गया, असार २३ -
२ बौद्ध भिक्षु घाइते
मुख्य धार्मिकस्थलसहित मुलुकका ८ सहरमा सुरक्षा व्यवस्था कडा, भारतका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू, श्रीलंकाका राष्ट्रपति लगायतबाट घटनाको निन्दा, जिम्मेवारी कसैले नलिए पनि इन्डियन मुजाहिद्दिनमाथि शंका।

२ भिक्षु घाइते
शान्तिका अग्रदूत भगवान गौतम बुद्धले बोधिसत्त्व प्राप्त गरेको भारत विहारस्थित बोधगयामा आइतबार बिहान ९ वटा शक्तिशाली विस्फोट भएका छन् । बिहान ५:३० देखि ६ बजेभित्र भएका विस्फोटमा परी २ भिक्षु घाइते छन् ।
विश्वप्रसिद्ध महाबोधी मन्दिर परिसरमा विस्फोट भएका हुन् । उक्त मन्दिर बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ । जुन विहारको राजधानी पटनाबाट १ सय १० किमि टाढा गया जिल्लामा पर्छ । उक्त मन्दिर २५ सय वर्ष पुरानो भएको विश्वास छ । सन् २००२ मा युनेस्कोले यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा राखेको थियो ।
प्रत्यक्षदर्शी भिक्षुहरूका अनुसार विस्फोट शक्तिशाली थिए । बोधी वृक्षको फेदमा पहिलो विस्फोट भएको थियो । उक्त वृक्षको छहारीमा बसेर भिक्षुहरूले भक्तजनलाई बत्ती वितरण गर्थे । गया जिल्लाका प्रहरी प्रमुख एसपी चन्दन कुसवाहाका अनुसार ३ विस्फोट कम क्षमताका थिए । घटनास्थलबाट विस्फोट हुन बाँकी २ शक्तिशाली बम बरामद गरिएको छ । विस्फोटबाट मन्दिरमा ठूलो क्षति नपुगेको उनले बताए । राजधानी नयाँदिल्लीबाट राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली घटनास्थल पुगिसकेको छ, जसले 'फोरेसिन्क' तथ्य संकलन गर्नेछ ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार बिहान करिब ५ बजेर ४० मिनटमा उक्त विस्फोट भएको थियो । ३ वटा विस्फोट टेरेगा बौद्ध विहारमा भएका थिए । अन्य विस्फोट ८० फिट उचाइको बुद्ध सालिक नजिक भएका थिए । प्रहरीका डीआईजी नइयर हुसेन खानका अनुसार प्रार्थनास्थल रहेको मन्दिरको भित्री परिसर विस्फोटबाट जोगिएको छ । घाइते भिक्षुहरूलाई स्थानीय मगध अस्पतालमा भर्ना गरिएको डीआईजी खानले बताए ।
विहारका मुख्यमन्त्री नीतीश कुमारले घटनास्थल पुगेर विस्फोटको जानकारी लिएका छन् । उनी घटनास्थलमै रहँदा अपराह्न ४ बजे महाबोधी मन्दिर नजिकको होटलमा अर्को बम फेला परेको थियो, जुन डिस्पोजल टोलीले निष्त्रिmय बनाएको छ ।
केन्द्रीय गृहमन्त्री सुशीलकुमार सिन्देले घाइते भिक्षुहरू खतरामुक्त रहेको बताएका छन् । उनका अनुसार घाइते हुनेमा दान्जिम दोर्जी र विलास सागा नामका भिक्षु छन् । घटनास्थलबाट बरामद गरिएको बमको समय उल्लेखित मेसिनमा ५ बजेर ४५ मिनेटको समय निर्धारित थियो । केन्द्रीय गृहसचिव अनिल गोश्वामीले राजधानी नयाँदिल्लीमा सञ्चारकर्मीसँग भने, 'विस्फोटबाट मन्दिर परिसरमा ठूलो क्षति भएको छैन । बौद्ध गुम्बाहरू र भगवान बुद्धको प्रतिमा सुरक्षित छन् ।'
उच्च सतर्कता
घटनालगत्तै केन्द्रीय गृह मन्त्रालयले देशका ८ सहरको सुरक्षा व्यवस्थाका बारेमा 'एड्भाइजरी' जारी गरेको छ । बिहान १० बजे नयाँदिल्लीमा उच्च अधिकारीहरूको आकस्मिक बैठक भएको थियो । जसको अध्यक्षता केन्द्रीय गृहसचिव गोश्वामीले गरेका थिए । बैठकमा नर्थ ब्लकका अधिकारीको सहभागिता थियो । लगत्तै, गृहसचिव गोस्वामीले उक्त विस्फोट आतंककारी आक्रमण भएको प्रतिक्रिया दिएका थिए ।
महाबोधी मन्दिरको विस्फोटपछि बिहारसँग जोडिएको अर्को राज्य झारखण्डको राजधानी सहर राँचीका मुख्य धार्मिक स्थलहरूको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विस्फोटपछि विहारसँग जोडिएको नेपाल-भारत सीमामा पनि सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरूले बताएका छन् । गया जिल्ला प्रशासक केभी पान्डिवनका अनुसार सीमामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
चौतर्फी आलोचना
राष्ट्रपति प्रणव मुखर्जीले विस्फोटको निन्दा गर्दै 'विवेकहीन कार्य' भनेका छन् । प्रधानमन्त्री मनमोहन सिंहले विस्फोटको निन्दा गर्दै पवित्र तीर्थस्थलमा भएको आक्रमण अक्षम्य रहेको बताए । विहारका मुख्यमन्त्री नीतीश कुमारले पनि विस्फोटको भत्र्सना गरेका छन् । श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेले घटनाको निन्दा गर्दै 'स्तब्ध र दुःखी' भएको जनाएका छन् । उनले विदेश मन्त्रालय र दिल्लीस्थित उच्चायोगलाई घटनाको यथार्थ जानकारी गराउन निर्देशन पनि दिएका छन् । राजापाक्षेले गत फेब्रुअरीमा बोधगया भ्रमण गरेका थिए । तिब्बती धार्मिक नेता दलाई लामाका सहयोगी टेम्पा छिरिङले घटनाको निन्दा गरेका छन् । 'जसले पवित्र स्थलमा यस्तो गतिविधि गरिरहेका छन्, तिनलाई घृणा गर्नुपर्छ,' उनले भनेका छन् ।
इन्डियन मुजाहिद्दिनमाथि शंका
विस्फोटको जिम्मेवारी यो सामग्री तयार पारुन्जेलसम्म कसैले लिएको छैन । यद्यपि, इन्डियन मुजाहिद्दिनले उक्त घटना गराएको शंका अधिकारीहरूको छ ।
दक्षिण-पश्चिमी भारतीय सहर पुणेस्थित जर्मन बेकरीमा भएको चर्चित विस्फोट घटनाका अभियुक्तले ८ महिना पहिले नै बोधगया मन्दिर निसानामा रहेको बयान दिएका थिए । उक्त विस्फोटका अभियुक्त इमरान, इरफान, असद, फिरोज र सैयद मकबुलले बोधगया आक्रमणका लागि तयार गरेको नक्सा नै प्रहरीले बरामद गरेको थियो । उनीहरूले त्यस क्षेत्रमा १५ दिन बसेर आक्रमणका लागि नक्सा तयार गरेका थिए । म्यानमारमा मुसलमान विरुद्ध भइरहेको हिंसा र त्यसमा भारतको साथको विरोधमा आक्रमणको तयारी भइरहेको बयान प्रहरीलाई दिएका थिए । केन्द्र सरकारले विहार राज्य सरकारलाई समेत त्यसको जानकारी दिएको थियो । केन्द्रीय गृहमन्त्री सुशीलकुमार सिन्देले आक्रमणको सम्भावित जानकारी भए पनि कुन दिन हुने जानकारी नभएका कारण रोक्न नसकिएको बताएका छन् ।
वरिष्ठ पत्रकार प्रविन स्वामीका अनुसार जिहादी समूहले १ वर्षदेखि बौद्धमार्गीहरूमाथि आक्रमणको धम्की दिँदै आएका थिए । सन् २०१२ को जुलाइमा अलकायदासँग जोडिएको पाकिस्तानको तेहरिक-ए-तालिबानले म्यानमारमा जातीय हिंसा भड्काएका कारण बौद्धमार्गीहरूमाथि आक्रमणको धम्की दिएको थियो । सन् २०१३ को जुनमा पनि लस्कर-ए-तोयबा प्रमुख हफिज मुहम्मद सइदले बर्माका मुसलमानलाई लखेट्ने योजनामा भारतले साथ दिइरहेको सार्वजनिक आरोप लगाएका थिए । प्रहरी स्रोतलाई उद्धृत गर्दै वरिष्ठ पत्रकार प्रविन स्वामीले बताएअनुसार विस्फोटमा प्रयोग गरिएका विस्फोटमा विश्वव्यापी रूपमा आतंकवादीले प्रयोग गर्ने प्रकारका सुविधा सम्पन्न पाइएको छ । जुन, गत वर्ष मुम्बईको क्राफोर्ड रोडमा गराइएको विस्फोटककै प्रकृतिको छ ।
विस्फोटमा संलग्न सम्भावित २ व्यक्तिको स्केच सुरक्षा निकायहरूले तयार गरेका छन् । राज्य गृहमन्त्रालयका आरपीएन सिंहका अनुसार विस्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन । 'मन्दिर सुरक्षामा भएका कमजोरी बारेमा छानबिन सुरु भएको छ,' सिंहले भने, 'छानबिनपछि सबै तथ्य बाहिर आउने छ ।'
प्रकाशित मिति: २०७० असार २४ ०९:१४
No comments:
Post a Comment