काठमाडौ । विधान र विनियमावलीको विषयमा छलफल गर्न आयोजित केन्द्रीय समितिको बैठकमा श्रीमती बिरामी छिन् भनी अनुपस्थित भएका एमाले भातृ संस्था नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुण्य ढकालले सोही साँझ वानेश्वरस्थित बेइजिङ रोष्ट डक रेष्टुरेण्टमा आधा लाख रुपैयाँ रक्सी र मासुमा उडाएका छन् । नीति र योजनाका आधारमा भन्दा गुटगत रुपले परिचालन हुने स्वभावका ढकालले संगठनको महत्वपूर्ण बैठकलाई नै गुमराहमा राखी संगठनकै नाममा रक्सीमा रकम उडाएका हुन् । घटना गत सोमबारको हो । त्यसदिन विधान संशोधन र विनियमावली निर्माण सम्बन्धी महत्वपूर्ण बैठक बस्ने अग्रिम तयारी थियो । तर ढकाल श्रीमती बिरामी भएकाले आफू बैठकमा उपस्थित हुन नसक्ने जनाएर दिउँसो अबेर शुरु भएको बैठकमा देखिएनन् । बैठक वरिष्ठ उपाध्यक्ष केदार देवकोटाको अध्यक्षतामा बस्यो । तर बैठकमा छलफल चलिरहेकै समयमा देवकोटा पनि बानेश्वरमा पार्टी नेता पशुपति चौलागाईले जरुरी बैठकका लागि बोलाउनु भयो, साथीहरु छलफल गर्दै गर्नुहोला भनी निस्किएर हिंडे ।
तर उनीहरु दुवैजना श्रीमती बिरामी भएर र नेताले बोलाएर नभई गुटको पक्षपोषण गर्दै निकटका एक दर्जन पत्रकारलाई संगठनका नाममा रक्सी पिलाउन रेष्टुरेण्टतिर गएका सोही साँझ बैठकमा जानकारी आयो । बैठक सकिन लागेकै बेला एक पत्रकारले फोन गरी संगठनको कार्यक्रममा किन नआउनु भएको भनेपछि पो संगठनको कार्यालयमा बसेका नेताहरुले अध्यक्ष र उपाध्यक्षको नियत बुझेका थिए । त्यसदिन ढकाल र देवकोटाले आफू निकट भनी विश्वास गरेका दैनिक र साप्ताहिकका गरी एक दर्जन पत्रकारलाई महंगो रेष्टुरेण्टमा संगठनका अरुलाई थाहा नदिई मदिरामय भोज खुवाए । सहभागी एक पत्रकारले जनआव्हानसँग भने बमोजिम शुरुमै ब्ल्याक लेभल रक्सीबाट ढकालले नै सेवा पुर्याएका थिए । राति अबेरसम्म चलेको भोजमा ४७ हजार ८ सय ४३ रुपैयाँको बिल उठेको थियो ।
अध्यक्ष भएको भोलिपल्टै सुन्धाराको रोयल होटलमा आफू पक्षका केही सदस्य भेला गरी गुट निर्माण गर्न लागेपछि सचिवालयको पहिलो बैठकमै ढकाल लिखित आलोचनाको पात्र बनेका थिए । विभागको जिम्मेवारी बाँडफाँड जस्ता सामान्य विषयमा पनि विवाद निकाल्ने र सहभागीबाट कडा स्वरमा प्रतिरोध भएपछि पछि हट्ने ढकालको शैलीबाट वाक्क भएका एक उपाध्यक्षले यिनले तीन वर्षसम्म संगठन हाँक्लान् जस्तो आफूलाई नलागेको बताए । निवर्तमान अध्यक्षको कमाउ र एकलकाँटे शैलीका कारण चुनाव जितेका ढकाल संगठनमा त अल्पमतमा छँदैछन्, २२ सदस्यीय सचिवालयमा उनले हालसम्म ७ जनालाई मात्र आफ्नो पक्षमा पारेका छन् । संगठनको कार्यक्रम भनेर बोलाइएको तर ढकाल र देवकोटा बाहेक अरु कसैलाई पनि नदेखेपछि पत्रकारहरु नै अलमलमा परेका पनि सहभागी अर्का पत्रकारले बताए । अघिल्लो कार्यकालमा पनि उपाध्यक्ष नै रहेका देवकोटा तत्कालीन अध्यक्ष भोला पोखरेलसँगै रहेर उनका सबै भेद ढकाललाई लगाउने गर्दथे । यसकारण पनि अहिले देवकोटालाई ढकालले प्राय साथमै लिने गर्दछन् ।
No comments:
Post a Comment