Thursday, August 1, 2013

‘रत्‍नपार्क रमिता’ जस्तो नहोस् बेलबारी बर्बरता कान्ड



सोमबार भएको बेलबारी बर्बरता कान्डका फोटोहरुसहितको प्रमुख समाचार देशको राष्ट्रिय दैनिक कान्तिपुरले आज बुधबार छापेको छ। ठूला मिडियाले समेत प्राथमिकता दिएपछि बेलबारी बर्बरताका दोषीहरुलाई कारबाही गर्न दबाब बढ्ने आशा गर्न सकिन्छ। हिजै मुख्य सचिव लीलामणि पौडेलले मलाई फोन गरी यो घटनामा दोषीलाई कारबाही गर्न निर्देशन दिएको तर ठूला मिडियाले यो समाचार नदिएकोमा आश्चर्य व्यक्त गरेका थिए। कान्तिपुरको यो समाचारले प्रशासनलाई कारबाही प्रक्रिया छिटो अघि बढाउन दबाब दिने आशा गर्न सकिने भएको छ। अरु ठूला मिडियाहरु पनि यो खबरको भित्री पाटोलाई उजागर गर्न लागोस्।
म आशा गर्छु यो घटना चार वर्षअघिको रत्‍नपार्क रमिता कान्ड जस्तो हुनेछैन। २०६६ साल जेठ ६ गते राजधानीको रत्‍नपार्कमा सिंगो राजधानीको सुरक्षाको जिम्मा लिएर बसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयको ठीक सामुन्ने एक महिलालाई निर्ममतापूर्वक लाठीले कुटेर लुगा च्यातचुत पार्दै नाङ्गो पारेर रत्‍नपार्क वरिपरि घुमाइएको थियो। कुनै पनि राष्ट्रिय मिडियाले यसलाई कभर गरेनन्। बरु टाइम्स अफ इन्डिया र हफिङटनपोस्टले माइसंसारलाई उद्‌धृत गर्दै घटनाबारे जानकारी अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याए। अब कम्तिमा यस्तो नहोस्।

कति अत्याचार गरेको वाफ रे, मान्छे कि पशु ?
नवराज न्यौपाने
राजधानीबाहिर महिलामाथि हुने गरेको हिंसाको डलरवादी संस्थाले वकालत गर्ने गरेको भएपनि राजधानी मै भएको एउटा क्रुर अमानवीय महिला हिंसाको समाचार चार दिनसम्म पनि बाहिर आउन सकेको छैन।

मिति जेठ ६ गते। समय राति नौ बजेको थियो। मानिसहरुको चहलपहल विस्तारै कम हुँदै थियो। सिंगो राजधानीको सुरक्षाको जिम्मा लिएर बसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयको ठीक सामुन्ने एक महिलालाई निर्ममतापूर्वक लाठी नै लाठीले कुटियो। त्यति मात्र हो र, उनले लगाएको लुगा च्यातचुत पारियो। अनि नाङ्गो पारेर रत्‍नपार्क वरिपरि घुमाइयो।

अत्यन्तै पाशविक उक्त काण्डमा को-को सहभागी थिए भन्ने खुल्न सकेको छैन। तर प्रकृति हेर्दा कुनै विकट जिल्लामा महिलामाथि भएका हिंसाभन्दा कयौँ गुणा पीडादायी थियो। झण्डै पाँच दर्जन युवाहरुको हुल एउटी अबला महिलामाथि जाई लाग्दै थिए।
अन्दाजी ३५ वर्षकी जस्ती देखिने एक महिलालाई रत्नपार्कमा भेला भएका युवाहरुले पहिले कुटपीट गरी यातना दिएपछि कपडा च्यातेर निर्वस्त्र बनाए अनि वरपर घुमाए।

शुरुमा लठ्ठीसहितका युवाहरुले चरित्रहीन भएको आरोप लगाउँदै ती महिलालाई खुट्टा, पाखुरा, जीउ र टाउकोमा प्रहार गरे। अनि उनको बाहिरी र भित्री दुवै कपडाहरु खोलेर कुटपीट गरे। उनका संवेदनशील अंगहरुमा समेत लाठीले हिर्काइयो । महिला चिच्याउँदै थिइन्, कराउँदै थिइन्। ‘बचाऊ बचाऊ’ ‘मलाई मारे’ भन्दै उनको चित्कारले रत्नपार्क पूरै गुन्जियो। तर जम्माजम्मी ५० मिटरको दूरीमा रहेको सिंगो उपत्यकाको शान्ति सुरक्षा र जनताको जीउ धनको जिम्मेवारी पाएको प्रहरी आयुक्तको कार्यालय बेखबर रह्यो।

भीडले गरेको उक्त कार्यलाई रोक्ने साहस कसैले गरेन। कोही आएको भए ऊ पनि मतियारका रुपमा चुटिने डर हुन्थ्यो। झण्डै आधा घण्टासम्म ३० सेकेण्डको दूरीमा रहेको प्रहरी आउन सकेन। प्रहरी आउँदासम्म ती महिलामाथि कुटपीट र यातना जारी थियो। प्रहरी आइपुग्दा उनलाई सहर घुमाउने भन्दै भक्तपुर बसपार्क अगाडिसम्म ल्याइपुर्‍याई सकिएको थियो। प्रहरीकै सामुन्ने नाङ्गै भएकी ती युवतीलाई यातना दिनेलाई प्रहरीले पनि पक्राउ गरेन।


ती परिचय नखुलेकी महिलामाथि भएको चरम यातनाको अहिलेसम्म कतै रिपोर्ट वा उजुरीको परेको खबर छैन। उनले सामाजिक त्रासले कतै रिपोर्ट नहालेको हुनसक्ने आशंका गरिएको छ।

यस पटक कम्तिमा एउटा राष्ट्रिय मिडियाले भए पनि यसलाई ‘कभर’ गरेको छ। विस्थापित भएकी ती बहिनी र त्रासमा रहेका दुई परिवारलाई न्याय दिलाउन नसक्ने हो भने यो कान्ड पनि रत्‍नपार्क रमिता जस्तै गरी सेलाउनेछ। त्यसैले सबैले आफ्नोतर्फबाट सकेको गरौँ।
आजको कान्तिपुरको मुखपृष्ठ-

आजको कान्तिपुरमा छापिएको समाचार-

थप जानकारीका लागि

साभार: माई संसार डट कम 

No comments:

Post a Comment