जनकपुर - तराईमा सशस्त्र अपराधिक घटनामा सक्रिय एक दर्जन भूमिगत समुहबीच एकिकरण भएको छ। भारत बिहारको गोप्य स्थानमा साताव्यापी चलेको बैठकबाट जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा बाहेकका १२ वटा संगठनबीच एकता भएको हो।
गोइत नेतृत्वको मोर्चा, राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा, नागराज नेतृत्वको तराई कोब्रा, प्रशान्त नेतृत्वको तराई राष्ट्रिय मुक्ति मोर्चा, जीवन नेतृत्वको तराई–मधेश मुक्ति टाइगर र भाष्कर मुक्ति नेतृत्वको तराई कम्युनिष्ट पार्टी लगायत १३ वटा समूह बैठकमा सहभागी थिए। ती मध्ये गोइतले आफ्नो नेतृत्वमा एकता गर्न प्रस्ताव राखेपनि त्यसो हुन नसकेपछि कार्यगत एकताको प्रस्ताव राखेका थिए।
गोइतको उक्त प्रस्तावमा पनि अन्य समूहका नेतृत्व सहमत नभएपछि उनी बैठकबाट बाहिरिएको स्रोतले जनायो। बुधबार दिउँसो आठ बुँदे सहमति गर्दै बैठक सकेको छ। १२ वटै समूहबीच एकतापछि जनतान्त्रिक तराई मुक्ति मोर्चाकै नाम तय भएको र मोर्चा अध्यक्षमा राजन मुक्तिलाई नै अध्यक्ष चयन गरिएको छ।
मोर्चाले मंसिर चार गते नेपालमा गर्न लागिएको दोस्रो संविधान सभाको चुनाव विथोल्ने, अघिल्लो संविधानसभा चुनावमा सहभागी भएर सरकारमा बसेका उपेन्द्र यादव, विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादव लगायतलाई मधेशको गद्दार घोषणा गर्दै तिनीहरुले मधेशमा राखेको पार्टी कार्यालयहरु तत्काल खाली गर्न चेतावनी दिएको छ।
बैठकले मधेशमा रहेका प्रहरी चौकी तथा सशस्त्र प्रहरीका शिविरहरु १५ दिन भित्र खाली गर्न र ती चौकीको दुई सय मिटर वरिपरि रहेका बस्ती १० दिन भित्र खाली गर्न पनि चेतावनी दिएको छ। १५ दिन पछाडी तराईमा सशस्त्र गतिविधि तिव्र बनाइने निर्णय भएको मुक्तिले फोनमा नागरिकसँग बताए।
- बुधबार १९ असार, २०७०
No comments:
Post a Comment