धनकुटाको वुधबारे तनावग्रस्त
धनकुटा, वैशाख २१ - मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का सात जना कार्यकर्तालाई प्रहरीले निर्घात कुटपिट गरी पक्राउ गरेको भन्दै परिषद्ले बन्द आव्हान गरेको छ । उनीहरुले ६ नम्बर बुधबारेमा शनिवार फोटो सहितको मतदाता नामावली संकलन कार्यमा अवरोध गरेका थिए ।
यसैबिच शिविर कार्यक्रम बिथोल्न सयौं लिम्बुबान कार्यकर्ता ६ नम्बर वुधबारे पुगेका छन् । उनीहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्न नदिएको प्रहरीले जनाएको छ । दुईसय भन्दा बढि कार्यकर्ताले कार्यक्रम स्थल बाहिरै नाराबाजी तथा विरोध प्रद्धर्शन गरिरहेको प्रहरीले जनाएको छ । झडप हुनसक्ने आसंकामा उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैगरी शनिवार पुनः दुइ कार्यकर्ता पक्राउ गरिएको परिषदका केन्द्रीय सदस्य चन्द्रसिं नेम्वाङले बताए । केन्द्रीय सदस्य जेन्टल लावती सहितलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रहरीले समेत परिषद कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेकोले उनीहरुलाई पक्राउ गरिएको स्पष्ट पारेको छ । कार्यकर्ता मुक्त गरेको प्रहरीले जनाएपनि परिषदले त्यसको खण्डन गरेको छ । आफ्ना कार्यकर्ता राजारानी इलाका प्रहरी कार्यालयमा हिरासतमा राखेर छोडिएको झुटो विवरण दिएको केन्द्रीय सदस्य नेम्वाङले बताए ।
ताप्लेजुङ बन्द आइतबार बिहानसम्मका लागि खुल्यो
ताप्लेजुङ, वैशाख २१ - मञ्च सम्बद्ध संघीय लिम्वुवान राज्य परिषद्ले आइतबार विहान पाँच बजेसम्मका लागि बन्द खुलाएको छ । शनिबार बिहानवाट गरेको बन्दले सर्बसाधारण नागरिकमा प्रभाव पारेको भन्दै विहान सम्मका लागि खुला गरिएको परिषद् ताप्लेजुङ अध्यक्ष कीर्तिमान मादेनले बताए । मादेनका अनुसार नागरिकता र मतदाता नामावली संकलन कार्य नरोकिएसम्म बन्द भने जारी रहने छ । अहिले कसैले वार्तामा नबोलाएको र आफुहरुले पनि जाने मनस्थिति नवनाएकाले बन्द जारी रहने उनले दाबी गरे । पहिलो दिन अचानक बन्द गर्दा तराईबाट पाथीभरा गएका तिर्थयात्री र अरु सर्वसाधारणपनि धेरै समस्यामा परेकाले बेलुका खुलाएको उनले उल्लेख गरेका छन् ।
तेहृथुममा विहानैदेखि यातायात बन्द
तेह्रथुम, वैशाख २१ - मञ्च सम्बद्ध संघीय लिम्वुवान राज्य परिषदले आह्वान गरेको वन्दका कारण शनिबार बिहानैबाट तेह्रथुममा कुनै पनि सवारी चलेका छैनन् ।
प्रहरीले पक्राउ गरेको आफ्ना कार्यकर्तालाई विना सर्त रिहाईको माग परिषदले शनिबारबाट तेह्रथुम सहित अरुण पूर्वका नौ जिल्लामा यातायात बन्द गराएको हो । बन्दका कारण म्याङलुङ, वसन्तपुर, जिरिखिम्ती र शुक्रवारेबाट वाहिरिने कुनै पनि सवारी चलेका छैनन् । एक्कासी बन्द आह्वान गरिएकाले यात्रु अलपत्र परेका छन् । हिजो धनकुटामा प्रहरीले आफ्ना कार्यकर्ता नियन्त्रणमा लिएको विरोधमा परिषद्ले आजवाट वन्दको आह्वान गरेको हो ।
पाँचथर- पक्राउ कार्यकर्ताको रिहाइ र क्षतिपूर्तिको माग गर्दै संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले गरेको बन्दका कारण पाँचथरसहित पूर्वका नौ जिल्ला (ताप्लेजुङ, इलाम, झापा, तेहृथुम, धनकुटा, सुनसरीलगायत) को जनजीवन प्रभावित भएको छ ।
फोटोसहितको नामावली संकलनमा अवरोध पुर्याउँदै आएको लिम्बुवानले सो कार्य हुन नदिने भन्दै बन्दलाई निरन्तरता दिएको हो । परिषद्का पाँचथर अध्यक्ष लावाहाङ चेम्जोङले पक्राउ कार्यकर्ता रिहाई, घाइतेलाई क्षतिपूर्ति र मतदाता नामावली संकलन कार्य नरोकिएसम्म बन्द जारी राखिने बताए । बन्दका कारण सदरमुकाम फिदिमबजारलगायत ग्रामीण बजारहरु ठप्प भएका छन् । मेची राजमार्ग र ग्रामीण सडकमा सवारी साधानहरु चलेका छैनन् ।
धनकुटाको ६ नं. बुधबारेबजारमा भएको पाँचथर, धनकुटा र मोरङ जिल्लाको एकीकृत घुम्ती शिविर लाई जिल्लाको एकीकृत घुम्ती शिविरमा शुक्रबार लिम्बुवानका कार्यकर्ताले अवरोध गरी ल्यापटप फुटाएका थिए । सोक्रममा लिम्बुवानका सात कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ भने आधा दर्जन घाइते भएका छन् ।
बैशाख २१ गतेदेखि अनिश्चितकालीन लिम्बुवान बन्द आब्हानको प्रेस-विज्ञप्ति:
चार दलले पहिचानसहितको संघीय गणतन्त्र धर्मनिरापेक्ष्य नेपाललाई उल्टाएर ०४७ सालको संविधान लागूगर्ने वातावरण तयार गर्न चैत्र १ गते असंवैधानिक कदम चालेका छन् | यस कदमको बिरुद्धमा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दल सुरुदेखि नै आन्दोलित छौं | यही असंवैधानिक कदमको आडमा निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली र गृह मन्त्रालयले जन्मको आधारमा बितरण गरिएको नागरिकतालाई बंशजको आधारमा वितरण गर्दैछ | यी दुवै कार्यहरु असंवैधानिक छन् र यो संकलन र वितरण प्रक्रिया तुरुन्त रोकिनुपर्छ भनी यस परिषदले आन्दोलन तेज गरेको छ |
यसैक्रममा आज बैशाख २० गते धनकुटा, पान्थर र मोरङको सिमाना जोडिएको छ नं. बुधबारेमा ''फोटोसहितको मतदाता नामावली संकलन रोकिनुपर्छ'' भनेर शान्तिपूर्ण आवाज उठारहेका मंच सम्बद्ध स. लि. रा. प. का नेता, कार्यकर्ताहरुमाथि एकात्मक प्रशासनले अमानवीयरुपले दमन गरेको छ | प्रहरीको दमनमा परी के. स. सुकबहादुर थेगिम, एलभी कमान्डर अग्नि पन्धाक गम्भीर घाइते हुनुभएको छ |
सोही ठाउंबाट सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ, के. स. सुकबहादुर थेगिम, एल भी सिनियर उपकमान्डर मुक्शाम लाबुङ, एल भी कमान्डर अग्नि पन्धाक, इलाम बाँझो गा. बि. स. अध्यक्ष राजन साम्बा, मिक्लुक थुम अदक्ष्य नेल्कन माखिम, पान्थर जि. स. खाम्बेक आङदेम्बेलाई प्रहरीले पक्राउ गरी अत्यन्त दुर्ब्यबहार गरेको छ | त्यसमध्ये सुकबहादुर थेगिम र अग्नि पन्धाकलाई सम्बेदनशील अंगमा सशस्त्र प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् |
एकात्मक सशस्त्र प्रहरीको दानवीय कुकृत्यको भन्डाफोर गर्दै घाइतेहरुको सीघ्र उपचार र गिरफ्तार नेताहरुको विनाशर्त तत्काल रिहाईको माग गर्दछौं| पक्राउ परेका नेताहरुको विनाशर्त रिहाई नभइन्जेल र अवैधानिक नागरिकता वितरण र फोटोसहितको मतदाता नामावली संकलन नरोकिन्जेलसम्म भोलि बैशाख २१ गतेदेखि अरुण–सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवानमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ |
सदाझैँ लिम्बुवानका सम्पूर्ण जनताहरु एकात्मकताको बिरुद्ध र संघीय लिम्बुवानको पक्षमा सडकमा ओर्लन अनुरोध गर्दछौं |
जय लिम्बुवान !
संघीय अभिभादन !
............
कुमार लिङ्देन 'मिराक'
के. अध्यक्ष
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद
केन्द्रीय कार्य समिति
लिम्बुवान, नेपाल
-----------------------------------------
लिम्बुवानका गिरफ्तार नेताहरू राजारानीमा:
अहिलेसम्म घाइतेहरुको कुनै उपचार भएको छैन
बैशाख २० गते (मे ३) अपरान्ह ४:३५ मा लिम्बुवानको धनकुटाबाट प्राप्त खबर अनुसार छ नं. बुधबारेबाट प्रहरी प्रशासनले गिरफ्तार गरेका लिम्बुवानका ७ जना नेता तथा कार्यकर्ताहरुलाई २६ कि.मि टाढा राजारानीको इलाका प्रहरी कार्यालयमा पुर्याइएको छ | गिरफ्तार नेताहरुको सम्पर्क फोन खोसिएको छ | भर्खर मात्र एल भी कमिश्नर प्रेम थाम्सुहाङको फोन दिइएको छ | घाइतेहरुको अहिलेसम्म कुनै उपचार भएको छैन |
- लिम्बुवान नेपाल
-----------------------------
धनकुटाको छ नं. बुधबारेमा लिम्बुवान र एकात्मक प्रशासनबीच झडप:
लिम्बुवान, बैशाख २० । एकात्मक कर्मचारी सरकार र प्रशासनले विदेशी दलाल र ४ दलीय सिण्डिकेटको निर्देशनमा पूर्वराजा ज्ञानेन्द्रशैलीको कथित चुनाव गराउन जनतालाई औषधी र नागरिकताको प्रलोभन देखाउँदै जबर्जस्त मतदाता नामावली सङ्कलन गर्नेक्रम्मा धनकुटाको छ नं. बुधबारेमा प्रशासन र लिम्बुवानबीचमा आज झडप भएको छ ।
पहिचानसहितको संघीयता र लिम्बुवान स्वायत्तताका लागि विगतदेखि नै आन्दोलनरत् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले यो एकात्मक र अवैधानिक कर्मचारी सरकारलाई लिम्बुवानमा कथित चुनावलको लागि कुनै तयारी नगर्न र पहिले निर्वाचन आयोगले र सरकारले लिम्बुवानसँग गरेको सम्झौता पूरा नगरी कुनै पनि तवरले चुनावी गतिविधि नगर्न पटक पटक आग्रह गरेको थियो ।
मञ्चसम्बद्ध लिम्बुवानको यो राजनीतिक आग्रहलाई बेवास्ता गर्दै मोरङ, पान्थर र धनकुटाको मध्यक्षेत्र छ नं. बुधबारेमा बैशाख १९ गतेबाट सहायक प्रमुख जिल्ला अधिकारी र सयौंको सङ्ख्यामा प्रहरी तैनाथ गरेर चुनावी तयारीको कार्य सुरुगरेको थियो ।
एकात्मक प्रशासनको कथित चुनावी तयारीको कार्यलाई राजनीतिक रुपमा रोक्न स्थानीय कार्यकर्तासहित १९ गते लिम्बुवानका एलभी कमिश्नर प्रेम थाम्सुहाङको नेतृत्वमा छ नं. बुधबारेमा लिम्बुवानका कार्यकर्ताहरु जुटेका थिए । पहिले प्रशासनलाई लिम्बुवान र ३३ दलीय आन्दोलनकारी मोर्चाको समेत यो कार्य नगर्न माग रहेको जानकारी गराउँदा पनि अटेर गरी प्रशासनले जबर्जस्त गरी पेल्न थालेपछि दोहोरो झडप भएको लिम्बुवान अध्यक्ष कुमार लिङ्देनले लिम्बुवान, नेपाललाई बताउनु भएको छ ।
एकात्मक कदमलाई रोक्ने क्रम्मा प्रशासनले दमन गरेपछि दोहोरो झडपको स्थिति बनेको बताइको छ । झडपमा एकात्मक प्रशासनले लिम्बुवानका केन्द्रीय सदस्य सुकबहादुर थेगिम लिम्बूलाई गम्भीर घाइते हुने गरी कुटेको खबर छ ।
एकात्मक कदमलाई रोक्नेक्रममा आज धनकुटाको छ नं. बुधबारेबाट लिम्बुवानका सचिवालय सदस्य तथा एलभी कमिश्नर प्रेम थाम्सुहाङसहित, केन्द्रीय सदस्य सुकबहादुर थेगिम, एलभी सिनियर उपकमाण्डर मुक्साम लाबुङ, इलाम बाँझो गाउँ अध्यक्ष राजन साम्बा, एलभी फिल्ड कमाण्डर अग्नि फियाक, मिक्लुक थुम अध्यक्ष नेलकन माखिम, दुर्दिम्बा गाउँ अध्यक्ष दलबहादुर तामाङ र पान्थर जिल्ला सदस्य खाम्बेक आङ्देम्बे गरी ८ जनालाई प्रहरी प्रशासनले गिरफ्तार गरेको छ ।
एकात्मक कर्मचारी सरकार र प्रशासनको ज्यादतीको मुकविला गर्न लिम्बुवानको सबै जिल्ला र थुमबाट कार्यकर्ताहरु धनकुटाको छ नं. बुधबारेतर्फ जान निर्देशन गरेको छ । घट्नास्थल जानेक्रम जारी रहेको लिम्बुावन केन्द्रीय अध्यक्ष मिराक लिङ्देनले बताउनु भएको छ । लिम्बुवानका कार्यकर्ताहरुलाई घट्नास्थलतर्फ जानलाई रोक्नको लागि सशस्त्र प्रहरीहरू जङ्गल र बाटोमा तैनाथ गरिएको छ ।
यो एकात्मक कदम र प्रशासनिक दमनलाई अविलम्ब रोकेर गिरफ्तार गरिएका लिम्बुवानका नेता तथा कार्यकर्ताहरुलाई विनासर्त तुरुन्त रिहाई नगरे भोलि बैशाख २१ गतेदेखि अनिश्चितकालको लागि अरुणपूर्व लिम्बुवान बन्द गर्न बाध्य हुनेसमेत लिम्बुवान केन्द्रमा सल्लाह भइरहेको अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले बताउनु भएको छ ।
- लिम्बुवान नेपाल
--
visit website : www.samabad.com
E-mail : news.samabad@gmail.com
No comments:
Post a Comment