- रामाशीष, वरिष्ठ भारतीय पत्रकार
हामिले किनेर खाने गरेको आयो नुन पनि भारतले नेपाललाई सहयोग स्वरुप निशुल्क रुपमा दिने गरेको छ भने हामी त्यही नुन अहिले काठमाण्डुमा १७ रुपैयाँ तिरेर खाने गरेका छौ । नेपालको यो बाहुनबादी सरकारले एक लिटर पेट्रोलमा ३३ रुपैयाँ राजस्व उठाउँछ र नेपाली नागरिकलाई त्यही पेट्रोल महंगोमा बिक्री गर्छ । अनि कसरी नेपाली नागरिकको जिबनस्तर माथि उठ्न सक्छ? हेरौ नेपालमा चार दशकदेखि कार्यरत भारतीय वरिष्ठ पत्रकार रामाशीषसँग 'मंगोलभिजन साप्ताहिक'का सम्पादक कृष्णबहादुर तामाङले यही बिषयमा गर्नु भएको अन्तर्बार्ता ।
राजा वीरेन्द्रले पनि तीर्थ गर्न त भारत नै जाने गरेका थिए ?
हाँस्दै स्वर्ग पाउनलाई त यो बाहेक अरु कुनै उपायनै थिएन । म त के भन्छु भने नेपालका जति पनि नेताहरु छन्, लगभग सबै त बाहुनै हुन्, उनीहरुले आखिर किन इण्डियन राम र कृष्णलाई पुज्ने गर्छन् ? आखिर यिनीहरुले कति छुट्याउन सक्छन् ? के नंग र मासुलाई छुट्याउन सकिन्छ ? कोशिश त गरे कम्युनिष्टहरुले विश्वभरि नै गरे- के जर्मनीमा कोशिश गरेनन्, पर्खाल लगाएनन् ? तर मात्र एउटै रगतको नाता-गोताहरुबीच विद्वमान् रगतको नाताको कारणले त्यहाँ कम्युनिष्ट स्थापित विभाजन-पर्खाल भत्काउनु पर्यो कि परेन ? त्यसकारण, यी दुईटै देशको सम्बन्धको कुरा गर्दा, वास्तविकता त के सामुन्ने आउँछ भने, जनता-जनताका बीच कहिले पनि तनाव भएको छैन ?
भारतका विरुद्ध यत्रो काण्डहरु नेपालमा भइसके, माओवादीहरुले के छाड्या छ र ? तर के यी माओवादीहरुले भारतलाई अपमानित गर्ने काण्डहरुको प्रतिशोधमा भारतमा एउटा पनि नेपालीलाई कुनै पनि भारतीयले एक झापड पनि हाने ? के यसको अर्थ भारतीयहरुमा राष्ट्रियताको भावना र आत्मगौरव छैन ? के भारतीय मिडियाहरु राष्ट्रद्रोही छन् र राष्ट्रलाई अपमानित गर्ने घोर आपत्तिजनक खबर छाप्न सक्दैनन् ?
नेपाली नेताहरुले भारतका विरुद्ध नेपालमा जे-जे गर्या छन्, समय-समयमा भारतलाई घोर अपमानित गर्ने दुस्साहस गरेका छन्, के भारतीय जनता त्यसको बदला भारतमा लिन सक्दैनथ्यो ? सोच्नुस्, यसको प्रतिकार भारतमा भयो भने के हाल हुन्छ ? भनिन्छ भुटानबाट १ लाख नेपाली शरणार्थी यहाँ आएको छ र तिनीहरुलाई नै नेपालले अहिलेसम्म सेटल गर्न सकेको छैन । त के भारतबाट खेदिएका ८५ लाख नेपाली शरणार्थीलाई सेटल गर्न सक्छ ? छाडौं ८५ लाखको कुरो यो तथ्याङ्क गलत पनि हुन सक्ला, तर के नेपालले भारतबाट फर्काएका ५० लाख नेपालीलाई एडजस्ट गर्न सक्छ ?
भारतलाई नेपालमा विगत चार दशकमा भएको अपमानलाई सम्झदा, एउटा भारतीय नागरिकको नाताले अब म आफ्नो देश भारतको सरकार र नेताहरुसित यो अपिल गर्न चाहन्छु कि यदि भारत वास्तवमा नेपाली जनताको 'स्वाधिनता'को पक्षधर छ भने, जुन ८५ लाख नेपाली भारतमा 'गुलामी जीवन' बिताई राखेका छन् तिनीहरुलाई ससम्मान नेपाल वापस पठाई दिनुहोस्' अनि त्यसपछि नै बेवारिसे नेपाली जनताले बिलासितापूर्ण जीवन बिताई राखेका नेताहरुसित हिसाब लिन्छन् ।
त्यसैले म भन्छु भारत-नेपाल सम्बन्धको दुईवटा बेग्ला-बेग्लै पक्ष छन् । यहाँका मान्छे स्वाभिमानको कुरा गर्छन् , हरेक कुरामा स्वाभिमान थपिदिन्छन्- 'हाम्रो स्वाभिमानको कुरा हो ।' अरे बाबा, विश्व वा छिमेककै साना-ठूला देश किन न होस्, सबै देशको स्वाभिमान हुन्छ । भारतले त कहिले पनि आफूलाई दाई भन्या छैन । हिन्दी भाषामा त दाई भन्ने शब्दै छैन । हिन्दी भाषामा त समानतासुचक 'भाई-भाई' शब्द छ भाई-भाईकै नाताले व्यवहार गर नि ! र यदि स्वाभिमानकै कुरा गर्छ भने भारतमा सुख-दुःखको जीवन बिताइराखेका ८०-८५ लाख नेपालीलाई वापस बोलाऊ । यसप्रकार करिब दुई लाख नेपाली चेलीबेटी भारतको मुम्बईमा घोर अपमानजनक धन्धा (बेश्यागिरी) मा नारकीय जीवन बिताई राखेका छन्- ती नेपाली दिदी-बहिनीलाई फिर्ता बोलाउनु नि, कसले रोकेको छ ?
त्यसैले म भन्छु कि जसले स्वाभिमानको नारा लगाएका छन्, जसले स्वाधिनताको नारा लगाएका छन्- तपाईं स्वाभिमानी नेपालीहरु गान्धीको बाटो समात्नुस् न । महात्मा गान्धीले सबभन्दा पहिला बि्रटिश नुनको विरोध गर्नुभयो, घोषणा गर्नुभयो, ब्रीटिश नुन खान्न, ब्रीटिसको लुगा लगाउँदैनौ । तपाईंहरुले पनि त्यहीँबाट शुरु गर्नुस् नि- नेपाली स्वाभिमानको आन्दोलन । तर बिडम्बना त के छ भने तपाईंहरुको भारतविरोधी घृणा-अभियानबीच आज पनि नेपालमा बिक्री हुने आयो नुनको हरेक प्याकेटमा छापेको छ, 'भारत-नेपाल-सहयोग ।' भारतमा त ब्रीटिश नुनको बहिष्कारबाट नै शुरु भयो, भारतीय स्वाभिमानको आन्दोलन र विकल्पमा गान्धीजीले भन्नुभयो, आफ्नो नुन- आफै बनाऊ । त्यसपछि त भारतीय जनताले गाउँ-गाउँमा नुनिलो माटोबाट नुन बनाए, केराको बोटबाट नुन बनाए, समुद्र र झीलको पानीबाट नुन बनाए । अंग्रेजहरुले नमक-सत्याग्रहको सफलताबाट डराए र नमक-आन्दोलन गरेको आरोपमा गान्धीजीलाई दश वर्षको सजाय दिए ।
तर, यदि भाई-भाईको कुरो गरौं भने, भारतमा जुन ८०-८५ लाख नेपाली छन् उनीहरुमध्ये प्रायजसो ठूलो शहरहरुको 'फोहर बस्तीमा' (स्लम) सडकको छेउमा, फुटपाथको चिया पसलमा, समुद्र किनारमा बसेर घोर कष्टमय र अपमानपूर्ण जीवन बिताइराखेका छन् । ठूलो शहरहरुको पसल र घरहरुमा नोकरी गर्दा, भाँडा माझ्दा, होटेलहरुमा कति थप्पड खानुपर्छ, यी अवस्था हेर्दा त मेरो आत्मा पनि रुन्छ नि । किनकि ती बिचराले गरिबीको कारणले नै यस्तो दुःख भोग्नु परिराखेको छ नि ? के गरिबीको कारणले यस्तो दुःख भोगिरहनु पर्ने ? म त इन्टरपास गरेको एउटा नेपाली केटालाई दिल्लीको एउटा चिया पसलमा प्लेट धुने काम गरेको देखेको थिएँ । यसैप्रकारले जुन करिब दुई लाख नेपाली चेलीबेटी बेश्याको काम गरेर बसेका छन्, के ती हाम्रा पनि दिदी-बहिनी होइनन् ? तिनीहरु हिन्दू-बौद्ध समाजका होइनन् ? एउटा हिन्दू भएको नाताले पनि मेरो आत्मा विदीर्ण हुन्छ ।
यसैले यदि भाई-भाईको कुरो गरौं भने हामी दुवै देशको सरकार र समाज मिलेर यी समस्याको समाधान निकाल्नुपर्छ । करिब १२०-३० करोड आवादी भइसक्यो भारतको । अनि यो दुई-तीन करोडको आवादीलाई आखिर के चाहियो ? नेपाललाई केको दुःख हुन्छ ? सत्तारुढ नेताहरुलाई आर्थिक सहायताको याचना गर्ने बेलामा स्वाभिमान चाहिँदैन, तर जब साक्षात आर्थिक सहयोग दिने भारतीय राजदूतद्वारा सहृदय र सम्मानयुक्त प्रयास गरिन्छ भने, उनीमाथि जुत्ता फ्याँकिन्छ, उनीलाई कालो झण्डा देखाइन्छ- यो कस्तो कृतज्ञता ? के यही हो नेपालको महान् बाहुन-हिन्दू परम्परा ?
मलाई धेरै मान्छॆले सोध्दछन्, रामाशीषजी, यति भएर पनि भारतले किन मद्दत गरिराखेको छ ? अनि म उसलाई सोध्दछु, तपाईंका कति वटा छोरा छन्, दुई वा तीन वटा ? उनी भन्छ तीन वटा छन् । म फेरि सोध्दछु- के सबै छोराहरुले तपाईंको मनोनुकूल काम गर्छन् ? उनी भन्छ, होइन एउटाले त बरबादै गर्यो, आफ्नी श्रीमतीको सल्लाहमा, अंश-बण्डाको मुद्दा गरिदियो, तेले त परेशान परेशन गरिराखेको छ । फेरि म सोध्दछु, यस्तो अवस्थामा पनि के तपाईंको छोरा प्रतिको माया खत्तम भएको छ ? के त्यो बिरामी भयो भने तपाईंहरुले उसलाई हेर्न जानुहुन्न ? अनि, उत्तर आउँछ, होइन त्यो पनि त मेरै छोरा हो, छोरा प्रतिको माया कहाँ हराउँछ र ? उसको हेरचाह त गर्नै पर्छ हामीले । अनि यहीं म भन्छु- बस यही माया-करुणा र भाई-भाईबीच प्रेमको भावना छ भारतको- नेपाल र नेपाली जनताको प्रति ।
स्वाधिनता र स्वतन्त्रताको नारा लगाएर नेपालका केही मुठीभर मान्छे, अन्य देशहरुको पैसाको लोभ-लालच र लहलहैमा भारत विरोधका नारा दिन्छन्, भारतलाई अपमानित गर्छन्, भारतीयलाई पिट्छन्, भारतीय राजदूतमाथि जुत्ता फाल्छन् । त, के भारतले आफ्नो कर्तव्य छाडिदेदेओस्, मर्न देओस् ? यस देशमा राजनीतिको नाउँमा निहित स्वार्थले सक्रीय र नेपाललाई सधैँभरि 'भीक्षापात्र' बनाई राख्ने उद्देश्यले कार्यरत, केही देशका पैसाको लोभ-लालच र लहलहैमा भारत विरोधी नारा लगाइन्छ । यही सवाल उठ्छ, के भारतले आफ्नो कर्तव्य छाडिदेओस् र यस रगत-नाताको देशको निर्दोष र धर्मप्राण जनतालाई बेवारिसे अवस्थामा जिउन देओस् ?वास्तवमा यस देशमा जमीनी सच्चाई (ग्राउण्ड रियालिटी) महस्सुर र स्वीकार गर्ने मैले आजसम्म एउटै नेता देखेको छु, ती हुन् माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई ।
केही महिनाअघि जब माओवादी अध्यक्ष पुष्पकमल दाहाल भारत विरोधी अभियानमा संलग्न थिए, तराईको तुफानी-दौडाहामा भारत विरोधी विषबमन गर्दै हिँड्दै थिए, ठीक उसै बखत डा. भट्टराईले पोखरामा आयोजित एक जनसभालाई सम्बोधित गर्दै भन्दै थिए, 'हामीले यो कुरा बिर्सिनु हुँदैन कि यदि भारतले मात्र एक आइटम 'नुन' दिन बन्द गरिदियो भने के हामी त्यसबाट उत्पन्न स्थितिलाई थेग्न सक्छौं ? त्यसैले यदि यसलाई थेग्न सक्ने हाम्रो क्षमता छैन भने हामीले किन भारतको विरोध गर्ने ? त्यसैले हामीले यो भारत विरोधी प्रचारबाजी अबिलम्ब रोक्नुपर्छ ।' डाक्टर भट्टराईले यही कुरो एउटा भारतीय अंग्रेजी दैनिकलाई इन्टरभ्यू दिँदा पनि भनेका थिए । हुन त एक्लैमा लगभग सबै पार्टीका नेताहरुले यस सच्चाईलाई स्वीकार्दछन् तर सार्वजनिक रुपमा त डा. भट्टराईले नै यस्तो बोल्ने साहस गरे ।
म भन्छु यो माओवादीहरुका 'यीनै गतिविधिहरुका' कारणले आज भारतबाट दुई पैसा आर्जित गरेर नेपाल फर्किरहेका नेपालीहरुले कति दुःख भोग्नुपरेको छ । भारतीय सुरक्षाकर्मी एसएसबीका जवानहरुले नेपाल फर्किराखेका मान्छेहरुसित दुव्र्यवहार गर्छ, कुटपीट गर्छ- यस्ता खबरहरु नेपाली अखबारहरुमा देख्छु । तर अन द स्पट त्यस्तो व्यवहार हुन्छ भन्ने त्यसको प्रामाणिक जानकारी मलाई छैन । म यो स्वीकार गर्छु कि जहाँ सुरक्षा दस्ता तैनाथ हुन्छ, त्यहाँ यस्तो ज्यादती हुने गरेका घटनाहरुको खबर अन्तर्राष्ट्रिय मिडियामा आइ नै रहन्छ । यही म सवाल गर्न चाहन्छु, त्यो एएस बी जवानहरुलाई नेपाल-भारत सीमाना तैनाथ गराउने जिम्मेवारी कसको ? कसले ल्याओ तिनीहरुलाई ? कसको जिम्मेवारी ? के भारतले बडो प्रेमले तैनाथ गरेको छ ? आखिर किन तैनाथ गर्नुपर्यो ? किनकि, यहाँको माओवादीले खुल्लमखुल्ला चुनौति दियो कि भारत दुश्मन नं. १ छ । यही माओवादी सरदार प्रचण्डले बोर्डरमा ठाउँ-ठाउँमा बंकर-टेन्चेज बनाइदियो र भन्यो ट्रेन्चबाट भारतमाथि हमला गर्छौं । के यहीँका माओवादीहरुले बिहारको बेतियामा एउटा पुलिस स्टेशनमा हमला गरेर सात जना भारतीय पुलिसलाई मार्या थिएन ? यी माओवादीहरु मध्येकै एउटा सेल्फस्टाइल माओवादी मुखियाले भारतीय राजदूतमाथि जुत्ता फाले र सार्वजनिक वक्तव्य दिए- हाम्रो पार्टीले हामीलाई आदेश दियो भने इण्डियाको माओवादीसित मिलेर लड्छु हमला गर्छु ।
त्यसैले जहाँ यति धेरै चुनौतिहरु छन् भने, छिमेकी देश त चाहे साना-साना चोरहरुको खतरा होस् अथवा साना-तिना डाँकाहरुका चुनौति, वा शक्तिशाली ठूला देशको चुनौति किन न होस्, आफ्नो बचाउको व्यवस्था त गर्छ नि । म फेरि सोध्दछु, भारतलाई आखिर कुन आतंककारी शक्तिले लगभग साढे तीन लाख एसएसबीको जवानहरुलाई नेपाल-भारत सीमानामा तैनाथ गर्न बाध्य गरे? वास्तवमा ती जवानहरुका कारण कष्ट त हामी भारतीय सीमा क्षेत्रका जनताले पनि भोग्नु परिरहेको छ । बिहार र यूपीको बोर्डरमा गएर हेर्नुस्, त्याहाँ स्थानीय मानिसहरुलाई पनि दुःख दिन्छन्, ती एसएसबीका जवानहरुले । हामीले नेपाल-भारत दशगजासँग जोडिएको आफ्नै खेतहरुमा बिनाअबरोध ओहोर-दोहोर गर्न सक्दैनौं । खेती-बारीको सिलसिलामा पचासौँ पटक ओहोर-दोहोर गर्नुपर्छ र कहिले पनि हामी बेरोक-टोक आफ्ना अन्न-बालीको रेखदेख गर्न जान सक्दैनौं । त्यसैले त्यो दुःख त हामीहरुलाई पनि छ । तर म सोध्दछु यसको जिम्मेदार को ? के यसको जिम्मेवार नेपालका माओवादीहरु होइनन् ? म त के भन्छु भने यसको जिम्मेवार नेपालका माओवादीसहित नेपालका शासकहरु पनि छन् ।
अहिले पनि हेर्नुस् न, काठमाडौंमा नक्कली भारतीय नोटसहित पाकिस्तानी नागरिकलाई पक्डाउ भइरहेका छन् । बितेको दश वर्षमा हेर्नुस् त भारतीय नक्कली नोटको कति बिगबिगी भइसक्यो ? नेपाल आइरहेको नक्कली भारतीय नोटबाट आखिर नेपालले के पाइराखेको छ ? वास्तविकता त के छ भने पाकिस्तानले नेपाललाई आफ्नो अड्डा बनाएर नक्कली नोट पठाउँदैछ । स्थिति त यहाँसम्म पुगिसक्यो कि भारतको रिजर्ब बैंकमा जति भारतीय करेन्सी नोटको भण्डार छ, त्यसको ४० प्रतिशत नोट पाकिस्तान निर्मित जाली छन् । यस अवस्थामा सोच्नुस् त, कसरी भारत अहिलेसम्म जिउँदो छ ? के तपाईंलाई आश्चर्य लाग्दैन ? यति हुँदाहुँदै पनि भारतको विकास दर ९ प्रतिशत छ, भारतको ग्रोथ रेट ९ प्रतिशत छ । नक्कली नोटको सबै तमाशा नेपालको भूमिबाट भइरहेको छ र यस अवस्थामा के नेपाली शासन र शासकहरुको यो कर्तव्य छैन कि यस प्रकारको आपराधिक गतिविधिहरुलाई ऊ अबिलम्ब रोकोस् ? आखिर यसबाट नेपाललाई के फाइदा छ ? म त हेर्छु कुनै फाइदा छैन ।
पीआईए (पाकिस्तान एयरलाइन्स) को हवाईजहाजमा दुई-सवा दुई सय जति पाकिस्तानी भरेर नेपाल आउँछन् । तर फर्किदा त्यस विशालकाय विमानभित्र मात्र दश प्रतिशत पाकिस्तानी मात्रै देखिन्छन् । बाँकी पाकिस्तानी कहाँ गए ? यो खोजतलाश गर्ने को ? अनि तपाई नै भन्नुस्, यस्तो गम्भिर र संवेदनशील असुरक्षा अवस्थामा भारतले सचेत हुनुपर्ने हो कि होइन ? एउटा अति विशाल जनसंख्या र इकोनोमी भएको देशको मूल खजानामा फोर्टी परसेन्ट फेक नोट ? यहाँ डेली समातिई राखिएको छ पाकिस्तानी नागरिकलाई । तर के अन द होल नेपालमा सत्तारुढ सरकारहरुले आजसम्म कुनै उपयुक्त एक्शन लिए ? नेपालका नेताहरुले जहिले पनि भन्छन्, हामी नेपालको भूमिमा कहिले पनि भारत विरोधी गतिविधि हुन दिन्नौं । तर, के नेपालका नेताहरु यसो गर्न सक्छन् ? म सोध्दछु आखिर पाकिस्तान एम्बेसीको नेपालमा के काम छ ? नोटको कारणले विश्व भरिमा नेपालको बदनामी भइराखेको छ, त्यो पनि ड्यू टू पाकिस्तान, पीआइएद्वारा ।
दुःखको कुरो त के छ भने नेपाली कांग्रेसको एकजना नेता परराष्ट्र मन्त्री पदमा बसेकै बेला नेपाली पुलिसले एउटा पाकिस्तानी डिप्लोम्योटलाई लाखौँ रुपैयाँको नक्कली भारतीय नोटसहित रंगेहात समाते । तर नेपाली कांग्रेसकै पाकिस्तान समर्थक मन्त्रीले खुद त्यो पाकिस्तानी डिप्लोम्याटको घरमा पुगी उसलाई पुलिसबाट बचाउने कोशिश गरे र त्यसै बीच ती पाकिस्तानीले आफ्नो बाथरुममा सबै नक्कली भारतीय नोटलाई आगो लगाई नष्ट गर्न सफल भए । यसबाट त स्पष्ट छ कि नेपालका नेता र प्रशासनको अघोषित सहमतिले यो धन्धा नेपालको धरतीमा जारी छ । यो सर्वविदित छ कि नेपालमा यी सबै भारतविरोधी आपराधिक गतिविधि संचालनको केन्द्र छ पाकिस्तानी । यस्ता गतिविधिबाट आखिर नेपालले के पाइराखेको छ ? त्यसैले म जहिले पनि के भन्छु, दुवै देशको सम्बन्ध र दुवै देशको जनताको सम्बन्ध, दुवै देशको नागरिकको सम्बन्धमा ठूलो अन्तर छ । यस मामिलामा संस्कृति, धर्म यो सबै कुरो छाडौं, यहाँ त रगतको नाता छ ।
No comments:
Post a Comment