Monday, July 15, 2013

दीक्षित-दरबार कनेक्सन

-डा. पंकज चौधरी
‘सरकार, अहिलेको परिस्थितिलाई सम्हाल्न मिडियाको पनि प्रमुख भूमिका हुन्छ । त्यसका लागि मिडिया हेर्ने एउटा योग्य मान्छेको सहयोगको खाँचो छ । मौका पाएमा म सरकारलाई मिडियाको क्षेत्रबाट यथोचित सहयोग गर्नेछु । मुलुकलाई सरकारको रोडम्यापमा ल्याउने बातावरण बनाउन आफ्नो तर्फबाट हर तरहले सहयोग गर्नेछु ।’
पत्रकार कनकमणि दीक्षितले शाही शासनकालमा राजा ज्ञानेन्द्रसँगको दर्शनभेटका क्रममा खुलेयाम व्यक्त गरेका धारणा हुन् यी । शासन हत्याएपछि ज्ञानेन्द्रले गोकर्ण फरेस्ट रिसोर्टमा समाजका विभिन्न क्षेत्रका हस्तीहरुसँग ‘परामर्शको नाटक’ गरेका थिए । उनले विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकार र ख्यातीप्राप्त हस्तीलाई गोकर्णमा परामर्शका लागि भन्दै डाकेका थिए । सच्चा गणतन्त्रवादीले त्यसलाई पूर्णत बहिस्कार गरे पनि कनकमणिजस्ता राजावादीहरु भने त्यहाँ पुगेका थिए । त्यसबेला गोकर्णमा राजावादी-अवसरवादीहरुको ठूलो लाम लागेको थियो ।
पंक्तिबद्ध रुपमा उभिएका राजावादीहरुले त्यसबेला धनुष्टङ्कार नमस्कार गर्दै राजा समक्ष आ-आफना याचना प्रस्तुत गरेका थिए । त्यसक्रममा एक चर्चित नायिकाले त ‘यत्रो वर्ष काम गरेर पनि राज्यबाट केही नपाएको’ बताएकी थिइन् । राजावादीहरुको त्यो हुलमा कनकमणि पनि पुगेका थिए । उनले पनि अन्य राजावादी झैं झुकेर राजासँग सोझै संचारमन्त्री पाउँ भन्ने याचना गरेका थिए । जतिबेला पत्रकार युवराज घिमिरे राजाले दिएको शाही पदक बहिस्कार गरीरहेका थिए, त्यति बेला कनकमणि भने शाही सरकारको सञ्चारमन्त्री बन्न लबिङ गरिरहेका थिए ।

‘म छेउमै उभिएको थिएँ, कनकजीले सबैले सुन्ने गरी सेवा गर्ने मौका पाउँ सरकार भनिरहनुभएको थियो । उहाँको कुरा सुनेपछि राजाले हेरौंला, विचार गरौंला मात्र भनेका थिए’, त्यो घटनाका साक्षी एक पत्रकार नाम उल्लेख नगर्ने शर्तमा भन्छन् । त्यसपछि पनि कनकले संचारमन्त्री बन्न विभिन्न च्यानलमार्फत् दरबारमा कुरा चलाएका थिए ।
उनको अर्को च्यानल थियो, अमेरीकी दूतावास । नेपालका लागि तात्कालीन अमेरीकी राजदूत जेम्स. एफ. मोरीयार्टीसँग कनकको चर्को हिमचिम थियो । जेम्स एफ मोरीयार्टी ‘राजा र संसदवादी दल मिलेर माओवादीलाई निमिट्यान्न पार्नुपर्छ’ भन्ने पक्षमा थिए । त्यही भएर माघ १९ मा ज्ञानेन्द्रले ‘कू’ गरेपछि मोरीयार्टीले कनकमणिकै ‘दारु पार्टनर’ नारायण वाग्लेसँगको अन्तर्वार्तामा भनेका थिए, ‘ज्ञानेन्द्रलाई सय दिन काम गर्न दिनुपर्छ । उनले सय दिन मागेका छन्, उनलाई शंकाको सुविधा दिनुपर्छ ।’ जब कि त्यसबेला भारतलगायतका लोकतान्त्रिक मुलुकहरुले राजाको कदम रुचाइरहेका थिएनन् । जनता आक्रोशित थिए । तिनै मोरीयार्टीको च्यानलसमेत लगाएका थिए कनकले, आफू सञ्चारमन्त्री बन्न ।
रमेशनाथ पाण्डे, जीवराम भण्डारी, युवराज गौतम र पुष्प प्रधानदेखि मन्डले लोक गायक रामप्रसाद खनालसम्मलाई फोन गरी कनकले ‘मलाई सञ्चार मन्त्री बनाए सबै कुरा ठीक पार्छु्’ भनेर लविङ गरेका थिए । त्यसका लागि बाबु कमलमणि दीक्षितलाई समेत दरवारिया च्यानलमा कुरा गर्न भनेका थिए । कमलमणिले शाही नातेदार र दरबारका सचिवमार्फत् कुरा चलाएका थिए । ‘त्यसबेला कनकमणिले हामीसँग खुलेयाम बार्गेनिङ र एक हदसम्म ब्ल्याकमेलिङ नै गरेका थिए । शुभलाभ वा पद लाभका लागि कोशीस गर्ने, त्यो पूरा भएमा दरबारको समर्थन गर्ने र पूरा नभएमा आलोचना गर्नु उनीहरुको चरित्र नै हो’, शाही कालका एक मन्त्री भन्छन्, ‘उनीहरुले हिजो रानी जगदम्बालाई सिध्याए, अहिले उनकै पैसामा रजाई गरिरहेका छन् । शाही कालमा उनीहरु सत्तामा हाबी हुन खोजिरहेका थिए, तर हामीले नै हावी हुन दिएनौं ।’
हुन पनि ज्ञानेन्द्रलाई रिझाउन कनकले धेरै माथापिच्ची गरेको देखिन्छ । दरबार हत्याकाण्ड लगत्तै तारानाथ रानाभाटको संलग्नतामा गठित छानविन आयोगको प्रतिबेदनको प्रचार गर्न कनकले हिमाल खबरपत्रिकाको विशेषांक नै निकालेका थिए । दिपेन्द्रलाई हत्यारा सावित गरेर ज्ञानेन्द्रलाई खुशी पार्न उनले त्यस्तै खालका सामाग्रीलाई प्राथमिकताका साथ छापे । जनतामा ज्ञानेन्द्रप्रति आक्रोश थियो, त्यसलाई मत्थर पार्न उनले निकै मेहनत गरे ।
माघ १९ पछि ज्ञानेन्द्रले शासन हत्याए । सात दलको आन्दोलन सुरु भयो । त्यसक्रममा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालामाथि निर्मम लाठीचार्ज भयो । त्यही प्रहारका कारण केही समयपछि उनी अशक्त हुदै गए । उनी विरामी पर्न थाले । कनकजस्ता पत्रकारले हिमालमा ‘गिरिजापछि को ?’ शीर्षकमा यस्तो सामाग्री प्रकाशित गरे, जसले नेपालमा नेतृत्व संकट भएको दावी गर्न खोजिएको थियो । अर्थात् ‘अब गिरिजा मर्न लागे, दलहरुमा नेता छैनन्, त्यसैले अब राजाले नै देशको नेतृत्व गर्नु उचित हो’ भन्ने आशयको विश्लेषण प्रकाशित गरियो । नेकपा (माओवादी) र त्यसबाट स्थापित हुन गइरहेको नयाँ सशक्त नेतृत्वलाई नजरअन्दाज गर्नुको कारण पनि त्यही थियो ।
ज्ञानेन्द्रलाई स्थापित गराउन अर्थात् राजतन्त्रलाई समर्थन गर्न कनकले कुनै कसर बाँकी राखेनन् । कहाँसम्म भने फर्जी मत सर्वेक्षणको नाटक गरेर उनले ‘मुलुकमा राजतन्त्रको पक्षमा ५१ प्रतिशत जनता रहेको’ रिपोर्टसमेत छापे । जनता अझै पनि राजतन्त्रकै पक्षमा छन् भनेर उनले त्यसबेला सर्वेक्षण जारी गरेका थिए, जतिबेला मुलुकका जनता गणतन्त्र ल्याउन आतुर थिए र संविधानसभाको निर्वाचनको तयारी हुँदै थियो । हिमालकै सर्वेक्षणलाई आधार मानेर होला, कमल थापालगायतका राजावादीहरु अहिले पनि राजतन्त्र, संघीयता, धर्मनिरपेक्षताका बारेमा जनमत संग्रह गर्नुपर्ने माग गरिरहेका छन् । अर्थात् राजावादीमा समेत भ्रम छर्न खप्पिस छन्, कनक । उनले शान्तिप्रक्रिया सुरु भएपछि पनि गणतन्त्रमा जान नहुने, बरु राजालाई सेरेमोनियल बनाएर राख्नुपर्ने लेख लेखेका थिए ।
ज्ञानेन्द्रप्रति कनकको मोह एक पटक बसन्तपुरमा आयोजित नागरिक समाजको सभामै प्रकट भएको थियो । जनआन्दोलन सफल भएलगत्तै आयोजित सभामा जनताले राजावादीलाई छानी-छानी तिनका विरुद्ध हुटिङ गरेका थिए । ‘सेरेमोनियल किङ’ वा ‘बेबी किङ’को कुरा गरिरहेका काँग्रेस नेता रामचन्द्र पौडेल सभामा आउँदा जनताले हुटिङ गरेर ‘आउट्’ भनेका थिए । त्यही सभामा एकजना सच्चा गणतन्त्रवादी कार्यकर्ता ज्ञानेन्द्रप्रति व्यंग्य गरिएको चित्र अंकित टिसर्ट लगाएर त्यो सभामा पुगेका थिए । उनलाई देख्ने बित्तिकै कनकले लात्तीले हान्दै धपाउन खोजेका थिए । त्यो तस्वीर विभिन्न माध्यममा प्रकाशित भएको थियो । ज्ञानेन्द्रको व्यंग्यात्मक फोटो देखेर चित्त दुखाउने र सच्चा गणतन्त्रवादीलाई लात्तीले हान्ने कनकमणि कसरी लोकतन्त्रवादी हुन सक्छन् ? धन्न, त्यसदिन ख्यातीप्राप्त कलाकार मनोज गजुरेलले नबचाएको भए कनकको के हाल हुन्थ्यो होला ?
‘चण्डालमणि’का सन्तान
पत्रकार कनकमणि दीक्षित राजावादी हुन् कि होइनन ? भन्ने प्रश्न अब रहेन । उनी विशुद्ध सेरेमोनियल राजावादी हुन् । सन् १९८० यता ‘हिमाल एसोसिएसन’ नामक एनजीओबाट स्वतन्त्र तिब्बत मिसनको खेती थालेका कनक र उनको दीक्षित परिवारको दरबार कनेक्सन पुरानै हो । नेपालको शाही परिवारले भारतबाट भान्छेको रुपमा दीक्षितका पुर्खालाई भित्रयाएको हो । मदन शमसेर र रानी जगदम्बाको अपुताली सम्पत्तीबाट आर्थिक रुपमा रातारात माथि उठेको दीक्षित परिवार नवसामन्त वर्गमा पर्छ ।
कनकमणिका पिता कमलमणिलाई सानोमा बग्गीमा चढाएर मदनशमसेरको श्रीदरबारमा हरेक दिन लगिन्थ्यो । त्यो बालकलाई एकजना साहेबज्यूले बाटोमा देखेर मन पराएछन् । ती सोहबज्यूले घोडाबाट ओर्लिएर ‘बाहुनको बच्चा पनि यति राम्रो ?’ भन्दै दुई रुपैयाको डबल दिएका थिए । त्यसरी सामन्तको डबल थाप्ने बानी अझै हटेको छैन, यो परिवारमा ।
राणकालका जनरल मदन शमसेरले औधी मन पराएकाका कारण कमलमणिलाई लिन श्रीदरबारबाट एक घोडे बग्गी नै आउँथ्यो । बग्गी आउँदा बाटोमा हल्लीखल्ली हुन्थ्यो । अलि ठूलो भएपछि मदनशमसेरले उनलाई साइकल नै किनिदिए । कमलमणिले गोरखापत्र दैनिकसँगको अन्तर्वार्तामा भनेका थिए, ‘सानो बेलामा म त ज्यादै चकचके र उद्दण्ड बालक थिएँ नि । एक दिनको घटना भनौं-मदन जर्साहेबको घरमा बसेकी जमुना डिठ्ठीनीलाई झण्डै मार हानेथें । उनी जनरललाई मुखारी गराउन निहुरिँदा तरिएको खसीको आकारमा देखिएकी थिइन् । मैले खुकुरीले झयाम्म छप्काउन आँटेको बेला जर्साहेबले ‘ए..ए चण्डालमणि के गरेको ?’ भनेर कराउनु भएपछि म रोकिएँ । मेरा यस्तै क्रियाकलापका कारण मलाई जर्साहेबले चण्डालमणि भनेर जिस्क्याउने मात्र हैन, मेरा किताबहरुमा पनि चण्डालमणि आचार्य दीक्षित भनेर लेखिदिएर साथीभाइहरुले पनि जिस्क्याउँथे ।’
कमलणिका पिता केदारमणि र रानी जगदम्बाबीच हिमचिम थियो । जर्नेल मदन शमसेर मदिरामा मस्त हुन्थे । मदन शमसेर केदारमणिलाई ‘च्वाँचे’ भनेर बोलाउँथे । रक्सीले मातेर आएको बेला मदनशमसेर बेस्सरी कराउँदै भन्थे, ‘ए च्वाँचे, मेरी स्वास्नीको ख्याल गर है ।’ त्यही मौकामा चौका हाने, केदारमणिले ।
रानी जगदम्बाको अपुतालीका कारण दीक्षित परिवारको आर्थिक हैसियत माथि उठ्यो । उनीहरु पनि आफूलाई साहेबज्यू नै ठान्न थाले । कमलमणिका मिल्ने साथी थिए, केशरजंग रायमाझी । यसबाट पनि यो परिवार दरबारसँग निकट भएको स्पष्ट हुन्छ । दरबारिया भएकै कारण मदन पुरस्कार आजसम्म दरबारविरोधीले पाएका छ्रैनन् । सामन्तवादलाई नंग्याउने खालका चर्चित कृतिले मदन पुरस्कार पाएनन् । जस्तै, राणाकालीन घटनामा आधारित दुई चर्चित कृति डायमन समशेरको ‘सेतो बाघ’ र नारायण ढकालको ‘प्रेतकल्प’लाई मदन पुरस्कार दिइएन । त्यसैगरी पछिल्लो कालखण्डमा चर्चामा आएको क्रान्तिको गाथा ‘उर्गेनको घोडा’लाई पनि मदन पुरस्कार दिइएन । बरु, माओवादी जनयुद्धको उपहास गर्ने पुस्तक ‘पल्पसा क्याफे’लाई दिइयो । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई उपचारका लागि सहयोग गर्न नसक्ने कमलमणिले पछि बनारसमा देवकोटाको नाममा चन्दा माग्न आएका गणेशमान सिंह र इश्वर बराललाई एक रुपैयाँ दिएर अपमान गरेका थिए ।

पैसा खर्च गरेर आफूलाई ‘आधुनिक युगका मोतीराम’ भनेर प्रचार गराउने कमलमणि र कनकमणिका पिता राममणि दीक्षित तिनै मनुवा हुन्, जसले भनेका थिए, ‘मन्त्री-मण्डल जोड्दा बाहुन-क्षेत्री हुली जोड्नु, मतवाली चाँहि नहुल्नु ।’ यसरी नेपालको मूलबासी मंगोल समुदायको  अपमान गर्ने दीक्षित परिवारलाई अहिलेको परिवर्तन मन नपर्नु स्वाभाविकै हो । आफूलाई जतिसुकै गणतन्त्रवादी दाबी गरे पनि वर्गचरित्र, इतिहास र वर्तमानका भूमिकाबाट उनीहरु सामन्त बर्ग हुन् भन्ने स्पष्ट हुन्छ ।

No comments:

Post a Comment