सिरहा, ३० असार । तराईमा विगत ९ वर्षदेखि भूमिगत आन्दोलन गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चाले अगामी साउन २० गते मधेश आमहडताल लगायतका चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।दश दिनअघि तराईका भूमिगत विभिन्न १० वटा सशस्त्र समूह एकीकरण भएर गठन गरेको मोर्चाले अघि सारेको माग पुरा नगरेकोले आन्दोलनको घोषणा गर्नु परेको मोर्चाका अध्यक्ष राजन मुक्तिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
भ्रान्तिकारी, दमनकारी, विस्तारवादी, मधेश विरोधी राष्ट्र नेपाल रहेको भन्दै साउन १० गतेदेखि १७ गतेसम्म अन्तरिम संविधान र राष्ट्रिय झण्डा जलाउनुका साथै साउन ६ गतेदेखि निरन्तर रुपमा मधेशमा रहेका सरकारी कार्यालय र कर्मचारीलाई भौतिक कारबाही गर्ने मोर्चाले विज्ञप्ती मार्फत चेतावनी दिइएको छ । एकात्मक हिन्दुबादीको प्रतिकको रुपमा रहेको हालको नेपालको झण्डा परिवर्तन गर्नु पर्ने माग मंगोल डेमोक्रेटिक पार्टीले स्थापनाकाल देखिनै गर्दै आईरहेको छ ।
मधेशवादी दलका नेताहरु गद्दार, दलाल, लुटेरा रहेको भन्दै मधेशबाट पार्टी कार्यालयहरु खाली गराउन भनेपनि आलटाल गरेकाले नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, विजय गच्छदार, राजकिशोर यादव, महेन्द्र राय यादव र अनिल झाको समूहका केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुलाई भौतिक कारबाही गर्ने बिज्ञाप्तिमा उल्लेख गरिएको छ ।
साउन २० गते मधेशको उद्धोग, कलकारखाना, यातायात, बजार, शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालय बन्द गरेर आन्दोलन सफल बनाउन सबै पक्ष संग आग्रह गरेको छ । बन्दको अवज्ञा गरे भौतिक कारबाही गर्ने चेतावनी पनि मोर्चाले दिएको छ । बन्द सफल बनाउन साउन १८ र १९ गते तराई मधेशको सबै जिल्लामा मशाल र फायरिंग जुलुस प्रदर्शन गर्ने बिज्ञाप्तिमा उल्लेख गरिएको छ । मोर्चाले केहि दिनअघि विज्ञप्ती जारी गरेर मधेशवादी दललाई १० दिनभित्र मधेशबाट पार्टी कार्यालय हटाउन र कुनै पनि प्रकारको गतिविधि नगर्न निर्देशन दिएको थियो। साथै मधेशमा रहेका सबै प्रहरी कार्यालय १५ दिन भित्र खाली गर्न र २ सय मिटर आसपासका बस्ती खाली गर्न पनि सम्बन्धित पक्षसंग आग्रह गरेको छ ।
No comments:
Post a Comment