
सैन्य पोसाक, ब्रान्डेड चस्मा र जुत्ता। कम्मरमा टल्किने पेटी र त्यसमै झुन्डिएको अमेरिकी पेस्तोल। लस्करै उभिएका १० जनामध्ये रातो तारा अंकित टोपी लगाएका ती व्यक्ति अरूभन्दा फरक देखिन्छन्। उनी हुन्, हालको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिरमा उनीसँग लहरै अरू माओवादी नेता पनि देखिन्छन्। तर, त्यो लहरमा अग्लो जीउडालका र पटक्कै नेपालीजस्ता नलाग्ने दुई जना अरू पनि उभिएका छन्। उनीहरूले नेपाली माओवादी नेताहरूभन्दा थोरै फिका रंगको कम्ब्याट पोसाक लगाएका छन्। आखिर को हुन् त उनीहरू ? यो तस्बिर कहाँ खिचिएको हो ? र, उनीहरू नेपालमा कसरी आए ?
खासमा यो तस्बिर तत्कालीन नेपाली माओवादीको भारत 'कनेक्सन'को प्रमाण हो। प्राप्त आधिकारिक जानकारी अनुसार तस्बिरमा देखिएका दायाँतिरका अग्ला व्यक्ति भारतमा हिंसात्मक छापामार विद्रोह गर्दै आइरहेको तत्कालीन पिपुल्स वार ग्रुप (पीडब्लूजी)का पोलिटब्युरो सदस्य बालाजी हुन् भने बायाँतिरका चस्मावालचाहिँ पीडब्लूजीकै केन्द्रीय सदस्य डीके हुन्। ज्ञातव्य छ, पीडब्लूजीसँग तत्कालीन नेपाली माओवादीको भाइचारा सम्बन्ध थियो। भारतको आन्ध्रप्रदेशमा आधार भएको पीडब्लूजीसहित तीनवटा छापामार कम्युनिस्ट समूह मिलेर ०६० सालमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) गठन भएको थियो।
खासमा यो तस्बिर तत्कालीन नेपाली माओवादीको भारत 'कनेक्सन'को प्रमाण हो। प्राप्त आधिकारिक जानकारी अनुसार तस्बिरमा देखिएका दायाँतिरका अग्ला व्यक्ति भारतमा हिंसात्मक छापामार विद्रोह गर्दै आइरहेको तत्कालीन पिपुल्स वार ग्रुप (पीडब्लूजी)का पोलिटब्युरो सदस्य बालाजी हुन् भने बायाँतिरका चस्मावालचाहिँ पीडब्लूजीकै केन्द्रीय सदस्य डीके हुन्। ज्ञातव्य छ, पीडब्लूजीसँग तत्कालीन नेपाली माओवादीको भाइचारा सम्बन्ध थियो। भारतको आन्ध्रप्रदेशमा आधार भएको पीडब्लूजीसहित तीनवटा छापामार कम्युनिस्ट समूह मिलेर ०६० सालमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) गठन भएको थियो।

जबकि, उल्लिखित तस्बिर भदौ ०५६ मा रोल्पाको दारबोटमा खिचिएको हो, जतिबेला माओवादी छापामारलाई सैन्य प्रशिक्षण दिने सिलसिलामा उनीहरू भारतीय र नेपाली सुरक्षा निकायको आँखा छल्दै रोल्पा पुगेका थिए।
त्यो यस्तो समय थियो, माआवादीले नेपाल प्रहरीलाई सबैतिर जित्दै गएको थियो। यद्यपि, उनीहरू आगामी बाटो निकै जटिल महसुस गर्दै थिए। किनभने, सरकारले प्रहरीको विकल्पमा विद्रोह दमन गर्न अर्ध सैन्य बल (पछि सशस्त्र प्रहरी बल) गठनको तयारी गर्दै थियो। नेपाली सेनाले पनि तत्कालीन सरकारलाई एकीकृत विकास परियोजनाद्वारा माओवादी विद्रोह निस्तेज पार्ने छुट्टै योजना पेस गरेको थियो। तत्काल सेना परिचालन भइहाल्यो भने के गर्ने र कसरी अघि बढ्ने भन्ने अलमल माओवादीमा थियो। त्यसैलाई चिर्न तत्कालीन नेकपा (माओवादी) तुरुन्तै केन्द्रीयस्तरको सैन्य प्रशिक्षण चलाउने निर्णयमा पुग्यो। र, त्यही सिलसिलामा पीडब्लूजीका बरिष्ठ सैन्य कमान्डर बालाजी र डीके तालिम दिन रोल्पा आइपुगेका हुन्।
माओवादीले यो सैन्य प्रशिक्षण सुरु गर्दा उनीहरूसँग जम्माजम्मी तीनवटा प्लाटुन बराबरको सैन्य शक्ति (साढे दुई सय) मात्र थियो। त्यसबेला माओवादीले आफ्नो सांगठनिक संरचनालाई चार भागमा विभक्त गरेको थियो- पूर्व, मध्य, भ्याली र पश्चिम ब्युरो। यी सबै ब्युरोबाट तालिमका लागि १५-१५ जना छापामार छानिएका थिए। रुकुम र रोल्पाको स्थानीय विश्वासिला कार्यकर्तासहित झन्डै डेढ सय जनाको सहभागिता रहेको यो सैन्य प्रशिक्षण शिविर एक महिनासम्म चल्यो। यो त्यही प्रशिक्षण हो, जसमा सहभागी छापामार 'इन्स्ट्रक्टर' भएर आ-आफ्नो कार्यक्षेत्रमा फर्की देशैभरि १० देखि २० दिने सैन्य तालिमको अभियान चलाए। यो अभियानले माओवादीको सैन्य जनशक्ति वृद्धिमा निकै मद्दत पुर्यायो। त्यति मात्र होइन, दारबोट प्रशिक्षणकै सीपले उनीहरू मुलुकका विभिन्न भागमा छरिए एकसाथ आक्रमण गर्ने सामर्थ्यमा पुगे।त्यसो त दारबोट प्रशिक्षणअघि पनि माओवादीले नेपालभित्र र बाहिर विभिन्न खाले तालिम नगरेका होइनन्। ०५१ मा सम्पन्न नेकपा (माओवादी)को तेस्रो विस्तारति बैठकले सशस्त्र 'जनयुद्ध'को प्रस्ट खाका कोरेपछि सिंगो पार्टीमा चार तयारी -राजनीतिक, वैचारकि, सांगठनिक र प्राविधिक) सुरु भएको थियो। प्राविधिक तयारी अन्तर्गत रुकुम, रोल्पालगायत आफ्नो प्रभावित क्षेत्रमा मार्सल आर्ट्सका साथै घरेलु हतियार चलाउने तालिम स्थानीयस्तरमै सञ्चालन गरियो। 'जनयुद्ध'को तयारीका लागि पार्टीले केन्द्रीय कमिटीका सदस्यहरू सम्मिलित पहिलो सैन्य तालिम गोरखाको सिरानचोकमा चलायो। एक भारतीय अवकाशप्राप्त सैनिकले प्रचण्डलगायत सबै केन्द्रीय तहका नेतालाई अन्तिम तयारीका लागि फिजिकल ब्याटल क्राफ्ट -एफसीबीसी)सम्बन्धी तालिम दिएका थिए। तर, त्यति मात्रले उनीहरूको 'जनयुद्ध' हाँक्ने सपना पूरा हुने थिएन। त्यसैले पार्टीले 'जनयुद्ध'को पूर्वतयारीका रूपमा सिन्धुलीबाट महेन्द्र श्रेष्ठ र पश्चिमबाट नन्दकिशोर पुन 'पासाङ'लाई भारतमा गएर पीडब्लूजीसँग प्रशिक्षण लिन पठायो। उनीहरू पहिलो भ्रमणमा हतियार र विस्फोटक पदार्थसम्बन्धी प्रारम्भिक तालिम लिएर फर्किए।
०५३ सालसम्म माओवादीहरूले 'जनयुद्ध'को प्रचारात्मक अभियानलाई निकै प्राथमिकता दिए। उनीहरूसँग हतियारको कमी त छँदै थियो, विस्फोटक पदार्थसम्बन्धी दक्ष जनशक्तिसमेत थिएन। स्थानीयस्तरमा 'माइनिङ्' (धराप) गराउन खोज्दा कार्यकर्ताहरू दुर्घटनामा पर्न थाले। त्यसपछि ०५३ कै अन्तिमतिर माओवादीले सिन्धुलीबाट श्रेष्ठ, रोल्पाबाट पुन, रुकुमबाट विजय घलेलगायतको टिमलाई फेरि पीडब्लूजीसँग तालिम लिन पठायो। पुनलगायतको टिम दुईपटक भारत गएर कहाँ तालिम लियो ? त्यो कुरा रहस्यको गर्भमै छ। किनभने, त्यो तालिम लिने श्रेष्ठ र घले द्वन्द्वकै क्रममा मारिईसकेका छन्। त्यसमध्येका पुन, जो पछि माओवादी सेनाका प्रमुखसमेत भए, त्यसबारे स्पष्ट बताउन चाहँदैनन्। भन्छन्, 'हामी अझै एउटा कोर्समा छौँ, सबै कुरा अहिल्यै भन्ने बेला भएको छैन। एउटा निश्चित कालखण्डमा सबै कुरा बाहिर आउने नै छ।'
०५४ सम्म आइपुग्दा माओवादी आन्दोलनको प्रभाव रुकुम, रोल्पा, सिन्धुलीबाहेक अन्य क्षेत्रमा पनि पर्न थालिसकेको थियो। पूर्णकालीन कार्यकर्ताको संख्या पनि उल्लेख्य पुगिसकेको थियो। त्यसबेला एकै ठाउँमा केन्दि्रत रहेर कारबाही गर्दा राज्यले घेराबन्दी गरी दमन गर्ने डरका कारण उनीहरूले विकेन्दि्रत कारबाहीहरू ह्वात्तै बढाए। त्यस क्रममा जनशक्तिको अभाव देखियो। यस्तो अवस्थामा माओवादीले ठूलो संख्यामा कार्यकर्तालाई भारतमा तालिमका लागि पठाउन कठिन थियो। त्यसमाथि नेपालमा माओवादीको आक्रमण तीव्र हुँदै गएपछि भारतीय नाकाहरूमा कडाइ हुन थालेको थियो।

बिस्तारै छापामारको संख्या बढ्दै गएपछि माओवादीमा युवा कार्यकतर्ा थपिँदै गए। माइनिङ् गर्ने क्रममा दुर्घटनामा घाइते हुने र ज्यान गुमाउनेहरूको संख्यामा पनि वृद्धि भयो। त्यसपछि विशिष्ट खालको सैन्य तालिमको आवश्यकता महसुस गरी रोल्पाको दारबोटमा पहिलो केन्द्रीय सैन्य प्रशिक्षण चलाइएको हो।
दारबोट सैन्य प्रशिक्षणलगत्तै माओवादीले प्रहरीका ठूला सुरक्षा बेेस क्याम्पमा आक्रमण गर्ने योजना बनाए। जस्तो : भदौमा प्रशिक्षण सकिएलगत्तै ५ असोज ०५६ मा रुकुमको महतस्थित प्रहरीको कमान्डो बेस क्याम्प हमला गरी माओवादीले डीएसपी ठूले राईलाई कब्जामा लिए। तिनै ठूले राईलाई छोड्न 'बार्गेनिङ्' गरेर त्यसबेला जेलमा रहेका आफ्ना नेता देव गुरुङलाई छुटाउन सफल भए। त्यसै वर्षको ७ फागुनमा रोल्पाको घर्तीगाउँ, २१ चैतमा रुकुमको तकसेरामा प्रहरीमाथि माओवादीले मोर्चाबद्ध आक्रमण गरी रुकुम र रोल्पाका चौकीहरू सदरमुकाममा सार्न बाध्य पारेका थिए। त्यस्तै, १९ असार ०५७ मा जाजरकोटको पाँचकटियादेखि त्यही वर्षको ८ असोजमा डोल्पा सदरमुकाम दुनैसम्म आक्रमण गरे। नेकपा-माओवादीका पोलिटब्युरो सदस्य कुलबहादुर केसी भन्छन्, 'ती सबै आक्रमणको मुख्य आधार दारबोट प्रशिक्षण नै थियो।' माओवादीका लागि दारबोट प्रशिक्षण कति महत्त्वपूर्ण थियो भन्ने कुरा तत्कालीन महामन्त्री प्रचण्ड स्वयं त्यसको समापन समारोहमा उपस्थित हुनुले पनि झल्काउँछ। त्यही बेला उल्लिखित तस्बिर खिचिएको थियो ।दारबोट प्रशिक्षणको एक वर्षपछि नेकपा (माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलन भयो, जसले दीर्घकालीन 'जनयुद्ध'को एकसूत्रीय बाटोलाई मोड्दै सहरी विद्रोह र दीर्घकालीन जनयुद्धको फ्युजनको रणनीति अपनायो। यसबाट उनीहरूले वार्ता, गोलमेच सम्मेलन, अन्तरमि सरकार हुँदै संविधानसभाको नारा अघि सारे। यति बेलासम्म माओवादीको सैन्य शक्ति पहिलेको भन्दा निकै मजबुत भइसकेको थियो। कम्पनी स्तरको पनि सैन्य संगठन नरहेको माओवादीसँग दारबोटमा पीडब्लूजी कमान्डरहरूबाट तालिम लिएको ६ महिना नबित्दै स्थायी कम्पनी बन्यो र अर्को ६ महिनामा बटालियन। भारतीय माओवादीले अहिलेसम्म आफ्नो रेगुलर सेना बनाएका छैनन् । जबकि, तिनैबाट प्रारम्भिक सैन्य ज्ञान लिएका नेपाली माओवादीले ०५८ सालको पहिलो वार्ता चालिरहँदा रोल्पामा 'जनमुक्ति सेना'को घोषणा गरे। त्यही बेला घोषणा गरिएको एक हजार जतिको लडाकू दस्ताले दाङको घोराहीस्थित सेनाको ब्यारेकमा पहिलोपटक हमला गरेको हो।
दाङ आक्रमणताका माओवादीसँग तीन वटा एके-४७, एक एम-१६, दुई एसएलआर, एक एसएमजी, एक ३०-ओ-६ राइफल रहेको कुरा माओवादी कमान्डर पुनले आफ्नो किताब इतिहासका रक्तिम पाइलामा उल्लेख गरेका छन्। यी हतियारमध्ये एम-१६ नेपाली सेनाले प्रयोग गर्ने गरेको अमेरकिी हतियार हो । जुन बेला नारायणहिटी दरबारवरपरका क्षेत्रमा सुरक्षा गर्ने सैनिकले मात्र बोक्ने गरेका थिए। सेनासँग लडाइँ नै नभएको अवस्थामा यी हतियार कहाँबाट कसरी माओवादीको हातमा पुग्यो ? स्रोतका अनुसार दाङ आक्रमणकै पूर्वसन्ध्यामा पीडब्लूजीकै सहयोगमा एक दर्जनजति विभिन्न हतियार नेपाली माओवादीले भित्र्याएका थिए।
दाङबाट प्राप्त हतियारकै बलमा माओवादीले ४ फागुन ०५८ मा अछामको मंगलसेन र साँफेबगरमा आक्रमण गरे। त्यहाँबाट ठूलो परिमाणमा थप हतियार कब्जा गर्न सफल भए। यसपछि उनीहरूको सैन्य र हतियार क्षमता उल्लेख्य स्तरमा वृद्धि भयो। यस अवस्थामा आइपुग्दा नेपाली माओवादी भारतीय माओवादीभन्दा अनुभव र सैन्य प्रयोगका हिसाबमा निकै अघि भइसकेका थिए। त्यसैले उनीहरूले आफ्ना कार्यकर्तालाई तालिमका लागि उता पठाउन वा उनीहरूलाई तालिमका लागि यहाँ बोलाउन जरुरी ठानेनन्।
परिस्थिति कतिसम्म बदलियो भने कुनै बेला माओवादीलाई तालिम दिएका पीडब्लूजीका कमान्डर विनोदको नेतृत्वमा २५ जनाजतिको भारतीय माओवादी टोली नेपालमा भएको युद्धकला विकास र अनुभव सिक्न ०६१ सालतिर करबि तीन महिनाजति रोल्पामा बस्यो। उनीहरू यहाँ आउँदा नेपाली माओवादीको सैन्यस्तर तीन डिभिजनसम्म पुगिसकेको थियो। त्यसबेला रोल्पाको मिरुल आसपासमा माओवादीको हतियार कारखाना नै थियो, जहाँ ब्यारेलबाहेक अन्य सबै हतियार बनाइन्थ्यो। रोल्पाका माइला, जाजरकोटका तेज आदिका समूह त्यस कारखानामा खटिएका थिए। र, त्यही कारखाना आसपासका राङकोट, राङ्सी, भाबाङ र थबाङ क्षेत्रमा भारतीय माओवादी समूह सेल्टर लिएर बसेको थियो।
०६१ पछि पनि भारतका विभिन्न स्तरका माओवादीहरू लखनउ, गोन्डा, बलरामपुर, तुलसीपुर हुँदै कोइलावास भएर दाङको धानखोला हुँदै रोल्पा पुग्थे र त्यही बाटो भएर फर्किन्थे। यो क्रम नेपालका माओवादी शान्ति प्रक्रियामा नआउन्जेल चलिरह्यो। कतिसम्म भने संयुक्त राष्ट्र संघीय मिसन -अनमिन)को सुपरीवेक्षणमा रहेका बेला ०६५ सालतिर भारतीय कम्युनिस्ट पार्टी -माओवादी)का चार जना कमान्डरले सैन्य प्रशिक्षण लिन चितवनस्थित तेस्रो डिभिजनमा एक महिना बिताएको स्रोतको दाबी छ। यही विषयलाई लिएर भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई लिखित पत्र पठाई आपत्ति जनाएको थियो। तर, माओवादीले त्यो आरोप मिथ्या भएको वक्तत्व निकाल्यो। पछि त्यो घटना त्यत्तिकै सेलायो।

तर, यो सम्बन्ध नेपाली माओवादी शान्ति प्रक्रियामा प्रवेश गरसिकेपछि सुमधुर हुन सकेन। भाकपा (माओवादी)ले नेपालका माओवादीको शान्तिकालीन कार्यदिशाप्रति आपत्ति जनाउँदै विरोध गर्दै पत्र पठायो भने रमिले पनि विरोधको पत्र पठायो। तर, प्रचण्डले त्यसको जवाफ पठाएनन्। त्यस घटनाले रमि र भारतीय माओवादीहरू एमाओवादीसँग निकै रुष्ट भए। कम्पोसाको ०६३ सालमा काठमाडौँमा चौथो सम्मेलन भएको थियो, त्यसयता कुनै भेला हुन सकेको छैन।
नेपाली माओवादी र भारतीय माओवादीबीचको सम्बन्ध खासगरी माओवादी सरकारमा गइसकेपछि एक हदसम्म विच्छेद भएको छ। किनभने, यतिखेर एमाओवादीले विधिवत रूपमै आफ्नो दस्तावेजमा 'जनयुद्ध'को लाइन परत्ियाग गरेको घोषणा मात्र गरेको छैन, अबको बाटो आर्थिक क्रान्ति हो भनेर पहिल्याइसकेको छ। तर, यही बेला एमाओवादीबाट फुटेको नेकपा-माओवादीले संसारभरका जनयुद्धरत भाइचारा पार्टीसँग सम्बन्ध विस्तार गर्ने नीति अघि सारेको छ। रमि, कम्पोसालगायत सबै संगठनलाई पुनः सक्रिय पार्ने उनीहरूको दस्तावेजमा उल्लेख छ।
माओवादीले त्यो सम्बन्धलाई फेरि के हतियारबन्द विद्रोह गर्नमै प्रयोग गर्ला त ? पूर्वमाओवादी नेता मणि थापाको विश्लेषणमा, 'नेकपा-माओवादीको हकमा त्यो लागू हुँदैन। किनभने, उनीहरूलाई न तालिमप्राप्त जनशक्तिको खाँचो छ, न त हतियारको नै। विद्रोहका लागि अनुकूल परििस्थति छ या छैन वा पार्टी त्यहाँसम्म जाने हो या होइन भन्ने कुरामै उनीहरूको भविष्य निर्भर छ।' डीके रहेनन्, बालाजी माओवादीमै

बालाजी खासगरी सैन्य युद्धकला, हतियार र विस्फोटक पदार्थसम्बन्धी ज्ञाता मानिन्छन्। भाइचारा पार्टीका तर्फबाट नेपाल आई तालिम दिने सबैभन्दा उच्चस्तरका नेतामा बालाजी नै पर्छन्। त्यसपछि अन्य तहका नेताहरू पटकपटक नेपाल आउनेजाने गररिहे। तर, उनीहरू सिकाउनेभन्दा पनि सिक्ने र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आउँथे।आरोप र अर्थ !

विवेककुमार शाह, मैले देखेको दरबार, पृष्ठ ८० 'मैले जहाँ टे्रनिङ् लिएँ, त्यहाँ जनरलले नै अर्वन वारसम्बन्धी नै टे्रनिङ् लिएका थिए। त्यही टे्रनिङ्बाटै मेरो जीवनको चाबी खुल्यो।'
नन्दकिशोर पुन, इतिहासका रक्तिम पाइला, पृष्ठ २२२ उल्लिखित दुवै पुस्तक फरक पृष्ठभूमि र फरक परविेशमा लेखिएका हुन्। समानता के कुरामा छ भने दुवै संस्मरणात्मक विवरण समेटिएका पुस्तक हुन्। एउटाले दरबारभित्रको संसारलाई चित्रित गरेको छ भने अर्काेले १० वर्षे द्वन्द्वको चित्र उतार्ने प्रयास गरेको छ। आफ्नो पुस्तकको २२२औँ पृष्ठमा माओवादीका पूर्व'जनमुक्ति सेना' प्रमुख नन्दकिशोर पुनले छुस्स चुहाएको कुरा पूर्वसैनिक सचिव रथी विवेककुमार शाहले आफ्नो पुस्तकमा माओवादीलाई लगाएको आरोपसँग अर्थ लाग्ने खालको छ। तर, पुनले उक्त तालिम कहाँ लिए र त्यो उनको जीवनमा किन महत्त्वको बन्यो ? त्यसबारे केही खुलाएका छैनन्। यसबारे नेपालको जिज्ञासामा पुनले यति मात्र भने, 'नेपाली जनयुद्धमा यस्ता धेरै कुरा भन्न बाँकी छ, निश्चित समय आएपछि ती बाहिर आउनेछन्। सायद मेरो दोस्रो पुस्तकमा यी कुरा समेटिनेछन्।'
विद्रोहको विकासक्रम
फागुन ०५१
रुकुम, रोल्पालगायत आफ्नो पकड क्षेत्रमा मार्सल आर्टलगायत घरेलु हतियार चलाउने तालिम स्थानीयस्तरमै सञ्चालन ।
कात्तिक ०५२
'जनयुद्ध'को तयारीका रुपमा पूर्वबाट महेन्द्र श्रेष्ठ र पश्चिमबाट नन्दकिशोर पुन 'पासाङ' पिपुल्स वार ग्रुपसँग तालिम लिन भारत गए ।
०५३
सिन्धुलीबाट महेन्द्र श्रेष्ठ, रोल्पाबाट पासाङ, रुकुमबाट विजय घलेलगायतको टिम पिपुल्स वार गु्रपसँग तालिम लिन फेरि भारत प्रस्थान ।
चैत ०५४
पिपुल्स वार गु्रपकै विनोद नामक सैन्य कमान्डरद्वारा उपत्यका, पूर्वको बारा, मध्यको तनहुँ र पश्चिमको रोल्पामा १५-१५ दिने तालिम ।
भदौ ०५६
रोल्पाको दारबोटमा पिपुल्स वार गु्रपका पोलिटब्युरो सदस्य बालाजी र केन्द्रीय सदस्य डीकेद्वारा केन्द्रीय सैन्य प्रशिक्षण प्रदान ।
०५७
दारबोटमा सहभागी छापामार सैन्य इन्ट्रक्टर भई देशैभरि १० देखि २० दिने सैन्य तालिमको अभियान सञ्चालन ।
०६१
विनोदको नेतृत्वमा २५ जनाजतिको भारतीय माओवादी टोली नेपालमा भइरहेको युद्धकला विकास र अनुभव सिक्न तीन महिनाजति रोल्पामा ।
०६५
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का चार जना कमान्डर सैन्य प्रशिक्षण लिन चितवनस्थित तेस्रो डिभिजनमा एक महिना बसोवास ।
No comments:
Post a Comment