सूची सानो हुनेछ र मध्यपूर्वमा सिया र सुन्नीको सन्तुलन करिब–करिब पुनः कायम हुनेछ। सिरियाली लडाकूहरूलाई छिटोभन्दा छिटो सैनिक र आर्थिक सहयोग उपलब्ध गराइएमा यो परिणाम चाँडै निस्कनेछ। तर अन्ततः असादले वार्ता गर्न सहमति गर्छन् वा चुपचाप सत्ता छोड्छन् भन्ने विश्वास गर्ने जो–कोहिले पनि उनले नमरुन्जेल लडिरहनुपर्छ भन्ने कारणलाई बेवास्ता गर्छन्।

साभारः द नेसन, अनु. – ओम
(लेखक वाल्टर अमेरिकास्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको ग्य्राजुएट स्कुल अफ इन्टरनेसनल रिलेसन्स एन्ड प्यासिफिक स्टडिजका प्राध्यापक तथा सहायक डिन हुनुहुन्छ।)

No comments:

Post a Comment