ध्रुवराज अधिकारी/टिप्पणी
किन देखिन्छ तिमीलाई
गतिले छक्याए–छक्याए जस्तो
किन लाग्दैछ तिमीलाई
दुर्गतिले पछ्याए–पछ्याए जस्तो
कुन मौसम हो यस्तो
न दर्कने आँट छ त्यो बादलको
न चर्कने छाँट छ त्यो घामको
म आत्तिइसकें, अत्तालिइसकें
केहीबेरपछि नै
तिमी जाग्छौ कि म भाग्छु ।
गतिले छक्याए–छक्याए जस्तो
किन लाग्दैछ तिमीलाई
दुर्गतिले पछ्याए–पछ्याए जस्तो
कुन मौसम हो यस्तो
न दर्कने आँट छ त्यो बादलको
न चर्कने छाँट छ त्यो घामको
म आत्तिइसकें, अत्तालिइसकें
केहीबेरपछि नै
तिमी जाग्छौ कि म भाग्छु ।
युवा कवि सङ्गीस्रोताले दुविधा शीर्षकको कवितामा यी हरफहरु कोर्दा उनको दिमागमा को खेलिरहेको थियो ? कुन व्यक्ति वा दल वा अरु कसैलाई सम्बोधन गरिरहेका थिए उनी ? त्यो उनै जानून् ।
अहिले म एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय, पेरिसडाँडाको गेटमै उभिएको छु । गेटको ठीक संघारमै छु, भित्र पनि होइन, बाहिर पनि होइन । त्यसैमा आड लाएर समाचारका लागि डायरीमा टिपोट गर्दैछु । भित्र मानिसहरु खचाखच छन् । मञ्चमा प्रचण्ड, बाबुराम, नारायणकाजीलगायत केही माओवादी नेता बसेका छन् । प्रवक्ता अग्नि सापकोटा माइकमा बोल्दैछन् ।
अब प्रचण्ड, बाबुराम, नारायणकाजी र अरु केही अलि ‘लो प्रोफाइल’का मान्छेहरु एकाएक उभिन्छन् । अबिर, माला त्यसपछि खादा पालैपालो लाइदिन्छन् । अबिर–माला–खादा पहिरनेमा पहिले उर्मिला आउँछिन् । त्यसपछि रेखा । अनि अरुहरु । तालिका पर्रा छुटिरेहकै छन् । सबै फुरुङ छन्, दङ्ग छन् । यी उर्मिला अर्थात् उर्मिला अर्याल नेकपा एमालेकी पोलिटब्यूरो सदस्य रहिछन्, एमाओवादीमा प्रवेश गर्दै गरेकी । रेखा त रेखा थापा भइहालिन्, डिम्पलवाली काली सुन्दरी, चल्तीफूर्दी अभिनेत्री, निर्मात्री अनि अरु के शब्दले पुकारौं ? अँ, राजनीतिक परिवारमा हुर्किएकी रेखा थापा । म गेटको सङ्घारमै छु, उनीहरुका मुखारविन्दुबाट जे आइरहेछ टिपिरहेछु । अनि अनयास मलाई सङ्गीस्रोताका कविताका ती हरफहरुको याद आयो । एमालेको याद आयो । म पनि बन्दूक बोक्नअघि एमाले थिएँ । (अहिले कलम बोकेको छु ।)
‘एमालेमा इमान्दार कार्यकर्ता ओझेलमा परेका छन् । इमान्दार जिम्मेवारीविहीन हुँदै जाने र गुटका पछि लाग्ने चम्कँदै जाने भयो । म रोएर यहाँ आएको छु,’ गलामा सयपत्रीका माला लाएकी उर्मिलाले भन्दै छिन्, म उतार्दै छु, ‘कार्यकर्ताको योग्यता, क्षमता र लगानीका आधारमा रोस्टर तयार गर्नुपर्छ र क्षमताअनुसार परिचालित गरिनुपर्छ ।’
केही समय पहिले एकीकृत माओवादी प्रवेश गर्ने रामचन्द्र झा पनि मञ्चमा छन् । शान्तिप्रक्रियापछि माओवादी प्रवेश गर्ने एमालेका केन्द्रीय नेता र राष्ट्रिय व्यक्तित्वको सूची पनि लामै भैसकेछ— पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भीमबहादुर कडायत, अर्थविद् डा. डिल्लीराज खनाल, पूर्व सांसद जीतवीर लामा, हस्तबहादुर के.सी., पूर्व राजदूत विष्णुहरि नेपाल, पूर्व सांसद् डा. राममान श्रेष्ठ, झापाआन्दोलनका हस्ती राधाकृष्ण मैनाली, कुन्ता शर्मा, जनगायक जेबी टुहुरे, किसान नेता धर्मदत्त देवकोटा आदि । (यद्यपि तीमध्ये एकदुई जना वैद्य माओवादीतिर उछिट्टिएका छन् । ) जिल्ला–जिल्लामा एमाले छोडेर माओवादी प्रवेश गर्नेको नाम लिन त साध्ये हुने कुरै भएन । हेर्दाहेर्दै, एमाले पहिरो गएको डाँडाको बस्ती जस्तै उजाडिँदैछ ।
०४६ सालको आन्दोलनपछि नेकपा (एमाले) देशको सबभन्दा ठूलो कम्युनिस्ट पार्टी बनेको थियो । सम्वत् २०३७ देखि ०४७ सम्म आइपुग्दा २० वटा समूह एमालेमा समाहित भइसकेका थिए । जनताको बहुदलीय जनवादका प्रवर्तक तत्कालीन एमाले महासचिव मदन भण्डारीलाई ‘नेपालमा कार्लमाक्र्स जन्मिएका छन्’ भन्नेहरु पनि थिए । मानिसहरु मदनका भाषणका क्यासेटहरु गाउँ–गाउँ लगेर सुन्थे । ०५० साल जेठ ३ गते दासढुङ्गा दुर्घटनामा मदन भण्डारीको रहस्यमय मृत्यु भएपछि एमालेले ‘मोती’ नै गुमायो भन्दा पनि हुन्छ ।
हुन त यसबीच ०५१ कात्तिकको मध्यावधि निर्वाचनका क्रममा सबभन्दा ठूलो दल बनेपछि मनमोहन अधिकारीको नेतृत्वमा एमालेले अल्पमतको नौ महिने सरकार बनाएर केही लोकप्रिय काम पनि नगरेको होइन । तर, काँग्रेसका रिसले उसमा बढ्दै गएको दरबारप्रतिको आशक्तिले र पार्टीभित्रको गुट र फुटले एमालेलाई दुर्गतितिर डो¥यायो । एक समय मदन भण्डारी राजालाई श्रीपेच फुकालेर चुनावी मैदानमा आउन चेतावनी दिन्थे । तर, पछि तिनै भण्डारीको पार्टीको बारेमा ‘एमाले दारबारको पाले’ भन्न थालियो । त्यसो त मदन भण्डारी जस्तो करिस्माधारी नेतृत्वको अभाव पनि एमालेमा सुरु भएको विग्रहको एक कारण थियो भन्न सकिन्छ । अर्को कारण जनयुद्धले सच्चा कम्युनिस्टहरुमा माओवादीप्रति गराएको आकर्षण पनि थियो । बिग्रहको सबैभन्दा ठूलो कारण त एमालेमा बढ्दै गएको राजनीतिक र मुद्दागत अस्पष्टता र दुविधा नै हो । नेकपा एमालेलाई देखिने गरी दुविधाको एड्स लागेको आज दुई दशक भइकेछ तर यिनका नेतामा अझै चेत आएको छैन । माथिका पंक्तिमा ‘तिमी जाग्छौ कि म भाग्छु’ भनेजस्तो एमालेको मूल नेतृत्व पङ्ति ‘जागेको’ छैन, नेता कार्यकर्ता ‘भागेका’ मात्र छन् ।
०५२ सालदेखि ०५७ सम्म आइपुग्दा राष्ट्रिय राजनीति नेकपा (माओवादी) वरिपरि घुम्न थाल्यो । प्रचण्ड–बाबुरामको उदय भयो । नेपालका मजदुर, गरिब–दलितको मानसपटलमा विस्तारै मदन भण्डारी बिर्सिइँदै जान थाले । प्रचण्ड लोकप्रिय हुँदै गए । अब मजदुर, गरीब–दलितका नेता प्रचण्ड भए । एमालेको ढुलमुलपना झनै बढ्न थाल्यो । जनाधार गुम्दै गएपछि एमालेको हालत धर्तीमाताबाट अलग्गिएको ग्रीक दन्त्यकथाको पात्र ‘हक्र्युलस’को जस्तो हुने नै भयो ।
कहिले निरंकुश राजा ज्ञानेन्द्रलाई पाउमा दाम चढाउन पुग्ने त कहीले शाही सरकारले आह्वान गरेको प्रधानमन्त्रीको टेण्डरमा विन्तीपत्र हाल्ने गरेपछि एमालेको नेतृत्वको चरम सत्तामोह र अविश्वसनीय चरित्र जनतासामु प्रकट हुँदै गयो । अमेरिकी राजदूत बल्खु पुग्दा त्यहाँबाट माक्र्स, लेनिन, माओको तस्विर हटाइएपछि त एमाले कम्युनिस्ट रह्यो कि रहने भन्नेमा नै प्रश्न चिन्ह खडा भयो । प्रचण्ड–बाबुरामले एमालेलाई भाले÷पोथी नछुट्टिएको पार्टी भनेर व्यङ्ग्य गर्न थाले । हुन पनि एमाले त्यस्तै भइदियो— संविधानसभा, गणतन्त्र, संघीयता केही पनि विषयमा स्पष्ट अडान लिन नसक्ने । देशमा लोकतन्त्र आइसकेपछि माओवादीको रिस र त्रासले एमाले काँग्रेससँग नजिकिँदै गयो । पछिल्लो समयमा काँग्रेससँग चुनावी तालमेल गर्न एमाले पोलिटब्यूरोले निर्णय गरेपछि त एमाले भन्ने दलको कम्युनिस्ट पहिचान नै संकटमा पर्दै गएको छ । अनि एकीकृत माओवादी अध्यक्ष प्रचण्डले बर्दिया पुगेर कम्युनिस्ट पार्टी स्थापना दिवसकै मौका पारेर भनिदिए– एमाले सिद्धियो । तर, काँग्रेस एमालेसित सहकार्य गर्न अझै तयार देखिएन । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले त एमाले धेकेवाज र अविश्वसनीय पार्टी भएको उल्लेख गर्दै एमालेसित कुनै हालतमा चुनावी तलमेल नहुने ठोकुवा गरिदिए । काँग्रेससित पोइल जान एमाले जतिसुकै आतुर देखिए पनि पार्टीको झण्डाबाट हसियाहथौडा नहटाएसम्म एमालेलाई पत्याउन तयार देखिएनन् नवउदारवादी काँग्रेसीहरु ।
०४६ सालपछिको संसदीय अभ्यासमा पनि एमालेमा कुनै शालीनता देखिएन । जिम्मेवारीबोध देखिएन । प्रजातन्त्र वा सम्यवाद कतैपट्टि पनि प्रतिबद्धता देखिएन । संसद्मै कुटाकुट, माइक भाँचाभाँच, ५७ दिनसम्म संसद् अवरोध के पो गरेन एमालेले ? ‘शिशु प्रजातन्त्र’को गला घोट्न एमाले दरबारको ढाल बन्न पुग्यो । एमाले महाभारतको शिखण्डी जस्तै भइदियो ।
एमालेलाई किन यसरी गतिले छक्यायो वा दुर्गतिले पछ्यायो भन्नेपट्टि एमाले शीर्षनेतृत्वको कत्ति ध्यान छैन । प्रचण्डले ‘एमाले सिद्धियो’ भन्दिएपछि एमाले नेताहरुले प्रचण्डलाई राँची लानुपर्छसम्म भनेर उफ्रिए तर जुम्राले लासलाई छोडेझैं नेता–कार्यकर्ता एमाले छाडेर किन हिँडिरहेका छन् भन्ने विषयमा समीक्षा गर्ने तत्परता एमालेका झलनाथ, माधव र केपीमा पटक्कै देखिएन । बरु आजकल त उक्त पार्टीका महासचिव एमाले दक्षिण एसियाकै नमूनायोग्य पार्टी हो भनेर ठट्टा गर्न थालेका छन् र उनका अध्यक्षले कहिले ‘धुलो झर्दैमा हात्ती सानो हुँदैन’ त कहिले एमाले उठ्दा धर्ती कम्पयमान हुन्छ, एमालेले अबको चुनावमा बहुमत ल्याउँछ भन्ने जस्तो हावादारी भाषण छाँट्दै हिँडेका छन् । नवर्षने बादल बढ्ता गर्जन्छ भनेको शायद यही हो । पेरिसडाँडामा उर्मिलालाई भित्राउँदा एकीकृत माओवादी अध्यक्षले एमालेका नेताहरुलाई पार्टी एकतामा आउन समेत आह्वान गरेका छन् । झट्ट हेर्दा होच्याए जस्तो लागे पनि प्रचण्डको यो अभिव्यक्ति भविष्यमा कटु यथार्थ साबित हुन पनि सक्छ । एमालेमा पहिरो जाने यही क्रम जारी रहे उक्त पार्टीका नेताहरुका लागि प्रचण्डको यो प्रस्ताव भोलि राजनीतिमा सम्मानजनक विकल्प पनि प्रमाणित हुनसक्छ । यसका लागि एमाओवादीले पनि मदन भण्डारीको पुनःमूल्याङ्कन गरेर एमालेलाई पार्टी एकताका लागि बाटो खोलिदिन सके उपयुक्त हुन्छ ।
त्यसैगरी, पछिल्लो समयमा पार्टी प्रवेशको लहरले एमाओवादीका संभावना बढाएका त छन् नै तर यिनले उक्त पार्टीका लागि चुनौती पनि थपिदिएका छन् । पार्टीमा आउने नवप्रवेशीले विविध कारणले स्पष्ट अडान लिन नसक्ने र नेतृत्वले जे भन्छ त्यसमा सही थाप्ने अनि कसरी हुन्छ आफ्नो वृत्तिविकासमा मात्र जोड दिने एकप्रकारको चाकडी सँस्कृति विकसित भइदियो भने संकट आउँदा त्यो हानिकारक साबित हुनसक्छ । उर्मिला अर्यालले भनेजस्तै इमान्दार छेउलाग्ने र अवसरवादीहरुको हालीमुहाली हुने स्थिति नआओस् भन्ने नै माओवादीका इमान्दार योद्धा र कार्यकर्ताको चाहना हुन्छ । त्यसले गर्दा ‘कुन मौसम हो यो यस्तो’ भन्नेमा १०÷१५ वर्षदेखि माओवादीमा पूर्णकालीन कार्यकर्ता पुग्नुपर्ने स्थिति पक्कै पनि आउनु हुन्न ।
जेहोस्, एमालेमा गएको पहिरो एमाले संस्थापनका लागि दुःखदायी भए पनि यसले समग्रमा नेपाली कम्युनिस्ट आन्दोलनलाई भने शक्तिशाली नै बनाउने देखिन्छ≤ एउटा कम्युनिस्ट पार्टीको ध्वंस भए पनि अर्को कम्युनिस्ट पार्टी अझ बलियो भएर त्यसको क्षतिपूर्ति हुने देखिन्छ । यसरी बारम्बार पहिरो गएर माओवादीमा मिसिनु नै छ भने एमालेका नेताहरुले काँग्रेससित नआइज नआइजभन्दा पनि पछि लाग्नुभन्दा बरु एमाओवादीसितै पार्टी एकताका लागि हात बढाउनु बुद्धिमत्तापूर्ण र दूरदर्शी ठहर्न सक्छ । राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन भनेर त तपाईंका गुरु मदन भण्डारीले भनेकै हुन् । एमाले नेताहरुले बेलैमा सोच्नुपर्छ । फेरि पनि एमाले नेता–कार्यकर्ताले भन्नु नपरोस्, ‘तिमी जाग्छौ कि म भाग्छु ।’
No comments:
Post a Comment