Saturday, June 15, 2013

ताकत भए चुनाव गराऊ, हाम्रो हातमा दही जमेर बसेको छैन : गुरुङ

बैद्य-डाक्टर कोही नआए पनि चुनाव हुन्छ : रिजाल
काठमाडौ, असार १ : नेकपा-माओवादीका सचिव देब गुरुङले आफूहरुलाई बाईपास गरेर निर्वाचन गर्न चुनौति दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने, 'म चुनौति दिन चाहन्छु । ताकत भए सरकारले हामीलाई बाईपास गरेर चुनाव गराए हुन्छ । हामी पनि हातमा दही जमाएर बसेका छैनौ । हामिलाई बाईपास गरेको परिणाम भविष्यले देखाउँछ ।'
गुरुङले एकलौटी ढंगले निर्वाचन गर्न खोजे मुलुक फेरि द्वन्द्वमा फर्कने चेतावनी दिँदै अर्थहीन निर्वाचनका विरुद्ध जुनसुकै कदम चाल्न समेत तयार रहेको स्पष्ट पारे ।
निर्वाचन किन भन्ने उद्देश्य प्रष्ट नभएकोले यो निर्वाचनको कुनै अर्थ नभएको गुरुङको दाबी थियो । गुरुङले चुनावको मुखमा नागरिक वितरण गरेर नेपालीलाई अल्पमतमा पार्ने खेल भएको भन्दै अहिलेको निर्वाचन विदेशीको ईशारामा नेपालीलाई अल्पमतमा पार्न गर्न लागिएको दावी गरे ।
सोही कार्यक्रममा कांग्रेसका नेता मिनेन्द्र रिजालले संविधानलाई क्रियाशिल बनाउन निर्वाचन बाहेक अरु विकल्प नभएकोले नेकपा-माओवादी सहितका दलहरु नआए पनि निर्वाचन भई छाड्ने दाबी गरे । 'निकासको लागि निर्वाचनका विकल्प छैन । त्यसैले बैद्य मात्रै होइन्, डाक्टरहरु नआए पनि निर्वाचन हुन्छ', उनले भने ।
एमओवादी नेता वर्षामान पुनले संविधानसभाको निर्वाचन बहिस्कार गर्ने दल जनताबाट अलग्गिने चेतावनी दिँदै त्यस्तो गल्ती नगर्न मोहन बैद्यलाई सुझाव दिए ।
एमाले नेता रघुजी पन्तले मंसिर ४ गते कुनै पनि हालतमा निर्वाचन हुनु पर्ने भन्दै त्यसको लागि उपयूक्त बातावरण बन्ने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति: २०७० असार १ ०४:१७

No comments:

Post a Comment