अहिले म्यान्मार (बर्मा)प्रतिको चाख निकै बढेको छ। गत महिना थेन सेन ५० वर्षमा ह्वाइट हाउसमा आइपुग्ने म्यान्मारका प्रथम राष्ट्रपति हुन पुगे। यसैबीच, बेलायतका प्रधानमन्त्री डेभिड क्यामारुन, भारतका प्रधानमन्त्री डा. मनमोहन सिंह र जापानका प्रधानमन्त्री सिन्जो आबे जस्ता नेताले पनि म्यान्मारको भ्रमण गरेका छन्। वास्तवमा, वषौँको अनुपस्थितिपछि विदेशी सरकारहरू म्यान्मारमा आआफ्ना दूतावास खोल्न हतारिएका छन्। साथै, बहुराष्ट्रिय कम्पनी र संसारका विभिन्न देशका पूर्वमन्त्रीहरू त्यहाँको शासनलाई विद्युत् विस्तारदेखि शासकीय क्षमता वृद्धिसम्मका महत्वाकांक्षी कार्यसूची कार्यान्वयनका लागि सहयोग गर्न म्यान्मार ओइरिएका छन्। लगानीकर्ताहरू पनि निकै सक्रियतापूर्वक अवसर नियाली रहेका छन्।
यसरी सबैको ध्यान त्यहाँ केन्द्रित हुनु आश्चर्यको विषय भने होइन। वर्षौंको पृथकता र मन्द वृद्धिका कारण म्यान्मार एसियाको अछुतो रहेको ठूला बजारमध्येमा पर्छ। अब त्यो मुलुक खुला हुँदै गएको छ। लगानीकर्ताहरू वर्षौंसम्म फाइदा हुनेगरी संरचनात्मक सहुलियतको स्रोत स्थापना गर्ने प्रयासमा देखिन्छन्।
म्यान्मारमा गरिने लगानीले अहिलेको बढ्दो आकांक्षासँग तालमेल मिलाउन सक्ला त? निसन्देह, त्यहाँ ठूला जोखिम र अनिश्चितता छन्। राजनीतिक सुधार कसरी विकसित हुन्छ? जातीय समूहबीच सरकारले शान्ति कायम राख्न सक्छ कि सत्तै्कन? स्वामित्वको अधिकार र नियमहरू कसरी तर्जुमा हुन्छन् भन्नेजस्ता विषयमा लगानीकर्ता चिन्तित हुनु सही नै हो। यसमाथि, जनसंख्याको आकारजस्ता आधारभूत सूचकजस्ता तथ्यांकसमेतको अभावमा आर्थिक क्षमताको आकलन गर्न अत्यन्त कठिन छ र आर्थिक वृद्धिको ऐतिहासिक जानकारी पनि अनिश्चिततामा छोपिएको छ। मेकेन्सी ग्लोबल इन्स्टिच्युट (एमजीआई)को नयाँ प्रतिवेदनमा उल्लेख भएजस्तै म्यान्मारले एकदमै कमजोर अस्थिर विन्दुबाट विकासको यात्रा थालेकोमा शंका छैन। यथार्थमा, म्यान्मार बीसौं शताब्दीमा विश्व अर्थतन्त्रमा भएको उल्लेख्य वृद्धिबाट लगभग अछुतो नै रहेको थियो। विश्वभर गार्हस्थ उत्पादनमा चौगुना वृद्धि हुँदा पनि म्यान्मारको भने लगभग स्थिर रह्यो। यसबाहेक उत्पादकत्व न्यून छ। सन् २०१० मा म्यान्मारमा एक जना कामदारले १ हजार ५ सय डलर बराबरको मात्र आर्थिक मूल्य वृद्धि गर्न सक्यो भने एसियनका अरू आठ वटा छिमेकी मुलुकका दाँजोमा यो ३० प्रतिशतमात्र हो। म्यान्मारको कुल गाहर्स्थ उत्पादन एसियाको करिब ०.२ प्रतिशत जतिमात्र छ जुन ब्रिस्टल, दिल्ली वा सेभिल्लेजस्ता सहरहरूको बराबर हो।
म्यान्मारले उत्पादन वृद्धिको गतिमा परिवर्तन गर्नु जरुरी छ। जनसांख्यिक प्रवृत्ति र श्रमिक उत्पादकत्वको इतिहास हेर्दा कुल वार्षिक गार्हस्थ उत्पादन अपेक्षा गरिएभन्दा थोरै ४ प्रतिशतभन्दा पनि कम हुने देखिन्छ। म्यान्मारले अहिलेको २.७ प्रतिशत श्रमिक उत्पाकदत्व बढाएर चीन र थाइल्यान्डलगायत एसियाली अर्थतन्त्रहरूले हालैका दशकमा हासिल गरेको ७ प्रतिशतमा पुर्याउन सके वार्षिक ८ प्रतिशत वृद्धि सम्भव छ। यसले अर्थतन्त्रलाई सन् २०१० को ४५ अर्ब डलरबाट सन् २०३० सम्ममा २ सय अर्ब पुर्याएर चौबर बढाउने छ। तर, ठूलो मात्रामा लगानी नभित्रीकन म्यान्मारले यति धेरै प्रगति हासिल गर्नसक्छ भन्ने विश्वास गर्न सकिँदैन। एमजीआईको अध्ययनअनुसार सन् २०३० सम्ममा १ सय ७० अर्ब डलर लगानीसँगै प्रविधि र ज्ञानको हस्तान्तरण भएमात्र त्यस्तो प्रगति हुनसक्छ।
तेल र ग्यासको ठूलो भण्डार तथा संसारको कुल पन्ना उत्पादनको ९० प्रतिशत यहीँ हुनु तथा रुबी र निलमको खानीमा पनि महत्वपूर्ण स्थान भएका कारण लगानीकर्ताहरूको रुचि अहिलेसम्म म्यान्मारको ऊर्जा र खनिज क्षेत्रमा केन्द्रित हुनु अनौठो होइन। तर, म्यान्मार खानी र ऊर्जामा मात्र निर्भर हुनसत्तै्कन। यहाँ त लगानी गर्न विभिन्न अवसर उपलब्ध गराई विभिन्न क्षेत्रबीच सन्तुलित वृद्धि हुनु आवश्यक छ।
म्यान्मारको समग्र वृद्धि तथा रोजगारीको सम्भावना हेर्दा ऊर्जा र खानी, औद्योगिक उत्पादन, पर्यटन र भौतिक संरचना गरी ५ वटा क्षेत्रले ९० प्रतिशत ओगट्ने देखिन्छ। यिनमा औद्योगिक उत्पादन बढी महत्वपूर्ण छ। कारण, चीन र अरू एसियाली मुलुकमा बढ्दो ज्याला दरका कारण कम्पनीहरूले आफ्ना कारखाना म्यान्मारतिर सार्न सक्छन्। एमजीआईको प्रतिवेदनअनुसार औद्योगिक उत्पादनको क्षेत्रले ७६ लाखभन्दा बढी कामदारलाई रोजगारी दिनसक्छ र सन् २०३० सम्ममा करिब ७० अर्ब कुल घरेलु उत्पादन गर्नसक्छ। यो म्यान्मारको हालको सबैभन्दा ठूलो कृषि क्षेत्रभन्दा तीन गुना बढी हो।
म्यान्मारले एमजीआईको अनुमानअनुसार वृद्धि र रोजगारी हासिल गर्न सक्यो भने प्रति व्यक्ति आयमा वृद्धि भई उपभोग्य वस्तुमा खर्च गर्नका लागि अहिलेको २५ लाख डलरबाट बढेर सन् २०३० सम्ममा १ करोड ९० लाख डलर उपलब्ध हुनेछ। यसबाट स्कुटर र कार बेच्नेदेखि इलेक्ट्रोनिक्स र वित्तीय सेवामा संलग्न कम्पनीहरूको बजार विस्तार गर्नेछ।
आवास, विद्युत्, यातायात र ऊर्जा क्षेत्रको भौतिक संरचना विकासमा पनि व्यवसायको अवसर हुनेछ। अर्थतन्त्रको यी क्षेत्रहरूमा करिब ३ सय अर्ब डलर लगानी आवश्यक हुन्छ जसमध्ये आधा जति ठूला सहरहरूमा खर्च हुनेछ। म्यान्मारले कृषि क्षेत्रको विविधीकरण गरेमा सहरीकरण पनि बढ्नेछ। अहिले म्यान्मारको करिब १३ प्रतिशत जनसंख्यामात्र सहरमा बस्ने अनुमान गरिन्छ तर सन् २०३० सम्ममा त्यसमा १ करोड थप भएर २५ प्रतिशत पुग्नसक्छ। म्यान्मारले दूर्गम गाउँमा शिक्षा र स्वास्थ्य सेवा पुर्याउन र ब्यांक वा पसलहरू बनाउँदा लाग्ने खर्च जोगाउन मोबाइल ब्यांकिङ र ईकमर्स अपनाएर विकासमा फड्को मार्ने गरी डिजिटल प्रविधिको पूर्ण उपयोग गर्ने हो भने दूरसञ्चारको भौतिक संरचनामा अर्को ५० अर्ब डलर लगानी आवश्यक हुनेछ।
अहिले विश्व बैंकको विकास सूचकांकअनुसार म्यान्मार इन्टरनेटको प्रयोगका दृष्टि सबैभन्दा कममध्येको दोस्रोमा र मोबाइल फोन प्रयोगका आधारमा सबैभन्दा पुछारमा पर्छ।
म्यान्मारका सामु अर्थतन्त्रको सबै क्षेत्रमा विकासको गहन चुनौती छ। तर यसले कम्पनी र लगानीकर्ताका लागि व्यापक अवसर उपलब्ध पनि गराएको छ। तिनले सावधानीपूर्वक यो आकर्षक नयाँ बजारको सम्भावना सदुपयोग गर्ने अपेक्षासहित पाइला चाल्नुपर्छ।
बेली ब्रुकलिन इन्स्टिच्युटको आर्थिक नीति विकास विभागसँग सम्बद्ध छन् र डब्बस मेकेन्से ग्लोबल इन्स्टिच्युटका निर्देशक हुन्।
मङ्गलबार ४ असार, २०७०
No comments:
Post a Comment