Wednesday, May 22, 2013

यसरी मारियो रामहरि श्रेष्ठलाई

हुन त, उनी बहुचर्चित ठूला राजनीतिक खेलाडी होइनन् । यिनले जनतालाई ढाट्दै नेतागिरी गरेनन् । लामो समयसम्म जनसेनाका रूपमा रहे । साथै स्वास्थ्य क्षेत्रमा रहेर जनयुद्धका क्रममा अंगभंग भएका योद्धाको उपचार गरे । उनी हुन्– चितवन शक्तिखोरस्थित तेस्रो डिभिजन, स्वास्थ्य विभागका स्वास्थ्य प्राविधिक रवीन्द्र श्रेष्ठ ।
गोरखा बगुवा रिठ्ठेपानीमा जन्मे हुर्केका श्रेष्ठ ०५६ जेठ ८ मा गोरखाको ताकुकोट आक्रमणमा सहिद बनेका सांस्कृतिक योद्धा शिव श्रेष्ठ र जनदिशाका पूर्वसम्पादक चन्द्रमान श्रेष्ठका भतिजा हुन् । गोरखा–१ की पूर्वसभासद् पार्वती थापा श्रेष्ठ काकी हुन् भने रवीन्द्रका बुबा चाहि व्यापारी हुन् । कालीबहादुर खाम मगर ‘विविध’ डिभिजन कमान्डर रहेका बखत स्वास्थ्य प्रमुख नुमाकान्त आचार्य (विनोद) र उनले ०६३ पुससम्म जनयुद्धका घाइते र बिरामीको उपचार तथा व्यवस्थापनका लागि उपत्यकामै रहेर पनि काम गरेका थिए । मृत्यु हुनुअघि तेस्रो डिभिजनमा राखिएका बेला चार/पाच दिनसम्म उनैले व्यापारी रामहरि श्रेष्ठको उपचार गरेका थिए ।
-अम्बिका भण्डारी
कस्तो लाग्छ नि विगत सम्झदा ?
०६३ सालपछि नेता सत्ताको लुछाचु“डीमा लागे, आत्मसमर्पणवादी भए, त्यही बिन्दुबाट जनयुद्धको मर्म र भावना बहकियो । नेताहरू बफादार बन्न नसके पनि जनयुद्ध बेठीक थिएन, सही नै थियो तर अहिलेको कार्यदिशा र कार्यनीति गलत ढंगले अगाडि बढाइयो ।
सेना समायोजनमा जाने जागर किन जागेन ?
३२ हजारको संख्यामा रहेको जनसेनालाई घटाएर १९ हजार बनाइएपछि पनि जम्मा १४ सय समायोजनमा जानु भनेको हदैसम्मको बेइज्जती हो । हिजो पार्टीबाट तीनदेखि पाच सयसम्म मासिक लिएर पनि बसेकै हो । कमाउनुपर्छ भन्ने महत्वाकांक्षा थिएन । तर, क्यान्टोनमेन्टमा राखेर सरकारले पैसा दिन थालेपछि जनसेनामा पनि बदला आउदै गयो । पार्टीको लाइन परिवर्तन भएसगै लडाकुका कमान्डरदेखि तलसम्म शिविरमा पनि परिवर्तन आउन थाल्यो । लवाइ खवाई, रहन–सहन, बोलीचाली र चालढाल पनि चेन्ज हुदै गयो । सरकारले सुरुमा दिने गरेको मासिक ३ हजारमा १ हजार पार्टीका लागि भन्दै दिन भनियो र दिइयो पनि, त्यस्तै पछिलो चरणमा ५ हजार दिने गरियो त्यसमा पनि त्यही प्रक्रिया लागू गर्दै डिभिजनमा लाख हुदै करोडसम्म पुग्यो अनि त्यसपछि हिजो देश सोच्नेहरू परिवार सोच्न थाले । परिवार सोच्न थालेपछि आर्थिक हिनामिना र तस्करी गरेरै भए पनि आफू उक्सने प्रवृत्ति हाबी भए । शिविरमा बढ्दै गएको गुट–उपगुटको राजनीति, असन्तुष्टि र जनसेनालाई गरिने व्यवहारदेखि वाक्क लागेर समायोजन प्रक्रिया हुनु केहि महिनापहिला घर बिदा लिए । डिभिजन भिसी उदयबहादुर चलाउने दीपकसग फेसबुकमा कुराकानी भयो । त्यसबेला जनसेनालाई ५ देखि ८ लाखसम्म दिने निर्णय सरकारले गरेको थियो । मैले दीपक दाइलाई मलाई आउने पैसा पार्टीका लागि खर्चिन्छ भने दिन तयार छु तर ती डिभिजन कमान्डर राजेशको हातमा पुग्छ भने आउदिन भन्दा आउनुस्, आफैंले लग्दा राम्रो हुन्छ भन्नुभएको थियो । त्यसबेला चेक खोस्ने डिभिजन कमान्डरको योजनालाई फेल खुवाउनु पर्ने थियो । जनसेनाले आफ्नो पैसा आफैले पाउनुपर्ने माग अन्ततः सफल पनि भयो । जनसेनाको चाला बिग्रदै गएको अवस्थामा चामलमा रहने सीमित बिया जस्तो, जुन जतिखेर पनि मिल्काउन सक्ने देखिएकाले सेनामा जानुको अर्थै थिएन ।
धेरै पूर्वलडाकुले भरोसा मानेको भनिएको ड्यास माओवादीप्रति कत्तिको भर लाग्छ ?
समस्या एमाओवादीमा छन् र नया माओवादीमा पनि । शान्तिप्रक्रियामा आएपछि मान्छेका दिमाग भ्रष्ट भइसकेका छन् । यस्तो अवस्थामा क्रान्तिलाई पूरा गर्छौं भन्नेहरूले पनि सुखसयल छाड्लान्जस्तो लाग्दैन । कसैले पजेरो छाड्दैनन् अब जतिसुकै ठूलो कुरा गरे पनि । यत्ति हो कि जनयुद्धको मर्म बोकेका र अलि बढी त्यागको भावना भएका नेतादेखि कार्यकर्तासम्म वैद्यतिर लागेका छन् ।
शिविरभित्र विकृतिजन्य गतिविधि कसरी हुन्थे ?
सरकारी पैसा आउन थालेपछि ब्रिगेडदेखि माथिका एकाधबाहेक अधिकांश कमान्डर कुनै न कुनै रूपमा गलत काममा लागेका भेटिन्थे । धेरै त कारबाहीमा पनि परेकै हुन् । कोही तस्करीमा लागेर त कोही सांस्कृतिक विचलनका कारण । कमान्डरहरूले किन्ने गाडीमा अपारदर्शिता देखिन्थ्यो । हुन त ती गाडी सिमानातिरबाट ल्याइएका २ नम्बरी हुन्थे तर सस्तो भए पनि कमान्डरमा गाडी किन्ने पैसाको स्रोत खुल्दैनथ्यो । हाम्रा डिभिजन कमान्डरदेखि ब्रिगेड कमान्डरसम्म चढेको गाडी यति सुविधायुक्त थियो कि भित्रै बसेर टिभी हेर्न मिल्ने । भन्न त जनसेनाको रासनका लागि आएको पैसाबाट किनेको भनिन्थ्यो तर त्यस्ता गाडीमा तल्ला तहकाले चढ्न पाउदैनथे । कमान्डरका गाडी यतिसम्म पेवा बनाइएका थिए कि कोही बिरामी भएमा अस्पताल पु¥याइदिन आग्रह गर्दा पनि के–के बहाना पारेर दि“दै नदिने । हिजो चरम भौतिक सुख सयलमा रहेका कमान्डरहरू आज कोही पैदल हिड्छन् त कोही मोटरसाइकलमा ।औषधोपचारका लागि आएको सरकारी रकम (स्वास्थ्य विभाग) मा पनि डिभिजन कमान्डरदेखि बटालियन कमान्डरसम्मको ध्यान तानिन्थ्यो ।
लकडीहरू पनि कहिलेकाही चिरानीका लागि भन्दै बाहिर लगिने जब कि चिरानीको व्यवस्था भित्रै थियो । ती कहा जान्थे, थाहा हुन्नथ्यो । एकपटक शिविरबाट ५/७ वटा ट्र्याक्टरमा लकडी निकाल्दा सशस्त्र प्रहरीले पक्रियो । हतियारसहित जनसेना सामुन्ने उतारिदा टिकौलीको जंगलमा ठूलो तनाव भई झन्डै भिडन्त भएको । एकपटक चितवन मेडिकल कलेजका प्रमुख डा. नटराजप्रसादले कमरेड विविधलाई नया बन्दै गरेको भवनका लागि काठ दिनुप¥यो जस्तो सहयोग चाहिन्छ, म गर्छु भनेका थिए । नटराजले गाडी दिएको सुन्नमा आएको थियो । प्रताप स्मृति ब्रिगेडका सहायक कमान्डर प्रकाशले चितवनमा घर बनाएका छन्, त्यो पूरै जनमुक्ति सेनाको क्याम्पबाट काठ लगेर बनेको हो । त्यस त्यस बिषयमा विवाद भएपछि डिभिजनले स्पष्टीकरण लियो तर त्यत्तिकै दबाइयो ।
औषधोपचारका नाममा चाहि कसरी भ्रष्टाचार गरिन्थ्यो ?
शिविरको हस्पिटलबाट प्रेसक्रिप्सन कार्डमा छाप लगाएर लगेपछि भरतपुर मेडिकल कलेज, क्यान्सर अस्पताल र सरकारी अस्पतालमा उपचार गर्दा पैसा नलाग्ने व्यवस्था थियो । अरू जनसेनाको पनि उपचारमा खासै खर्च लाग्दैनथ्यो तैपनि फलफूल, औषधि खरिद, एम्बुलेन्स मर्मत र तेल खर्चको रकम सरकारले दिने हदा नक्कली बिल पेस गरेर जिल्ला जनस्वास्थ्यबाट लाखौ बुझिन्थ्यो । त्यो पैसाको कुनै हिसाब–किताब डिभिजन स्वास्थ्य विभागमा हुदैनथ्यो । सुरुसुरुमा सिधै डिभिजन कमान्डरको पाउमा पु¥याइने गथ्र्यो । कमान्डर राजेशको सामुन्ने क्रस बोल्ने आट कसैले नगर्ने हाम्रो स्वास्थ्य प्रमुख पनि त्यही भीडमा थिए । यतिसम्म कि पूरै खुट्टा बजारेर सलाम ठोक्थे तर उनका अगाडि अन्य कमान्डरले त्यस्तो गरेको देखिन्नथ्यो । हामी हस्पिटल टिम यसबारे चिया गफ कयौ पटक गर्थ्यौ, रमाइलो पल थियो त्यो । सरकारी पैसा मासिक औषधि खर्चबापत ५ लाख आउने गथ्र्यो तर खर्च १/२ लाखभन्दा हुदैनथ्यो । नक्कली बिल हामी आफै कोर्ने गथ्र्यौं, पार्टी र आगामी दिनमा हुने अग्रगामी परिवर्तनको आन्दोलनका लागि खर्च हुनेमा ढुक्क बनी अनैतिक काममा सहयोग गरियो तर त्यसविपरीत भयो । हजार हाराहारीमा रहेको सहायक शिविरमा ५ पत्ता सिटामोल पुग्ने गथ्र्यो, यो भन्दा दुःखको कुरा के हुन सक्छ ?
तेस्रो डिभिजन विवादमा आइरहने कमान्डरहरूकै कारणले हो ?
रामहरि मारिनुमा मुख्य हात केशव अधिकारी (रघु) र एटमको छ भनियो तर रहस्य अझैसम्म गर्भमा छ । मुख्य अभियुक्तलाई शिविरमा लुकाएर नैतिक जिम्मेवारी लिदै गोविन्दबहादुर बटाला (जीवित) नाटकीय पारामा जेल गए । अब बुझ्ने के ?
जनयुद्ध फिल्मका नायक ब्रिगेड कमान्डर विकल्प भान्जी पर्नेसग अनैतिक सम्बन्ध राखेको भनी आङ्खनै श्रीमतीले उजुरी हालेपछि कारबाहीमा परे । अहेव तालिमका सिलसिलामा भरतपुरको सरकारी हस्पिटलमा ड्युटी गरेकी भान्जीलाई ड्युटी समय मिलाइदिनुप¥यो भन्ने बहाना पारेर बालाजु बैठकमा गएका बेला पटक–पटक फोन गरी मलाई पनि हैरान बनाए । कारबाहीमा परेपछि वीरगन्ज, हेटौडा तिर तस्करी गरेर बसेका छन् भन्ने सुनिएको हो । वासु स्मृति ब्रिगेडमा हु“दा केशव अधिकारी रघु पनि केटीस“ग लागेर आर्थिक हिनामिना गरेको भनी कारबाहीमा परे । ब्रिगेड कमान्डर अशोक, सबिन सांस्कृतिक केसमा कारबाहीमा परे । अर्को ब्रिगेड कमान्डर वियोगलाई त तस्कर नै भनेर चिन्थे डिभिजन र चितवनका कमरेडहरूले । रोचक कुरा त सेना समायोजनको हल्ला चलिरहदा वियोग कमरेड गैडाको खाग तस्करीमा पनि लागेका रहेछन् ।
भरतपुरका एक व्यवसायीसग काठमाडौं टोखास्थित मेरो साथीको घरनजिकै रहेको छाप्रोमा खागको बिषयमा कुरा गरिरहदा एकपटक म पुगेको थिए । शंका लागेर म त्यहा पुगेको थिए । छाप्रोभित्र त पसिन तर ढोकाबाहिर उभिएर सुनियो, लगभग एक घन्टाजति । वियोग बाहिर निस्किएर मलाई देखे । तपार्इं यहा कसरी भनी सोधे । मैले दाइ (उनै) ले वास्ता नगरेकाले आएको थाहा पाएर भेट्न आएको बताए । मुखभरि आएको डन्डिफोरका कारण उपचारका क्रममा लगभग एक बर्ष जति हप्ता, महिनैपिच्छे चेक गरिरहनुपर्ने भएकाले म स्वास्थ्य को–अर्डिनेटरका रूपमा भरतपुरमा हुदा उनले मसग जोडिनुपथ्र्यो । त्यसै क्रममा उनीसग मेरो राम्रो सम्बन्ध रहेकाले समेत उनको अगाडि उपस्थित हुदा पसिना छुटेको । पछि कुरा बुझ्दै जादा महातस्कर पो रहेछन् । जहासम्म लाग्छ, जनमुक्ति सेनाका कमान्डर लेवलमा भएकाले आङ्खनो पदको दुरूपयोग प्रायः सबैले गरे ।
विडम्बना के भने, अलि माथिल्लो तहका कमान्डरले ठूलै गल्ती, अपराध गरे पनि सामान्य कारबाही हुने । सिधै केन्द्रीय तहका नेतासग लिंक हुने । तल्ला तहकाले गल्ती गर्दा महिनौसम्म सजाय भोग्नुपर्नेमा तल्लो तहकाले गल्ती गर्दा महिनौसम्म भात पकाउन लगाउने, कसैलाई सफाइको काममा खटाउने ।यार्सागुम्बा तस्करीकाण्डचाहि कसरी भएको थियो ? भरतपुर बसेका बेला एकपटक बिदामा काठमाडौं आएको थिए, विनोदले फोन गरेर विविधको सामान फलाना ठाउमा छ, ल्याइदिनोस् है भने । कमान्डरको आफन्त पर्नेको गोंगबुस्थित घरमा गएर सामान लिए, ५ वटा फोटा रहेछन् । सुमन भन्ने साथीलाई सामान ल्याइदिएको छु, शिविरमा लगेर विविधलाई दिनोस् है भन । त्यो फोटा हेरेपछि उनले भने– ओहो रवीन्द्रजी, यो त यार्सागुम्बाको फोटा हो । अनि पो म छा“गाबाट खसेजस्तै भए किनकि काठमाडौंबाट आउदा चेकिङमा परेको भए त म उम्कनै नसक्नेगरी जाकिन्थे होला । फोटा यति क्लियर कि सायद फोटोग्राफरले नै खिचेको हुनुपर्छ । स्याम्पल फोटो रहेछ । फोटा कमान्डरसम्म पुग्यो ।
त्यसको केही समयपछि एकदिन राति १२ बजेतिर काठमाडौंको बौद्धबाट डिभिजन कमान्डर विविध, डिभिजन भिसी सञ्जीव (हाल नेपाली सेनामा) र अरू एक/दुई जना माउजरसहित पक्राउ परेको खबर आयो । बौद्धतिरका भिछुसंग मिलेर यार्सागुम्बा तस्करी गर्ने मेसोमा पक्राउ परेका थिए भन्ने बुझिन्छ । तर, विविधले हनुमानढोका पुगेपछि नाटकीय तरिकाले डिभिजन सचिव अविरल हु भनेका रहेछन् । त्यसैले कतिपय मिडियामा त्यसैअनुसार समाचार आयो । संयोगवश त्यो दिन म, अबिरललगायत शिविरको स्वास्थ्य विभागमा सगै थियौ“ । कालिका एफएममा अविरलसहित कमान्डर पक्रेको खबर आयो तर विविधको नाम आएन । एकछिन त हामी दंग प¥यौ । पछि अविरल दाइले साथीहरूलाई फोन गर्दा मात्र वास्तविकता थाहा भो । त्यसबेला प्रचण्ड प्रधानमन्त्री भएका कारण गृहमन्त्री वामदेब गौतमको आदेशमा उनीहरू छुटिहाले । उनीहरू यार्सागुम्बाको डिल गर्न जादा पक्राउ परेका भन्नेचाहि पछि खुल्यो ।
पहिले चितवनमा दुईवटा डन ग्रुप थिए, चमेरा ग्रुप र कमिला ग्रुप । चर्चाको हिसाबले शम्भु भन्ने थिए, जुन ग्रुपले हाम्रो समर्थन गथ्र्यो । जेलमा मारिएका तरुण दलका शिव पौडेल अर्का डन थिए । उनीहरूले पनि विविधलाई डन मान्दा रहेछन् । जेल पर्नुअघि भरतपुरको पुल हाउसमा भेट भएका बेला शिव पौडेल भन्थे, ‘हामी के डन, डन होस् त विविधजस्तो ।’ आफ्नो भाइलाई गोली हानी मारेको शम्भुकै टिमले हो भन्ने शिव पौडेलको बुझाइ थियो । शम्भुको टिमलाई शिवको गाडी प्रयोग गरी बसिरहेको ठाउ“मा गोली हानिएको थियो । गाडी समातियो । भाइ रहेको खुल्दै थियो । शिवको भाइलाई मारिनासाथ शम्भु फरार भए, अहिले चितवन प्रशासनले खोजिरहेको छ । उनी काठमाडौंमा घुमिरहेका छन् भन्ने सुन्नासाथ मैले फोन नम्बर खोजी फोन गर्दा अफ थियो । त्यसको केही दिनमा शिवको भरतपुर कारागारमा हत्या भएको खबर आयो । मलाई राम्रोसग थाहा छ, शिवका भाइको हत्या आरोपमा शम्भुको टिममा रहेको सुरज नाम गरेको व्यक्तिसमेत शिव पौडेल मारिएको जेलमै छन् ।
रामहरि काण्ड हुनुको खास कारण के थियो ?
एकदिन राति कमरेड विविध रुममा नभएका बेला मुकुन्डो लगाएर तीनजना मानिस खोज्दै आएछन् । एकजना पाले बसेर दुई जना भित्र गएछन । तिनीहरूले त्यहा“ बसिरहेको बियोग भन्ने भाइलाई विविध कहा छ भन्दै बेस्सरी पिटेछन् । विविधका सहयोगीचाहि दाइ आएपछि खाना खाएर सुत्छु भन्दै पल्लोपट्टि टिभी हेर्दै बसिरहेका थिए उनले त्यो कुराको पत्तै पाएनछन् । विविधको कोठा भ¥याङनजिकै बाहिरपट्टि भएकाले उनीहरू विविधको रुममा पसेछन् तलासी गरेर एउटा माउजर र ५ लाख लगेछन् । सुनिएअनुसार त्यो जनसेना शिविरका लागि निकासा भएको रकम थियो । केहीबेर उपद्रो मच्चाएर तिनीहरू हराए । कोठामा अरू साथी पनि थिए तर पत्तो पाएनन् भन्ने छानबिन समितिको निष्कर्ष थियो । त्यसैले त्यो केस टाउको दुखाइको बिषय बन्यो । तर, त्यहा बाहिरबाट कोही आएको होइन, त्यही बस्नेको काम हो भन्ने किन पनि पक्का थियो भने उपद्रो भएका बखत तल र माथिका गेटमा ताला लगाइएको थियो । न ताला खोलिएको थियो, न फोरिएको नै । भुइ तला र सिरान तलामा च्यानल गेट त छ“दै थियो, प्रत्येक तलामा पनि गेट थिए । हाम्रा साथी बसेको दोस्रो तलामा हो ।
हतियार र नगद लुटिएको घटना सुनाउन डिभिजन कमान्डर विविध र ब्रिगेड कमान्डर रघु दुवैजना कमरेड प्रचण्डकोमा गए । रघु एकपटक कारबाहीमा परेपछि रघु र विविधबीच भित्री अन्तरद्वन्द्व थियो भन्ने सुनिएको हो तर विविधले नै रघुलाई ब्रिगेड भिसिबाट कमान्डर बनाएका हुन् । त्यो दिन विविध त्यहा भएका भए अर्को दुर्घटना पनि हुन सक्थ्यो या नभएको मौका छोपी गएका हुन् । घटनाको अनुसन्धानका लागि एउटा छानबिन समिति बनाइएको थियो, जसमा गोविन्दबहादुर बटाला (जीवित) संयोजक थिए l
छानबिनकै क्रममा सोही घरबाट माउजर र पैसा भेटियो । टि–सर्टले बेरिएको स्थितिमा । हतियार भेटिएपछि केरकार गर्दा पत्ता लाग्यो, त्यो सर्ट एटमको रहेछ । एटमले निकै कसरतपछि हतियार र पैसा लुट्ने आफूसहित रघु र रामहरि पनि भएको पोल खोलेछन् । एटमले पोल खोलेपछि पार्टीले नियन्त्रणमा लिएको अवस्थामै रामहरि मारिएका हुन् । गल्ती स्विकारेपछि एउटै कोठामा राखेका बेला रघु र एटमले रामहरिलाई यातना दिएको जीवितले पत्रकार समेलन गरी आत्मसमर्पणका बेला भनेका थिए । पिटिएको स्थान डिभिजन अस्पतालनजिकै रहेको भवनमा भनियो तर पिटिएको त्यहा थिएन । उक्त घटना भएका बेला त्यहा त हाम्रो ४५ दिने स्वास्थ्य तालिम चलिरहेको थियो ।
रामहरिको मृत्यु भएको कुरा शिविरभित्रैबाट लिक भएको थियो भनिन्छ नि ? कोटेश्वरमा श्रेष्ठको घर पार्टी कार्यालयजस्तै थियो, ०६३ सालपछि । मेरो पनि दैनिक आवतजावत हुने गथ्र्यो । विविध र अन्य कमान्डर ढुक्कै बस्थे । रामहरि हत्याकाण्डबारे खासगरी जनआस्थाको समाचार तेस्रो डिभिजनमा चर्चाको बिषय बन्ने गथ्र्यो । तेस्रो डिभिजनमा भएका केही घटना विवरण हुबहु लेखिने गथ्र्यो । जनसेनाको भित्री कुरा बाहिर कसरी गयो भनेर हामीभित्रै कोही जासुसी रहेको निष्कर्ष निकाली छानबिन समिति बनेको थियो तर शंका गर्ने घेरा साघुरो र पत्ता लाग्न सक्ने भए पनि पत्ता लाग्न सकेन । त्यसबेला जनसेनासग मोबाइल थिएन, कमान्डरसम्म अलि–अलि पुगेका थिए । छानबिन समितिका संयोजक महिला कमान्डर हुनुहुन्थ्यो । उहा भन्नुहुन्थ्यो, तल्लो लेबलका साथीले होइन यो । पक्का हो कि माथिल्लो कमिटीका साथीहरू जसले कम्प्युटर र फोन प्रयोग गर्न जानेका छन्, तिनैबाट लिक हुने गथ्र्यो भित्री कुरा ।
रामहरिलाई अपहरण गरेपछि तपाईंसग कहा र कसरी भेट भो नि ?
एकदिन राति ११/१२ बजेतिर मेडिकल ट्रेनिङको परीक्षाको लागि हामी दुई जना कोठानजिकै चौतारामा बसेर पढ्दै थियौ, हस्पिटलनजिक । एक/दुई जना बिरामी साथी पनि थिए । गाडी आयो र रोकियो । जीवितले बोलाए पछाडिको सिटमा रघु बसेका थिए । अघिल्लो सिटमा जीवित, बीचको सिटमा रामहरि । एटम थिएनन् । घाइते तथा अपांग संघको सभापतिसमेत भइसकेका रघु चाहि लास्टको उल्टो सिटमा, कुरा गडबड छ भन्ने लाग्यो । रघुलाई सलाम कमरेड भने र हात मिलाए । उनी मलीन देखिन्थे ।केहीबेरमा बीचको ढोका खोलियो, यसो हेरेको, रामहरि त उठ्न र हिड्न नसक्ने अवस्थामा रहेछन् । नसमाए ढलिहाल्ने हुनाले समाउदै लगेर बेडमा सुताइयो । खुट्टा पूरै पाकेजस्ता र सुन्निएका थिए । ठाउ–ठाउमा छाला नै निस्किएको थियो । रामहरिलाई शाही सेनाले दिने यातनाभन्दा कम सास्ती दिइएको थिएन । नाइट सिफ्ट अर्कै साथीको थिए । तैपनि, हामी गएर ड्रेसिङ गर्यौ ।
रामहरिलाई कसरी र कस्तो यातना दिइएको थियो मृत्यु कसरी भयो ? खुट्टामा भएको घाउ पिन गाडेर यातना दिदा भएको रहेछ । उपचारका क्रममा मसग रहदा रामहरिले पापीहरूले भ¥याङबाट खसाले भनेका थिए । भ¥याङबाट खसालेकै कारणले रहेछ, चितवन ल्याएर उपचार गर्न थालेपछि रामहरिको पिसाबबाट रगत जान थालेको । त्यसबीच जीवितले रामहरिको आग्रहमा परिवारसग कुरा गर्न दिए, उनले परिवारलाई ढाडस दिदै आफू सकुशल रहेको बताएका थिए । स्वास्थ्य विभाग प्रमुख विनोद र सरकारी डाक्टरले विविधलाई पटक–पटक भेटेर रामहरिको उपचार यहाबाट मात्र गर्न सकिन्न भन्दै अन्यत्र लैजान आग्रह गर्नुभाथ्यो । तर, त्यसबेला चुनावको माहोल भएकाले विविधले अझै केही दिन रोक्नोस्, बाहिर गयो भने फ्ल्यास आउट हुन्छ भन्दै टारिरहे । शिविरकै लागि सरकारले खटाएका एमबिबिएस डाक्टरले पनि चाडो डायलोसिस नगरे बिरामी बाच्दैन भनेका थिए । त्यसबीच रामहरिले पटक–पटक मलाई उपचार गर्न लैजानोस्, सबै खर्च मै व्यहोर्छु भनेका थिए । बेलैमा उपचारका लागि लैजान नरोकेको भए रामहरि मर्ने मान्छे होइनन् । तीन/चार दिनसम्म पनि थुनेरै राख्दा शरीर सुन्निएको थियो । पेट फुलेको थियो । किड्नीमा असर परेकाले पेट फुलेको रहेछ ।परिवर्तनका लागि लड्छौ भन्नेहरूले यसरी यातना दिनु गलत थियो । पेट र शरीर फुल्ने अनि पिसाबबाट अत्यधिक रक्तस्राव भएपछि अब केही जोर चल्दैन भन्ने लागेर अन्तिम विकल्पका रूपमा सेङ्खली (आउट नहुनेगरी) भनेर साझ ७ बजेतिर डायलोसिस र उपचारका लागि चितवन मेडिकल कलेज, लैजान दिइएको थियो । त्यहा हस्पिटलका डा. भोजराजले उपचार गर्दै थिए तर डायलोसिसकै क्रममा उनको मृत्यु भयो ।
उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटैमा गाडी रोकेर पुलबाट खसालेको भनिएको थियो नि ?
मृत्युपछि कुरा बाहिर आउन नपाओस् भनेर हस्पिटलबाटै लास गायब पारियो । त्यति मात्र होइन, मेडिकल कलेजसग राम्रो रिलेसन भएको फाइदा उठाउ“दै रामहरिको भर्ना र उपचार गर्दाका सबै कागजात नस्ट गरियो । त्यहा एउटा सानो कमजोरी नगरिएको भए सायद केही दिनसम्म यो खबर बाहिर आउदैनथ्यो । साथीहरूले सुरुमा एमरजेन्सीमा भर्ना गर्दाको एउटा खाताको रेकर्ड मेटाउन भुलेछन् । अपहरणमा परेका व्यापारी रामहरि होइन, जुटपानीका रामहरि मरेको भनेर हल्ला फैलिएको थियो । जुटपानीमा पनि त्यही नामका एकजना व्यक्ति रहेछन् तर मरेका थिएनन् । त्यसैले गाउ तिरबाट लौ रामहरि त जिउदै छ है भन्दै खबर आउन थाले । त्यसै क्रममा हस्पिटलमा नस्ट गर्न भुलेको रामहरि श्रेष्ठ लेखेको खाताको नाम (रेकर्ड) सुरुमा एभिन्युजले भेटेर खिचेछ अनि डा. भोजराजसग अन्तर्वार्ता लिएछ, भोजराजले मल्टी किड्नी फेलर भई डायलोसिसका क्रममा मृत्यु भएको भनिदिए । अलिकति कुरा खुस्किएपछि अस्पतालले विज्ञप्ति निकाल्यो र रामहरिबारे बोल्न डा. भोजराजलाई अगाडि सा¥यो । त्यतिन्जेलसम्म त्यो केस प्रहरीस“ग टच भएको थिएन तर घटना सार्वजनिक भएपछि खासगरी भरतपुरमा रहने साथी र अन्य कमरेडलाई पनि केस लाग्यो । प्रहरी परिचालन, निगरानी र पत्रकारले घेरिहाल्ने अवस्थाले लामो समयसम्म केही साथी त मेडिकल कलेजतिरै गएनन् अझ भनौ शिविरबाट बाहिरै निस्केनन् ।
पछि डिभिजन स्टाफ मिटिङ बस्यो र डिभिजन कमान्डरलाई प्रशासनले मुख्य अभियुक्त ठानेकामा त्यसको नैतिक जिम्मेवारी लिदै विविधलाई होइन, ब्रिगेड कमान्डर गोविन्दबहादुर बटाला (जीवित)लाई अभियुक्तको हिसाबमा पठाउने निर्णय ग¥यो । उनलाई छानबिन समितिको संयोजकको समेत नाताले दोषी मानेर बाहिर पठाउन बिदाइ नै गरियो । उनी मुख्य दोषी नभए पनि पार्टी र क्रान्तिका लागि जस्तोसुकै त्याग गर्न तयार छु भन्दै निस्केका थिए । स्टाफ मिटिङमा पनि उनले त्यसै भनेका हुन् ।
जीवितलाई दिइएको जिम्मेवारीअनुसार नारायणघाट गएर पत्रकार सम्मेलन गरे । जसमा भरतपुरबाट उपचारका लागि काठमान्डौ लैजादै गर्दा एटम र रघुले बीचबाटोमा पुलबाट खसालिदिएको भनियो । हामीलाई जानकारी भएअनुसार रामहरिलाई शिविरभित्रै गाडिएको थियो । एटम, रामहरि र रघु शिविरभित्रै रहेका बेला एकआपसमा जुधेर घटना हुन पुगेको भनियो । प्रहरीले विविधको सट्टा जीवितलाई पक्रन मानेन । त्यसपछि केन्द्रदेखिको दबाब दिएर पक्रन लगाइयो ।
रामहरि हत्याका मुख्य अभियुक्तलाई लुकाउनुको कारणचाहि ?
जीवित जेलपछि पनि रामहरिकी श्रीमतीले दोषीलाई कारबाही नगरेसम्म मरिगए नछाड्ने छनक देखियो । जेल परेपछि उपल्लो तहका नेता र कमान्डर कोही पनि भेट्न नजादा जीवितलाई डिप्रेसनजस्तै भएको थियो । त्यसैबेला माथिबाट एउटा निर्देशनजस्तै प्लान आयो, जीवितलाई भगाउने । प्लान त आयो तर सबै चाजोपाजो त्यहीबाट मिलाउनुपथ्र्यो । त्यसैले एकजना ब्रिगेड कमान्डर मस“ग आउनुभयो । जीवितलाई जेलबाट भगाउन सम्भव थिएन । त्यसैले उपचारका लागि हस्पिटल ल्याउन लगाउने र त्यहाबाटै भगाउने सल्लाह भयो । त्यसका लागि मेडिकल कलेजका निर्देशक नटराजलाई भेटियो उनले पनि सकेसम्म सहयोग गर्छु भने । तर, भगाउने कसरी भन्ने जुक्ति निस्किएको थिएन । मलाई जीवितको नाकको एउटा समस्या छ भन्ने थाहा थियो । त्यसैले त्यसैको उपचारका लागि हस्पिटल ल्याउने र अप्रेसन गर्दा पुलिस नजाने भएकाले पछाडिबाट भगाउने ट्रिक निकालियो । हस्पिटलमा रेकी गर्नेलगायत सबै काम कुरा भएपछि जेल गएर भेटियो तर उनले इच्छाशक्ति नै देखाएनन् । सायद डिप्रेसनको अवस्थामा रहेका उनले भागेपछि मस्ट वान्टेडमा परिन्छ र झन् समस्या पर्छ ठाने होलान् । त्यसपछि हामी त्यो प्लान तुहाउन बाध्य भयौ । पछि जीवित अदालतबाटै छुटे र फेरि ब्रिगेड कमान्डर भएर काम पनि गरे । रघु, एटम र विविधलाई चाहि“ प्रशासनको नजरमा फरार देखाएर शिविरमा लुकाई राखियो । अहिलेसम्म पनि प्रशासनको नजरमा उनीहरू रामहरि हत्याकाण्डका फरार अभियुक्त हुन् ।

-२०७० जेठ ८ गते बुधबारको जनआस्थामा प्रकाशित अन्तर्वार्ता

No comments:

Post a Comment