बेरुत - संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले सिरियाली अधिकारी र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले दुवै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गरेका समाचारमा जनाइएको छ। इजरायली हवाई सेनाद्वारा आइतबार सिरियामा गरिएको आक्रमणपछि उनले सो आग्रह गरेका हुन् ।
इजरायलले विगत ४८ घन्टायता सिरियाको राजधानी दमासकसको नजिकका विभिन्न स्थानमा आक्रमण गरेको हो। उसले राजधानी दमासकसमा रहेका सैनिक केन्द्रहरुलाई लक्ष्य बनाएको बताइएको छ।
इजरायली युद्धक विमानले सिरियाको राजधानी तथा त्यसका वरपर आइतबार आक्रमण गरेको थियो। सो आक्रमणबाट त्यहाँ अनेकौँ विस्फोट भएको अधिकारीले बताएका छन्।
सो आक्रमणपछि महासचिव बानले सिरियाको समस्याको समाधानका लागि संयमतापूर्वक उपायहरु अबलम्बन गर्नुपर्नेमा पनि जोड दिएका हुन् ।
इजरायलले सिरियामाथि गत तीन दिनमा गरेको आइतबारको दोस्रो हवाइ आक्रमण भएको बताइएको छ। यस आक्रमणसँगै सिरियाको रक्तपातपूर्ण गृहयुद्धमा इजरायलको संलग्नता बढ्न थालेको छ।
महासचिव बानका प्रवक्ताले आइतबार प्रकाशन गरेको एक विज्ञप्तिमा भन्नुभएको छ– सो आक्रमणको बारेमा संयुक्त राष्ट्रसङ्घले स्वतन्त्ररुपमा पुष्टि गर्न त सकिएको छैन तरपनि सो आक्रमणको समाचारले हामी स्तब्ध भएका छौँ।
मध्यपूर्वमा रहेका एक गुप्तचर अधिकारीले आफ्नो परिचय नदिने सर्तमा इजरायलले आइतबार बिहानै सिरियाली राजधानीमा हवार्ई आक्रमण गरेको बताएका थिए। एक समाचारमा कतिपय अधिकारीले सो समाचारका बारेमा टिप्पणी गर्न मानेका छैनन्।
सिरियाले रासायनिक हतियार प्रयोग गरेको देखिएपछि त्यसको प्रतिक्रिया कसरी दिने भन्ने विषयमा वासिङ्टनले बिचार गरिरहेको समयमा इजरायलले यो आक्रमण गरेको हो।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले रासायनिक हतियारको प्रयोगलाई सीमा रेखा मानेका छन् र अमेरिकी प्रशासनले सैनिक कारवाहीदेखि अन्य कारबाहीका विषयमा छलफल गरिरहेको बताइएको छ।
यस आक्रमणको विषयमा सिरियाली सैनिकबाट कुनै टिप्पणी आएको छैन। साथै इजरायलबाट पनि पछिल्लो समाचारको पुष्टि भएको तर प्रतिक्रिया नआएको बताइएको छ।
तेहरानमा इरानका विदेश मन्त्रालयका प्रवक्ता रमिन मेहमानपरस्तले इजरायली आक्रमणको भर्त्सना गर्दै यस क्षेत्रका मुलुकहरूलाई इजरायलविरुद्ध एक हुन आह्वान गरेका फार्स समाचार संस्थाले उल्लेख गरेको छ।
सिरियाली आन्दोलन गत मार्च महिनाको ११ तारिखदेखि तीन वर्षमा प्रवेश गरेको छ। सो आन्दोलनका क्रममा ७० हजारभन्दा बढी नागरिकले ज्यान गुमाएको मानव अधिकारवादीहरूले जनाएका छन्।
आन्दोलनका क्रममा हजारौँ नागरिक घाइते भएका छन् र अरू कयौँ बेपत्ता बनाइएका छन्। हराउने र बेपत्ता हुने नागरिकको वास्तविक तथ्याङ्क नै नरहेको उनीहरूको भनाइ छ।
राष्ट्रपति बसार अल असादको राजिनामाको मागगर्दै सुरु भएको सो आन्दोलन हालैका केही महिनायता आएर निकै हिंसात्मक बन्दै गइरहेको छ।
विश्वका विभिन्न नेता एवम् देशले शान्तिपूर्ण आन्दोलनमा उठेका नागरिकका आवाजहरू सुन्न र पदबाट राजिनामा दिन गर्दै आएको आवाजलाई राष्ट्रपतिले भने अस्वीकार गर्दै आएका छन् ।
No comments:
Post a Comment